सशस्त्र प्रहरीमा गलत अभ्यास
२५ जेष्ठ २०७२
•
१६ मिनेट पाठ
सशस्त्र प्रहरीमा गलत अभ्यास
आफूहरूले पक्रेर सशस्त्र प्रहरी ऐन दफा (२४) अनुसार प्रहरीलाई सबुतसहित बुझाएका अपराधीका मुद्दा कमजोर बनाउने र अपराधीलाई सघाउने (घुस्याहा) संस्थाको आरोप नेपाल प्रहरीमाथि लगाउँदै सामाजिक सञ्जाललाई अहिले सशस्त्र प्रहरी बलले प्रोपोगान्डाको मैदान बनाएका छन्।‘क्रिमिनल होसियार सशस्त्र आयो' शीर्षकका कविता पनि छपाएका छन् अधिकृतहरूले। स्वयं गृह मन्त्रीको पहलमा अर्थ र कानुनको पूर्ण समर्थनसहित सशस्त्रलाई पक्राउ पुर्जी दिने अधिकार प्रदान गर्ने कानुन बनाउन मन्त्रिपरिषद् लागिपरिसकेको छ। मुख्यसचिव लीलामणि पौडेलको हस्तक्षेपले मात्रै ढिलाइ भइरहेको चर्चा छ। सरकारवादी मुद्दा ऐन २०४९ अनसूची १ ले मुद्दा चलाउने अधिकार प्राप्त निकाय प्रहरीमात्र भएको तर्कसहित सशस्त्रको संस्थागत प्रचारविरुद्ध नेपाल प्रहरीले गृहमा पत्र लेखिसकेको खबर पनि छ। प्रहरी ‘सुपर' घुस्याहा भएको चिन्ता प्रधान मन्त्री र गृह मन्त्रीलाई हुन नसकेको महसुस गर्दै सशस्त्र आफै घुस सफा गर्न अगाडि बढेको भान पर्दैछ। हात फोहोर भयो भनेर खुट्टाले भात मुछेर मुखमा लग्न खोजेको दृश्य देखिएको हो कि? बूढी मरेकी कि काल पल्केको? यो विवाद यहीँसम्म मात्रै हो कि दीर्घकालीन? अर्को चरणमा सशस्त्रको ब्यारेकमा खोर राख्न दिने? प्रहरी हिरासतसँगै अब सशस्त्र प्रहरी हिरासत शब्द पनि बनाउने? अदालतमा मुद्दा दर्ता र लड्न दिने आदिको चरण पनि आए के गर्ने?
उक्त विवादको चिरफार गर्न दुई सवालको उत्तर आवश्यक छ। सशस्त्र प्रहरी बल (एपीएफ) के प्रहरी नै हो त? समान अधिकार र जिम्मेवारी भएका दुई प्रहरी अर्थात् जेठी प्रहरी र कान्छी प्रहरी बनाउन खोजिएकै हो त? सर्वप्रथम प्रहरीलाई जनपद प्रहरी या नागरिक प्रहरी भन्ने गलत अभ्यास छ हाम्रोमा। भ्रम नरहोस्, नेपालमा एकमात्र प्रहरी छ, ‘नेपाल प्रहरी'। उसका आफ्ना संगठनभित्र जनपद, ट्राफिक, पर्यटक, ड्रग्ज, दंगा, सशस्त्र, महिला, सामुदायिक, नागरिकलगायत जति पनि हाँगा हुनसक्छ। (अहिले पनि नेपाल प्रहरीभित्रै सशस्त्र प्रहरी गण छ) तसर्थ, बुझ्नु के पर्छ भने प्रहरीको नाम ‘जनपद प्रहरी' होइन, ‘नेपाल प्रहरी' हो। 
परन्तु सशस्त्र प्रहरी बल भने एक प्रतिशत पनि प्रहरी होइन, शुद्ध अर्ध सैनिक बल (पारा मिलिटरी फोर्स) हो। यसका संगठनहरू सेनासरह सेक्सन, प्लाटुन, गुल्म, गण, बाहिनीका रूपमा छन्। भारतसँग दाँज्दा द्वन्द्वकालमा सेना सहयोगी आसाम राइफल्ज तथा शान्तिकालमा पुलिस सहयोगी सीआरपीएफ (सेन्ट्रल रिजर्भ पुलिस फोर्स) जस्तो बनेको छ यसको टास्किङ। सरकारको स्थानीय अधिकारवालाको हैसियतले प्रहरी हवल्दार एक्लैले हत्याको सर्जमिन गर्नसक्छ, सशस्त्रले सक्दैन। तोकिएको कार्य पनि एक्लैले होइन सेनाझैँ सेक्सन, प्लाटुन, गुल्मको संगठनका रूपमा गर्नुपर्छ। संगठन, तालिम, सिक्लाइ, कार्यप्रणाली नै यसरी बनेको छ। यसले युद्धकालमा सेनासरह काम गर्छ। शान्तिकालमा उसका अन्य जिम्मेवारीबाहेक प्रहरीले दंगालगायतका कुनै पनि स्थितिको नियन्त्रण गर्न नसक्दा बढी घातक शक्ति अर्थात् बलको आवश्यकता परेमा सीडीओको आदेशमा प्रहरीलाई सेकेन्ड लाइनका रूपमा टेकओभर गरी सैनिक शैलीमा एक्लैले नियन्त्रण गर्छ, प्रहरीसँग मिसिएर होइन। ‘बल प्रयोगको सिद्धान्त' फोर्सपिच्छे फरक हुनेहुँदा मिसिएर गर्न सकिन्न। 
उल्लिखित तथ्यले पनि सशस्त्र प्रहरी बलको जिम्मेवारीको जिन र रगत सेनासँग मिल्छ, प्रहरीसँग होइन। यो प्रहरी नै नभएपछि मन्त्रिपरिषद्मार्फत प्रहरी बनाउने प्रयत्न किन? हुन त स्थापनाकाल २०५८ मै प्रहरी बनाउने विष खुवाइसकिएको थियो। अहिले त्यसको प्रभाव फैलेको मात्र हो। १७ दिनमात्र पदमा बसेर अवकाश पाएका पूर्व गृहसचिव खेमराज रेग्मीको अध्यक्षतामा पूर्व आइजीपी मोतिलाल बोहोरा र एआइजी प्रदीप राणासहित सशस्त्र सुरक्षा बल खडा गर्न गठित टिमले प्रतिवेदन बुझाएको थियो। (त्यसबेला भोजपुरे पद्मप्रसाद पोख्रेल (मिडियामा आएझैँ श्रीकान्त रेग्मी होइनन्) गृह सचिव र अच्युत खरेल आइजीपी थिए) रेग्मी टिमले सरकारलाई बुझाएको सुझाव जस्ताको त्यस्तै त्यसबेला एक दैनिकमा छापिँदा शीर्षक तथा पेटबोलीमै थियो, नामः सशस्त्र सुरक्षा बल, किसिमः अर्ध सैनिक बल। भावी नेतृत्वमा तत्कालीन प्रहरी एआइजी रामकाजी बान्तवा (दौड हारेपछि बान्तवाले राजीनामा दिएका थिए) तथा एआइजी कृष्णमोहन श्रेष्ठबीच राजनीतिक शक्तिको घोडादौड भइरहेको थियो। कृष्णमोहन नै बलिया भइरहेको समयमा कांग्रेस सरकारले उनकै दबाबमा ‘प्रहरी' शब्द थपेर नाम बन्यो सशस्त्र प्रहरी बल। परन्तु जिम्मेवारी र संगठन भने अर्ध सैनिक बलकै रह्यो। २०५८ को ऐनले जिम्मेवारी तोक्यो– सशस्त्र संघर्ष, आतंकवाद, पृथकतावादी गतिविधि नियन्त्रण, दैवी प्रकोप उद्धार, सीमा सुरक्षा, भवन, संरचना र स्थान तथा व्यक्तिको सुरक्षा (भीआइपी सेक्युरिटी) र अशान्त स्थितिको नियन्त्रण आदि। अर्धसैनिक बलको कामसँगै प्रहरीको टास्क अर्थात् विषादि पनि हालियो, ‘गम्भीर प्रकृतिको (संगठित तथा जघन्य) अपराध भए नियन्त्रण अनुसन्धान'। के हो यो अपराध? प्रहरीले हेर्नेभन्दा फरक कुन अपराध हुन्छ? परिभाषित छैन। यहीँ छलकपट छ। अपराधको नियन्त्रण त प्रहरीको जिम्मामा हुन्छ। अपराध केके हुन्, देशको कानुनमै किटान छ। त्यसलाई नियन्त्रण गर्ने त प्रहरीले नै हो। पक्राउ पुर्जी दिने, हिरासतमा लिने, थुन्नेजस्ता सबै काम प्रहरीले गर्ने हो। सेनाले गस्ती गर्दा भेटेमा या जनताले समातेमा पनि प्रहरीलाई नै बुझाउने हो। हुन त प्रहरी पनि कम छैन। सशस्त्रलाई तोकिएको औैद्योगिक सुरक्षाको जिम्मा पनि आफूले लिन खोज्यो प्रहरीले। अहिलेको घटना यस्तै अस्वस्थ प्रतिस्पर्धाको एउटा बमनमात्र हो। 
२०६० भदौको दोरम्भा घटनादेखि ६३ वैशाखसम्म नारायणी अञ्चल र सुदूरपश्चिममा युनिफाइड कमान्डमा मेरै नेतृत्वमा रहेका एपीएफ अर्ध सैनिक बलका रूपमा सफल तथा प्रहरी पनि सक्षम पाएको थिएँ। परन्तु द्वन्द्वकालपछि भन्सार गस्तीमा गिरिजा सरकारले मस्ती गर्न पठाएपछि अचानक सशस्त्रमा प्रहरी बन्ने भुत चढ्यो। र, आफ्नो एकछत्र अधिकारमा सौता पसेझैँ भयो प्रहरीलाई। अर्ध सैनिक बल क्रमशः अर्ध प्रहरी बल हुन खोज्यो। हुन त प्रहरीलाई पनि सेना बनाउन २०१९ सालबाट बर्मेली नेपाली आइजीपी पीएस लामाले सुरु गरेको कार्यको रहर सशस्त्र नबनेसम्म प्रहरीमा कायम थियो। सोही रहरकै कारण २०५४ मा रोल्पा जान तयार सेनालाई रोकेर आइजीपी अच्युत खरेलले गिरिजा आशिर्वादमा किलो सेरामा पुलिस पुर्या्ए। प्रहरीले सेनाको काम गर्दा भएकै विनाशले माओवादी शक्ति देशभर फैलिन कति मद्दत भयो? अर्थात् हरेकको अलग कार्य हुन्छ भन्न खोजेको हुँ। 
यद्यपि, समस्याको जड वर्तमान व्यवस्थाको हो। ऐनले गृहको जिम्मेवारीको भीआइपी सेक्युरिटी, इन्स्टालेसन सेक्युरिटी सीधा एपीएफलाई मात्र तोकेको छ। परन्तु, रक्षाअन्तर्गतको सेना र प्रहरीबीच यो कार्य एपीएफले बाँड्नुपरेको छ। कानुनले जसलाई जुन काम तोकेको छ, त्यसलाई त्यही काम पूर्णरूपले जिम्मा दिए पो उक्त संस्थालाई जिम्मेवारी बोध, गर्व र काम सम्पन्न गर्र्ने चासो हुन्छ। रक्षातिरको सेनालाई पुलिसको काम दिने, पुलिसलाई आर्मीको? २०४६ सालबाटै सुुरु यो विकृतिबारे पुनरवलोकन आवश्यक छ। अब एउटा सक्षम टोली गठन गरी प्रष्ट कार्य निर्धारण हुनुपर्छ। तीन वटै सुरक्षा फोर्सका काम लोकतन्त्रअनुरूप किटानी गरी उसैलाई जिम्मा दिने कानुन बनाउनुपर्छ, अन्यथा धेरै लफडा हुनेछ। 
हामी स्थानीय सरकारमुखी संघीयतामा जाँदैछौँ। ‘ल एन्ड अर्डर'को जिम्मेवारी स्थानीय सरकार अर्थात् प्रान्तको हुन्छ, केन्द्रको हुँदैन। तसर्थ, प्रहरी फोर्स प्रान्तको आफ्नै हुन्छ। केन्द्रसँग अहिलेको जस्तो ल एन्ड अर्डर हेर्ने नेपाल प्रहरी संघीयतामा हुँदैन। प्रान्तको अधिकार केन्द्रले खोस्न सक्दैन। केन्द्रसँग नेपाल पुलिस सर्भिस अफिसर अर्थात् इन्स्पेक्टर र माथिका अधिकारीमात्र हुन्छन्। प्रान्तसँग सईदेखि तलसम्मका सकल दर्जा हुन्छन्। अफिसरहरू केन्द्रले नियुक्ति, तालिम गरी प्रान्त सरकारलाई निश्चित अवधिका लागि खटाउँछ। जसको सरुवा–बढुवा देशभर जहाँ पनि केन्द्रले गर्छ। अर्थात् अफिसरको प्रान्त बदलिरहन्छ। एसबीआईजस्ता विशिष्टिकृत विभिन्न विभागका साथै प्रान्तले नसकेका या सहयोग मागेका घटनामा प्रत्यक्ष या अप्रत्यक्ष् संलग्न हुन्छ, केन्द्रीय पुलिस। (हुन त संविधान बनाउनेहरूले यसबारे चासो लिएका छैनन्)। पारा मिलिटरी फोर्स भने केन्द्रको मात्र हुन्छ, आवश्यकताअनुसार तोकिएको काम र अवधिका लागि डेपुटेसनमा प्रान्त सरकारको ‘अप्रेसनल अन्डर कमान्डमा' मात्र खटिन्छन्। अर्गनाइजेसनल अन्डर कमान्ड भने केन्द्रकै हुन्छ। अनि प्रान्तीय सरकारको ल एन्ड अर्डरअन्तर्गतको अपराध, अनुसन्धान तथा पक्राउपुर्जी दिने अधिकारको प्रस्ताव के बुझेर गरेका हुन् त गृहका अधिकृतहरूले यस समय? 
आन्दोलनपछि भने यसलाई प्रहरी बनाउने कार्य स्वयं गृह मन्त्री र तत्कालीन प्रहरी महानिरिक्षक ओमविक्रम राणाले गरे, केन्द्रीय सुरक्षा समितिको बैठकमार्फत्। प्रचण्डको औपचारिक सार्वजनिकीकरणको नाटक खुलामञ्चमा हुने दिनमा विभिन्न स्थानमा खटाउन जवान कमीको बहाना गर्दै सशस्त्रको फौजलाई प्रहरीसँगै मिसाउनका लागि उनले मागे र गृह मन्त्री कृष्ण सिटौलाले स्वीकृति दिए, प्रहरीको संख्यामा थपिन। सशस्त्रपछाडि रिजर्भमा सेकेन्ड लाइनमा बस्नसक्छ, परन्तु प्रहरीसँगै संयुक्त फस्ट लाइन गर्न सक्दैन भनेर मैलै पनि केन्द्रीय सूरक्षा समितिको सदस्यको हैसियतले भनेको हो, तर सुनिएन। आइजीपी बासुदेव ओली बाध्य भए पारा मिलिटरी फोर्सलाई प्रहरी बनाउन। त्यसपछि सुरु भएको गलत अभ्यासले अब नियमितता लिएको देखिन्छ। सशस्त्र डण्डा लिएर प्रहरीजस्तै सडकमा देखिन पुगेको छ। शस्त्र भनेको डण्डा होइन। सशस्त्र प्रहरी बल आज डण्डा प्रहरी बलमा परिणत गरिनुमा आन्दोलनपछिका सबै एपीएफ आइजीपी दोषी छैनन् र? तर चिन्ता भने ‘सिस्टम'कै हो। दुःखेको पेटमा टाउकाको बाम लगाइए के होला?


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस