निर्विकल्प बस्ती स्थानान्तरण
१९ जेष्ठ २०७२
•
१३ मिनेट पाठ
निर्विकल्प बस्ती स्थानान्तरण
अध्ययनले भूगोलशास्त्री तथा अनुभवले योजनाविद् डा. हर्क गुरुङले नेपालका भविष्य निर्माताहरूलाई देश विकासका सम्बन्धमा दुई सल्लाह दिए। प्रथम नेपाल र भारतको सम्बन्धमा केन्द्रित थियो भने दोस्रो आन्तरिक बसाइँसराइसँग।नेपालको सच्चा विकास गर्ने हो भने, जिन्सी तथा नगदको त कुरै छोडौँ हामीले हिन्दुस्तानसँग हावा पनि लिनुहुन्न भन्ने डा. गुरुङको तर्क थियो। नियत नै खराब भएकाले भारतले प्रत्यक्षरूपले जति सहयोग दिन्छ त्योभन्दा बढ्ता उसले हडप्छ भन्ने उनको आशय थियो। विगतको सहयोग र पछिका दिनमा भारतले गरेको शोषणलाई आधार मानेर उनले उक्त टिप्पणी गरेका थिए। भारतका सम्बन्धमा खरो उत्रने उनको हिन्दुस्तान नीति परीक्षण गर्नसक्ने अवस्था अहिले रहेन। ठाडै स्वीकार्न नसके पनि उनको भारत नीति नकार्नसक्ने अवस्था पनि देखिन्न। 
विदेशी शिक्षा प्राप्त गरेपछि नेपालको भौगोलिक बनोटलाई स्थलगत निरीक्षण गरी डा. गुरुङले नेपालको जनसंख्या वितरणलाई वैज्ञानिक स्वरूप प्रदान गर्नुपर्ने धारणा राखे। कोदो नफल्ने विकट पाखोमा बसेका नागरिकलाई राष्ट्रले न्यूनतम सुविधा पनि दिन सक्दैन। राष्ट्रले नागरिकलाई सामान्य संरक्षण पनि गर्न नसकेको अवस्थामा जनताको राज्यसँगको विश्वास घट्छ र राष्ट्रियता कमजोर हुन्छ भन्ने उनको तर्क थियो। 
विकट मध्यपश्चिमको लामो पैदल यात्रापछि उनले कर्णाली प्रदेशका सम्बन्धमा बेग्लै विकास अवधारणा ल्याए। नेपालको दुःख भनिने कर्णाली क्षेत्रलाई मानव बस्तीविहीन बनाउनुपर्छ भन्ने उनको तर्क थियो। स्थानीय उत्पादनले आधा छाक खान नपुग्ने त्यस भेगका जनतालाई अत्यावश्यक खाद्यान्न तथा आयोडिनयुक्त नुन आपूर्ति गर्न सरकारले १०–२० वर्षमा खर्चिने रकमले उनीहरूलाई सुविधा सम्पन्न इलाकामा स्थानान्तरण गर्न सकिने उनको तर्क थियो। बस्ती विहीनतापछि कर्णालीको भूउपयोगको विकल्प पनि ल्याए उनले। यार्चागुम्बालगायतका जडिबुटीको जंगलको रूपमा परिचित कर्णाली भेगलाई आयुर्वेद अनुसन्धान स्थलको रूपमा विकास गरी देशलाई विकास गर्न सकिने उनको ठहर थियो। सेफोक्सुन्डो तथा रारा राष्ट्रिय निकुन्जको बासस्थान कर्णालीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी देशको अर्थतन्त्र मजबुत गर्न सकिने उनको धारणा थियो। जलविद्युत् उपयोगको फाइदा त आफ्नो ठाउँमा छँदैछ। 
व्यक्तिको लगानी तत्कालीन फाइदाको लागि हुन्छ भने सरकारी अनुदान दीर्घकालीन प्रतिफलप्रति लक्षित हुनुपर्छ। सरकारले लामो समय बजेटको ठूलो हिस्सा खर्चंदा पनि स्थानीयले आधारभूत आवश्यकता परिपूर्तिको अनुभूति गर्न नसक्ने अवस्थामा रकम विनियोजनको अर्थ रहन्न भन्ने कुरामा सायदै कसैको विमति होला। डा. गुरुङको विकास खाकासँग पञ्चायत तथा वहुदलीय योजनाविद् कसैको पनि असहमति थिएन। तर उक्त योजना लागु गर्ने जमर्को कसैले पनि गरेन। त्यसको एकमात्र कारण आर्थिक चलखेल थियो। सुदूर विगतदेखि अहिलेसम्म सरकारले कर्णाली भेगका जनतालाई खुवाउन भनेर ठूलो परिमाणमा खाद्यान्न तथा नुन खरिद तथा ढुवानी गरिरहेको छ। त्यसका लागि मनग्य धनराशी खर्च भएको छ। दुर्गममा खाद्यान्न पुर्याथउने नाममा खरिद, ढुवानी, वितरणलगायत प्रत्येक तहमा ठूलो आर्थिक चलखेल भएको यथार्थ पटकपटक बाहिर आएकै हो। नेता तथा मन्त्रीको आम्दानीको स्रोत बन्यो कर्णालीको खाद्यान्न आपूर्ति। त्यसैले राजनीतिकर्मीको प्राथमिकतामा परेन गुरुङको कर्णाली योजना। विगत २० वर्षमा कर्णालीको नाममा खर्च भएको रकम जोड्दा कर्णालीका प्रत्येक बासिन्दालाई सुविधासम्पन्न स्थानमा जिविकोपार्जनको लागि घरजग्गासहित स्थानान्तरण गर्न पर्याप्त रहेको प्रतिवेदन सार्वजनिक नभएको होइन। नेपालको क्षेत्रफलको करिब १५ प्रतिशत हिस्सा ओगट्ने कर्णाली अञ्चलको जनसंख्या भने देशको कूल जनसंख्याको १ प्रतिशतमात्र भएकाले त्यहाँका बासिन्दालाई अन्यत्र नियोजितरूपमा स्थानान्तरण गर्न प्राविधिक समस्या छैन। 
वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका कम्पनका कारण करिब ९ हजार नेपालीको ज्यान गयो भने लाखौँ नागरिक घरबारविहीन भए। भूकम्पका कारण करिब ३ लाख घर क्षतिग्रस्त भएको विवरण आयो। उद्धार तथा घाइतेको उपचारपछि अबको कार्यक्रम भनेको भत्किएका भवनको पुनर्निर्माण तथा प्राकृतिक सम्पदाको जिर्णोद्धार नै हो। स्थायी प्रकृतिको भवन निर्माण गर्न लामो समय लाग्ने तथा नजिकिँदो मनसुनका कारण वर्षामा ओत लाग्नका लागि अस्थायी बासस्थान अति आवश्यक देखियो। 
भूकम्पका कारण धेरैले परिवारका सदस्य गुमाए, चौपायाहरू नासिए, भवन भत्किए। घरमा भएका अन्नबाली भग्नावशेषमा पुरिए। केही काम नलाग्ने भए तर सबै खाद्यान्न नासिएका छैनन्। अहिले त भूकम्पमा पुरिएका खाद्यान्न निकालिसके कतिपय स्थानीयले। एक महिनामा कसैले त्रिपाल देला अथवा दलका कार्यकर्ता आएर टहरा बनाइदेलान् भन्ने आशमा कोही पनि बसेका छैनन्। आपत्को घडीमा आवश्यक भए पनि अहिलेसम्म अरुले दिएको खाना खाने लालसामा कोही देखिन्नन्। स्थानीय स्रोतसाधनको उपयोग गर्दै आफ्नो योग्यता र गच्छेअनुसारको अस्थायी बासस्थान बनिसके। तसर्थ सस्ता लोकप्रियता हासिल हुने पाल, त्रिपाल तथा चाउचाउको बदला अबको प्राथमिकता भनेको कसरी पीडितलाई स्थायी र दूरगामी राहत दिने भन्ने नै हो। सरकार तथा अन्य सहयोगीको प्राथमिकता पनि त्यही दिशामा परिलक्षित हुनुपर्छ। 
सरकारी, गैरसरकारी तथा नीति क्षेत्र जजसको लगानी भए पनि आगामी दिनमा भत्किएका संरचना निर्माणमा ठूलो धनराशी खर्च हुन्छ। आफ्ना गरिब नागरिकको घर बनाइदिनु तथा निर्माणमा सहयोग गर्नु कुनै पनि उत्तरदायी सरकारको कर्तव्य हो। वैदेशिक सहयोग तथा आन्तरिक ऋण परिचालन गरेर भए पनि भवन निर्माणमा सहयोग गर्न प्रतिबद्ध देखिन्छ सरकार पनि। तर खर्बौंको लगानी हुने भौतिक संरचना निर्माणका लागि जग्गाजमिन उपयुक्त छ–छैन त्यसको लेखाजोखा हुनैपर्छ। 
वैशाखको भूकम्प तथा त्यसपछिका पराकम्पनका कारण धेरै स्थानमा पहिरो गयो। कतिपय पहाडमा प्रष्ट देखिने गरी धाँजा फाटेका छन्। सानो भूकम्पले पनि त्यस्ता पर्वतमा पहिरो जाने पक्का छ। त्यसै पनि नेपाल भूकम्पीय जोखिम इलाकामा पर्ने भएकाले अहिले नै चर्किएका भूबनोटमा नयाँ भवन निर्माणमा सरकारले पूर्णप्रतिबन्ध लगाउनुपर्छ। 

सरकारले भूकम्प प्रभावित क्षेत्रको भौगोलिक अवस्थाको विस्तृत अध्ययन अविलम्ब गर्नुपर्छ। प्रभावित भूभाग मानव बस्तीका लागि उपयुक्त छ–छैन स्वेतपत्र जारी गर्नुपर्छ। उक्त प्रतिवेदन सार्वजनिक नगर्दासम्म भूकम्प प्रभावित स्थानमा कुनै पनि किसिमको स्थायी प्रकृतिका निर्माण कार्य थाल्न प्रतिबन्ध लगाउनुपर्छ। काठमाडौँको जमिन नै भीमकाय भौतिक संरचनाका लागि उपयुक्त नभएको बताइरहेका छन् विशेषज्ञहरू। यो भूकम्पमा बहुतले अपार्टमेन्ट, कम्पलेक्सहरू एम्बुस बनेको देखियो। तसर्थ, अब बन्ने घरहरू हचुवाको भरमा नबन्ने, घर निर्माण गर्न लागिएको क्षेत्र उपयुक्त छ–छैन त्यसको प्रतिवेदन आवश्यक रहने कानुनी व्यवस्था गर्नुपर्छ। हचुवाको भरमा प्रतिवेदन बुझाउने व्यक्ति तथा संस्थालाई कानुनको दायरामा ल्याउनु आवश्यक छ। 
पहाडका केही गाउँ पुनः बस्ती बन्न अनुपयुक्त देखिए। तसर्थ, उनीहरूलाई समथर स्थलमा स्थानान्तरण गर्नु सरकारको दायित्व भयो। भूकम्पले जीर्ण बनाएको स्थनमा पुनर्निमाण गरिँदा कुनै पनि दिन अर्को दुर्गति बेहोर्नुपर्ने हुनसक्छ। तसर्थ, सरकारको ध्यान अल्पकालीनभन्दा दीर्घकालीन समाधानमा लक्षित हुनुपर्छ। त्यसका लागि सरकारले अति संवेदनशील स्थानका बासिन्दालाई तराई अथवा भित्री मधेसको सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ। डा. हर्क गुरुङको कर्णालीलाई बस्तीविहीन बनाउने अभियान केही गलत व्यक्तिको निहित स्वार्थका कारण सम्भव नभएझैँ त्यही नियति अहिलेका भूकम्प पीडित गरिब–दुःखी नेपालीले व्यहोर्नु नपरोस्। 
जीवनमरणको दोसाँधमा रहेका पहाडेलाई तराईमा स्थानान्तरण गर्ने सम्भावनाको कुरा उठ्नेबित्तिकै त्यसो गर्न आफूले कुनै पनि हालतमा नदिने अभिव्यक्ति पनि आयो, सदभावना पार्टीकी नेतृ सरिता गिरिको। यस्तो संवेदनशील घडीमा समेत जातीय–क्षेत्रीय खाडललाई झन् गहिरो पार्ने नेताले मुलुकक कता लैजालान्? मुलुक संघीय संरचनामा गए बसाइँसराइको नागरिक हकमा प्रतिबन्ध लाग्ने र त्यसले पार्नसक्ने प्रभावका सम्बन्धमा पनि अहिले नै विचार गर्नुपर्ने देखियो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस