महाभूकम्पमा सहयोगी हात
०६ जेष्ठ २०७२
•
१५ मिनेट पाठ
महाभूकम्पमा सहयोगी हात
उपत्यकाभित्रकै अर्को उपत्यकाझैँ लाग्ने सुन्दर प्रकृतिको भक्तपुरको दक्षिण पूर्वी गुन्डु गाउँ झट्ट हेर्दा अहिले युद्धले क्षतिग्रस्त अफगानिस्तान, इराकका कुनै गाउँ वा दोस्रो विश्वयुद्धपछिको भग्नावशेष युरोपेली क्षेत्रजस्तो देखिन्छ । महाभूकम्पले ध्वस्त पारेपछि युद्धमा पराजित देशका बासिन्दामा जस्तै यहाँका बासिन्दाका आँखामा गहिरो उदासी, अत्यास र विरक्ति झल्किन्छ । भूकम्प प्रभावित देशका सबैजसो ठाउँका बासिन्दाको  मानसिक हाल यस्तै छ । जीवनयापन एक मात्र उद्देश्य भएका तेस्रो विश्वका बासिन्दाका लागि सुरक्षित घर जीवनकै मुख्य लक्ष्य हो । त्यसकै लागि ऊ जीवनभरि रगत, पसिना र आँसु बहाएर संघर्ष गर्छ । त्यही संघर्षबाट बनेको आश्रयस्थल विध्वंश भएपछि, अन्नपात, बीउबिजन र कपडा आफ्नै घरको गर्तमा कतै थिचिएपछि, आफ्नै घरले थिचिएर आफन्त गुमाएपछि तिनका अनुहारमा औँसी फैलनु स्वाभाविक हो।नौ जनाले अमूल्य जीवन गुमाए पनि मेरो गाउँ गुन्डुमा अधिकांशको अन्नपात, लत्ताकपडा र बीउबिजन सुरक्षित रहे । सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, रसुवा वा गोरखाका बासिन्दालाई जस्तो तिनलाई खानै नपाएर मरिएला भन्ने भय छैन । दुई हप्ताअघि महाभूकम्पले ढालेको मेरो दुःखी गाउँमाथिको आलेख पढेपछि धेरैले मसँग सोधेका छन्, तपाईँको ठाउँमा के आवश्यक छ ? भोकै कोही बस्नु नपरोस् भनेर अमेरिका बसिरहेका मध्यपुर थिःमिका रोशन श्रेष्ठले मेरो गाउँका विपन्न केही परिवारलाई ४० हजार रुपियाँ बराबरको खाद्यान्न वितरण गरिदिन मसँग आग्रह गरे । कुनै समय भोकले रन्थनिँदा एक दयालुले दिएको उसिनेको आठ गेडा आलु उनका लागि असीम प्रेरणा थियो । भोकले कोही पनि छट्पटिनु नपरोस् भनेर देशका विभिन्न भागमा खाद्यान्न पठाएर उनी र उनीजस्ता धेरैले गरेको मानवताको सेवा स्तुत्य छ । कोही भन्छन्, तपाईँको सिंगै गाउँलाई खाना खुवाउँछु । अर्काथरी भन्छन्, लत्ताकपडा बाँड्छु । तिनको मानवीय भावना र दयालुताले मलाई नतमस्तक बनाउँछ । यस्तो अनुपम मानवीय भावनाको ऋण कसैगरी तिर्न सकिन्नँ । तर, तत्काललाई यहाँ त्यो समस्या छैन । भूकम्पले मान्छेको अर्थतन्त्र तहसनहस भएपछि असार, साउनमा त्यो समस्या यही गाउँमा पनि देखियो भने बेग्लै कुरा हो । तर, बुताले भ्याएसम्म म आफ्नो गाउँलाई ‘माग्ने’ बन्नबाट जोगाउन चाहन्छु । त्यो चरित्र केहीअघि मारवाडीको एक समूहले ल्याएको जडौरी लत्ताकपडा अनि चना, गोलफुकी र सखरको पोका परिवारका सदस्यपिच्छे तेहेराई, चौराई लिन मान्छेले गरेको घम्साघम्सीमा प्रस्टै देखियो । महात्मा बुद्धले भनेजस्तै व्यवहारको निरन्तरता बानीमा परिणत हुन्छ । बानी पर्दै गएपछि त्यो प्रवृत्तिमा बदलिन्छ । निःशुल्क पाए जुनसुकै कुरा लिन तँछाडमछाड गर्ने बानीले मान्छेलाई ‘मानसिक माग्ने’ बनाउँछ । भूकम्प प्रभावित अन्य धेरै ठाउँको समस्या गाँस, बास र कपास भएको सत्य हो । मेरो गाउँको मुख्य चिन्ता पुनर्वास र खलबलिएको जीवनको लय फर्काउनु हो ।
निःशुल्क रासनले मानिसलाई मानसिक माग्ने बनाउँदै लगेको देखेपछि मलाई राहतबारे फरक ढंगले सोच्न बाध्य तुल्याएको छ । महाभूकम्पले धेरैको आर्थिक स्थिति चाँडै नै गिर्नेवाला छ । त्यसले गर्दा अन्य थुप्रै व्यवहारसँगै बालबालिकालाई स्कुल भर्ना गर्न र शुल्क तिर्न कतिपय अभिभावकलाई हम्मे पर्नेछ । एक वर्ष छुट्यो भने सदाका लागि बालबालिकाको पढाइ छुट्छ । अतः मैले आफ्नो ठाउँमा राहत सामग्रीका सट्टा गरिब बालबालिकालाई छात्रवृत्ति दिलाउने अभियान थालेको छु । त्यसको थालनी एक जनाको छात्रवृत्ति आफैँले बेहोर्ने घोषणासहित गरेको छु ।
सहयोगी हात
गत वर्ष डिभी परेर गुल्मीको मध्यमवर्गीय परिवारका हरि पाण्डे सपरिवार अमेरिकाको मिचिगन पुगे । तेस्रो विश्वका अधिकांश व्यक्तिले जस्तै जीवनयापनका लागि उनले निकै संघर्ष गर्नुपयो । त्यो संघर्ष जारी छ तर इमानदार संघर्षले बिस्तारै जीवनको लय पक्रँदैछ । नेपालमा महाभूकम्पले तहसनहस गरेको खबर पाउनेबित्तिकै फेसबुकमा उनले मलाई सोधे, तपाईँको ठाउँलाई म के सहयोग गर्न सक्छु ? महाभूकम्पको ट्रमाले कति दिनसम्म म स्वयं निःशब्द थिएँ । भूकम्पपीडित गाउँका गरिब केही विद्यार्थीलाई छात्रवृत्ति दिलाउने अभियान थालेपछि मलाई विश्वास गरेर तत्काल उनले गुन्डु–६ स्थित हिमाल एकेडेमीमा कक्षा ७ र २ मा पढ्ने दुई छात्राको भर्ना, छात्रवृत्ति, एक सेट ड्रेस र किताबका लागि मेरो खातामा रकम जम्मा गरिदिए । त्यसको केही दिनमै फेरि उनले अन्य दुई विद्यार्थीको छात्रवृत्ति बेहोर्ने इच्छा व्यक्त गरे । अमेरिकाजस्तो महँगो ठाउँमा तेस्रो विश्वका व्यक्तिलाई जीवनयापन पक्कै सहज हुँदैन । तर, मानवीयता सबैभन्दा ठूलो कुरा हो भन्ने आत्मसात गरेर हरिले आफ्ना सारा समस्या बिर्सिए अनि गरिब बालबालिकाको शिक्षाका लागि सहयोग गरे । यसअघि उनले पत्रकार आश्विनी कोइरालामार्फत भूकम्पपीडितको राहतका लागि एक लाख रुपियाँ सहयोग गरेको मलाई थाहा छ । हरिको अझै प्रशंसनीय पक्ष के छ भने प्रचारित हुनलाई उनी यो सहयोग गरिरहेका छैनन् । मेरो खातामा रकम जम्मा गर्ने बेला उनले भनेका थिए, ‘मलाई जस दिनु जरुरी छैन, मुख्य कुरा पैसाको अभावमा कुनै पनि बालबालिका पढाइबाट वञ्चित हुनु नपरोस् ।’ पोर्तुगाली फुटबल स्टार क्रिस्चियानो रोनाल्डोले गरेको सहयोग घोषणाको तुलनामा हरिको सहयोग सानो होला । तर, उनको चोखो भावनाले स्थापित गरेको मूल्य र मान्यता कुनै पनि ठूला कुरासँग अतुल्य छन् ।
भरतपुर निवासी अमर घिमिरे त्यस्तै अर्का पात्र हुन् जसका लागि आफ्नो समस्याभन्दा अरूको भलाइ महत्वपूर्ण छ । मेरो अभियानको सूचना पाउनेबित्तिकै एक जनाको छात्रवृत्ति बेहोर्न उनी सहर्ष तयार भए । यसअघि भक्तपुर, खरिपाटीको कन्ट्रीसाइड इंगलिस स्कुलमा कक्षा १० पढिरहेकी एक छात्राको छात्रवृत्तिका लागि पनि उनले गरेको सहयोग अविस्मरणीय छ जतिखेर भौतिकरूपले उनी मसँग परिचित नै थिएनन् । यस्तै स्थितिमा दलित आवाज उपनामले चिनिने हङकङ निवासी सागर नेपाली, अमेरिका निवासी इन्जिनियर तथा कवि सतिश त्रिपाठीले रकम पठाएर मेरो अभियानमा सहयोग गरेका थिए । खासमा कर्मयोग भनेकै यही हो । पहिरो लाग्ला वा बाँदरले नाश गर्ला भनेर किसानले बाली लगाउन छाड्दैन । एल्बम नबिक्ला भनेर संगीतकारले नयाँ मुच्र्छना रच्न छाड्दैन । पाठक कम छन् भन्दैमा कविले कविता रच्न छाड्दैन । स्टिभ जब्स सयौँ प्रयोगको असफलतापछि हरेक कोठामा अट्ने कम्प्युटर बनाउन सफल भए । ९ सय ९९ पटकको असफलतापछि पनि थोमस एल्बा एडिसनले चिम बनाइछाडे । यही हो कर्मयोग । कर्मयोगी अमर वैशाख १२ को महाभूकम्पको आक्रमणलगत्तै राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर नुवाकोट, रसुवा र सिन्धुपाल्चोक पुगे । राहत सामग्री अपर्याप्त भएपछि त्यो मात्र सब कुरा होइन भन्ने महसुस गरेर आफैँ भत्केका घरहरू पन्छाउन स्वयंसेवामा जुटे । भरतपुरमा सामान्य व्यवसाय गरिरहेका अमर चाँडै नै भूकम्पग्रस्त कुनै गाउँमा जस्तापाताका केही घर आफ्नै खर्चमा बनाइदिन चाहन्छन् । हरि, अमरबाहेक पनि मेरो नजरमा नपरेका अरू धेरै व्यक्ति छन् जसको निःस्वार्थ कामले हामीलाई नतमस्तक बनाउँछ ।
गुन्डु–९ का ४० वर्षे राजकुमार नगरकोटी छ महिनाअघि पक्षाघातले थलिए । जागिर गयो । कमाउने, पाल्ने मूल मान्छे थलिएपछि घरको बेहाल भयो । त्यस्तै बेला महाभूकम्पले घर भत्काइदिएपछि मुस्किलले ज्यान जोगियो । तर, अब कसरी पुनर्वासको व्यवस्था गर्ने ? उनीसामु यो प्रश्न आतंकवादी बन्दुकधारीझैँ उभिएको छ । जन्मजात एउटा खुट्टा नचल्ने गुन्डु–८ का भक्तबहादुर नगरकोटी प्रावि शिक्षकको जागिरले जसोतसो घर चलाइरहेका थिए । भूकम्पले घर भत्काएपछि उनको उठिबास भयो । सानो पसल चलाएर गुजारा गरिरहेका गुन्डु–७, किबाचोकका द्वारिका माकजुले आफ्नी आमा, छोरा र भाइबुहारीसँगै वैशाख १२ को महाभूकम्पमा ज्यान गुमाए । कलेज पढिरहेकी छोरीको खर्च र घर व्यवहारको भार अब द्वारिकाकी पत्नीको काँधमा आइलागेको छ । सिन्दुर पुछिएको असीम दुःख मनमा लिएर एक धर्मभीरु नारीले कसरी कत्र्तव्यको यो भारी उठाउन सक्लिन् ? इमान नगुमाएका दयालुजनले सहयोग गरेर चहराइरहेको तिनका घाउमा मलम दलून् । हरेक क्षेत्रमा यस्ता दुःखीजन छन् । दयालुजनले कम्तीमा आफ्नै क्षेत्रमा भए पनि सहयोग गरेर जनजीवनमा पूर्वलय फर्काउन मद्दत गरून् ।
ज्यानकै जोखिममा उद्धार
वैशाख १२ को महाभूकम्पले सारा मानिस त्राहित्राहि भइरहेका बेला ढाडमा ठूलो फोका उठेर आफैँ अशक्त अवस्थामा रहेकी गुन्डु–९ की प्रतीक्षा नगरकोटीले आफ्नै ज्यान जोखिममा पारेर एक मजदुर दम्पतीकी आठ महिने नाबालिकालाई उद्धार गरिन् । गारो र जस्ताले थिचिएको अवस्थामा तत्काल उद्धार नगरिएको भए शिशुलाई के हुन्थ्यो, कल्पँदा आङ सिरिंग हुन्छ । कोही दयालु र प्रवीण चिकित्सकले उपचार गरिदिए प्रतीक्षा स्वयंले नयाँ जीवन पाउन सक्छिन् । राहतजस्तो न्यायिक कुरामा समेत पार्टी, जात, क्षेत्र हेर्ने प्रवृत्ति एकातिर छ अर्कातिर, आफ्नै ज्यान जोखिममा पारेर अरूलाई बचाउने प्रहरी, सेना, विदेशी उद्धारकर्ता, सर्वसाधारण स्वयंसेवक अनि आफ्नै गाँस काटेर विपत्मा परेकालाई गाँस, बास र कपासका लागि निःस्वार्थ सहयोग गर्ने व्यक्ति, परिवार, संघ÷संस्था, अन्तर्राष्ट्रिय समुदायले मानवतालाई लगाएको ऋण तिरिनसक्नु छ । ती सबैप्रति अखिल मानव समाज कृतज्ञ छ । कहाँसम्म भने आफैँ असीम गरिबी झेलिरहेका सुदूरपश्चिमका पूर्वकमलरीले मुठी दान अभियानमार्फत पाँच सय क्वीन्टल चामल संकलन गरी भूकम्पपीडित सिन्धुपाल्चोकलाई पठाएका छन् । तिनले संसारमा मानवता मरिसकेको छैन भन्ने सबैभन्दा ज्वलन्त प्रमाण पेस गरेका छन् ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस