भूकम्प : वित्तीय संस्थाको भूमिका
०६ जेष्ठ २०७२
•
१७ मिनेट पाठ
भूकम्प : वित्तीय संस्थाको भूमिका
वैशाख १२, १३ र २९ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका लगातारका पराकम्पनपछि विश्वको भूगर्भलाई केलाएर व्याख्या गर्ने भूगर्भविद्हरूको लेखाजोखा सही ठहरियो । उनीहरूले नेपाललाई भूकम्पीय जोखिमका आधारमा ११ औँ स्थानमा राखेका छन् भने नेपाल अहिले पनि ‘रेड जोन’ को सूचीमा छ । शक्तिशाली भूकम्प आउनुअघि नै उनीहरूले नेपाललाई ‘रेड जोन’मा राखेका हुन्।पूर्वजानकारी हुँदाहुँदै पनि सावधानी अपनाउन नसक्दा ८ हजारभन्दा बढी मानिसको ज्यान गयो भने अर्बौं रुपैयाँबराबरको सम्पत्ति नष्ट भयो । लाखौँ मानिस पाल टाँगेर बस्न बाध्य भए । बृद्ध, बालक, सुत्केरी सबै घर छाड्न विवश भए । करोडपतिहरू पनि हेर्दाहेर्दै सडकमा रात गुजार्न थाले । गाउँ–बस्तीहरू उजाड भए । पुरातात्िवक महत्वका मठ–मन्दिरमात्र भत्किएनन् ऐतिहासिक सम्पदा पनि निमेषभरमै धुलो बने । ऐतिहासिक सम्पदा रहेका स्थानहरू खण्डहरमा परिणत भए । उद्योगधन्दा ठप्प भए । बजार बन्द भए । हरेक पसलमा हप्तौँसम्म ठूला–ठूला ताला भुण्डिए, जुन अझै जारी छ । बाँचेकाहरू पनि फेरि अर्को भूकम्प पर्खेको अनुभूति गर्न बाध्य भए । भूकम्पले सिर्जना गरेका यी र यस्ता कहालीलाग्दा दृश्यका बारेमा फरक चर्चा गर्नसकिन्छ । तर यो लेखमा वैशाख १२ पछि आएका दुई शक्तिशाली भूकम्प र त्यसपछिका सयौँ पराकम्पनले हल्लाएको वित्तीय क्षेत्र र त्यसले अर्थतन्त्रमा पार्नसक्ने प्रभावबारे सामान्य लेखाजोखा गर्ने प्रयास गरिएको छ । उद्धार र राहतमा तल्लिन रहेका व्यक्तिले पनि यो कहालिलाग्दो विषयमा अहिलेसम्म चर्चा सुरु गरेका छैनन् ।
भूगर्भ विभागको तथ्यांकलाई आधार मान्ने हो भने वैशाख १२, १३ र २९ गतेका शक्तिशाली भूकम्पपछि मंगलबारसम्ममा ४ रिक्टर स्केलमाथिका २ सय ४८ वटा पराकम्पन गए । ती पराकम्पनले एकातिर राजधानीलगायतका करिब १५ जिल्लामा ठूलो क्षति गरेको छ भने अर्कोतिर नेपालको अर्थतन्त्रलाई नराम्ररी हल्लाएको छ । भूकम्पले थिलथिलो बनाएको अर्थतन्त्रको जगलाई धराशायी हुनबाट जोगाउन नेपालका वित्तीय क्षेत्रले अग्रसरता लिनु आवश्यक छ ।
अर्थतन्त्रको बलियो खम्बाका रूपमा रहेका नेपालका बैंक तथा वित्तीय संस्थाको संख्या हेर्ने हो भने अहिले झण्डै दुई सयको हाराहारीमा देखिन्छ । तीबाहेक आफूलाई अर्थतन्त्रको बलियो खम्बा दाबी गर्ने सहकारीलाई पनि जोड्ने हो भने त त्यो संख्या एकदमै ठूलो हुन्छ । तीमध्ये पनि अर्थतन्त्रमा ठूलो योगदान गर्दै आएका वाणिज्य र विकास बैंकको संख्या १ सय १० को हाराहारीमा रहेका छन् । यस्तो प्राकृतिक प्रकोपका बेला बैंकसँगै फाइनान्स र लघुवित्तहरूले पनि सकारात्मक भूमिका खेल्नुपर्छ र खेल्ने आशा पनि गर्न सकिन्छ । यसका लागि केन्द्रीय बैंकले अग्रसरता लिनु आवश्यक छ । भूकम्पपछिको उद्धार कार्य सकेर अहिले राज्यसँगै स्वदेशी–विदेशी संघसंस्था राहत र पुनस्र्थापनामा लागेका छन् । राहत र पुनस्र्थापनाको विषय निकै जटिल छ । अझ भूकम्पपछि देखिएको भद्रगोल अवस्था र राज्यका विभिन्न निकायबीच समन्वयको अभावका कारण उत्पन्न अस्तव्यस्ततालाई हेर्ने हो भने यो कार्य निकै जटिल देखिन्छ । यद्यपि, भूकम्पको धक्काले हल्लिएको अर्थतन्त्र र जनजनको मनलाई अब विस्तारै सहजतातिर ल्याउनुको विकल्प छैन । त्यसैले तत्काल देखिएको प्राकृतिक विपद् व्यवस्थापनका लागि राज्य, निजी क्षेत्रसँगै बैंक र वित्तीय संस्थाहरूको हातेमालो अत्यावश्यक छ ।    
भूकम्पपछि उद्योगधन्दा र व्यापार–व्यवसायले कस्तो मोड लिने हो भन्ने अन्योल कायमै छ । भूकम्पपछि निक्षेप बढे पनि कर्जा प्रवाह भने हुनसकेको छैन । कर्जा प्रवाह हुननसक्नुको कारण पनि लगानीको वातावरण नबन्नु नै प्रमुख हो । स्वाभाविकरूपमा यस्तो जटिल परिस्थितिमा मानिस लगानी गर्न तत्कालै तयार भैहाल्ने अवस्था छैन । साथै, ऋण लिन कोही तयारसमेत देखिँदैनन् ।
मानिस अहिले लगानी गर्नेभन्दा पनि आफ्ना भत्किएका संरचना निर्माण गर्ने, दाल, चामल, तरकारीको जोहो गर्ने र अझै केही समय आफू र बालबच्चालाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा बढी केन्द्रित छन् । अधिकांश मानिस अहिले सुविधाभोग गर्नेभन्दा पनि सामान्य जीवनमा कसरी फर्किने भन्नेमै चिन्तित छन् । उद्योगधन्दा चौपट भएको, कलकारखाना चल्न नपाएको र व्यापार–व्यवसाय धराशायी भएको यस्तो आपत्का बेला अधिकांशलाई आगामी असार मसान्तको बैंकको ऋणको किस्ता तिर्ने चिन्ताले पिरोलेको छ । भत्किएका संरचना निर्माण गर्ने र दाल, चामल, तरकारीको जोहो गर्नुपर्ने बाध्यताका बेला बैंक ऋणको किस्ताको भारीबाट मुक्त गराउन बैंक तथा वित्तीय संस्थाले सकारात्मक भूमिका खेल्नु आवश्यक छ ।




यसका लागि के गर्ने ?

अर्थतन्त्रको सबैभन्दा बलियो मानिएको पर्यटन क्षेत्र अहिले तहसनहस भएको छ । यो क्षेत्रलाई पूर्णरूपमा उठ्न केही वर्ष लाग्छ । जलविद्युत् र कृषि क्षेत्र पनि भूकम्पबाट नराम्ररी प्रभावित भएको छ । राजधानीमा बनेका ठूलाठूला हाउजिङ प्रायः भत्किएका वा बस्न नमिल्नेगरी चर्किएका छन् । कतिपय हाउजिङमा रातो स्टिकर टाँसिएको छ । यसैबाट पनि बुझ्न सकिन्छ, समयमा किस्ता तिर्नसक्ने अवस्था अघिकांश ऋणिको छैन । विज्ञापन व्यवसाय लगभग शून्यको स्थितिमा छ, यसले बजारमा सामानको माग छैन भन्ने बुझाउँछ । अचेल घरघरमा २४सै घन्टा बिजुली आउँदा हामी जति खुसी छौँ यसको वास्तविक कारणले हामीलाई गम्भीर बनाउँछ । उद्योग, कलकारखाना सबै बन्द छन्, बिजुलीको कुनै माग छैन ।
पसलहरू बन्द छन्, केही खुलेका पसलमा पनि ग्राहक छैनन् । व्यक्तिगत ऋणको किस्ता बुझाउनुपर्ने ऋणिहरू पनि कुनै न कुनै रूपमा भूकम्पबाट पीडित छन् । यस्तो बेलामा तलबले भत्केको पर्खाल मर्मत गर्ने कि ऋणको किस्ता बुझाउने ? यसकारण पनि समयमा किस्ता तिर्न नसक्ने ग्राहकलाई बैंकले कम्तीमा एक वर्षसम्म ऋणको किस्ता नलिने व्यवस्था गर्नु उपयुक्त हुनेछ । त्यसका लागि नेपाल राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्दै निर्देशन जारी गर्नुपर्छ । त्यसैगरी, ब्याज पँुजीकृत गर्ने, कम्तीमा एक वर्षसम्म ऋण तिर्न नपर्ने गर्ने,  बैंकहरूले विभिन्न छुटका योजना ल्याउनेलगायतका कुरामा ध्यान दिनुपर्छ । बाणिज्य बैंकहरुले पुँजीकृत गरिएको ब्याजको छुट्टै कोष बनाएर अर्को वर्षमात्रै नाफामा लाने व्यवस्था गर्नुपर्छ । यसका लागि तिर्नसक्नेलाई विभिन्न छुटका योजना  ल्याएर आकर्षित गर्ने तथा तिर्ननसक्नेलाई ‘कम्तीमा एक वर्ष कुनै पनि सूचना तपाईंका नामका काटिने छैन’ भन्ने निश्चित गर्नुपर्छ । तर बैंक तथा वित्तीय संस्थाको वासलात यही कारणले बिग्रन गयो भने त्यसलाई एक वर्ष छुट दिनुपर्छ । परेको खण्डमा पुँजीकोष, निक्षेप कर्जा अनुपात तथा एकल ग्राहक सीमा, सीमान्त वर्ग कर्जाको अनुपातमा समेत बैंकहरूलाई छुट दिनु अपरिहार्य छ । यहाँ एक वर्ष भन्नुको तात्पर्य सबै कुरा सामान्य बन्न त्यति समय लाग्छ भन्नु हो । बैंक तथा वित्तीय संस्थाका जुनसुकै ऋणको ब्याज दर बढीमा २ प्रतिशतजति मात्र तल–माथि हुने व्यवस्था गर्नुपर्छ ।  त्यसले पनि बजारलाई एकप्रकारको सहजता प्रदान गर्छ । अहिले राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाले बुझाउनुपर्ने ऋणको भाका ३ देखि ६ महिनासम्म सार्ने तयारी गरेको समाचार आएको छ । यसलाई केही हदसम्म सकारात्मक मान्नुपर्छ । यो सीमालाई बढाउनुपर्ने अवस्था आयो भने पनि केन्द्रीय बैंक सकारात्मक बन्नुपर्छ । त्योसँगै राष्ट्र बैंकले नियमनलाई प्रभावकारी बनाउने, वित्तीय सन्तुलन चुस्त राख्ने, अनुशासन नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाहीसमेत गर्न सक्नुपर्छ । जेठ महिनाको पहिलो साता बितिसकेकाले बैंकहरूले ऋणिलाई फोन गर्ने र चिठी पठाउने काम सुरु गरिसकेको छ । त्यसकारण पनि राष्ट्र बैंकले उल्लिखित निर्देशन तुरुन्त जारी गर्नुपर्छ । बैंकहरूले यो व्यवस्था नमान्ने अवस्था आएमा राष्ट्र बैंकले बाध्यात्मक पार्न सक्नुपर्छ । बैंकहरूले पनि देशमा आइपरेको असहज परिस्थितिमा एक वर्षको नाफामा केही कमी आएमा सहन तयार रहनुपर्छ ।
बिमा कम्पनीहरूको दायित्व
सामान्य हिसाबमा पनि बिमा कम्पनीहरूले भूकम्पकै कारण करिब ५० अर्ब नोक्सानी व्यहोर्नु पर्ने देखिन्छ । यसलाई आधार मान्ने हो भने नेपाली बिमा कम्पनीले व्यहोर्ने नोक्सानी १२ देखि १५ अर्बसम्म हुनसक्ने सरोकारवालाहरूले बताएका छन् । नेपालमा कार्यरत भारतीय बिमा कम्पनीका शाखा र केही नेपाली बिमा कम्पनीबाहेक नेपाली निर्जीवन बिमा कम्पनीहरूको वासलात हेर्ने हो भने सबै कम्पनीको पुँजी मिलाउँदा पनि दावी भुक्तानी गर्नसक्ने अवस्था देखिँदैन । यसअर्थमा नेपालका केही राम्रालाई छाडेर अधिकांश निर्जीवन बिमा कम्पनी एकैपटक समस्यामा पर्नसक्छन् । यस्तो बेलामा ती बिमा कम्पनीहरूले ‘आइग्लास’ लगाएर हेर्नुपर्ने बिमालेखका पछाडि छापिएका नियमलाई आधार बनाएर बिमा दाबी गर्ने व्यक्तिलाई अनावश्यक ढंगमा झुलाउने खतरा हुन्छ । यस्ता कुरा बजारमा सुन्नमा आउन थालिसकेको छ । यसमा पनि सजगता अपनाउनु आवश्यक छ । बिमा कम्पनीहरूले गरेको गलत क्रियापलापलाई नियन्त्रण गर्न बिमा कम्पनीहरूको छाता संगठन बिमा समिति सक्रिय बन्नु आवश्यक छ । तर बिमा समितिको विगतका गतिविधि हेर्दा ढुक्क हुनसक्ने स्थिति छैन । सरकारी निर्देशन र बिमा दाबीसम्बन्धमा गर्नुपर्ने कामका लागि बिमा समिति तयार नभएको अवस्थामा अर्थ मन्त्रालयको ठाडो हस्तक्षेप जरुरी हुन्छ । त्यसका लागि अनिवार्यरूपमा सूचना बोर्ड राख्ने, उजुरी गर्ने ठाउँ देखाउने, व्यक्तिगत बिमा दाबी गर्नेलाई पहिलो प्राथमिकता दिने, दाबी गरेको बढीमा १५ दिनभित्र भुक्तानी गर्नेलगायतका व्यवस्था मिलाउन बिमा कम्पनीहरू तयार हुनुपर्छ । डुब्नसक्ने बिमा कम्पनीका सञ्चालक समिति र कार्यकारी प्रमुखलाई अर्थ मन्त्रालयले अविलम्ब छलफलमा बोलाइ सहयोग गर्नुपर्छ ।  

सहकारीका लागि छुट्टै व्यवस्था

प्रकोपका बेला सहकारीले पनि सकारात्मक भूमिका खेल्न आवश्यक छ । सहकारीको पहुँच अहिले गाउँगाउँसम्म छ । तत्कालै भुक्तानी गर्न र आवश्यकता हेरी सहयोग गर्ने कुरामा सहकारीको विशेष भूमिका हुन्छ । यस्तो अवस्थामा बैंकहरूले सहकारीलाई निश्चित समयका लागि ऋण दिने तथा राष्ट्र बैंकले भूकम्प पीडितलाई दिने भनेको ऋण सहकारीमार्फत् प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ । तर बैंकहरूले सहकारीलाई विश्वास नगर्न पनि सक्छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले अग्रसरता लिने र त्यस्ता बैंकलाई कारबाही गर्नेसम्मको प्रक्रिया अघि बढाउनुपर्छ । नेपाल स्टक एक्सचेन्जजस्ता संस्थाका कारोबारबारे भने पछि सोचेर निर्णय लिन सकिन्छ ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस