जोखिमबीच बाँच्ने कला
०६ जेष्ठ २०७२
•
१५ मिनेट पाठ
जोखिमबीच बाँच्ने कला
सामान्यतया सुनसानजस्तो देखिने लाजिम्पाटस्थित खानी तथा भूगर्भ विभागमा यतिखेर चलहपहल छ । खण्डहरजस्ता लाग्ने भवनहरू, कामको खोजीमा भौतारिरहने भूगर्भशास्त्रीहरू भेटिन्थे त्यहाँ। कार्यालयका भित्ताहरूमा टाँगिएका विभिन्नखाले भौगर्भिक नक्सामा धुलो जमिरहेको भेटिन्थ्यो।

जनसाधारणको कामकाजको अड्डा नभएको र विज्ञानसम्मत कामलाई सरकारी निकायले बेवास्ता गरिरहेको वास्तविकताबीच अस्तित्वको लडाईं लडिरहेको हुन्थ्यो विभाग । तर यतिखेर त्यही विभागमा व्यापक चहलपहल देखिन्छ । उसको भौतिक अवस्थामा कुनै परिवर्तन नआए पनि एक किसिमको सक्रियता भने देखिन्छ । वैशाख १२ गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.६ म्याग्निच्युडको भूकम्पपछि लगातार आजका मितिसम्म गएका दर्जनौँ कम्पनले मुलुकको मध्यक्षेत्र हल्लाइरहेको अवस्थाको चित्र उतार्दै छ, विभागअन्तर्गतको भूकम्प मापन केन्द्र ।
सामान्यतथा मानिसले अनुभव गर्ननसक्ने ४ म्याग्निच्युडभन्दा साना भूकम्पको सयौँ झट्का रेकर्ड भैरहेको छ त्यहाँ । त्यसैले पत्रकार, जिज्ञासु र अन्वेषकहरूको लागि आकर्षणको केन्द्र बनेको छ लाजिम्पाट । कम्पनहरूको प्रवृत्ति र गति नाप्ने केन्द्र विभागको  एउटा निकाय एक किसिमको तनावमय सक्रियतामा छ । अब फेरि ठूलो भूकम्प आउँछ कि आउँदैन ? कत्रोसम्म आउँछ ? यस्ता प्रश्नसहित जिज्ञासु ठोक्किने गर्छन् त्यहाँ । केन्द्र हिमालय क्षेत्र भौगर्भिक हिसाबले सक्रिय रहेको विज्ञानसम्मत जानकारी दिनसक्छ । विगतका भूकम्पबारे जानकारी दिने र मुख्य भूकम्पपछि आउने आफ्टरसकको सामान्य विश्लेषण गर्नेबाहेकको विशेषज्ञता छैन ऊसँग । संसारका कुनै पनि विज्ञानले अहिलेसम्म कहिले र कत्रो भूकम्प जान्छ भनेर किटान गर्ननसकेको अवस्थामा हाम्रो निरिह केन्द्रबाट धेरै अपेक्षा राख्न सकिन्न ।

भूकम्प मापन केन्द्र भूकम्पका प्रवृत्तिको नापजोखमा व्यस्त रहेको बेला सरकारले खानी तथा भूगर्भ विभागलाई अर्को महत्वपुर्ण जिम्मेवारी पनि सुम्पिएको छ । भूकम्पबाट अति प्रभावित ६ जिल्लाको भौगर्भिक अवस्थाबारे जानकारी लिने उद्देश्यले विभागको नेतृत्वमा सरकारी-गैरसरकारी निकायका विज्ञ सम्मिलित १८ वटा टोली परिचालित गर्ने घोषणा गरिएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु रहेको ७.६ म्गाग्निच्युडको मुख्य भूकम्प, त्यसको भोलिपल्ट सिन्धुपाल्चोक, दोलखा सिमानामा र वैशाख २९ को सिन्धुपाल्चोक दोलखा भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लामा सुख्खा पहिरो गैरहेको छ, कतिपय डाडाँपाखामा धाँजा फाटेका छन्, जमिन चिरिएको छ र  वर्षात्मा त्यहाँ पहिरोको खतरा छ । भूकम्पमा बास गुमाएकाहरू पहिरोको जोखिममा पर्ने खतरा देखिएपछि ‘जिम्मेवार’ले भूकम्प प्रभावित जमिनको अध्ययन गर्ने आवश्यकता अनुभव गरे । खानी तथा भूगर्भ विभागको नेतृत्वका नापी, जलस्रोत विभागका विज्ञ र त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्रका विद्यार्थी, अध्येतालाई सुरक्षित स्थानको खोजी गर्ने जिम्मेवारी दिइएको छ । पछिल्लो सरकारी निर्णयसँगै एक किसिमको चटारो छाएको छ खानी विभागमा । एक साताको समय पाएको टोलीले स्थलगत अध्ययन, स्याटेलाइट तस्बिरहरूको अध्ययनपछि थप अर्को एक सातामा प्रतिवेदन दिने छ ।

त्यही प्रतिवेदनलाई आधार बनाएर सरकारले असुरक्षित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा बसोबास गराउने नीति लिने बताइँदै छ । मुख्य भूकम्प आएको तीन सातापछि भौगर्भिक अध्ययन गर्ने सरकारी सोच कसरी आयो ? मनन् गर्नुपर्ने अवस्था छ ।  के देखिन्छ भने सरकारी उपल्लो निकाय पनि दिनैपिच्छै नयाँनयाँ नीति प्रतिपादित गरिरहेको छ । ती नीतिको कार्यान्वयन पक्ष के हुने ? कतै अहिलेको अवस्था ‘आगो लागेपछि इनार खन्ने’ उक्तिसँग मिल्न त जाँदैन ?  खानी तथा भूगर्भ विभाग पछिल्लो एसाइनमेन्टमा कसरी प्रस्तुत हुन्छ, अहिल्यै लेखाजोखा नगरौँ । बेलैमा काम सम्पन्न हुन्छन् वा हुँदैनन् त्यसको लेखाजोखा पनि नगरौँ । आवश्यकता थियो, ढिलै भए पनि सरकार त्यसमा लागिपरेको छ । विभागका विज्ञहरू ‘कप्राइजल रिपोर्ट’ बन्नेमा आश्वस्त देखिन्छन् । भूगर्भ विज्ञहरू जिम्मेवारी पाएकोमा दंग देखिन्छन् । सरकारले वैशाख तेस्रो साता नै इन्जिनियर, अधिकृत र सहायक कर्मचारी रहेको १३७५ जनाको टोली जिल्लाजिल्लामा परिचालन गरेको थियो । त्यसलाई एक महिनाको समय दिइएको थियो । सहसचिवहरूले समन्वय गर्ने ती टोली र अहिले त्यसैबेला भूगर्भविज्ञानका जानकारलगायतका प्राविधिक जनशक्ति खटाएको थियो भने अहिले प्रतिवेदन तयार हुने क्रममा हुन्थ्यो । सामान्य हिसाबमा पनि आउँदो दुई सातापछि मनसुन सुरु हुन्छ । वर्षात्को आगमनसँगै भौगर्भिक अध्ययनका रिपोर्ट प्राप्त हुनेछन् । त्यसबेलासम्म धाँजा फाटेका जमिनमा ज्यान हत्केलामा राखेर भूकम्प पीडित सरकारी निर्णयको प्रतीक्षामा बस्ने छैनन् । एउटा क्रुर थथास्थितिको तस्बिर सामुन्ने छ । यता सरकारी प्रतिवेदन तयार हुँदै गर्छन्, उता भूकम्पले थिलथिलो भएकाहरू पहिरोको त्रासबाट त्राण पाउन आफै सुरक्षित स्थानको खोजीमा भौँतारिने छन् । यस्तो क्रम सुुरु भैसकेको छ ।

ठूलाठूला प्रकोपपछि नीति बन्ने, निर्देशन र आदेशका वर्षात् हुने तर कार्यान्वन फितलो हुने हाम्रो मौलिक रोग हो । २०४५ सालको उदयपुर भूकम्पपछि जनसाधारणले घर बनाउँदा बिल्डिङकोड अपनाउनुपर्ने नीति बन्यो । हिमालयको काखमा रहेको नेपाल भूकम्पीय जोखिममा छ भन्ने प्रचारहरू भए  । २०५० सालको मकवानपुर, घादिङलगायतका मध्यपहाडको बाढीपहिरोको प्रकोपपछि धेरै काम भएका छन् । तर हामीबाट भए, गरिएका मौसमी अध्ययनहरू सम्बन्धित निकायमै थन्किएर बस्ने परम्पराबाट मुक्त हुन सकेनाँै । भूगर्भ विभागले काठमाडौँ उपत्यका, पोखरा उपत्यका, बुटबल, दाङ, चितवन, हैटौँडा, बिराटनगरलगायतका सहरको प्रकोप नक्सा तयार गरेको छ । तर यसको उपयोग भैरहेको छ त ? कहाँ कस्तो भूबनोट छ, त्यो भूबनोटले कस्ताखाले संरचना धान्नसक्छ ? कहाँको माटो कस्तो छ ? कहाँकहाँ बाढीपहिरोको खतरा छ, कहाँ जमिन भासिन सक्छ ? यस्ता धेरैखाले जानकारी समेटिएका नक्साहरू प्रयोगमा आएन । एउटा सरकारी निकायले मेहनत गरेर तयार गरेको नक्साको कार्यान्वयन गर्ने स्थानीय निकाय गम्भीर भइदिएको थियो भने पोहर कास्कीको अर्मलेमा जमिन भासिने र घरबस्ती जोखिममा पर्ने स्थिति हुने थिएन । विभागले १४ वर्षअघि पोखराको प्रकोप नक्सामा अर्मलेको जमिन भासिनेखालको छ भनेको थियो । दोष कसको ? त्यहाँ बस्ती बसाल्ने जमिनका कारोबार गर्नेहरूको ? स्थानीय निकाय वा नक्सा बनाउने भूगर्भ विभागको ? वा त्यहाँ बसोबास गर्ने जनताको ? दाङ तुलसीपुरको बसपार्क त्यहाँको प्रकोप नक्सामा जोखिमग्रस्त क्षेत्रमा छ । तीनाउको किरानारको बुटवलका कतिपय क्षेत्र पहिरो र बाढीको जोखिममा रहेको त्यहाँको ‘इन्जिनियरिङ एज इन्भाइरामेन्ट’ नक्सामा औँल्याइएको छ । खै त हामीले विज्ञानसम्मत अध्ययनलाई कार्यान्वयमा ल्याएको ? बिल्डिङकोड बनेको डेढ दशक बित्यो, तर अहिलेसम्म कार्यान्वय हुननसकेकोमा आरोपप्रत्यारोपको खेल खैल्दैछौँ हामी । भूमिसुधार मन्त्रालयअन्तर्गतको भूउपयोग आयोजनाले भूमिको वर्गीकरणका नाममा गरेका काम र उद्योग मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागले गरेका काममा समन्वयको कुरै छाडौँ एकले अर्काको आवश्यकतासमेत महसुस गरेको देखिँदैन । दुवै निकायलाई एकअर्काबारे जानकारी पनि छैन भन्ने देखिन्छ उनीहरूका कार्यप्रगति अध्ययन गर्दा ।
के देखिन्छ भने, हामी प्रकृतिका वज्र प्रहारबाट जोगिएका आला घाउमा मह्लमपट्टी लगाउन जति उदार र सक्रिय हुन्छाँै, दिन बित्दै गएपछि जिम्मेवारीबाट पन्छँदै जान्छौँ । महाकालीका बाढी पीडित अहिले पनि आँसु झार्दैछन् । भेरी र बबईका बाढीपहिरोबाट बँचेकाहरूको आँखा ओभाएका छैनन् । जुरे पहिरोका कथाव्यथा पुराना भए । सरकारले केही गरेन । पीडितका यस्ता गुनासा दोहोरिने त होइन ? भूकम्पबाट पीडितको हालत पनि त्यस्तै हुने त होइन ?  अहिले लाग्छ, सरकारी निकायहरू युद्धस्तरमा भूकम्प प्रभावित क्षेत्रमा कार्यरत छन् । सुरुको एक सातासम्म भूकम्पले मूच्र्छित अवस्थाबाट गुज्रिएको सरकार त्यसपछि केही क्रियाशील देखिएको हो । सरकारी कर्मचारी प्रभावित क्षेत्रमा विवरण संकलन गर्दैछन् यता नीति निर्माता पालमुनिबाट निर्णय र आदेशका उर्दी जारी गर्दैछन् । भूकम्पले अहिलेसम्म करिब ९ हजारको ज्यान लियो । गृह मन्त्रालयको रेकर्डअनुसार करिब २ लाख घर भत्किए र त्यस्तै संख्यामा बस्न नहुनेगरी बिग्रिए । अर्थ मन्त्रालयको आँकडाअनुसार भूकम्पले ५ खर्बको क्षति ग¥यो । मन्त्रालय तीन वर्षे पुनर्निर्माणको योजनाका खाका कोर्दैछ । भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । तर मुलुक निर्माणका लागि यो भूकम्प ठूलो अवसर पनि हो । एकीकृत बस्ती विकास गर्ने अवसर हो यो । मुलुकको कुन भूभागमा कस्ताखाले बस्ती र सहर बसाल्ने ? कहाँ कस्ता संरचना बनाउने ? आवासलगायतका भौतिक पूर्वाधारमा कस्ताखाले निर्माण सामग्री प्रयोग गर्ने ?  नगरपालिका र गाउँको भेद त्यागौँ, आवास निर्माण गर्दा अपनाउनुपर्ने न्यूनतम प्रविधि र प्रयोग गर्ने सामग्रीको कामयावी नीति बनाउनु आवश्यक छ । घर आवासलगायत भौतिक निर्माणमा कस्तो काम भैरहेको छ ? निगरानी र नियन्त्रणका नीतिनियम आवश्यक छन् र तिनको कार्यान्वयन पनि ।

हिमालयको काखमा रहेको नेपाल, कहिलेकाहीँ आउने भूकम्पको जोखिममा छँदैछ, वर्सेनि भोग्नुपर्ने बाढीपहिरोको जोखिम हाम्रो नियति बनेको छ । हिमताल बिस्फोटन र जमिन भासिने तथा डुबानमा पर्ने खतराहरूबीच छौँ हामी । प्रकोपबीच सुरक्षित बसोबास हाम्रो आवश्यकता हो । जमिनको प्रकृतिअनुसारका निर्माण र प्राकृतिक प्रकोपका जोखिमबीच बाँच्ने कला सिक्नु छ हामीले । त्यही शिक्षा दिएको छ यसपटकको भूकम्पले ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस