सरकार, हामी मरेका छैनौं
३१ वैशाख २०७२
•
१६ मिनेट पाठ
सरकार, हामी मरेका छैनौं
नेपाल आमा  नरोऊ तिमी  दिंदैनौ हामी त्यो शीर झुक्न
ज्युँदो छ अझै सन्तान तिम्रो बगेका तिम्रा ती आँसु पुछ्न।धेरै भूमिका नबाधौं । देश–विदेशमा बस्ने हामी सबैलाई थाहा छ, देशमा के भयो ? जीउधनको क्षति कति भयो ? अझै अनुमानमात्र छ । संख्या थपिंदै छ । महाविपद् आइलाग्यो । एकाएक लाखौं जनताको क्रन्दन सडकभरि गुन्जियो । भोकै–प्यासै जनता लड्न बाध्य भए । सरकारसँग केही थिएन । एकथान त्रिपाल, एकपोका चाउचाउ, एक बोतल पानी पनि सरकारले जनतालाई समयमा दिन सकेन ।
होस् पनि कसरी ? त्रिपालको कुरै छोडौं, एक बोतल पानी किन्दा पनि दलदेखि दलदल बनेको कर्मचारीतन्त्रसम्म कमिसन र भागबण्डा मिल्नुपर्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको रंगीन चार्टमा देखिने नेपालको नक्सामा गाढा रातो त्यसै थपिंदै गएको हैन । अपवाद छोडेर भ्रष्ट नेता र कर्मचारीको देश भनेर चिनिएको नेपाल अहिले दैवीय वज्रको प्रहारले पनि चिनिएको छ । विदेशी सदाशयता व्यवहारमा भन्दा प्रचारमा बढी छ ।
अब पनि हामीले नगरे कसले गर्छ ?
प्रश्नको सीधा उत्तर आउन सक्छ– सरकारले । देश हाँकेका हैन, सत्तामा बसेकाहरूको स्वर एउटै छ । निर्माण–पुनर्निमाण गर्ने । विदेशी दातासामु हात फैलाउने, माग्ने ।
सरकारले आफ्नै जनताको विश्वास जित्न सकेन । विदेशीले पनि खासै पत्याएका छैनन् । प्रधान मन्त्री राहत कोषमा रकम जम्मा गर्न अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा तर्सिने जस्तो गरी जनतादेखि विदेशी दातासम्म तर्सिए ।
सरकार नाउँको झुण्ड छ, तर सरकारजस्तो छैन । सरकारमा कस्तासम्म मान्छे छन्, अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याती भएको एउटा भिडियो अन्तर्वार्ता हेरे थाहा हुन्छ । ‘वामदेव–धमला’ चरित् त्यो भिडियो हेर्ने हरेक नेपालीलाई आज लज्जाबोध भएको छ ।
देशको उप प्रधान तथा गृह मन्त्रीलाई आफ्ना जनता, राष्ट्रसेवक प्रहरी–सेना–कर्मचारी, छिमेकी राष्ट्र, मित्रराष्ट्र, सहयोगी तथा दातालाई सम्बोधन गर्ने उपयुक्त र शालिन शब्दको समेत ज्ञान छैन । सार्वजनिकरूपमा उनी ‘उनोरु’ र ‘तिनोरु’ जस्ता लाजमर्दा शब्द लगाएर बोल्छन् ।  
भागबन्डा र त्यसभित्र पनि ठूलो धम्की, घुर्की र बपौतीबापत लिएको गृहको नेतृत्वले एमालेलाई लज्जाबोध गराएको छ कि छैन तर देश र जनताको बेइज्जती भने मजाले भएको छ । दोष एमालेको मात्र छैन, सबैको छ । अहिले सबै दलका नेतृत्वप्रति जनतामा कुनै आशा छैन । विश्वास छैन । भरोसा छैन । यसका लागि दोषी दलमात्र छैनन्, हामी जनता पनि छौं । जसले यस्तैलाई नेतृत्व सुम्पियौं ।
अब पनि पार्टीगत भागबन्डा, पालोपैंचोमा सत्तारोहण गर्ने हो भने त्यो नेतृत्वलाई पनि न जनताले विश्वास गर्छन्, न शुभचिन्तक दाता र सहयोगी देशले । अहिले देशले विकल्प खोजेको छ । युवा र गतिशील नेतृत्व चाहेको छ । दूरदर्शी, पारदर्शी र प्रेरणादायक मूलीको खाँचो छ देशलाई ।
सरकारले केही गर्ला तर हामीलाई दयाको पात्र बनाउँछ । भीख माग्छ । दाताहरु दिन्छन् तर त्योभन्दा बढी लिन्छन् । राहतमा बाइबल पनि बाँडियो भन्ने सुनिन्छ । डेशमण्ड टुटुको आवाजले सन्देश दिइरहेको छ । सुन्न र बुझ्न जरुरी छ–  ‘जब मिसिनरिजहरु अफ्रिकामा आए, उनीहरुसँग बाइबल थियो, हामीसँग देश थियो । उनीहरुले भने– हामीलाई प्रार्थना गर्न देऊ ! हामीले आँखा बन्द गर्यौं । जब हामीले आँखा खोल्यौ, बाइबल हामीसँग थियो, देश उनीहरुसँग ।
विदेशी दाता चाहिँदैन  
नीति र निष्ठा चाहिएको छ । संकल्प र इमानदारिता चाहिएको छ । कुनै विदेशी दाता चाहिएको छैन । हाम्रो देश हामी आफैं बनाउन सक्छौं । सरकार, हामी मरेका छैनौं !
दक्षिण कोरियाबाट प्रेरणा लिऊँ देश बनाऊँ । पचास वर्षअघिसम्म दक्षिण कोरियाको अवस्था नेपालको भन्दा खराब थियो । हामी जस्तै जीविकोपार्जनका लागि लाखौं कोरियाली बाहिरिएका थिए । भनिन्छ– विदेशिएका कोरियालीले आफ्नो गाँस काटेर देश निर्माणमा सहयोग गरे ।
किन गरे ? असल सरकार पाए । कोरियालीहरुमा देश निर्माणको उत्साह जाग्यो । त्यो उत्साहले आजको समृद्ध कोरिया निर्माण ग¥यो । राष्ट्रिय स्वाभिमान उँचो बचायो ।
हामीभित्र पनि त्यो उत्साह नभएको हैन तर सरकारले जगाउन सकेको छैन । तैपनि धेरै स्वस्फूर्त हात र मन अगाडि बढेका छन् । कोरियालीहरुले जस्तै हामी आफ्नो देश आफैं बनाउन सक्छौं । संसारमा धेरैले आफ्नो देश आफँै बनाए, हामी किन सक्दैनौ ? भावना छ, ऊर्जा छ, साहस छ तर वातावरण छैन । त्यसैले उत्साह छैन ।
अहिले अखबारतिर अएका केही विज्ञका सोच र सल्लाह हेर्ने हो भने जनताका लागि पाँच लाख रुपियाँको हाराहारीमा घर बनाउन सकिन्छ । यदि हो र सकिन्छ भने विज्ञहरुसँग सल्लाह गरेर सरकारले नीति ल्याओस्, आह्वान गरोस्, चार–पाँच लाख घर बनाउन कुनै दाता चाहिँदैन । हामी विदेशमा बस्ने नेपाली मरेका छैनौं । भूकम्पमा धेरै नेपाली मरे तर बाँचेको नेपालीको साहस मरेको छैन । मुठी खोल्ने धेरै हुन्छन् ।
विदेशिएका झण्डै पैतीस लाख नेपालीमध्ये आधाभन्दा बढीको बसोबास जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप, हंगकंग, सिंगापुरमा होला । यो क्षेत्रमा बस्ने नेपालीका लागि दुई–चार लाख भनेको दुई तीन हजार डलर हो । सरदर नेपालीको दुई–चार महिनाको बचत हो ।
मेरो मातृभूमिलाई परेको यो विपद्मा मेरो सहयोग आवश्यक छ । मेरो जीवनको दुई–चार महिना मातृभूमिलाई दिन्छु भन्ने एउटा मानवतावादी सोच उमार्न सके नेपाल पुनर्निर्माण हुन्छ । म सक्छु, म गर्छु भन्ने एउटा संकल्प चाहिन्छ । मैले संकल्प गरेको छु । यद्यपि अहिले मेरा लागि दुई–चार हजार डलर भनेको दुई–चार महिना हैन, वर्षभरिको बचतभन्दा बढी हुन सक्छ । तर पनि मेरो जीवनको एक वर्ष मातृभूमिका लागि ।  
एक घरको लागत पाँच लाख हैन, दश लाख नै होस् । सक्नेले बीस–तीस–पचास पनि बनाइदेलान् । नसक्नेले पाँच–दश मिलेर एक बनाइदेलान् । एनआरएनहरु भनिरहेका छन्– हामी बनाउँछौ । देशका उद्योगी–व्यापारी पनि तयार हुँदैछन् । देशभित्रकै दाता र समाजसेवी पनि अघि बढ्दैछन् । धेरै मनकारी मन उदाउन सक्छन् । मलाई लाग्छ, हामी विदेश बस्ने नब्बे प्रतिशत नेपाली हातमा हात, काँधमा काँध र साथमा साथ मिलाउन तयार हुन्छौं । विदेशमा भएका नेपालीले जुन तदारुकता र उत्साह राहत संकलनमा देखाए, त्यही ‘स्पिरिट’मा देश निर्माण–पुनर्निर्माणमा पनि नेपाली जुट्छन् तर सरकार, सरकार जस्तो हुनुपर्छ । आँटिलो, विश्वासिलो, भरपर्दो । सरकार भनेको जनताको संरक्षक हुनुपर्छ । श्रद्धा र सम्मान गर्न लायकको हुनुपर्छ ।
असहाय जनताका घर बनाउन देश/विदेशका नेपालीलाई आह्वान गरोस् । स्कुल–कलेजको जिम्मा सेना र सशस्त्र प्रहरीको संयोजनमा छिटोभन्दा छिटो गरोस् । पुरातात्विक क्षेत्रको जिम्मा सरकार आफूले लेओस् । सुन्दर नेपालको परिकल्पना टाढा छैन ।
मातृभूमिको माया कसलाई छैन ? त्यो धरहरा ढल्दा म आफैं ढले जस्तो भएको छ । त्यो काष्ठमण्डप भत्कँदा आफ्नै जीवन भत्किए जस्तो भएको छ । वसन्तपुरको नौ तले खस्दा आफ्नै शिर खसेजस्तो भएको छ । त्यहाँका इँटा र ढुङ्गाले आफैँलाई पुरेजस्तो भएको छ । नेपाल आमाको छाती चिरिँदा आफ्नै छाती चिरिएजस्तो भएको छ । धेरैलाई गहिरो पीडा अनुभूत भएको छ । यस्तो मानसिक पीडामा डुबेका सबै नेपाली सहयोग गर्न तयार छन् ।
तर देश–विदेशमा बस्ने हामी नेपालीको एउटा अर्को प्रश्न र सर्त पनि छ– संविधान कहिले बनाउँछौ ? आठ वर्षसम्म देशलाई संविधान नदिएर बन्धक बनाउने ६०१ को बगाललाई अझै किन पाल्ने ? अब केले पाल्ने ? तपाईँहरुले कुन नैतिकताका आधारमा देशको वार्षिक अरबौं रुपियाँ खाने ?
म यहाँ पनि दोहो¥याउन चाहन्छु । सभासद्ज्यूहरु, भन्नुस् कहिले दिनुहुन्छ संविधान ? कि संविधान दिनुस् कि त्यो गरिब देशको ढुकुटीबाट तलबभत्ता नखानुस् । तपार्इँहरुभित्र नैतिकता भन्ने तत्व जिउँदो छ भने छनोट गर्नुस् ? हैन, नैतिकताको मर्मलाई आफ्ना फोहोरी पैतालाले थिच्छु भन्नुहुन्छ भने भोलि तपाईँहरु मानवताबिहीन घृणाको पात्र मान्छे मात्र बाँकी रहनुहुन्छ । आजै संकल्प गर्नुस्, संविधान नबनेसम्म तलबभत्ता लिन्नांै भनेर । त्यो पैसाले जनताको घरबार जोडिदिनुस् । त्यसमा थप्न हामी पनि तयार छौं, जोड्न तयार छौं ।
एउटै मान्छे एकै समयमा नेता र असल नेता किन हुन सक्दैन ? समस्या एउटै छ– नैतिकता । त्यो नभएपछि मान्छे, मान्छेमात्र बाँकी रहन्छ । मानव हँुदैन । मानव बन्ने प्रयत्न गर्नुस् । मानवताको आभूषण हो, नैतिकता । सबैभन्दा महँगो उपहार हो, नैतिकता । जसले पहिरिन्छ त्यही महान् हुन्छ ।  अर्को महत्वपूर्ण कुरा, काठमाडांै उपत्यकाभित्र भत्किएका आधुनिक घरमध्ये पचास प्रतिशत मापदण्डभन्दा बाहिरका भएको कुरा प्रकाशमा आएको छ । लाखौं घर मापदण्डविपरित बनाइएको अनुमान छ ।
गोंगबुमा एउटै घरमा पचासौं मान्छे मारिए । जुन घर ‘गोंगबुको ज्यानमारा घर’ कहलियो । तीन आनामा बनेको पाँचतले त्यो घरमा पिलर पनि उठाएको थिएन रे । यस्ता कति हो कति छन् । कति ढले, कति बाँकी नै छन् । जनता मार्ने ती ज्यानमारा घरको स्वीकृति दिने को हुन् ? मापदण्ड नाघेर बनाउने को हुन् ? कसले ग¥यो यो लापरबाही ? कसले ग¥यो यो जघन्य अपराध ?
अब छिटोभन्दा छिटो प्राविधिकसहितको जाँचबुझ आयोग बनाएर ती सबैको खोजी गरिनु जरुरी छ । कति ढले कति बाँकी छन् ? बाँकी रहेका मापदण्डभन्दा बाहिरका घर तुरुन्त भत्काउन लगाउनुपर्छ । भोलिका दिनमा बाँकी मान्छे सुरक्षित हुन् । मापदण्ड विपरित निर्माण गरिएका घरको खोजी गर्न सरकाले टोलछिमेकीबाट उजुरीसमेतको आह्वान गरेर छानबिन गरे सजिलो हुन सक्छ ।  मापदण्ड नाघेर बनाउन स्वीकृति दिने र बनाउने सबैलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ । ताकि त्यो दुस्साहस फेरि कसैले गर्न नसकोस् । फेरि ज्यानमारा घर नठडिउन् । फेरि जनताले ज्यान गुमाउनु नपरोस् ।
अन्त्यमा,  हात थापे दिन्छन् तर दिएवापत के लिन्छन् ? त्यो हामीलाई थाहा छ । हामीले थोरै लिएर  धेरै गुमाइसक्यौं ?  अब धेरै हात नथापौं । हामी आफैं गर्न सक्छौं । सेवा र दान धनले मात्र हैन, मनले गर्ने हो । देश–विदेश बस्ने नेपालीको मन मरेको छैन । हो, सरकार ! हामी मरेका छैनौं !


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस