विपत्ति र नागरिक दायित्व
२० वैशाख २०७२
•
१३ मिनेट पाठ
विपत्ति र नागरिक दायित्व
यतिबेला देशलाई माया चाहिएको छ। सहकार्य र पारस्परिक सद्भाव चाहिएको छ। त्यस्तै देशलाई यतिबेला व्यक्ति व्यक्तिको सहयोग चाहिएको छ। राज्य अभिभावक हो तर राज्यका सदस्यहरूको पनि कुनै न कुनै दायित्व त पक्कै हुन्छ। आज राज्यले आफ्ना सबै सदस्यबाट त्यस्तै दायित्वको अपेक्षा गरेको छ। यतिमात्र हैन, सबै नागरिक अर्थात् राज्यका सदस्यले पनि यतिबेला तन, मन र धनले सहयोग गरी आफू राज्यको सदस्यहुनुको कर्तव्य पूरा गर्नुपर्ने समय आएको छ।महाभूकम्पमा परेर हजारौं देशवासीले ज्यान गुमाए। हजारौं जना घाइते भएका छन्। अर्बौंको क्षति भएको छ। यो विवरण अनुमानितमात्र हो। क्षतिको यथार्थ विवरण आइसक्दासम्म कति काहालीलाग्दो परिस्थितिमा हामी छाँै भन्ने ज्ञान हुनेछ। लगातार साता दिनसम्म भूकम्पका साना ठूला झट्का आइरहदा नागरिकमा उत्पन्न त्रासको अनुमान गर्नै कठिन छ। त्यस त्रासले कतिपय व्यक्तिमा पार्न सक्ने दीर्घकालीन मानसिक समस्यातर्फ पनि समयमै सोचेर तदनुकूल सम्बोधनको उपाय गरिहाल्नुपर्ने बेला भएको छ।
प्राकृतिक विपत्ति खबर गरेर आउँदैन। यसैले त यसलाई भवितव्य भनिन्छ नि! भवितव्यको मुकाबिला गर्न कोही पनि पूर्व तयारीका साथ बसेको हुँदैन। राज्यका औपचारिक संरचना पनि पूर्ण पूर्वतयारी गर्न सत्तै्कनन्। हो, यस्तैबेलामा हो, नागरिकले आफूलाई राज्यको इकाइ सम्झेर भूमिका खेल्ने। अघिपछिको जस्ता बहस र विवादको यतिबेला अर्थ र औचित्य रहँदैन। अनावश्यकरूपमा समाजलाई राजनीतिक आस्थाका आधारमा ध्रुवीकृत गरेर यस्तो विपत्तिको समयमा समस्या थप्नुभन्दा सक्दो सहयोगका लागि अग्रसर हुनु नै नागरिक दायित्व हो। नागरिकहरु विभिन्न प्रकारले यस विपत्तिको समयमा सहयोगी हुन सक्दछन्। प्राकृतिक विपत्तिमा मुलुक फसेको वेला प्रत्येक व्यक्ति नै राज्यको एउटा इकाइ बन्नसक्नु पर्छ। विपत्तिमा परेकालाई मानवीय नाताले सघाउनु राज्यको मात्र दायित्व होइन। यो त सबै नागरिकको दायित्व हो। सहायता संकलन, त्यसको व्यवस्थापन तथा वितरणमा टोलटोलमा समूह बनाएर नागरिकले काम गर्नसक्छन्। त्यसैगरी वितरण प्रक्रियाको प्रभावकारिताका लागि अनुगमनको काम पनि नागरिक स्तरबाट हुनसक्छ। यतिमात्र होइन, निकै अप्ठेरोमा परेका पीडितलाई सक्नेले आफ्नै घरमा आश्रय दिएर पनि नागरिकले जिम्मेवारी पूरा गर्र्न सक्छन्। साझा पीडा वा समस्यामा सामूहिक रूपमै त्यस्ता पीडा वा समस्या समाधान गर्ने प्रयास हुनुपर्छ। यस्तो प्रयास नै राष्ट्रियताको भावनाको प्रकटरूप हो।
महाभूकम्पबाट क्षति पुगेका भौतिक संरचनालाई वर्गीकरण गरेर पुनःनिर्माणको कामलाई अगाडि बढाउन प्राविधिकको समूह बनाएर जिम्मा दिनुपर्छ। कामै नलाग्ने संरचनाको पुनःनिर्माण, केही क्षति भएका संरचनाको मर्मत र सरसफाइपछि प्रयोग योग्य हुनसक्ने संरचनाको त्यसैअनुसारको व्यवस्थापनका लागि प्राविधिक दक्षता आवश्यक पर्छ। यो महाविपत्तिका समयमा विदेशमा पढ्न गएका तथा नेपालमै पढेका चिकित्सक, इन्जिनियर तथा अन्य क्षेत्रका युवाले अत्यन्त प्रशंसनीय ढंगले उद्धारकार्यमा सघाउ पराइरहेका छन्। तिनको क्षमताअनुसारको जिम्मा दिएर राज्यले उनीहरूलाई सम्मान दिन सक्यो भने त्यसको ठूलो महत्व हुनेछ। देशले विपत्ति परेकाबेलामा आफूसँग उपलब्ध जनशक्तिको यसरी नै प्रयोग गर्ने हो। त्यस्तै, यस विपत्तिका समयमा एउटा के प्रष्टसँग देखियो भने, अझै पनि नेपालजस्तो विकासोन्मुख मुलुकमा स्रोत र साधन केन्द्रीकृत नै हुँदारहेछन्। चार दिनसम्म उद्धारका सबै प्रयास राजधानी केन्द्रित भए। सिन्धुपाल्चोक, नुवाकोट, गोरखामा पनि काठमाडांैमा झै तत्काल उद्धार हुन सकेको भए धेरैको ज्यान जोगिने थियो कि? त्यसकारण उपलब्ध जनशक्तिलाई पहिचान गरी त्यसको अधिकतम उपयोग गर्नुपर्ने समय पनि आएको छ। यसपटक त्यस ढंगले जनशक्तिको पहिचान गरेर उपयोग गर्ने हो भने उनीहरू पनि उत्साहित हुनेछन् र राज्यले पनि ठूलो जनशक्ति आफूसँग रहेको बोध गर्न सक्नेछ।
अप्ठेरोको समयमा सुझबुझ पूर्ण नेतृत्व आवश्यक पर्छ। हौवामा लाग्ने वा आलोचनामात्र गर्ने अथवा आलोचना सहनै नसक्ने नेतृत्वले विपत्तिको व्यवस्थापन गर्न सत्तैन। यसका लागि सबैभन्दा पहिले सबैभन्दा ठूलो राष्ट्र हो भन्ने भावनाबाट ओतप्रोत हुनसक्नु पर्छ। राष्ट्रियताको भावना भनेको यस्तै बिशिष्ट बेला प्रकट हुने भावना हो। त्यसैकारण राष्ट्रियतालाई ढुङ्गा, माटो होइन भावना हो भनेर परिभाषित गरिएको पाइन्छ। राष्ट्रियताको सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व जनता हो। बीपी कोइरालाका शब्दमा राष्ट्रियताका तत्व भनेको १. जनता, २. जनताको अगाडि उपस्थित समस्या, ३. त्यस समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र ४. त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै हुन्। यतिबेलाको महाविपत्तिले राष्ट्रियताका यी चारै तत्वलाई जगाइदिएको छ। नेपाली जनताले उपस्थित समस्यालाई आफ्नै समस्या ठानेका छन् र त्यस समस्याको समाधानमा कसैको बाटो नहेरी आफ्नो तर्फबाट योगदान दिने संगठित वा असंगठित प्रयत्न गरिरहेका छन्। यस्तो प्रयत्न गर्न प्रेरित गर्ने तत्व राष्ट्रियता नै हो। यो प्रयत्न गरिरहदाँको अनुभवका आधारमा हरेक नेपालीले राष्ट्रियताको भावना भनेको के हो रहेछ? भन्ने खुलदुलीको जवाफ आआफ्नै कर्मबाट पाएका छन्। यसबाट  राष्ट्रियताको बारेमा निर्णय गर्ने पहिलो र अन्तिम तत्व जनता हुन् भन्ने पुष्टि हुनेछ। सहायता दिने कुरा होस् वा उद्धार कार्यमा खटिने विषय नै होस्, यी सबै राष्ट्रियताको भावनाबाट प्रकट कर्म हुन्। यो कुनै प्रतिस्पर्धाका आधारमा गरिएको निर्णय होइन।
संविधान सभाको पहिलो खण्ड र दोस्रो खण्डको आजसम्म आइपुग्दा राष्ट्रियताको भावनाले ओतप्रोत नेतृत्वको प्रभाव त्यहाँ पर्न नसक्दा नै समस्या उत्पन्न भएको हो। अहिले राजनीतिक नेतृत्वमा यो भावनाको अभाव देखिएको छ। दलीय प्रतिस्पर्धाका बीचमा राष्ट्रियताको भावना मिचिन पुगेको छ। यसरी मधुरो बन्दै गएको राष्ट्रिय भावनाको विकास र प्रबर्द्धन गर्न यतिबेलाको युवा जोस र सहायता तथा उद्धारमा देखिएको नागरिक सचेतनाले महत्वपूर्ण भूमिका निर्वाह गरिदिएको मान्न सकिन्छ। खासगरी विदेशमा रहेका नेपालीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका भावना तथा उनीहरुले पैसा पठाएर होस् वा आफैँ आएर उद्धारमा खटिएर देखाएको राष्ट्रियताको भावनाले धेरैको मन छोएको छ। त्यस्तै ‘कलेज लाइफ'मा रमाइरहेका युवाले समूह बनाई राहत संकलन, वितरण र जिल्लाजिल्लामा उद्धारका लागि जान देखाएको उत्सुकता र सक्रियताले पनि नयाँ पुस्ता राष्ट्रियताको भावनाले ओतप्रोत भएको मान्न सकिन्छ। यी कुराले राष्ट्रियताको महत्वलाई उजागर गराइदिएको छ। राष्ट्रियताको भावना कठिन परिस्थितिमा झनै प्रगाढ रूपमा प्रकट हुँदो रहेछ भन्ने त पनि एकपटक फेरि पुष्टि हुनपुगेको छ।
यसरी व्यक्त भएको राष्ट्रियताको भावनालाई संगठित गर्दै विपत्तीको सामना गर्न र नागरिक जीवनलाई सहज बनाउन उपयोग गर्न समन्वयका दायित्व भने राज्यले निर्वाह गर्नसक्नु पर्दछ। उद्धार, सहायता र पुनःस्थापनाको कामलाई अगाडि बढाउन र त्यसमा व्यवस्थापकीय सहयोग लिन राज्यले यसरी पनि सोच्नु आवश्यक छ। त्यसैगरी राज्यले गर्ने केही विशेष दायित्व हुन्छन्। विपत्तिमा परेका क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि त्यहाँका सबै कुरा राज्यको नियन्त्रणमा हुने गर्छन्। खानेपानी, खाद्यान्न, यातायात क्षेत्रलाई पूर्णरूपमा सरकारले नै प्रयोग र परिचालन गर्ने व्यवस्था गर्नुपर्छ। ती क्षेत्रका सबै खानेपानीका स्रोतको उपयोग गर्दै शुद्ध पिउने पानीको उपलब्धताका लागि सबै ट्यांकर राज्यले नियन्त्रणमा लिन सक्नुपर्छ। सफा खानाका लागि सबै स्रोतको परिचालन गरी आवश्यकताअनुसार सैयौं ठाँउमा खानाका लागि सदावर्त भोजन सञ्चालन गर्नसक्नु पर्छ। देशका सबै स्वास्थ्य निकायमा निःशुल्क औषधोपचारको चाँजोपाँजो मिलाउनु पर्छ र सुत्नका लागि आवश्यक त्रिपाल तथा कम्बल उपलब्ध गराउन सबै संयन्त्रको प्रयोग गर्नसक्नु पर्छ। यी कुरा सरकारको दायित्वभित्र पर्छन्। नागरिकले यस्ता पक्षमा व्यवस्थापकीय सहयोग र थप सहायता तथा उद्धारका लागि सक्रियता देखाउने हो। संकटग्रस्त क्षेत्र घोषणा गरेर पनि यति दायित्व निर्वाह गर्न सकेन भने सरकारको राजनीतिक नेतृत्वको इच्छाशक्ति कमजोर मान्न सकिन्छ। त्यस अवस्थामा संकटग्रस्त क्षेत्र घोषणा अर्थहीन हुन पुग्नेछ। सरकारले आफ्नो दायित्व पूरा गर्नुपर्छ भने नागरिकले पनि यस्तो परिस्थितिमा आफ्नो कर्तव्य पूरा गर्नसक्नु पर्छ। अरूको आलोचनामात्रै गरेर समय बर्बाद गर्ने संस्कारको अन्त्य आवश्यक छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस