वार्ता होइन, काम सुरु गरौँ
०२ वैशाख २०७२
•
१६ मिनेट पाठ
वार्ता होइन, काम सुरु गरौँ
नयाँ वर्षको शुभकामना आदानप्रदानको क्रम सकियो। गैरराजनीतिक वृत्तमा व्यक्तिगत वा संस्थागतरूपले धेरैले आआफ्नै ढंगले गत वर्षको मूल्यांकन र समीक्षा पनि गरे होलान्। र, नयाँ वर्षको लागि नयाँ प्रतिबद्धताहरू पनि जाहेर गरे होलान्। कसैको लागि बितेको वर्ष फलिफाप भयो होला त कसैको लागि प्रत्युत्पादक! तर मुलुकको राजनीतिक मूल्यांकन र समीक्षाको कोणबाट बितेको वर्ष ज्यादै निरासाजनक रहेकोप्रति कसैको पनि विमति देखिएन। गत वर्षको यसै महिनामा दलहरूले गरेका बाचा सम्झने हो भने निकै उत्साहजनक थिए। संविधानका अन्तरवस्तुमा देखिएको तत्कालीन ध्रुवीकरणले सहमति जुट्न सजिलो हुने ठानिएको थियो। किनकि, संविधानका अन्तरवस्तुमा सहमति बनेकै कारण संविधान सभाका दुईवटा सबैभन्दा ठूला दल मिलेर सरकार बनाएका थिए। उता पहिचानसहितको संघीयताका पक्षधरबीच पनि मोलमोलाइको मोर्चा स्थापित गरिएको थियो।यसले सहमतिको लागि सकारात्मक वातावरण निर्माण गर्नसक्ने अपेक्षा स्वाभाविक थियो। किनकि, पहिलो संविधान सभाको संरचनाजस्तो संस्थापन र प्रतिपक्षबीचको अन्योल दोस्रो संविधान सभाको संरचनामा थिएन। संविधान निर्माणमा संरचनागत जटिलता धेरै हदसम्म निराकरण भएको थियो।
तर विडम्बना, पहिलो संविधान सभाका सबै सहमति/असहमतिको थोकमा स्वामित्व ग्रहण गरेको संविधान सभा–२ को संवैधानिक यात्रा पनि २०७१ सालमा सोचेजति सरल देखिएन। त्यसैले बितेको वर्ष ‘सहमति' र ‘प्रक्रिया'को ढिकिच्याउँमा तल–माथि गर्दागर्दै प्रमुख दलहरूले जनाएको प्रतिबद्धताको मितिमा संविधान जारी हुनसकेन। बरु पूर्वनिर्धारित माघ ८ गतेको समयसीमासम्म आउँदा राजनीतिक ध्रुवीकरणको नयाँ शृंखला आरम्भ भयो। अर्थात् वार्ता र सहमतिको पट्यारलाग्दो शृंखलालाई तोड्दै सत्तापक्षले संविधान सभालाई औपचारिक ‘प्रक्रिया'मा प्रवेश गरायो भने प्रतिपक्षले ‘आन्दोलन'को घोषणा गर्दै आफ्नो असहमति जाहेर गर्योप। यसरी २०७१ सालको आरम्भबाट खोजी गर्न थालिएको सहमति २०७२ सालको पूर्वसन्ध्यामा आइपुग्दा पूरै भताभुंग हुनपुग्यो।
सहमति भताभुंग बने पनि २०७१ सालले सत्तापक्ष र प्रतिपक्षलाई एउटा महत‍्वपूर्ण पाठ भने पढाएर गयो। अर्थात् सहमति नभए प्रक्रियाद्वारा जसरी पनि नयाँ संविधान जारी गर्ने सत्तापक्षको प्रतिक्रिया असफल भैसकेको छ। र, सत्तापक्षले सहमति नगरे आन्दोलनबाट आफ्ना मागहरू पूरा गराएरै छोड्ने प्रतिपक्षी मोर्चाको प्रयास पनि असफल भइसकेको छ। यसबाट के प्रमाणित हुन्छ भने, दुवै कित्ताका एक्लाएक्लै प्रयासहरू असफल भएका छन्। उक्त असफलताले पुनः एकपटक जनआन्दोलन २०६२/०६३ लेे ल्याएको राजनीतिक परिवर्तनको मर्ममा टेकेर राज्यको पुनःसंरचनाको बहसलाई सन्तुलित ढंगबाट हल गर्नुपर्ने अनिवार्य विषयवस्तु बनाइदिएको छ। जहाँ सत्तापक्ष र प्रतिपक्षमात्र सरोकारवाला होइनन्। त्यसकारण संघीयताको मुद्दा आमजनताको साझा र राष्ट्रिय मुद्दा बनेको छ।        
संघीयताको सवाल लेखिँदै गरेको लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको व्यावहारिक अभिव्यक्तिसँग अन्तरसम्बन्धित छ। जो बाह्र बुँदे समझदारी, बृहत् शान्तिसम्झौता र अन्तरिम संविधानकै अंग हो। त्यसैले नेपाललाई एकात्मक राज्य प्रणालीबाट संघीय प्रणालीमा लैजाने कुरा सबैभन्दा कठिन र विवादास्पद विषय भए पनि यसको कार्यान्वयन नगरी सुख छैन। किनकि, राजनीतिक शक्ति सन्तुलनको वर्तमान आयाम अझै पनि संघीयताको विपक्षमा जानसक्ने देखिँदैन। तर नेपाललाई संघीय राज्यमा लैजाँदा अपनाउनुपर्ने आधारहरूको पहिचान र त्यसलाई राष्ट्रिय सहमतिको स्वरूप दिन यति धेरै व्यवधान छन् कि सन्तुलित दृष्टिकोण अपनाउन कसैलाई पनि सम्भव भइरहेको छैन।
नेपालमा संघीयताको आधार पहिचान गर्ने सवालमा संविधान सभाभित्र र बाहिरमात्र होइन, एउटै राजनीतिक दलभित्र पनि अनेकौँ विचार छन्। द्विविधारहित छ नेपाल जातीय, भाषिक, धार्मिक तथा साँस्कृतिक विविधता भएको मुलुक हो। यसको निर्माणको इतिहास पनि राजतन्त्रात्मक हिन्दु राज्य निर्माणको उद्देश्यबाट नै भएको थियो। स्वाभाविकै हो, सामन्ति युगमा राज्य विस्तारको चरित्र त्यसैअनुकूल अर्थात् तत्कालीन समयसापेक्ष हुन्छ। २०६२/०६३ को राजनीतिक आन्दोलनले भने यसअघि सम्बोधन हुननसकेका वर्गीय, जातीय, लिंगीय, भाषिक तथा क्षेत्रीय मुद्दालाई पनि हल नगरी नहुने मुद्दाको रूपमा उठायो। एकातिर कैयौँ आर्थिक, सामाजिक तथा राजनीतिक मुद्दा उठाएर तत्कालीन नेकपा (माओवादी)ले ‘जनयुद्ध'को नाम दिएर सशस्त्र संघर्षको सुरुवात गरेको थियो भने अर्कोतिर राजतन्त्रात्मक बहुदलीय व्यवस्थालाई अपदस्त गर्दै पूर्वराजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि संसदवादी दलहरू पनि निरंकुश राजतन्त्रबिरुद्ध जनआन्दोलनमा उत्रिएका थिए। त्यसपछि यी दुवै शक्ति सशस्त्र द्वन्द्वको प्रारम्भिक समयमा जस्तो शत्रुतापूर्ण अवस्थामा रहेनन्। बरु राजाद्वारा अपहरित संसद्को पुनःस्थापना गर्न एकअर्काको पूरक शक्तिको रूपमा देखापरे। विगतको राजनीतिक शक्ति सन्तुलन भत्कियो, संसदीय राजनीतिक दलहरू र माओवादीसहितको लोकतान्त्रिक ध्रुवीकरणले नेपालमा गणतन्त्रको स्थापना गर्योत।
संघीयताको कुरा गर्दा पुनः नयाँ वर्षमा नयाँ ढंगले उत्खनन् गर्नुपर्ने कुरा के छ भने, तत्कालीन जनआन्दोलनले माओवादीजस्तो सशस्त्र आन्दोलनमा रहेको शक्तिको मुद्दालाई पनि सम्बोधन गर्नैपर्ने राजनीतिक कबुल गरेको थियो। अहिले माओवादी शक्ति सापेक्षिकरूपले कमजोर बनेको बेलामा यो तथ्यलाई बिर्सन मिल्दैन। र, माओवादी पनि विगतको अतिवादी धरातलबाट वास्तविकतामा ओर्लिसकेको छ। यसले गर्दा सहमतिको लागि धेरै सजिलो अवस्था छ। प्रक्रिया र सहमतिबाट थाकेका दुवैथरि राजनीतिक शक्तिले पुनः एकपटक बाह्र बुँदे समझदारीदेखि अहिलेसम्मका सम्झौताहरू स्मरण गर्ने हो भने नयाँ समझदारी कायम गरेर छिटोभन्दा छिटो संविधान जारी गर्न सकिने अवस्था विद्यमान छ।
बाह्र बुँदे सहमतिले उत्पन्न गरेको राजनीतिक ध्रुवीकरणको चरित्र मूलतः लोकतान्त्रिक गणतन्त्र हुने कुरा प्रष्ट रहेको भए पनि उक्त लोकतान्त्रिक गणतन्त्रले संविधान सभामार्फत् राज्यको व्यापक पुनःसंरचना गर्नुपर्ने मान्यता पनि राखेको थियो। बाह्र बुँदे सहमतिको भूमिकामा ‘निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्णलोकतन्त्रको स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक आदि सबै क्षेत्रका वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याको समाधान गर्न राज्यको अग्रगामी पुनःसंरचना गर्दै पूर्णलोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्ने' उल्लेख थियो। राज्यको अग्रगामी पुनःसंरचना प्राप्त गर्ने विधिबारे त्यसै समझदारीपत्रको दोस्रो बुँदामा संसद्को पुनःस्थापना गर्दै त्यसको निर्णयले अधिकार सम्पन्न सर्वदलीय सरकार, माओवादीसँग वार्ता र सहमतिको आधारमा संविधान सभाको निर्वाचन गर्ने बताइएको थियो। २०७१ सालसम्मको राजनीतिक यात्रा यही प्रक्रिया पूरा गर्दै अगाडि बढिरहेको छ। त्यसकारण संघीयताको मुद्दामा अब सन्तुलित दृष्टिकोण राख्न धेरै सजिलो भएको छ। तर सर्त यो छ कि, सबै प्रमुख दल एकपटक इतिहासको उक्त क्षणलाई स्मरण गर्दै २०७२ सालमा समाधान यात्रामा निस्कनु पर्नेछ।
राज्य पुनःसंरचनाभित्र संघीयताको बहसले विगत ७ वर्षदेखि संविधान सभा, बौद्धिक जगत, सञ्चार जगत, नागरिक समाज तथा संविधान सभाबाहिरका विभिन्न समूहबीच ठूलो आकार लिइसकेको छ। जनताको ठूलो हिस्सा प्रशिक्षित पनि भइसकेको छ। संघीयताको विषय र यसको गम्भीरतालाई बुझ्नको लागि पर्याप्त मात्रामा सन्दर्भ सामग्रीसमेत जम्मा भइसकेका छन्। पहिलो संविधान सभाको राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँट समितिले आफ्नो अवधारणासहित बुझाएको प्रतिवेदन, राजनीतिक दलहरूका विभिन्न चरणका छलफल, विभिन्न स्वतन्त्र तह र तप्काबाट गरिएका प्रस्ताव आदि सन्दर्भ सामग्री लामो बहस र अभ्यासका क्रममा प्राप्त भएका महत‍्वपूर्ण सामग्री हुन्। त्यसकारण अब समाधानमा पुग्न कसैलाई पनि धेरै गाह्रो छैन। बहुलतामूलक समाजमा विचारको बहुलता हुनु स्वाभाविक छ। तर २०७२ सालको आरम्भसम्म भएका बहस र छलफलले संघीयताको साझा अवधारणा तयार पार्न धेरै मद्दत पुग्ने देखिएको छ।
 नेपालको अन्तरिम संविधानको धारा १५९ मा नेपाल एक ‘संघीय लोकतान्त्रिक गणतन्त्र' हुने किटानी गरिएकाले नेपाल संवैधानिकरूपमा नै संघीयतामा प्रवेश गरिसकेको छ। उक्त किटानीले झण्डै २५० वर्षसम्म रहेको एकात्मक र केन्द्रिकृत स्वरूपलाई संघीय स्वरूपमा परिवर्तन गर्ने वैधानिक मार्गलाई खुला गरिदिएको थियो। वैधानिक मार्गको अवसर प्राप्त हुने बित्तिकै नेपालमा संघीयताको आधार तयार पार्ने विषयमा सबैभन्दा ठूलो द्वन्द्व पनि देखिएको थियो। नेपाललाई किन र कसरी संघीयकरण गर्ने भन्ने विषय अहिले पनि द्वन्द्वको मूल विषयका रूपमा रहे पनि धेरै हदसम्म द्वन्द्व साँघुरिएको छ। यसबारे देखिएको विवादको मूल विषय जातीयताको सवाल हो। संविधान निर्माणमा बढी मुखरित भएर आएको भए तापनि नेपालमा जातीय समस्या भर्खरै उत्पन्न भएको नौलो विषय भने होइन। पहिचानको यही आधारलाई नै संघीयताको मुख्य वा सहायक आधार बनाउने विषय नै वास्तवमा नेपालको संघीयकरणमा देखिएको गतिरोधको मुख्य समस्या थियो। तर आजको समयसम्म आइपुग्दा उक्त मुद्दा निकै हदसम्म लचिलो बन्दै गएको छ। एकाध प्रदेशलाई बहुजातीय नामकरणमा खुम्चिएको उक्त मुद्दा अब समस्यामूलक मुद्दा रहेन।
 यसरी संघीयताको मुद्दामा केन्द्रित गतिरोधलाई अन्त्य गर्ने बाध्यात्मक अवस्थाको निकट राजनीतिक दलहरू आइपुगेका छन्। न त सत्तापक्षले प्रक्रियालाई अगाडि बढाउन सक्छ न त प्रतिपक्षले आन्दोलनलाई। गत सालभरिको अवस्थालाई हेर्ने हो यसै असफल प्रयत्नको वरिपरि रहेर दलहरूले समय बर्बाद पारेका थिए। आशा गरौँ, यो वर्ष दलहरूले आफ्नो सीमा बुझ्नेछन् र न्यूनतम सहमति कायम गरेर नयाँ संविधान जारी गर्नेछन्। यसका निम्ति उनीहरूलाई समयले उचित शिक्षा दिइसकेको छ। ग्रहण गर्ने वा नगर्ने त उनीहरूकै जिम्माको कुरा हो। वार्ताको चरण समाप्त भइसकेको छ। अब द्रुत गतिमा काम थाल्नुपर्छ। सम्पूर्ण पाठकमा नयाँ वर्षको शुभकामना!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस