आन्दोलनका अप्ठेरा
०५ चैत्र २०७१
•
१६ मिनेट पाठ
आन्दोलनका अप्ठेरा
नेपाली कांग्रेस, नेकपा (एमाले) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रभावित वृत्त बाहिरबाट सोच्ने हो भने सडक आन्दोलनको विकल्प छैन। सरकारमा रहेका दल वा तिनका प्रचारकमध्ये कोही जीब्रो चपाएर बोल्छन्। कसैको बोली ठाडो हुन्छ। कोही शास्त्रीय कुरा गर्छन्। कसैकसैले संसदीय प्रचलन तेर्स्याउँछन्। भाव भने सबैको धेरथोर एउटै हुन्छ — दुई तिहाइ मत सरकारमा रहेका दलहरूसँग छ। त्यसैले तिनले चाहेअनुसारको संविधान बन्नुपर्छ। संविधान नबने पनि के नै बिग्रेको छ र? अन्तरिम संविधान छँदैछ। अब विकास र समृद्धिको राजनीति गरे पुग्छ।जित मनोसमृद्धिको राजनीतिका प्रणेताहरू अतीत बिर्सन चाहन्छन्। मानौ, माओवादी सशस्त्र संघर्ष एउटा दुःस्वप्नमात्र थियो। मुलुकमा आन्तरिक संकटकाल कहिल्यै लागेन। अध्यक्ष ज्ञानेन्द्रलाई झुकाउने आन्दोलन कांग्रेस—एमाले समर्थकले आफ्नै बलबुतामा गरेका थिए। विस्तृत शान्ति सम्झौतामा भाङ खाएर हस्ताक्षर गरिएको थियो। मदेस विद्रोह त झन् हुँदै भएन।
मधेसवादी दलहरूसँग गरिएका दुवै सम्झौता धोका थिए। र, प्रथम संविधान सभाका बाकसहरू माओवादीको क्याम्पमा सुरक्षितसँग राखिएका थिए। गिरिजाप्रसाद कोइरालाले माओवादीलाई मूलप्रवाहमा ल्याएर र मधेसवादीको माग सम्बोधन गरेर राजद्रोह गरे। हिन्दी फिल्म ‘गजनी'को प्रदर्शनपछि ‘अल्पकालीन विस्मृति’ भन्ने शब्दावली थेगो नै बनेको थियो – ‘सर्ट टाइम मेमोरी लस’। राजनीतिमा त्यस्तो प्रवृत्तिलाई अवसरवाद भन्ने गरिन्छ। न हिजोको हेक्का न भोलिको फिक्री। एमालेको त राजनीति नै त्यही हो। जनमत संग्रह (२०३७) देखि आजको मितिसम्म एमालेको व्यावहारिक राजनीतिमा कुनै फेरबदल भएको छैन। तर, काग्रेस भने दुई दशक अगाडिसम्म त आदर्शका कुरा सार्वजनिक खपतकै लागि भए पनि उठाउने गर्थ्यो। अब त त्यतिसम्म गर्ने पनि कोही बाँकी छैनन्।
घटना सन् १९९५ तिरको हुनुपर्छ। मध्यावधि निर्वाचनपछि नेपाली कांग्रेस समर्थकहरूको मनोबल खस्केको अवस्था थियो। सरकारबाहिर रहेर पनि गिरिजाप्रसाद कोइराला शक्तिकै भाषा बोल्ने गर्थे। कृष्णप्रसाद भट्टराईका ठट्टा र चेतावनी उस्तैउस्तै सुनिन्थे। राज दरबार र सुरक्षा निकायका प्रभावशाली अधिकृतहरूसँग नाता जोडिएका शेरबहादुर देउवाको भाषा पनि दरबारी भइसकेको थियो। कांग्रेसका नेताहरू दालभात खाने स्तरबाट सुस्तरी भुजा ज्युनार हुने मुकाममा पुग्नथालेका थिए। त्यस्तो बेलामा समेत दुई तीनजना कांग्रेसहरू सिद्धान्तका कुरा गरेर आफ्नो दलको बचाउ गर्न खोज्थे। रामचन्द्र पौडेलको नाउँ पनि समाजवादका व्याख्याताका रूपमा आउने गर्थ्यो।
लाजिम्पाटको एम्बेसडर होटेलको सानो बैठकमा प्रजातान्त्रिक विचार राख्ने इन्जिनियरहरूको भेला थियो। मुख्य अतिथिका रूपमा कांग्रेसका सभापति निम्त्याइएका थिए। केही कारणवश उनी आउन सकेनन्। प्रमुख अतिथि भए रामचन्द्र पौडेल। कांग्रेसका अरू केही हर्ताकर्ता पनि अग्रपंक्तिमा विराजमान थिए। अन्तरक्रियाका क्रममा एक जना इन्जिनियरले प्रश्न गरे — ‘ सन् १९९० अगाडि नेपाली कांग्रेस समर्थक भन्न डर त लाग्थ्यो तर गौरव पनि महसुस हुन्थ्यो। चिन्नेजान्नेले आदरका साथ कटाक्ष गर्थे — त्यो त कांग्रेसी हो नि! आज डर छैन तर त्यसको ठाउँ लाजले लिएको छ। कसैले कांग्रेसीभन्दा टाउको निहुराउनुपर्छ। त्यस्तो अवस्था किन आएको होला?’ कोठामा एकछिनको स्तब्धतापछि मात्र पौडेलले निहुरिएको शिर सुस्तरी माथि उठाएर भारी आवाजमा यत्तिमात्र भन्न सकेका थिए — ‘ त्यति त एकैचोटी हैन है।’ आजभोलि त उनीमाथि समेत नातावाद, आफन्तवाद एवं कृपावादको आरोप लाग्नेगरेको छ।
दुई तिहाइ बहुमतको जति नै दुहाइ दिए पनि शिर ठाढो पारेर कुरा गर्नसक्ने हैसियत आज पनि कुनै कांग्रेस — एमाले समर्थकको छैन। पाएका बेला सके जति कुम्ल्याउनेबाहेक अरू कुनै उद्देश्य नभएका जस्ता लाग्ने राजनीतिकर्मीहरु सरकारमा छन्। संघीयताको शब्द सुने नाक खुम्च्याउँछन्। समावेशिता त उच्चारणसमेत गरिँदैन। धर्म निरपेक्षतालाई चिढको विषय बनाइएको छ। ‘विकासका लागि राजनीति' कुनै बेला पञ्चहरुको मूल मन्त्र हुने गर्थ्यो। त्यस मन्त्रको जपसँग जोडिएका जे जति क्रियाकर्म सन् १९६० पछिका तीन दशकभित्र भए अहिले झन् तीव्र गतिमा भइरहेका छन्। नेता अगाडि बढिरहेका छन्। मुलुकको मूलधार मस्त छ। सीमान्तीकृत र बहिष्कृत भने त्रस्त छन्।
सन्, १९९५ — ९६ तिरको बेथितिले सशस्त्र संघर्षको आधारभूमि तयार गर्यो । असन्तोषको आगोमा दाउरा थप्ने र हावा हम्कने भने अरु नै थिए। तर, भयंकर वितृष्णा नभएको भए त्यत्रो राज्य विप्लव सम्भव हुनेथिएन। त्यतिबेलाको संसदीय विपक्षले जोडघटाउ छाडेर आन्दोलन आह्वान गर्नसकेको भए बेग्लै परिस्थिति बन्नसक्ने सम्भावना सायद थियो। संसदीय संस्कृति कमजोर भएकाले त्यसो भएन। इतिहास बदलिनु जो थियो।
सुस्त हाँक
विपक्षीहरुको आन्दोलन घोषणाले अहिले मुलुकको राजनीति तरङि्गत हुनुपर्ने थियो। संविधान सभाका अध्यक्षले भने सामान्य संसद्को सभामुखजत्तिको धैर्य र परिपक्वतासमेत देखाउन सकिरहेका छैनन्। जति नै बहुमत भए पनि अन्तरिम संविधानअन्तर्गत गठन भएको सबै सरकार स्वभावतः अन्तरिम हुन्छ। त्यति कुरा ठम्याउनलाई जनादेश र मतादेश बीचको अन्तर बुझिराख्नु पर्दैन। अन्तरिम संविधान जे जति कारणले लेखिएको हो त्यसलाई बेवास्ता गर्ने आशयसमेत व्यक्त हुनु अराजनीतिक अभिव्यक्ति हो। त्यस्तो अवस्थामा माओवादी सशस्त्र संघर्ष एवं मधेस विद्रोहमा होमिएका राजनीतिकर्मीहरुले स्वभावतः विकल्प खोज्ने प्रयास गर्नैपर्ने हुन्छ। त्यो त तिनको नैतिक जिम्मेवारी हो।
आन्दोलनको उत्साह भने सशस्त्र संघर्ष एवं व्यापक विद्रोहको अगुवाइ गरेकाहरुमा पनि छैन। वातानुकूलित गाडीमा चड्ने र हवाई जहाजमा यात्रा गर्ने बानी परेपछि सडकमा उत्रिन गाह्रै हुनेरहेछ। पूर्वपञ्चहरु आस्था परिवर्तन भएर हैन आन्दोलनमा उत्रने क्षमता नभएकाले सन् १९९० पछि प्रजातन्त्रवादी र सन् २००६ पछि गणतन्त्रवादी भएका हुन्। लगभग त्यस्तै अवस्था आजभोलि माओवादी एवं मधेसवादी मधेसवादीमा देखिँदै छ। सन् १९९४ पछिको त्रिशंकु संसद्मा पञ्चायतका हस्तीहरु पालैपालो प्रधानमन्त्री भएका थिए। त्यस्तै अवसर आई पो हाल्ने हो कि भन्ने लोभले गर्दा माओवादी एवं मधेसवादी नेतृत्व पंक्तिका कैयौं हस्ती मुख मिठ्याएर बसेका छन्। विभादशामा लेनदेन त हुनसक्छ तर आन्दोलनको आँधी उत्पन्न गर्न सकिँदैन।
जति नै वर्गीय सम्मानको राजनीतिको कुरा गरे पनि संसदीय व्यवस्थाभित्रका आन्दोलनरुपी गाडीमा तेल पुँजीपतिले हाल्ने गर्छन्। एमालेसम्बद्ध गिरोहहरुबाट मुक्त हुन माओवादी सहयोगी ठहरिएको थियो। मधेसी दलका कार्यकर्ताको उपयोग एमाले गिरोह एवं माओवादी युवालाई ठेगानमा राख्न भएको थियो। त्यस्तो कुनै चुनौती आजभोलि नेपालको गिरोहतन्त्रका सञ्चालकलाई छैन। सम्भवतः जनमत संग्रह ताकाको सूर्यबहादुर थापा र कटवाल काण्डपछिको माधवकुमार नेपाल नेतृत्वको व्यवस्थापछिको तेस्रो सबैभन्दा बढी गिरोह मैत्री समूह अहिले सरकारमा छ। पुँजीपतिले आन्दोलनलाई समर्थन गर्दैनन्। अहिलेजस्तो नाफा अब फेरि कुनै बेला हुन्छ वा हुँदैन केही ठेगान छैन। त्यसैले तिनका प्रवक्ता एवं मुखपत्र एकल राग गाइरहेका छन् – दुई तिहाई!
अन्तर्राष्ट्रिय समुदाय भनिने दाता, साहु एवं वित्रे्कताहरु सम्भवतः थेरै उथलपुथल रुचाउँदैनन्। तिनमा माओवादीप्रति वैरभाव छ। मधेस त तिनका लागि मुद्दा नै हैन। जनजाति र दलितप्रति केही सद्भाव होला तर स्वार्थ एवं हित भने जुनसुकै विदेशीको पनि स्थानीय स्थायी सत्तासँग जोडिएका हुन्छन्। बाहिर होहल्ला जति सुनिए पनि भारत र चीनलगायत सबै विदेशी अहिले आन्दोलनको विपक्षमै छन्।
समग्रमा चिकित्सक गोविन्द केसीबाहेक नेपालमा अहिले आन्दोलन गर्ने पक्षमा कोही पनि देखिँदैनन्। केसी मूलतः शल्यचिकित्सक हुन्। बिग्रेको अंग ठम्याउन सके रोग निको पार्न सकिन्छ भन्ने मान्यतामा आधुनिक चिकित्सा प्रणाली अडिएको हुन्छ। असल नागरिक भए पनि समर्पित चिकित्सक भएकाले गोविन्द केसी व्यापक राजनीतिक आन्दोलनको अगुवाइ गर्न अगाडि सर्ने सम्भावना निकै कम छ। अनि त, आन्दोलन गर्ने कस्ले? यस्तै बाध्यताले गर्दा सन् २००५–०६ तिर चारैतिर आलोचित एवं नराम्रोसँग विभाजित नेपाली कांग्रेसको साख पुनःस्थापित भएको थियो। त्यस्तै अवसर अहिले माओवादीले पनि पाएको छ। समस्या के भइदियो भने ‘वैज्ञानिक राजनीति' प्रयोगले चल्देन। माओवादले जोखिम त उठाउन सक्छ तर परिणाम पक्का भएमात्र। परिणामको निश्चितता खोज्ने मनःस्थितिबाट आन्दोलन सञ्चालन हुनसत्तै्कन।

मधेसको अगुवाइ


अहिलेसम्मका अधिकांश राजनीतिक आन्दोलनजस्तै अब पनि मधेसले अग्रसरता देखाएन भने यथास्थितिले निरन्तरता पाइरहने छ। असन्तुष्टि दलितमा पनि छ। आत्मविश्वासको कमीबाट भने पहाडका दलित पनि मुक्त छैनन्। जनजातिको आक्रोशलाई व्याख्या गर्न गाह्रो छ। नारा लगाएर परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास तिनका अगुवामा समेत देखिँदैन। जति नै बदनाम भए पनि दबमध्ये एक मधेसी मत पाएका दलहरुको काँधमा समुदायको हित सुरक्षित गर्ने शतप्रतिशत जिम्मेवारी छ। त्यही तथ्य उजागर गर्नका लागि पनि तिनले आन्दोलन नगरी सुखै छैन।
मधेसीहरुको मत सोहोरेर राष्ट्रिय भएका दलहरुलाई आन्दोलनले मात्र धरातलमा ल्याउन सक्छ। नेताहरुको निगाहमा बाँच्ने कांग्रेस—एमाले पंक्तिका मधेसी राजनीतिकर्मीको मनोबल बढाउने काम पनि आन्दोलनले मात्र गर्न सक्छ। नत्र भने ती सँधैभर आफ्नै हितका लागि पनि मुख आँ गरेर कुरिरहन अभिशप्त छन्।
अहिलेको जस्तो गन्जागोल अनन्तकालसम्म चलिराख्न सम्भव छैन। यथास्थिति स्वभावैले अस्थिर हुन्छ। परिवर्तनकारी शक्तिले अग्रसरता देखाउन सकेनन् भने स्वाभाविकरुपमै त्यो जिम्मेवारी प्रतिगामीमा सर्छ। त्यति त सत्तामा रहेका दलका इमानदार कार्यकर्तालाई पनि बोध भइसकेको हुनुपर्छ। कांग्रेस र एमालेका मधेसी कार्यकर्ताको प्रत्यक्ष संलग्नता नभएको भए मधेस विद्रोह हुनसक्ने थिएन। त्यस्तो वातावरण भने मधेसी जनाधिकार फोरमको सक्रियताले बनेको थियो। अब अग्रसरता कस्ले लिन्छ हेर्न बाँकी छ। केही नहुन सकेन भने स्थिति पनि कसैको बाबुमा रहने छैन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस