काठमाडौँमा केएफसी आगमन
२३ मंसिर २०६६
•
१३ मिनेट पाठ
काठमाडौँमा केएफसी आगमन
भूमण्डलीकरणको वेगबाट मुलुकले लिने लाभ नीतिगत सक्रियता, बुद्धिमता र क्षमतामा निर्भर हुन्छ। अन्यथा काठमाडौंको केएफसीमा ब्राजिली कुखुरा त पाक्लान् तर नेपालका कुखुरा पालक सडकमै मासु बेचिरहन बाध्य हुनेछन्।

बहुराष्ट्रिय रेष्टुराँहरू केएफसी र पिज्जा हटले नेपालमा पनि आफ्नो शाखा विस्तार गरे। यिनको आगमनले सल्बलाउँदो भूमण्डलीकरणको गतिलाई नयाँ रफ्तार दिनुका थुप्रै चुनौती र चिन्ता पनि जन्माएको छ।

भूमण्डलीकरणको प्रभाव नेपालमा कति सशक्त थियो भने सशस्त्र द्वन्द्वकै बीचमा यस मुलुकले २३ अप्रिल सन् २००४ मा विश्व व्यापार संगठनको सदस्यता पायो। यद्यपि, यहाँ पेट्रोलदेखि होटल व्यवसायसम्म आन्दोलन जारी छ। औद्योगिक सम्बन्ध सुमधुर हुन सकेको छैन। न्यूनतम ज्याला निर्धारण गर्ने संयन्त्रले अपेक्षित गति लिन नसक्दा क्षेत्रगत र राष्ट्रिय न्यूनतम ज्यालादरका विषय जोडदारसँग उठिरहेका छन्। गैरआवासीयहरू लगानी सुरक्षाको प्रत्याभूति माग्दैछन् भने उपभोक्ता गुणस्तरको। यस्तै समयमा बहुराष्ट्रिय कम्पनी भित्रिएका छन्। भूमण्डलीकरणका घोषित संवाहक पनि भएकाले यिनको आगमन र नेपाली परिप्रेक्ष्यका घटनाक्रमलाई एउटै परिधिभित्र केलाउनु जरुरी हुन्छ।

नेपालको कुल गार्हस्थ उत्पादन अहिले त्यति मात्रै छ, जति श्रीलंकाको सन् १९६० र भारत तथा भुटान १९८० मै पुगिसकेको थियो। सन् १९९० र २००० को दशकमा थालिएका महत्वपूर्ण आर्थिक सुधारका कार्यक्रमले पनि यस गतिलाई उँभो लगाउन सकेनन्। नेपालमा हालका रोजगार (सातामा कम्तीमा एकदिन काम गर्ने) मानिसको संख्या एक करोड १७ लाख ७९ हजारमात्रै छ। यस्तो स्थितिमा बहुराष्ट्रिय कम्पनीले रोजगारीमा संख्यात्मकता नभए पनि गुणस्तरीयता र दक्षता थप्न सक्छन्। तर तिनीहरू सघन पुँजीमा आधारित हुन्छन्। प्रत्यक्ष उद्देश्य सेवा प्रदान गर्नु भए पनि मुनाफा आर्जन तिनको मुख्य लक्ष्य हो। यस्ता कम्पनीले प्रति पाँच लाख रूपैँयाको लगानीमा एकजनालाई रोजगारी दिएका तथ्याङ्क छन् भने नेपाली उद्योगहरूले प्रति ९० हजार रूपैँयामा। उसो त नेपाली घरेलु तथा साना उद्योगले प्रति १० हजार रूपैँया बराबरको लगानीमै एकजनालाई रोजगारी दिएका छन्। यस तथ्याङ्कले पनि रोजगारी अभिवृद्धिको लागि बहुराष्ट्रिय कम्पनीमा निर्भर रहनु उपयुक्त देखाउँदैन।

बहुराष्ट्रिय कम्पनीले वस्तु तथा विचारको स्वतन्त्र विनिमय गर्न सहयोग पुर्‍याउँछन्। दक्ष तथा प्रतिस्पर्धी मानव संसाधनको विकासमा यिनको भूमिका महत्वपूर्ण रहन्छ। यसैले गर्दा विश्वका विभिन्न भूभागमा आविष्कार र उद्यमशीलता सम्भव भएका छन्। तर अर्को पाटोमा भूमण्डलीकरणका हिमायतीहरू सरकार बजारको नियन्त्रक होइन, सहजकर्ता भइदिओस् भन्ने अपेक्षा गर्छन्। तिनीहरू स्पर्धात्मक तथा उदार र खुला आर्थिक प्रणाली चाहन्छन्। यसै कारणले यिनले कुनै पनि मुलुकको गृह बजार र अन्तरदेशीय आर्थिक सन्तुलनमा समेत प्रभाव पार्न सक्छन्। विश्वव्यापीरूपमै नीतिहरूमा समानता हुनु यिनको लागि बढी हितकर हुन्छ। त्यसैले पनि खुला बजारमा विनिमय दर, घरेलु ऋणको सिर्जना, ब्याज दर निर्धारण र वित्तीय सन्तुलन ठूला व्यावसायिक गृहहरूको नियन्त्रणमा पुग्छ। यस्तो स्थितिमा हुने आर्थिक कल्याणले समाजका सबै हिस्सा लाभान्वित नै हुन्छन् भन्न सकिन्न।

उसो त भूमण्डीकरणको बढ्दो दबाबलाई रोक्ने प्रयास भएका दृष्टान्त पनि छन्। सन् १९४७ मा भारतले वैदेशिक लगानीमाथि उल्लेखनीय प्रतिबन्ध लगाएको थियो। उसले घरेलु पुँजीले नै औद्योगीकरण गराउनुपर्नेमा विशेष जोड दिएको थियो। त्यसैले वैदेशिक पुँजी आर्थिक उन्नतिको एउटैमात्र आधार भने होइन। तर बहुराष्ट्रिय कम्पनीहरूको आर्थिक उन्नतिसँगै व्यवसायीहरूको सामाजिक दायित्व (कर्पोरेट सोसल रिस्पन्सिब्लिटी) लाई अघि लाउन सकेको खण्डमा समतामूलक विकासको प्रत्याभूति मिल्न सक्छ। उपयुक्त नीति तथा प्रावधान मिलाइए तिनले यसै मुलुकमा लघु-उद्यमशीलता, लघु कर्जा तथा सहकारीको विकासमा सहयोग गर्न पनि सक्छन्।

केही वामपन्थी विचारकले भूमण्डलीकरणलाई 'पुनःऔपनिवेशीकरण' को आधुनिक प्रक्रिया पनि मानेका छन्। यिनको विचारमा बहुराष्ट्रिय कम्पनीहरूको शैली सामाजिक कल्याणतर्फ उन्मुख नभई नाफामुखी मात्र हुन्छ। तिनीहरू सामाजिक हितभन्दा मुनाफा संकलन र मानवीय दायित्वमुखी हुनुभन्दा व्यवसायमै पुनर्लगानी गर्नतर्फ लाग्छन् भन्ने आरोप पनि छ। अर्कोतर्फ, सस्तो श्रम, प्राकृतिक संसाधन र कमजोर वातावरणीय कानुनको फाइदा उठाउन बहुराष्ट्रिय कम्पनी विपन्न मुलुकमा पस्छन् भन्ने तर्क पनि बलियो छ। यस परिप्रेक्ष्यमा यिनबाट स्थानीय उपज तथा स्रोतको अधिकतम उपयोग हुने पूर्ण विश्वास लिन सकिन्न। यसको बलियो उदाहरण नेपालकै केएफसी हो। अहिले नेपाली मासु बजारको स्वस्थपनमा खोट औँल्याउँदै सो कम्पनीले ब्राजिलबाट मासु ल्याउने भएको छ। हातले समेत नछोइकन सो कम्पनीलाई मासु तयार गर्ने मेसिनकै लागि भारु छ करोड पर्ने केएफसीले नै जनाएको छ। यस अवस्थामा उसलाई बेच्ने गुणस्तरको मासु उत्पादन गर्ने सोच्नु पनि नेपाली उद्यमीका लागि दिवास्वप्न हुन्छ।

नेपालमा विद्यमान औद्योगिक द्वन्द्व बहुराष्ट्रिय कम्पनीहरूको लागि मुख्य चासो पनि हो। यहाँ श्रमसम्बन्धी विभिन्न मुद्दाले राजनीतिक रंग लिएका थुप्रै घटना छन्। २०६५ पौष ६ गते हिमाल मिडियामा भएको आक्रमण, निरन्तरको विवादमा फँसेका विराटनगर जुट मिल, एसिया डिस्टिलरी र हुलास स्टिल कम्पनी तथा बारम्बार बन्द हुने गरेको मनकामना केबुल कारले कुनै समय दैनिक १० लाखसम्म घाटा बेहोरेका छन्। राजनीतिले वर्गीय विभाजनलाई चरम बनाएको स्थितिमा बहुराष्ट्रिय कम्पनीको प्रवेशलाई महत्वका साथ हेरिनुपर्छ। कि त यिनले श्रमिकमुखी नीति नै स्वीकार्ने निर्णयले यस्ता मुलुकमा पाइला चाल्छन्, कि त नीति नै आफ्नो पक्षमा परिवर्तन गराउने विकल्पमा। आर्थिक उदारीकरणमा स्वभावैले यी दुईमध्ये बढी सम्भावना पछिल्लो विकल्पको छ। त्यसैले अधिकारचेत मजदुरहरू तथा लचिलो नीति चाहने बहुराष्ट्रिय लगानीकर्ताबीचको टकरावले गर्दा अबका दिनमा फेरि पनि यहाँ श्रम मुद्दा उठ्ने सम्भावना देखिन्छ।

लगानी नै भिाउने नै हो भने गैरआवासीय नेपालीले पनि नेपालको औद्योगिक विकासमा धेरै रुचि देखाएका छन्। पर्याप्त नीति तथा लगानी सुरक्षाको वातावरण तयार गर्ने र श्रम बजारलाई उचित सम्मान दिने हो भने आर्थिक उन्नतिका धेरै बाटा खुल्ने सम्भावना अझै मेटिएको छैन। तर औद्योगिक सम्बन्ध खराब हुनु तथा श्रम बजार लचिलो नहुनु अहिलेको मुख्य समस्या हो। एसियाली विकास बैंकले सन् २००९ मा निकालेको अध्ययन प्रतिवेदनले पनि यिनलाई नेपालमा नीजि लगानी तथा आर्थिक वृद्धिमा असर पार्ने कारणहरू मानेको छ। यसपछि उत्पादन तथा सेवाको विस्तार तथा वस्तुको विविधतामा ध्यान दिनु आवश्यक हुन्छ। यससँगै श्रमसम्बन्धी थुप्रै मामिला थाती नै छन्। एउटै श्रम बजारमा नेपाली उद्योग र बहुराष्ट्रिय कम्पनीका कार्यस्थलको वातावरणमा भिन्नता छ। अहिले राजधानीमै २० प्रतिशत जनताले ९० प्रतिशत राष्ट्रिय आम्दानी उपभोग गरिरहेका छन्। यस्तो अवस्थामा समावेशी रोजगारी एवम् समतामूलक आर्थिक विकासको माग पनि उत्तिकै छ। समयमै यिनलाई सम्बोधन नगरे नेपाली समाजमा आर्थिक असन्तुलनको फाटो झनै चाक्लिने निश्चित् छ।

आर्थिक तथा वाणिज्य उदारीकरणसँगै औद्योगिक जगतमा विवाद सुल्झाउने संयन्त्र गठन गर्ने परानै योजना हो। नेपालको श्रम ऐन, २०४९ को धारा ६१ र ६२ मा केन्द्रीय श्रम सल्लाहकार बोर्ड र श्रम सम्बन्ध समितिको गठन हुनुपर्ने प्रावधान छ। त्यस्तै विद्यमान कानुनी प्रावधानमै श्रम अदालत पनि उल्लेख गरिएको छ। तर यिनलाई व्यवहारमा अनुवाद गर्ने काम कि त भएकै छैनन् नभए प्रभावकारी छैनन्।

भूमण्डलीकरणको वेगलाई रोक्न सक्ने अवस्था छैन तर यस्तो वेगबाट कत्तिको ऊर्जा भिœयाउन सकिन्छ भन्ने नीतिगत सक्रियता, बुद्धिमता र क्षमतामै निर्भर हुन्छ। होइन भने केएफसीमा ब्राजिली कुखुराका सपेटा त पाक्लान् तर नेपालका कुखुरा पालकहरू बुटवलमा झैँ सडकमै मासु बेचिरहन बाध्य हुनेछन्।

(लेखक स्विस राष्ट्रिय केन्द्रमा 'द्वन्द्व र अर्थतन्त्र' विषयका अनुसन्धाता हुन्।)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस