सराङकोटमा सुधारगृह
१७ फागुन २०७१
•
१८ मिनेट पाठ
सराङकोटमा सुधारगृह
कास्कीको सराङकोट सूर्याेदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि संसारमै प्रसिद्ध छ। म भने अस्ति शनिबार बिहान सराङकोटमा सञ्चालित बाल सुधारगृह हेर्न बढी उत्सुक थिएँ। बालबालिकालाई न्यायिक निकायका आदेशमा थुनामा राख्न परे बाल सुधारगृहमा राख्नुपर्छ।नेपालमा सराङकोटबाहेक अहिले सानोठिमी र विराटनगरमा बालसुधार गृह सञ्चालन गरिएको छ। यी बाल सुधारगृहहरू न्यूनतम सुविधिविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप, नेपाल)को व्यवस्थापनमा सञ्चालन गरिएका छन्। सुधारगृहमा राखिने बालबालिकालाई 'कानुनसँग विवादमा परेका बालबालिका' पनि भनिन्छ। बाल अधिकारप्रति संवेदनशील नहुँदासम्म प्रचलित कानुनले गर्न नहुने भनेर किटान गरेका काम गरेको अभियोग लागेका यस्ता बालबालिकालाई अंग्रेजीमा 'जुभेनाइल डेलिङक्वेन्ट' र नेपालीमा 'बाल अपराधी' समेत भन्ने गरिन्थ्यो। बिस्तारै यही अर्थमा अलि सम्मानजनक शब्दहरू प्रयोग गर्न थालियो।

बालअधिकार चेतनासँगै बालबालिकालाई वयस्कहरूसँग झ्यालखानामा राख्न हुँदैन भन्ने सिद्धान्ततः स्वीकार गरियो। नेपाललगायत संसारका धेरै मुलुकमा न्याय प्रणालीमा आएको यस परिवर्तनमा बालअधिकार महासन्धि, १९८९ को विशेष योगदान छ। नेपालले २०४६ सालको जनआन्दोलन लगत्तै यस महासन्धिमा हस्ताक्षर गरेको हो। यसैगरी बालबालिका सम्बन्धी छुट्टै ऐन पनि २०४८ मै बनाएको हो। बालअधिकारका क्षेत्रमा नेपाल यसरी अपेक्षाकृत चाँडै नै विश्वरङ्गमञ्चमा देखापर्योु। तर, त्यसलाई चरितार्थ गर्न आवश्यक भौतिक तयारीलाई भने खासै महत्व र प्राथमिकता दिइएन। त्यही क्रममा बाल सुधारगृहहरूको स्थापना पनि ओझेलमै परिरहेको थियो।

सपनाको सुरु
सन् १९९३ मा हुनुपर्छ समाज कल्याण परिषद् र जिल्ला विकास समितिहरूबीच समन्वयको सम्भावना खोज्ने उद्देश्यले झापामा पूर्वाञ्चल विकास क्षेत्रका सभापति र स्थानीय विकास अधिकारीहरूको गोष्ठी आयोजना गरिएको थियो। गोष्ठी सकिएपछि झापा कारागारका बन्दीले बनाउने मुढा किन्न त्यहाँ जाँदा झ्यालखानामा बालबालिका देखिए। सोध्दा थाहा भयो आमाबाबु कैदमा परे आश्रित बालबालिका पनि झ्यालखानामा पर्ने रहेछन्। परिवारमा अरूले नहेरेमा वा आमा कैदमा राखिएका बेला साना दुधे नानीलाई सँगै राखिने रहेछ। त्यहाँ देखिएका बालबालिका त्यस्तै आश्रित केटाकेटी रहेछन्। झ्यालखानामा तिनले अपराध सिक्ने र बालापन गुमाउने जोखिम बढी हुन्छ। यसैले त्यस्ता बालबालिकालाई जोगाउनुपर्छ भन्ने लाग्यो। काठमाडौं आएपछि गृह मन्त्रालयसँग सोधपुछ गर्दा आश्रित बालबालिका त्यति बेला १०३ जना भएको थाहाभयो। बाबुआमा छुट्दा उनीहरू पनि जाने हुनाले त्यो संख्यामा घटबढ भइरहने जानकारी पनि भयो। राज्यले चाहेमा करिब सय जनालाई अलग्गै व्यवस्था गर्न खासै कठिन त नहुनुपर्ने हो भन्ने लाग्यो। परिषद्को वार्षिक कार्यक्रममा त्यसलाई समावेश गरियो। पछि बजेट छलफलका क्रममा त्यो कार्यक्रम शिक्षा, संस्कृति र समाज कल्याण मन्त्रालयको बनाउने र परिषद्ले कार्यान्वयन गर्ने तय भयो। कार्यक्रम तय त भयो तर २०५१ को मध्यावधि निर्वाचनपछि सरकारै फेरियो। मैले पनि समाज कल्याण परिषद् छाडँे। आश्रित बालबालिकाका लागि बाल गृह सञ्चालन गर्ने कार्यक्रम पनि बेवारिसे भयो। त्यसपछिको सरकारले कार्यक्रम त राख्यो तर कार्यान्वयन नगरेकाले बजेट ल्याप्स भयो। सुधारगृह सञ्चालन गर्न भवन बनाउनुपर्ने र भवन बनाउने जमिन नभएको भनेर २०५२ मा सरकार फेरिए पनि कार्यक्रम कार्यान्वयन भएन। अर्को वर्ष भने म पनि युसेपसँग जोडिन पुगेँ। सरकारलाई युसेपले जमिन उपलब्ध गराउने र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले भवन निर्माण गर्ने सहमति भयो। भवन त बन्यो तर सरकार फेरिएपछि कार्यक्रम फेरि बिथोलियो। विसं २०५६ लागेपछि बल्ल कार्यक्रम सञ्चालन हुने छाँटकाँट आयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय हेरेका बेला बल्ल युसेपलाई आश्रित बालबालिकाका निम्ति कार्यक्रम सञ्चालन गर्न अनुमति र अनुदान दिने निर्णय भयो। निर्णय कार्यान्वयन गराउन झन् गाह्रो भयो। दुई पल्ट त सचिव र मुख्य सचिवकहाँबाट फाइलै हरायो। अन्ततः आश्रितहरूलाई आश्रय उपलब्ध गराउने गरी कार्यक्र सुरु भयो र देशभरबाट त्यस्ता बालबालिका ल्याउने क्रम थालियो। यद्यपि, यस्तो गृहलाई सुधारगृह भन्न मिल्दैन। भवन बनेपछि त्यसलाई दुर्व्यसनीहरूको सुधार गृह बनाउन पनि खोजिएको थियो। युसेपलाई नै सञ्चालन गर्न दिनुपर्ने र दुर्व्यसनीका लागि अरूले पनि सुधारगृह चलाएका हुनाले त्यो प्रयास सफल भएन।

अदालतको मानहानि
यसैबीच केही कानुन व्यवसायी बालबालिकालाई वयस्कहरूसँग झ्यालखानामा राख्न नहुने प्रावधान कार्यान्वयन गराउन अग्रसर भएका थिए। आशिष अधिकारी, किशोर सिलवाललगायतको अग्रसरतामा सर्वोच्च अदालतले बालबालिकालाई वयस्कहरूसँगै थुनामा राख्न नपाइने निर्णय गरेको थियो। धनकुटाका एक जना किशोरलाई सुधारगृहमा न पठाई कारागारमै राखेकोमा सर्वोच्च अदालतले गृह सचिव र धनकुटाका प्रमुख जिल्ला अधिकारीलाई जनही एकएक रुपियाँ जरिवाना गर्ने निर्णय गर्योच। तत्कालीन गृह सचिव श्रीकान्त रेग्मीले त्यसलाई सकारात्मक चुनौतीका रूपमा लिए र बाल सुधारगृह सञ्चालन गर्न सुझाव दिन एउटा कार्यदल बनाए। कार्यदलले तत्कालका लागि युसेपको परिसरमा रहेको भवनमा थुनामा राखिएका बालबालिकालाई राख्ने र कारागारमा आश्रित बालबालिकालाई नेपाल बाल संगठनको सिफलस्थित भवनमा गृह सञ्चालन गर्ने सुझाव दियो। अनि, बल्ल नेपालमा कानुनसँग विवादमा परेका भनिएका बालबालिकाका लागि सुधार गृहको थालनी भयो। बालबालिकालाई थुनामा राख्न परे सुधारगृहमा पठाउने आदेश दिनुपर्छ भन्ने न्यायाधीश र प्रमुख जिल्ला अधिकारीहरूलाई समेत थाहा थिएन। त्यसरी थालिएको सुधारगृह विस्तारका क्रममा कास्कीको सराङकोटमा भव्य रिसोर्टजस्तो लाग्ने भवनमा सञ्चालन हुन पुगेको देख्दा खुसी लाग्नु अस्वाभाविक होइन।

सुरुका दिनहरू
सुधार गृह सञ्चालनका लागि एउटा समिति रहने ऐनमा व्यवस्था छ। सुधार गृह महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमातहत सञ्चालित हुन्छ तर सुरक्षाको मुख्य चासो कारागार व्यवस्थापन विभागको हुन्छ। व्यवस्थापन भने एउटा गैरसरकारी सामाजिक संस्था युसेप—नेपालले गर्छ। कतिपय अवस्थामा त यो गृह मन्त्रालयहरूको तानातानीको सिकार बन्यो। निकै कठिन भयो चलाउन। कारागारमा राख्दा बालबालिकालाई दिनुपर्ने सुविधा सुधार गृहमा रहेकालाई दिनसमेत सरकारी कर्मचारीहरू सजिलै तयार भएनन्। सुरुमा धनकुटाबाट आएका एक जना किशोर र उनको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीबाट थालिएको गृहमा बिस्तारै सबै व्यवस्था र बन्दोबस्त हुँदैगयो। युसेपलाई बाल सुधारगृह चलाउन दिनुहुँदैन भन्नेदेखि आवश्यक सहयोग गर्नेहरूसम्मले चासो देखाउन थाले। बाल सुधारगृहमा कानुन व्यवसायी, मनोविमर्शदाता, शिक्षकहरू पनि आवश्यक हुँदारहेछन्। धेरैपछि मात्र सबै थाहा भयो र व्यवस्था पनि हुँदैगयो।

सानोठिमीमा मात्र सुधारगृह हुँदा सुविधामात्र हैन असुविधा पनि हुन थाल्यो। बाल सुधारगृहमा राख्ने आदेश दिन त थालियो तर देशभरका बालकालिकालाई काठमाडौं ल्याउन कठिन भयो। मुद्दाका क्रममा अदालतमा पुर्यारउन पनि अप्ठेरो र महंगो पर्थ्यो। आमाबाबु र कानुन व्यवसायीलाई पनि मुस्किल थपियो। यो सेवा विस्तार हुनैपर्ने देखिन थाल्यो। त्यही क्रममा केन्द्रीय बाल कल्याण समितिले अध्ययन गरायो। अध्ययन टोलीले युसेपकै व्यवस्थापन वा प्राविधिक सहयोगमा सुधारगृहहरूको विस्तार गनुपर्ने सुझाव दियो।

संसारका थुप्रै बाल न्यायविद् र बाल सुधारगृहका बारेमा जानकार व्यक्तिहरूले सानोठिमीको सुधारगृह हेरे। सल्लाह, सुझाव दिए र कतिले सराहना पनि गरे। भारतका आमोद कण्ठले व्यवस्थापन संरचनाको प्रशंसा गरेको अझै सम्झना छ। सरकारको कारागार गैरसरकारी संस्थाले सञ्चालन गरेको यो अभ्यास दक्षिण एसियाकै उत्कृष्ट उदाहरण हो भन्ने उनको टिप्पणीले पनि म हौसिएको थिएँ। केही पहिलेमात्र रुसको बाल सुधारगृहका बारेमा अध्ययन गरेर फर्केकी भारतको कानुनकी प्राध्यापक वेदकुमारीको टिप्पणीले पनि मन फुरुङ्ग भएको थियो। प्रा. वेदकुमारी त्यसको केही पहिले रुस, बेलायत र अमेरिकाको बाल न्याय प्रणालीको अध्ययनका क्रममा त्यहाँका सुधारगृहहरू हेरेर फर्केकी थिइन्। उनका अनुसार सानोठिमीका बालबालिकामा देखिएको हाँसो र खुसी उनले अरू कुनै सुधारगृहमा राखिएका बालबालिकामा देखेकी थिइनन्। सुधारगृहका बालबालिका हाँसीखुसी देखिनुको अर्थ उनीहरूको हेरचाह राम्रो हुनु नै हो। उनीहरूमा आक्रोश र प्रतिशोधको भावना विकास नहुनु नै सुधारगृहको वास्तविक लक्ष्य पनि हो। संयुक्त राष्ट्रसंघ बाल अधिकार समितिका तत्कालीन अध्यक्ष र उपाध्यक्ष पनि सानोठिमी सुधारगृहमा पुगेका थिए।

युसेप—नेपालका कार्यकारी निर्देशकलाई सुरुमा अवैतनिक र पछि नाममात्रको भत्ता दिएर २ — ३ जना कर्मचारीलाई आंशिकरूपमा काममा लगाएर थालिएको बाल सुधारगृह अहिले विराटनगरमा पनि सञ्चालित छ। नेपालगन्जमा पनि सरकारले भवनको बनाउँदै गरेको छ। बाल सुधारगृह सञ्चालनको सम्भावना अध्ययन गर्न मोरङ पुगेका बेला संयोगले पूर्वपरिचित मित्र मोदराज डोटेल त्यहाँ प्रमुख जिल्ला अधिकारी रहेछन्। उनैको सक्रियतामा जग्गा प्राप्त भयो। पछि भवन निर्माणका लागि सहयोग जुट्यो र गृह सञ्चालन भयो।

मैले युसेपको अध्यक्षबाट राजीनामा दिएकै करिब ८ वर्ष भइसक्यो। त्यसपछि युसेप र बाल सुधारगृहमा धेरै प्रगति भएको छ। त्यसको जस पछिका साथीहरूलाई नै जान्छ। मैले त बीउमात्र रोपेको खोजेको हो। सुदूर पश्चिम र मध्यपश्चिममा सुधारगृह अझै सञ्चालन गरिएको छैन। बालबालिकाको शिक्षाका लागि आवश्यक संस्थागत व्यवस्था अझै भइसकेको छैन। मनोविमर्श सेवाका लागि कास्कीमा अरू संस्थाको सहयोग लिनुपरेको छ। कानुनी सल्लाहका लागि पनि अधिकांश अवस्थामा बालबालिकाकै तर्फबाट व्यवस्था मिलाउनुपर्छ। बसाइ कोचाकोचै छ। तैपनि, आवासीय सुविधा औसत बोर्डिङ स्कुलभन्दा कम छैन। र जे भएको छ गौरव गर्न सकिने उदाहरण भएको छ।

सराङकोटमा व्यवस्थापन र सुरक्षामा संलग्न व्यक्तिहरूसँग कुराकानी गर्दा उनीहरूले त्यहाँको ड्युटीलाई पूजाजस्तै ठानेको पाएँ। त्यहाँ राखिएका किशोरहरू पनि खुसी नै देखिए। 'पर्याप्त पानी नभएकाले नुहाउनका लागि हिउँदमा निकै टाढा लैजानुपर्छ।' प्रहरी हवल्दारको मुख्य समस्या हामीलाई त्यहाँ लिएर जाने ट्याक्सी चालकले पहिले नै सुनाइसकेका थिए। उनको सुझाव थियो टाढाबाट ल्याइएको पाइपको पानीको भर पर्नुभन्दा 'बोरिङ' गरेर त्यहीँ पानी निकाल्नु बेस हुन्छ। सुधारगृहभन्दा निकै माथिको डाँडामा बोरिङ गरेर पानी निकालिएको छ रे ! सराङकोटको सुधारगृहमा पानी पर्याप्त छ भनेको सुन्न र देख्न पाउने सपना पनि पूरा होला कि?

र अन्त्यमा,
सानोठिमीको सुधारगृहलाई 'बन्द गरे हुन्छ' भनेका थिए एकजना अधिकारवादीले नगरकोटमा कारागार सुधारका विषयमा छलफलका क्रममा। मैले त्यति बेला सुधारगृह जति नै सुविधाविहीन भए पनि नहुनुभन्दा चलाउनै बेस भनेको थिएँ। अहिले प्रमाणित भयो म सही थिएँ। अधिकारको नाममा निहुँ खोज्ने तर सिन्को नभाँच्ने वा जे गर्न पनि पैसैमात्र खोज्ने प्रवृत्तिभन्दा त जे सकेको गर्नै अगाडि सर्नु जाति हो नि!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस