जनताको वैकल्पिक राजनीति
१४ फागुन २०७१
•
१४ मिनेट पाठ
जनताको वैकल्पिक राजनीति
दिल्लीमा आम आदमी पार्टीको विजयले नेपालको बौद्धिक बृत्तमा ल्याएको तरंग अझै पुरानो भइसकेको छैन। सामाजिक सञ्जालदेखि लिएर चियापसलहरूसम्ममा, नेपालमा आपजस्तै पार्टीको सम्भावना छ कि छैन?  भनेर अझै पनि गफगाफ चलिरहेकै छ। यसको सरल अर्थ लाग्छ– नेपालको वर्तमान राजनीतिक स्थितिप्रति प्रशस्त असन्तुष्टि छ/विकल्पको चाहना तीव्र छ।यथास्थितिप्रतिको असन्तुष्टि स्वाभाविक मानवीय प्रवृत्ति हो। जस्तोसुकै समाजमा पनि, जुनसुकै कालखण्डमा पनि मानिस याथास्थितिमा परिवर्तन चाहिरहेकै हुन्छ। यही कारण नै समाजको प्रगति भइरहेको हुन्छ। तर त्यो असन्तुष्टि अस्वाभाविकरूपमा तीव्र हुने स्थिति सृजना हुँदा भने त्यसको विष्फोट हुनेगरेको छ– विभिन्न विद्रोह, विप्लव, क्रान्तिका रूपमा। त्यस्तो ‘असन्तुष्टिको विष्फोट'ले कस्तो परिवर्तन ल्याउँछ भन्ने कुराको ठेगान हुँदैन– कुनैबेला राम्रै पनि भएको छ, कुनैबेला भने बर्बादै पनि भएको छ। जनताको असन्तुष्टि चुलिएका बेला परिवर्तनको चाहना त हुन्छ, तर कस्तो परिवर्तन चाहिएको हो भन्ने कुरामा भने प्राय स्पष्टता हुँदैन। यस्तो बेलामा, त्यही असन्तुष्टिको बुई चढी/नयाँ सत्तापेक्षीहरूले पुराना शासकलाई विस्थापित गर्छन्। सत्ताप्राप्ति हुनेबित्तिकै नयाँ शासकहरू सत्तालाई समाजको अग्रगामी रूपान्तरणको साधनको रूपमा उपयोग गर्नेभन्दा पनि प्राप्त सत्तालाई नै कसरी जोगाउने भन्ने कसरतमा लाग्न थालिहाल्छन्। सत्ता साधन हुन छोडेर स्वयं साध्य हुनपुग्छ। नेपालका राजनीतिक दल र समूहहरूमा यो प्रवृत्ति छर्लंग देखिँदै आएको छ– उहिले पनि, गणतन्त्र आएपछि पनि।
यतिखेर जनताका विभिन्न तप्कामा व्याप्त असन्तुष्टिलाई उचित ढंगले सम्बोधन गर्दै, त्यसलाई नै ऊर्जाको रूपमा प्रयोग गरी देशलाई प्रगति, शान्ति र न्यायको बाटोमा लगाउने चेत र क्षमता न त वर्तमान सत्ताधारी दलमा देखिन्छ न त सत्तापेक्षी दल र समूहमा नै! यस्तो बेलामा छिमेकी देशमा भ्रष्टचारविरोधी अभियन्ताहरूको विजयले तरंग ल्याउनु स्वाभाविक हो। कम्तीमा पनि एउटा कुराको पुष्टि यसले गरेको छ– हाम्रैजस्तो सामाजिक–मनोवैज्ञानिक परिस्थिति भएको ठाउँमा पनि पहिलेदेखि सत्तामा जरा गाडेर बसेका पुराना पार्टीहरूसमेत विस्थापित हुनसक्दा रहेछन्। भर्खरै जन्मेको र नितान्त फरक ऐतिहासिक पृष्ठभूमि भएको नयाँ पार्टी पनि सत्तामा पुग्न सक्दो रहेछ।
आपले सत्तालाई नै साध्य बनाउन थाल्लानथाल्ला हेर्न अझै बाँकी नै छ। क्रमशः ‘व्यावहारिकता'का नाममा अवसरवादमा फस्नेदेखि लिएर ‘आदर्श'का नाममा उत्ताउला केटाकेटी व्यवहारमै रमाइरहने सम्भावना अझै पनि बाँकी नै छन्।
परम्परागत राजनीतिका केही विशेषता छन्, जसले गर्दा सत्ता–राजनीतिमा पसेपछि असल मानिस पनि खराब हुन पुग्छन्। आपको विजय भनेको परम्परागत राजनीतिकै फ्रेमभित्र नयाँ शक्तिको प्रवेशमात्र हो। परम्परागत राजनीतिको त्यो विशिष्ट संरचना, त्यसको गुणधर्म यथावत् नै छ। दिल्लीका ‘आम आदमी'ले स्पष्ट थाहा पाउनेगरी सकारात्मक र दीर्घकालीन महŒवको परिवर्तन हुनका निम्ति त्यही चौघेराभित्र पुराना सत्ताधारीहरूको ठाउँ नयाँले लिँदामात्र पुग्छ कि परम्परागत राजनीतिकै विकल्प चाहिन्छ? यो प्रश्नको उत्तर पाउन पनि परोक्षरूपमा आपको भविष्यले सहयोग गर्नेछ।   
यो ‘परम्परागत' भनिएको राजनीतिको विकल्प हुन सक्छ? यो प्रश्नको उत्तर दिन हतारिनुअघि यसका केही विशेषतालाई हेर्नुपर्ने हुन्छ। संरचनाका हिसाबले परम्परागत राजनीतिका कुनै पनि अंग पिरामिड आकारकै हुन्छन्, जसको टुप्पामा केन्द्रिकृत शक्ति लिएर नेता बस्छ। पार्टीभित्र सूचनाप्रवाह दायाँ–बायाँभन्दा तल–माथि बढी हुने गर्छ। गोप्यता र अनुशासनमा बढी जोड दिने पार्टीहरूमा अपारदशिर्ता र गुटबन्दीको प्रकोप नै हुन्छ। यसले गर्दा कहाँ– कुन अंग कुहिइसक्यो भन्नेसम्म पनि दायाँ–बायाँकालाई थाहा नहुनसक्छ। बढी क्रान्तिकारी भएको दाबी गर्ने  पार्टीहरूमा यो रोग अझ बढी देखिन्छ।
परम्परागत राजनीतिको अर्को विशेषता भनेको पार्टी वा समूहको अस्तित्व नै आफूबाहेकका सबैको निषेध, विरोध र दानवीकरणमा अडेको हुन्छ। देशको बृहत् हितका निम्ति विविधताबीच समानता खोज्नेभन्दा बढी आफ्नो स्वार्थका निम्ति विभिन्नतालाई हुर्काउने कामले प्रमुखता पाउँछ। पार्टी वा समूहभित्रको भिन्नता र अन्तर्विरोधलाई साम्य पार्ने अस्त्र भनेकै नयाँ शत्रु खोज्ने र पुराना प्रतिष्पर्धीलाई अझै दानवीकरण गर्दै जाने हुन्छ। यसो गर्न नसक्नेबित्तिकै आफ्नै पार्टी फुट्छ।
परम्परागत राजनीति गर्ने पार्टीहरूमा भएका यीलगायतका धेरै विशेषताका कारण सत्ता ‘माध्यम' हैन ‘लक्ष्य' बनिदिन्छ, ‘साधन' हैन ‘साध्य' बनिदिन्छ। त्यसैले गर्दा हो मानव अधिकार, सामाजिक न्याय, विकास, शान्ति, स्वतन्त्रता, वातावरण संरक्षणजस्ता उद्देश्य प्राप्तिका निम्ति जीवन नै उत्सर्ग गरेका मानिस पनि परम्परागत राजनीतिमा प्रवेश गरेको केही समयमै सम्मान गर्न लायक रहँदैनन्।
यो नयाँ कुरा हैन। यस्तो अशुभ गुणधर्म भएको परम्परागत राजनीतिकै विकल्पको आवश्यकताबोध हुनथालेकै पनि निकै समय भइसक्यो। यही आवश्यकताबोधका बीच विभिन्न विचारको उदय पनि भएको हो। यस्ता वैकल्पिक विचारप्रणालीहरूमध्ये अधिकांश कहिल्यै निर्णायक हुन भने सकेनन्। तर पनि कुनै न कुनै रूपमा संसारका विभिन्न कुनामा ती जीवितै रहे। विभिन्न किसिमका युटोपियन विचारहरू, उत्तर–आधुनिकतावादका विभिन्न संस्करण, थरिथरिका ‘सेक्युलर' अध्यात्मवादी अभियान, वातारण केन्द्रित अभियानहरू, अझ नव–अराजकतावादकै केही मलुवा रूपसमेत यिनकै कोटीमा पर्छन्। गान्धीको आन्दोलनमा पनि स्वराज प्राप्तिमात्रै थिएन। त्योभन्दा धेरै बढी कुरा थिए। तर उनकै अनुयायी कालान्तरमा परम्परागत राजनीतिको उही चौघेरनका बन्दी बने।
मार्क्सवादकै उदय पनि परम्परागत राजनीतिको विकल्पकै  रूपमा भएको थियो। नितान्त फरक प्रकृतिको विचारका रूपमा देखापरेकोले यसले संसारभरिका शोषित, प्रताडित मानिसको जीवन र मानव जातिकै भविष्यमा आमूल परिवर्तन ल्याउने आशा पनि गरिएको थियो। एउटा सिंगो शताब्दिभरि नै यसले अनुयायी र विरोधी दुवैका निम्ति आफ्नो महŒवपूर्ण उपस्थिति जनाइरह्यो। तर त्यो एक शताब्दिको व्यावहारिक प्रयोगको क्रममा परिवर्तित, विकृत वा स्खलित हुँदै जाँदा साम्यवादले वैकल्पिक राजनीतिको विशेषता पूरै गुमायो र उल्टै परम्परागत राजनीतिको असुन्दर उदाहरण बन्नपुग्यो। यसको प्रगतिशील, क्रान्तिकारी, जीवनमुखी स्वत्वलाई पुनर्जीवित, पुननिर्माण र पुनर्व्याख्या गर्ने अनेक प्रयत्न परम्परागत मार्क्सवादी पण्डितहरूकै कारण सफल हुन सकिरहेका छैनन्।
अन्य वैकल्पिक विचारले परम्परागत राजनीतिक सोचले जत्तिको प्रभाव जमाउन सकेनन्। तिनले ‘अकाट्य वस्तुगत नियम'को आफू अनुकूल व्याख्या गर्नेभन्दा पनि मानवमा अन्तर्निहित सद्गुण, सम्भाव्यता, ध्येय, यत्न र मनोविज्ञानजस्ता ‘मनोगत' क्षेत्रमा आधारित भएर विभिन्न ‘स्केल'का सैद्धान्तिक अभियान चलाइरहे। यस्ता अभियानमा स्वधर्म पालना (इथिक्स), विवेक, अनुशासन, करुणाजस्ता गुणले प्रधानता पाउनु स्वाभाविकै भयो। भारतको आप होस् वा नेपालमा बिस्तारै हुकिईरहेको विवेकशीलजस्ता अभियान, सहरका भित्ताहरूमा देखापर्न थालेका चेतनाका सन्देश हुन् वा थिएटरमा खेलिने नयाँ नाटकहरूका सन्देश, नयाँ कवितामा अभिव्यक्त भावना हुन् वा नयाँ सार्थक संगीतमा गुञ्जिने सपना, सम्भवतः यी सबै गतिविधि वैकल्पिक राजनीतिक अभियानकै समकालीन संस्करण हुन्। परम्परागत राजनीतिले थापेको पासोबाट यिनलाई जोगाउने चुनौती भने ठूलै छ। किनभने परम्परागत राजनीतिको युग अझै समाप्त भइसकेको छैन। अझै पनि कुन पार्टी वा कुन नेता वा कुन समूहलाई पछ्याउने वा सघाउने भन्ने छनौटकै तहमा सीमित छौँ हामी।
तर गतिशील सामाजिक यथार्थले भने परम्परागत राजनीतिकै विकल्पको आवश्यकतातर्फ निरन्तर औँल्याइरहेको छ। तर्कसंगतताका हिसाबले परम्परागत राजनीतिको भविष्य देखिँदैन। राजनीतिका खेलाडीहरूको व्यवहारमा केवल पाखण्ड देखिन्छ। मानिसका आशा चकनाचुर भएका छन्। दलविशेष, समूहविशेषका बीचका प्रतिष्पर्धाहरूमा हिंसा र षड्यन्त्रको प्रयोग पहिलाभन्दा झन् बढी हुनथालेका छन्। राजनीतिमा प्रयोग हुने हिंसा र षड्यन्त्र दुवै नै प्राविधिकरूपमा झन्झन् विकसित हुनथालेका छन्।
यो यथार्थको बीचमा शान्ति र प्रगतिकामी जनतालाई वैकल्पिक राजनीतिको आवश्यकताबोध हुनथाल्नु स्वाभाविक हो। आपको आयु लामो वा छोटो हुनसक्छ। तर समयको आवश्यकता पूरा गर्नका निम्ति अबका दशकमा नयाँनयाँ प्रयोग पक्कै हुन थाल्नेछन्। र, यस्ता प्रयोगमा नयाँ विचारमात्रै हैन लामो समयदेखि ‘फ्रिज'मा रहेका विचारसमेत कुनै न कुनै रूपमा पुनर्जीवित, पुनर्परिभाषित भएर अगाडि आउन सक्नेछन्। यो सम्भावनाका निम्ति खुला भएर बस्नुमै राजनीति गर्ने र भोग्नेहरूको समेत कल्याण छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस