सुकालका सहयात्री
०७ फागुन २०७१
•
१७ मिनेट पाठ
सुकालका सहयात्री
सुकिलाहरू सामान्यत राजनीति रुचाउँदैनन्। अरु पेसाको तुलनामा राजनीतिका जोखिमहरु आकलन गर्न नसकिने प्रकृतिका हुन्छन्। त्यसले गर्दा पुँजी, श्रम, समय एवं सम्मान लगानी गरेपछि प्रतिफल के पाइने हो भन्ने कुनै ठेगान हुन्न। तुलनात्मकरूपमा संस्थागत पेसा व्यवसाय आकर्षक लाग्छन् । अवसर प्रयोगसँगै क्षमता पनि बढ्दै जान्छ। आय सुनिश्चित हुन्छ। पद अनुकूल मान पाइने त छँदैछ। र, समयले साथ दियो भने राजनीतिक नियुक्तीको सम्भावना पनि रही नै रहन्छ। सरकार जसले चलाए पनि विज्ञ, विश्लेषक, विद्वान् एवं विशेषज्ञ नभई राज्य संचालन गर्न सकिँदैन।

सन् १९५१ फेब्रुअरीमा राजा त्रिभुवनले राणा एवं नेपाली कांग्रेसको संयुक्त सरकार गठन गर्दा उनलाई सम्भवतः धेरै गाह्रो भएन। सरकारी पदमा नियुक्तीका लागि न्यूनतम योग्यता वा अनुभव भएका जति जम्मै राणा, शाह परिवारका नातेदार थिए। त्यसभन्दा तल सल्लाह र सेवा प्रदान गर्ने क्षमता भएकामा भाइ, भारदार एवं दरबारिया सुब्बा सरदारहरूकै हालीमुहाली कायमै थियो।त्यसको ठीकविपरीत बीपी कोइरालाले चिनेका व्यक्ति भन्नु नै उनको प्रत्यक्ष सम्पर्कमा आएका योग्यताभन्दा कैयौँ गुणा बढी महत्वाकांक्षा भएका पेसाकर्मीमात्रै थिए। लगभग त्यस्तै अवस्था उनका सहकर्मी गणेशमान सिंहको पनि थियो।

गलत व्यक्तिको छनौटको पहिलो प्रभाव देख्न तत्कालीन गृहमन्त्री वीपीलाई धेरै कुर्नु परेन। गोरखा दलले हुलदङ्गा मच्चाएपछि उनी केही कालका लागि शाही पाहुनाका रूपमा नारायणहिटी राजदरबारमा बसेका थिए। एकाबिहानै उनले देखे, राजा त्रिभुवन त बिजुली गारदको सलामी लिइरहेका छन्। आत्मवृतान्तमा वीपी सम्भि्कन्छन् – राजाले कसैलाई खबरै नगरी बिजुली गारदलाई निजी पल्टन बनाउन भ्याए। प्रधान सेनापति राणा पक्षकै भएपनि उपसेनापतिका नियुक्ति उनकै सहमतिमा भएकेा थियो। उपसेनापतिले बिजुली गारदको बफादारी तत्कालीन सरकारभन्दा पनि राजामा सरेको जानकारी उनलाई गराउन जरुरी देखेनन्। योग्य, सक्षम एवं महत्वकांक्षी उपसेनापतिले राष्ट्रिय राजनीतिको तरलता एवं स्थायी सत्ताको स्थिरतालाई ठम्याइसकेका थिए। उनको व्यवहार त्यही अनुकूल थियो।

राणा शाशनको अन्त्यसम्म पनि सिपाहीहरू आफुखुसी घरभाडा लिएर बस्ने गर्थे। आफ्नै ब्यारेक भएको पल्टन बिजुली गारदमात्रै थियो। श्री ३ महाराजको गाथगादी सुरक्षाको जिम्मा लिएकाले बिजुली गारदमा सामान्यभन्दा बढी उचाइका छरिता एवं फुर्तिला युवा सिपाही छानेर राखिन्थे। तीनको तालिम पनि छुट्टै प्रकृतिको हुन्थ्यो। हजुरीया जर्नेलको हुकुमअनुसार चल्ने भएकाले तिनको सान पनि कम्तीको हुँदैनथ्यो। बिजुली गारद सिंहदरबारबाट नारायणहिटी सार्ने निर्णय गृहमन्त्रीको भए पनि त्यो राय भने पक्कै पनि स्थायी सत्ताको संयन्त्रबाट आएको थियो। राजा त्रिभुवनले कुनै योजनाविना नै तिनको सलामी ग्रहण गरेको कुरा वीपीले भनेका भएपनि पत्याइहाल्न गाह्रो छ। वीपी स्वयंले त्यस्तो योजनाको सुइँको नपाएको भए पनि तत्कालीन भारतीय राजदूत सर चन्द्रेश्वरप्रसाद नारायण सिंह सम्भवतः सेनाको पूर्ण नियन्त्रण प्रधानमन्त्रीबाट राजामा सार्ने योजनाबद्ध घटाक्रमका उत्प्रेरक नभए पनि जानकार पक्कै थिए। भारतीय राजदूतको जानकारी बेगर काठमाडौंमा पातसमेत नहल्लिने समयमा राजन त्रिभुवनले सेना हत्याउनेजस्तो महत्वपूर्ण कदम नयाँ दिल्लीको अनुमति बेगर गरेको कुरा तर्कसंगत लाग्दैन।

स्थायी सत्ताबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्ने सरकार प्रमुखहरूमा बीपी एक्ला छैनन्। उनीभन्दा मुखर आलोचक थिए कृष्णप्रसाद भट्टराई एवं गिरिजाप्रसाद कोइराला। कुन्नि के कारणले हो शेरबहादुर देउवाको मुखबाट स्थायी सत्ताको निन्दा कहिल्यै सुनिएन। पुष्पकमल दाहालको त बर्हिगमन नै स्थायी सत्तासँगको द्वन्द्वले गर्दा भएको हो। नेकपा (एमाले) स्थायी सत्ताकै राजनीतिक संयन्त्रमध्ये अहिले प्रमुख मोर्चा भएकाले त्यसका बारेमा कुरा उठाउनै पर्दैन।

जनाधार भएका नेताले स्थायी सत्ताको अविश्वास बेहोर्नु पर्ने व्याख्या ध्ेरै हुनसक्छन्। स्थायी सत्ताको संयन्त्रमा उच्च एवं मध्यम वर्गको हालीमुहाली हुन्छ। यथास्थितिसँग स्वार्थ गासिएकाले तीमध्ये बहुसंख्यक आधारभूत परिवर्तनको विपक्षमा हुन्छन्। स्थायित्वसँग अत्याधिक लगाव हुने अर्को कारण भविष्यकोे सुनिश्चिततासँग सम्बद्ध छ। तरल एवं गतिशील अवस्था कतातिर मोडिने हो, कुनै ठेगान हुँदैन। त्यसका साथै स्थायी सत्ता मूलतः पेसाकर्मीले संचालन गर्ने गर्छन्। र, पेसाकर्मी तथा राजनीतिबीचको सम्बन्ध सहज हुन गाह्रो छ।

पेसाकर्मीकेा पहिलो प्राथमिकता स्वभावतः आफ्नो पेसा नै हुनेगर्छ। त्यही नै हुनुपर्दछ भन्ने कुरा प्रायः सबै पेसाको आचार संहिताले पनि तोकेको हुन्छ। दोस्रो प्राथमिकतामा पेसाकर्मीको व्यक्तिगत स्तर वृद्धि हुने गर्दछ। उच्च शिक्षा, पदोन्नति, नयाँ एवं चुनौतीपूर्ण जिम्मेवारीजस्ता आकांक्षा जुनुसुकै पेसामा स्वाभाविक मानिन्छन्। र, आफ्नो एवं परिवारको जीवनस्तर उकास्ने उद्देश्य महत्वपूर्ण हुने नै भयो। सर्सती हेर्दा पनि स्पष्टै खुट्याउन सकिने के हो भने आफ्नो पेसामा सफलता हासिल गर्न सर्वोच्च शक्ति कता सर्दैछ भन्ने कुराको राम्रो हेक्का हुनुपर्ने रहेछ। बीपीले नै नियुक्त गरेका भए पनि तत्कालीन उपसेनापतिले आफ्नो पेसागत हितको सम्भाव्य संरक्षकलाई ठम्याउन गल्ती गरेका त रहेनछन्। एक दशकभित्र बीपीलाई कारागार पुर्यानउने संस्था आखिर भारतीय सहयोगमै आधुनिकीकरण गरिएको थियो।

तरल निष्ठा
प्रतिबद्धता पेसाप्रति हुने भएपछि अरू निष्ठा स्वभावतः तरल हुन्छन्। शीतयुद्धको अनुकूलता पश्चिमतिर सर्न थालेपछि आफ्नै संस्था सुदृढीकरणमा सघाएको भारतीय संस्थापनप्रतिको विश्वास तत्कालीन शाही नेपाली सेनाको नेतृत्व पंक्तिमा घट्न थाल्यो। अमेरिकी सहयोगमा नेपाली भूमिबाट खम्पा विद्रोह सञ्चालन हुन थालेपछि सशस्त्र द्वन्द्वका अनपेक्षित लाभहरू आकर्षक लाग्नु स्वाभाविक पनि थियो। हेनरी किसिन्जरले चिनियाँहरूसँग सहमति गरेर सोभियत प्रभाव समाप्त पार्ने अभियान चलाएपछि भने नेपालका पेसाकर्मीहरूको शीतयुद्ध सपना स्वतः समाप्त भयो।

मुख्तियार भीमसेन थापाकै पालादेखि पटकपटक प्रभावहीन सिद्ध भएको सन् 'चिनियाँ तुरुप' १९८० को दशकमा पुनः प्रयोग गर्ने प्रयास नभएका हैनन्। तर, सन् १९८९—९० तिर भारतीय आपूर्ति सञ्जाल नियन्त्रित हुनपुग्दा नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्तावमा समर्थन जनाउने सयभन्दा बढी राष्ट्रमध्ये कोही काम लाग्ने भएनन्।

सन् १९९० पछि राज्यभन्दा पनि बजारको वर्चस्व व्यापक हुँदै गएपछि पेसाकर्मी — उद्यमी सहकार्यको संस्कृतिले गति लिन थाल्यो। विद्यालय, अस्पताल, बैंक, सञ्चार गृह, पर्यटन तथा निर्माणजस्ता व्यवसाय पेसाकर्मी प्रधानताका क्षेत्र हुन्। असमानता बढ्दै गएपछि सुरक्षा चुनौती पनि बढ्छ। सशस्त्र द्वन्द्व त सुरक्षा सम्बद्ध विभिन्न पेसाकर्मीको स्वर्णकाल हुने नै भयो। गणतन्त्र घोषणा त अतिरिक्त उपलब्धिमात्रै हो। माओवादी सशस्त्र विद्रोहको प्रमुख देनका रूपमा नेपाली सेनाको अपूर्व विस्तार, सशस्त्र प्रहरी बलको गठन एवं नेपाल प्रहरीको सुदृढीकरणजस्ता संस्थागत संरचनालाई लिइनुपर्छ। सबैका आआफ्नै अन्तर्राष्ट्रिय सम्पर्कका माध्यम पनि छन्।

अदालतका पेसाकर्मीको भूमिका स्थायित्वका लागि महत्वपूर्ण हुनेगर्छ। गतिभन्दा स्थायित्वलाई प्राथमिकतामा राख्ने अदालतको मूल चरित्र नै हो। त्यसका साथै अन्य पेसागत संघसंगठनहरू पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको संगीतको धुनमा नै नाच्ने गर्छन्। बोलवाला अहिले पनि स्वच्छन्द बजारकै छ। त्यसैले प्रायः पेसाकर्मी परिवर्तनका पक्षमा छैनन्। इजिप्टमा अदालतले पहिलो मतादेशलाई खारेज गरेपछि सत्ता अप्रत्यक्षरूपले पुनः सेनाकै नियन्त्रणमा पुगेको छ। पाकिस्तानमा इमरान खानको स्निग्ध राजनीतिले सुरक्षा संयन्त्रकै भूमिका बढाउँछ। बैंकका पहेँलो वस्त्रधारीहरू सेनालाई राजनीतिमा फिर्ता ल्याएरै सडकबाट हटे। बङ्गलादेश एवं श्रीलंकाजस्ता मुलुकमा निर्वाचनमार्फत् लोकतन्त्र बलियो भएको पक्का हो। त्यसका साथै संसारको सबैभन्दा ठूलो लोकतन्त्रका प्रतिरक्षा निकायहरूले आफ्नो भूमिका विस्तार गरेको यथार्थलाई पनि बेवास्ता गर्न सकिँदैन। सेता कमिजवालाहरूको स्वाभाविक सहानुभूति सुरक्षा संयन्त्रहरूप्रति रहने गर्छ। तिनका लागि राजनीतिक दल स्वार्थपूर्तिका साधनमात्र हुन् आस्थाका संस्था होइनन्।

लाभको सौदा
सैद्धान्तिक विचलन हुँदाहुँदै पनि (नेकपा) एमालेको सांगठनिक संरचना अझै पनि लडाकु प्रकृतिकै छ। त्यो भनेको एमालेमा आबद्ध प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक 'क्यारिएर'को सामान्य लेखाजोखा गर्नसक्छ। नेताको नातागोताको व्यक्ति हो भने माथिसम्म पुगनसक्छ। बाहुनवादी दल भएकाले जनजाति, मधेसी, दलित एवं महिलाका लागि अवसर स्वभावतः केही सीमित छन्। मूलघरमा नअटाउनेका लागि दलसँग सम्बद्ध गैसस, गिरोह एवं व्यापारिक गुट तथा व्यावसायिक समूहमा पनि ठाउँ बनाउन सकिन्छ। आजका मितिमा एमालेमा छिर्नु जोखिमपूर्ण निर्णय होइन।

आस्था नहुने व्यक्ति मधेसवादी वा जनजाति दलका पछि लाग्नुको अर्थ छैन। दल र नेता धेरै भएकाले अरूका लागि अवसर छँदैछैन भन्दा हुन्छ। स्थायी सत्ताको कोपभाजनमा परेर नोक्सानी बेहोर्नुपर्ने जोखिम भने बेपत्ता छ। लगभग त्यही अवस्था माओवादीको पनि बन्न पुगेको छ। सैन्य संरचना क्षतविक्षत भएपछि वैकल्पिक संगठन, नियन्त्रण एवं निर्देशनको राजनीतिक प्रारूप अध्यक्ष पुष्पकमल दाहालले अझै तयार गर्न सकेका छैनन्।

सबैभन्दा आधारहीन अवस्था नेपाली कांग्रेसको देखिन्छ। 'क्यारिएर' हेर्ने हो एमालेमा देखिन्छ। हिन्दुवादीका लागि पूर्वपञ्चका दलहरू छन्। मधेसी दलप्रति आस्था राख्नेका लागि छनौटको कमी छैन। पहिचान खोज्नेका लागि एकसेएक जनजाति मञ्च पनि छन्। तर, आजको मितिमा कोही किन नेपाली कांग्रेसप्रति आकर्षित हुन्छ? सधैँभर इतिहासको ब्याज खाएर संगठन त चल्न सत्तै्कन। सायद, त्यसैले आफ्नो क्रान्तिकारिता परित्याग गरेर कांग्रेस पूर्णतः स्थायी सत्ताको शक्तिमा निर्भर हुन पुगेको छ। समस्या के भइदियो भने स्थायी सत्ताको मूलभूत चरित्र कांग्रेसभन्दा एमालेसँग मिल्दोजुल्दो छ। धरातलीय यथार्थले गर्दा प्रधानमन्त्रीलगायत कांग्रेसका जानेमाने नेताहरू सरकारका त छन् तर सरकार हाँक्ने हैसियतमा छैनन्।

दुईदुई ठाउँबाट हारेकालाई प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सबैजसो सदस्य अनिर्वाचितलाई बनाएर एमालेले स्थायी सत्ताप्रति आफ्नो बफादारी देखाइसकेको छ। अब जति नै वार्ता, संवाद, वादविवाद जे गरे पनि एमाले यथास्थितिभन्दा एक इन्च अगाडि सर्ने संभावना छँदै छैन। कांग्रेसले अलिकति पनि लचकता देखाउनेबित्तिकै स्थायी सत्ताको प्रत्यक्ष हस्तक्षेपद्वारा दलको औपचारिक विभाजन एवं सरकार परिवर्तनसमेत हुनसक्छ। अन्तर्राष्ट्रिय परिस्थिति दक्षिणावर्तको राजनीतिका लागि अनुकूल बन्दैगएको छ। सायद, अब कांग्रेसभित्र पनि आस्थाको राजनीति गर्नेहरूले सुस्तरी आन्दोलनको मनःस्थिति बनाउँदै गरे हुन्छ। एक वर्षपछि बसन्त विद्रोहको दशक पनि पुग्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस