अल्पमतको नियत
०३ फागुन २०७१
•
१२ मिनेट पाठ
अल्पमतको नियत
संविधान निर्माण प्रक्रिया पुनः रोकियो। सायद, एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता पुष्पकमल दाहाल 'प्रचण्ड'को 'समानान्तर सरकार' चलाउने धम्कीबाट सत्ता पक्ष डरायो। त्यसो त, राष्ट्रपतिदेखि छिमेकी मुलुकका प्रधानमन्त्रीसमेतले विपक्षीलाई धाप मार्न थालेपछि सरकारमा हुनेहरूको सातो जानु अस्वाभाविक पनि होइन। भन्न त, सहमतिका लागि सत्ता पक्ष हदैसम्म लचिलो भएको प्रमाणका रूपमा पनि संविधान सभा स्थगनलाई प्रस्तुत गर्न सकिएला। 
त्यसै हो भने पनि सत्ता पक्षको 'सदाशय'लाई विपक्षले कमजोरी ठानेर थप पेल्न खोजेको स्पष्टै देखिन्छ। 'पालभित्र नाक घुसारेपछि पालवालालाई नै बाहिर निस्कन' भन्ने अरबी उँटको कथाजस्तै देखिन थालेको छ प्रचण्डको कार्यशैली। संविधान सभाको बैठक अनिश्चित कालका लागि स्थगित गरेपछि पनि उनी वार्ताका तयार भएनन्। पहिले कुरा मिलेमात्र औपचारिक वार्ता गर्ने रे? यसैले विपक्षीको भित्री मनसाय वार्ताबाट सहमति खोज्नु हैन भन्ने सन्देह नै पुष्टि हुन्छ। उनीहरू या त सत्ता पक्षलाई घुँडा टेकाउन चाहन्छन् नभए अन्तै कतैबाट सञ्चालित छन्। घटनाक्रमले देखाएको चित्र यही हो।

वाताकै लागि सर्त!

वार्ताकै लागि सर्त राख्नेहरू सहमतिका लागि गम्भीर छन् भन्ने ठान्नुभन्दा नैे मूर्खता हो। संविधान सभा मिति नतोकी स्थगित गर्नुको उद्देश्य वार्ताका लागि समय दिने नै हो भने त्यो त्यत्तिकै खेर जाने सम्भावना नै बढी देखिन्छ। कुनै पनि विधि र प्रक्रिया स्वीकार नगर्ने मध्यकालीन युद्ध सरदारको प्रवृत्तिजस्तै देखिन्छ लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार नगर्ने प्रचण्डको हठ। वार्ता सुरु गर्दैमा के गर्ने भन्ने कागज गर्नुपर्ने हो भने वार्ता गर्नै किन पर्योर र? खुरुक्क सत्ताको साँचो प्रचण्डलाई सुम्पेर नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका दलका नेताले राजनीतिक सन्यास लिए हुन्छ। जनादेश पाउँदा पनि कार्यान्वयन गर्ने आँट नहुनेलाई राजनीतिक मैदानमा बसिरहने नैतिक अधिकार हुँदैन। सहमतिबाटै निकास खोज्ने हो भने सत्ता र विपक्ष दुवैले विनासर्त वार्ता सुरु गर्नुपर्छ। वार्तामा बस्नकै लागि सर्त राख्नेहरूको त नियतै खोटो हुनसक्छ।

प्रचण्डले खोजेकै सहमतिका त लागि कांग्रेसले सत्ता र सिद्धान्त दुवै छाड्नुपर्नेछ। सिद्धान्त छाड्न अहिलेका तर्बुजा कांग्रेसलाई खासै कठिन पनि नहोला तर सत्ता छाड्न कसरी सक्लान् र? यद्यपि, सिद्धान्त छाडेपछि सत्ता पनि जोगिनेछैन। बलजफ्ती लाद्न खोजिएको सहमतिका नाममा सिद्धान्त नछाड्ने हो भने बरु सत्ता र स्वत्व दुवै जोगिन सक्छ।

माओवादीको नियत?

'समग्र मधेस एक प्रदेश' भन्ने माग संघीयताको मर्मविपरीत छ। यसैगरी आर्थिक, सामाजिक, राजनीतिक सबै दृष्टिबाट अनुपयोगी र अव्यावहारिक पनि छ। तैपनि मधेसी नेताहरूको नियतमा धेरै सन्देह गर्नु आवश्यक छैन। उनीहरूले सिंगै तराई एउटै प्रदेश भए केन्द्रभन्दा बलियो हुने ठानेको हुनसक्छ। यसै पनि विखण्डनका नेता त विदेशीले सीके राउतलाई बनाइसकेका छन्।

माओवादी नेताहरू त बहुलवादसमेत स्वीकार गर्दैनन्। तिनले नियत अर्कै नभए जातीय राज्यको पैरवी नगर्नुपर्ने हो। तराईमा जति नै विविधता भए पनि एउटै प्रदेश बनाउनैपर्ने र पहाडमा डाँडैपिच्छे राज्य खडा नगरी नहुने कस्तो हठ हो? पहाड र तराई दुवै एउटै मुलुक हैनन्?

माओवादी र मधेसीले 'स्वायत्त प्रदेश' पनि भन्दै आएका छन्। कस्तो स्वायत्तता खोजिएको हो? चीनका स्वायत्त प्रदेशहरूजस्तो केन्द्र सरकारकै विस्तारित अंगका रूपमा रहने हो कि? भारतका प्रदेशहरू त स्वायत्त भनिदैनन्। यस्तै अमेरिकी राज्यहरू पनि स्वायत्त हैनन्। कि क्यानाडा वा जर्मनीको जस्तो संघीयतामा जाने भनेको हो? तर, तिनीहरू त कसैको नाममा पनि 'स्वायत्त' भन्ने विशेषण लागेको छैन क्यारे?

अल्पमतको चाहना के हो? नाममा स्वायत्त शब्द र जातिबोधक विशेषण जोडेपछि जति नै केन्द्रीकृत प्रणाली अपनाए पनि हुने हो? तमुवान वा मगरात बनाउनुपर्छ भने मिथिला, भोजपुरा र अवध बनाउन नपर्ने आधार के हो?

यसैले माओवादीको नियतमा शंका उब्जेको हो।

विखण्डनको खतरा

अहिलेको वितण्डा मूलतः मधेसलाई नेपालबाट छुट्याउने नै हो भने सायद भारतको आडमा त्यस षड्यन्त्रमा लाग्नेहरू सफल पनि होलान्। तर, त्यसरी अलग भएको 'मधेस' स्वतन्त्र मुलुक रहन सक्नेछैन। एकछत्र राजको सपना त झन् सोझै चकनाचुर हुनेछ। अर्कातिर त्यस अवस्थामा भारतमा पनि कोचिला, मिथिला, भोजपुर, अवध प्रदेश बनाउनेे माग चर्कनेछ। भारतलाई त्यो 'भालुको कन्पट' हुनेछ।

यता, पहाडी र हिमाली भूभागका जनता चीनसँग नजिकिन बाध्य हुनेछन्। भारतका लागि त्यो पनि प्रिय त नहुनुपर्ने हो। गुप्तचरले सञ्चालन गरेको भारतको नेपाल नीतिअनुसार नेपाललाई गाभ्ने भारतको रणनीति अझै कायमै रहेको छ भने त्यो पनि अब सहजरूपमा कार्यान्वयन पक्कै हुनेछैन। चीनको भूराजनीतिक प्रभाव र महत्व दुवै धेरै जो बढेको छ।

भारतकै पाठ

पहिले धर्मका नाममा भारतको विभाजन भयो। त्यसपछि पाकिस्तान भाषाका नाममा विभाजित भयो। भारतमा रहेको पञ्जाबमा पनि शिख पृथकतावादी आन्दोलन दबाउँदा ठूलै रक्तपात भयो। कस्मिर भारतको अर्को टाउको दुखाइ भइरहेकै छ। पाकिस्तानमा सिन्धी र बलुच असन्तुष्टि वा उत्तरपूर्वी भारतको पृथकतावादी आन्दोलन कति बेला कसरी प्रकट हुने हो अनुमान गर्न पनि कठिन छ। बंगलादेशमा अझै पनि लोकतन्त्र संस्थागत हुनसकेको छैन। बन्दुक र सडकले निर्णय गर्ने शैलीलाई स्थापित जो गरियो। अहिले पनि बङ्गलादेश उद्वेलित छ। सत्ता र विपक्षीको मुठभेडबाट थुप्रै नागरिकको ज्यान गइसकेको छ। मुलुक एक प्रकारले ठप्पै छ।

भारतमै प्रदेशहरूको विभाजन कुन बिन्दुमा पुगेर टुंगिने हो भन्न सकिँदैन। यसले पनि विभाजनको यही आधार सही हो भन्न सकिने देखिएन। विखण्डनको क्रम विनाशमा पुगेरमात्र रोकिन्छ। अहिलेसम्म विश्व इतिहासले सिकाएको त यही हो।

जनताको निर्णय

'राष्ट्र भनेको जनता हुन्' भन्ने बीपीको कथन अहिले पनि उत्तिकै सान्दर्भिक छ। मधेसमात्र हैन कहीँका पनि जनताले अलग्ग हुने आँट गरे भने तिनलाई जबरजस्ती कुनै भूभागमा सधैँका लागि टाँसेर राख्न सकिँदैन। तर त्यसमा पनि केही लाउकेहरूको हैन तराईका बहुसंख्यक जनताकोे चाहना निर्णायक हुनुपर्छ। लोकतन्त्रमा विश्वास गर्ने हो भने झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई यता वा उता भनेर तानातान गर्नुको साटो त्यहीँका जनतालाई निर्णय गर्न दिनु उत्तम हुन्थ्यो। नामकै हकमा पनि सहमति नभए प्रादेशिक सभाले निर्णय गरे भइहाल्थ्यो। नभए प्रदेशहरूमा जनमत संग्रह गरे पनि हुन्छ। आयरल्यान्डको स्वतन्त्रताका बारेमा जनताले नै निर्णय गरे तर स्वतन्त्रताको माग सधैँका लागि समाप्त भयो भन्ने त हैन।

अन्तिम निर्णयकर्ता सम्बन्धित क्षेत्रका जनतामात्र हुनसक्छन्। सहमति नभए बहुमतबाट निर्णय लिने लोकतान्त्रिक विधि स्वीकार गर्ने हो भने सधैँका लागि समस्या समाधान गर्न सहज हुनेछ। यसै पनि संविधान दिगो हैन गतिशील हुनुपर्छ। समयसँगै परिमार्जन गरिरहनुपर्छ। अर्काे पुस्ताका लागि अप्ठेरो किन बनाउने? कति पुस्ताले मानिरहनु पर्ने हो पुराना सम्झौता? कसैले चाहँदैमा कुनै व्यवस्था वा विधि दिगो हुने त हैन रहेछ।

अन्त्यमा

बन्दुकको बलबाट राज्य कब्जा गरेर सर्वहाराका नाममा पार्टी प्राधिकारका हैसियतले एकछत्र राज गर्ने पुष्पकमल दाहालको तिर्सना नमेटिउन्जेल उनले विधिको शासन हुन दिने छैनन्। सहमतिका नाममा जनादेश मिच्न नपाउँदासम्म प्रचण्डको चित्त बुझ्नै सत्तै्कन। अर्कातिर, जनादेशविपरीत उनैलाई सबै सुम्पने हो भने लोकतन्त्र उपहासको विषय बन्न पुग्नेछ। यसैले लोकतन्त्र र अधिनायकवाद के रोज्ने हो भन्ने निर्णय संविधान सभा सदस्यहरू, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारण नागरिकले पनि गर्नैपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस