संविधान कहिले? माघ ८ त्यत्तिकै गुजि्रयो। आफूलाई 'जिम्मेवार' ठान्ने राजनीतिक दलहरूले सविधान जारी हुने अर्को मिति तोकेका छैनन्। माघ ८ पछि प्रमुख राजनीतिक दलहरू पक्ष–विपक्षमा विभाजित भएका छन्। एकातर्फ सत्ताधारी नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपालगायतका १० दल र स्वतन्त्र सभासद् छन्।
यसको नेतृत्व प्राविधिक रूपमा कांग्रेस सभापति सुशील कोइराला र राजनीतिक रूपमा एमाले अध्यक्ष केपी ओलीले गरेका छन्। अर्कोतर्फ एमाओवादी नेतृत्वमा मधेसवादीलगायत ३० दल छन्। तिनको नेतृत्व एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। राजनीतिक दल सत्ताधारी र विपक्षी मोर्चामा विभाजित भएकाले मुलुक मुठभेडमा जान लागेजस्तो देखिन्छ। संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ गते संविधान निर्माण प्रक्रिया थालनी गरेको मान्छन् र प्रक्रिया अगाडि बढाउने तयारीमा देखिन्छन्। संविधानका पेचिला विषयमा प्रश्नावली बनाएर मतदानबाट टुंगो लगाउँदै जाने रणनीतिअन्तर्गत प्रश्न बनाउने समितिले काम थालेको प्रचार पनि गरिँदैछ।
एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनको मानसिकतामा छ तर पटकपटक बैठक बस्दा पनि कार्यक्रम दिन सकेको भने छैन। दाहाल मधेसी र जनजातिका बलमा आन्दोलनमा ऊर्जा थप्ने रणनीतिमा देखिन्छन्। संविधान सभाको दोस्रो निर्वाचनपछि तेस्रो र चौथो शक्ति हुन पुगेकाहरूले विरोधको राजनीति गर्नु स्वाभाविकै हो। तर, विरोधका नाममा संविधान बनाउन नदिने रणनीति भने प्रत्युत्पादक हुन सक्छ। माघ ८ को आक्रोशमा मधेसवादी दलका कतिपय 'जिम्मेवार' नेताहरू नाकाबन्दीको धम्की दिइरहेका छन्। एउटा निर्वाचन क्षेत्रका जनताको विश्वास लिन नसकेर निर्वाचनमा हारेका नेताले दिने यति चर्को धम्कीलाई मधेसका सर्वसाधारण जनताले कसरी लेलान् भन्ने आउँदा दिनमा स्पष्ट हुँदै जानेछ। मोर्चाका नेताहरूले आन्दोलनको धम्कीसँगै आ–आफ्नो राजनीतिक आधार र हैसियतको आत्मनिरीक्षण गर्नसके उचित हुनेछ। संविधान सभामा तीन चौथाइ बहुमत भएको सत्ता पक्षको तुलनामा दाहालको मोर्चासँग एक चौथाइ मत मात्र छ।
प्रमुख दलहरूबीच सम्बन्धमा चिसोपन कति लामो समय टिकिरहला? तीन चौथाइले संविधान निर्माण प्रक्रिया जारी राख्ने र विपक्षी मोर्चा सदन र सडकमा उर्लिरहने कति दिन होला? बाहिर सतहमा देखिएजस्तै राजनीतिक सम्बन्ध्ा बिग्रिसकेको भने छैन। राजनीतिक पक्षहरूबीच भित्रभित्रै छलफल भइरहेको छ र वार्ताका पहल पनि भइरहेकै छन्। सहमति नभएका बुँदामा प्रश्नावली बनाएर निर्णय गर्ने प्रक्रिया भनिएको गणितीय अभ्यास अब जसरी अगाडि बढ्छ, संविधान निर्माणको यात्रा त्यसैले निर्धारण गर्छ। प्रश्नावली बनाउने राजनीतिक पक्षले वार्ताका लागि आह्वान गरेको र विरोधी मोर्चाले सर्त अघिसारेको हेर्दा दलहरू सहमतिकै पक्षमा रहेको भान हुन्छ। स्थिति भने अझै सफा भइसकेको छैन। माघ ८ को टकरावबाट सामान्य अवस्थामा फर्कन समय चाहिन्छ। यसका लागि दुवै पक्षमा उदारता आवश्यक हुन्छ। माघ ८ लाई हेरेर दुवै पक्ष राजनीतिक भन्दा भावावेशमा रमाएको देखियो। सत्ताधारीहरू माघ ८ मा संविधानको मस्यौदा पनि जारी गर्न नसक्ने पेचिलो अवस्था बुझ्दाबुझ्दै संविधान जारी हुने गफ दिइरहेका थिए। सत्ता पक्षले माघ ८ लाई प्रक्रियाका नाममा अघि बढ्ने 'ओलीसूत्र' अपनाउने मिति ठानेको देखिन्थ्यो। दाहालको मोर्चाचाहिँ जसरी भए पनि माघ ८ टार्ने 'भीष्म प्रतिज्ञा' बाट निर्देशित थियो। माघ ८ टरेको छ। यसैले अहिले जित वा हार होइन, मुलुक नयाँ राजनीतिक परिवेशको प्रतीक्षामा छ।
नेताहरूलाई राम्ररी थाहा छ, संविधानका मूलभूत विषयमा दलहरूबीच थुप्रै भिन्नता छन्। संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा फरकफरक मान्यता छन्। जनता सामु घोषणापत्रमार्फत व्यक्त वाचा नेताहरूले आफूखुसी छाड्न वा त्याग्न मिल्ने विषय पनि होइन। दल र नेताले चाहेर मात्र ती भिन्नता मेटिने पनि होइनन्। दलहरूको भिन्न राजनीतिक सिद्धान्त, दर्शन, कार्यक्रम र जनाधार संविधान निर्माणका क्रममा एकाकार हुने पनि होइन। आ–आफ्ना माग र मान्यतामा अडिग रहेर पनि संविधान निर्माणको मार्गप्रशस्त गर्न सकिन्छ। मुलुकप्रतिको मुख्य दायित्व पनि त्यही हो।
विरोधी मोर्चा सत्तापक्षले सुरु गरेको प्रक्रियाबाट भागेर सडक राजनीतिमा केन्द्रित हुन सक्छ। संविधान सभाभित्र विरोध र बाहिर सडक राजनीति सँगसँगै लैजान सक्छ। उसलाई संविधान निर्माणको बाटोमा तगारो हाल्ने कुनै अधिकार छैन। दाहालले मोर्चामा चिरा पर्न थालेको अवस्थालाई बेलैमा देख्न सकेनन् भने त्यो उनको टाउको दुखाइमा सीमित हुनेछैन। मुलुकलाई मुठभेडको राजनीतिमा होम्नुअघि आन्दोलन हाँक्न सकिन्छ कि सकिन्न भन्ने बेलैमा विवेचना गर्नु लाभदायी हुनेछ। मोर्चामा आबद्ध कतिपय नेता र पार्टी भरपर्दा छैनन्। 'रिमोट' बाट नियन्त्रित हुने र सत्ताका लागि याचना गरिरहेका नेताका साथ र समर्थनबाट आन्दोलनले कसरी गति लेला?
संविधान निर्माणमा नेपाली कांग्रेसको दायित्व विशेष छ। कांग्रेस ओली र दाहालको जुधाइमा रमाउने कि सविधान निर्माण प्रक्रियालाई लचिलो बनाएर नेतृत्वदायी भूमिकामा अग्रसर हुने? कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालासामु गम्भीर चुनौती छन्। कोइरालाको नेतृत्वदायी भूमिका अपेक्षित छ। राजनीतिक भूमिकामा आफू कमजोर हुँदै गएको यथार्थ प्रधानमन्त्री कोइरालाले समयमै आत्मसात गर्न सक्नुपर्छ। कांग्रेसले नै विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको विगतलाई सम्झनुपर्छ। एमालेसँगको सहकार्यका क्रममा एमाओवादीलगायत विरोधी दललाई पन्छाउने रणनीति प्रत्युत्पादक बन्ने त होइन? एमाओवादीबारे कांग्रेसका शीर्ष नेताबीच एउटै धारणा छैन। वरिष्ठ नेता शेरबहादुर देउवा एमाओवादीप्रति लचिलो हुनुपर्ने ठान्छन् भने पार्टी उपसभापति रामचन्द्र पौडेल पेलेर पनि अघि बढ्नुपर्ने मानसिकतामा देखिएका छन्। ओलीको छायामा परेका सुशील र विभाजित शीर्ष नेतृत्वका कारण एमाओवादीप्रति कांग्रेस दृष्टिकोण अन्योलग्रस्त देखिएको छ। एमालेसँगको सत्तासुखले मात्र संविधान बन्दैन र बनेे पनि दिगो हुँदैन भन्ने काग्रेस नेतृत्वले बुझ्नु आवश्यक छ। विसं २००७ सालदेखि अहिलेसम्मका राजनीतिक घटनाक्रम हेर्दा नेपालले प्रत्येक दशकमा संविधान बनाएको वा तात्विकक संशोधन गरेको देखिन्छ। यसले संविधान धेरैभन्दा धेरै जनताले अपनत्व ग्रहण गर्ने र स्विकार्ने गरी बनाउनु आवश्यक हुने देखाउँछ।
पद्मशमशेरले जारी गरेको वैधानिक कानुनबाट सुरुभएको नेपालको संवैधानिक यात्रा किन अवरुद्ध भइरह्यो? अहिलेका संविधान निर्माताले उत्तर खोज्नु आवश्यक छ। सात सालदेखि संविधान सभाबाट संविधान बनाउने नेपाली जनताको चाहना २०७१ मा आइपुग्दा पनि सार्थक भएको छैन। राजा त्रिभुवनले वाचा गरेको संविधान सभालाई पन्छाएर उनका छोरा महेन्द्रले संसदको चुनावका लागि २०१५ सालमा जारी गरेको संविधान दुई वर्षभित्रै आफैँले खारेज गरे। विसं २०१७ मा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि २०१९ सालमा जारी पञ्चायती संविधान पनि राजाको एकछत्र नेतृत्व हुँदासमेत दुई दशकमै तीनपटक परिवर्तन हुनपुग्यो, ०२३, ०३२ साल र ०३७ सालमा। विसं २०४६ सालको आन्दोलनको जगमा बनेको २०४७ को संविधानलाई विश्वकै उत्कृष्ट संविधान भनियो तर त्यसलाई पनि लामो समय टिक्न दिइएन। अहिले हामी संविधान सभाले लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने दोस्रो प्रयासमा छौँ। टरिसकेको माघ ८ को धङधङीबाट मुक्त भएर कोइराला, ओली र दाहाल सबैले दिगो संविधान बनाउने दायित्वबोध गर्नु आवश्यक छ।