संवेगात्मक राजनीतिको परिणति
०८ माघ २०७१
•
२० मिनेट पाठ
संवेगात्मक राजनीतिको परिणति
नेकपा (एमाले) दललाई ‘सत्ता साझेदार’ मात्र भनेर पुग्दैन। स्थायी सत्ताको प्रतिनिधि संस्था भएकाले एमाले खासमा सरकारको प्रमुख सञ्चालकका रूपमा काम गरिरहेको छ। थपनाका प्रधानमन्त्री जो सुकै भए पनि केही फरक पर्दैन। नेपालको राज्य र समाज स्याथी सत्ताले नै चलाउने हो। त्यसो भए पनि एमाले आफूलाई कम्युनिस्ट पार्टी भन्छ। र, औपचारिक दस्तावेजहरूमार्फत् सरकारको प्रमुख साझेदारलाई यथास्थितिवादी शक्तिका रूपमा चित्रण गर्ने गरेको छ। त्यस्तो प्रस्तावनालाई स्वीकार गर्ने हो भने नेपाली कांग्रेसको यसभन्दा बढी स्खलन सम्भव छैन।सायद, आवश्यक पनि छैन। यथास्थितिलाई आदर्श परिस्थितिका रूपमा स्वीकार गरिसकेपछि राजनीतिक दलको सान्दर्भिकता समाप्त हुन्छ। संगठन त बाँकी रहला तर विचार एवं कार्यसूची बेगरको औपचारिक संस्थान राजनीतिक गैससजस्तो मात्रै हो। दल भएर बाँच्न परिवर्तनप्रतिको प्रतिबद्धताविना सम्भव हुँदैन। रुढीवादीहरूसमेत परिवर्तनमार्फत् समयलाई पछाडि फर्काउन प्रतिबद्ध हुन्छन्। इतिहास सच्चिएकोमात्र नभई नोभेम्बर २०१३ को निर्वाचनपछि रोकिएको पनि हो भन्ने अवधारणाभन्दा पुनरुत्थानवादी शक्तिहरू बरु बढी जीवन्त देखिन्छन्।
सरकारमा साझेदार रहेको दलप्रति कांग्रेस पंक्तिको धारणा पनि खासै सकारात्मक छेन। ‘माले—मण्डले एकै हुन् ’ भन्ने निर्क्योल पत्याउने हो भने एमालेको अरू बढी मण्डलेकरण अब सम्भव छैन। जे छ त्यसैमा रमाउने राजनीतिक शक्तिलाई यथास्थितिवादी भन्ने गरिन्छ। त्यस अर्थमा एमालेका सिद्धान्तकारहरूले कांग्रेसको जय जय गरे हुन्छ। कुनैबेला संसदीय व्यवस्थालाई गाली गरेर नथाक्ने दलको कांग्रेसीकरण अन्ततः मूललाई समेत उछिन्ने गरी जो अगाडि बढ्दै छ। यही गति र दिशा कायम रहने हो भने राप्रपा, कांग्रेस र एमालेको एकीकरण गरेर ‘नेपाल राष्ट्रवादी दल’ बनाए हुनेभयो। त्यस्तो दलको सबभन्दा योग्य नेता केशरबहादुर विष्ट वा प्रकाशचन्द्र लोहनी हुनसक्नेछन्। खाँटी राष्ट्रवादी—लोकतन्त्रवादी! 
कांग्रेस एमालेजस्ता शक्तिहरूको वैचारिक विचलन त जे छ छँदैछ, त्यसभन्दा उदेकलाग्दो एनेकपा (माओवादी) नामधारी दलको बेतोड एमालेकरणमा देख्न सकिन्छ। बन्द, हड्ताल, अनाहक विरोध, संसद् अवरोध, कुर्सी हानाहान, माइक तोडफोडजस्ता क्रियाकलापमा एमालेले स्थापित गरेको ‘कीर्तिमान’ भत्काउन सहज छैन। त्यसैले तिनलाई कायमै रहन दिनुपर्थ्यो। झापालीहरूको व्यक्ति हत्याको राजनीतिक कार्यशैली सिक्न माओवादीलाई दुई दशक लागेको थियो। संसदीय विरोधको एमाले शैली अंगीकार गर्न भने एक दशक पनि लागेन।
मधेसवादी दलहरूको रूपान्तरण पनि कम्तीको छैन। यो संविधान सभाले मधेस मैत्री संविधान जारी गर्ने सम्भावना लगभग समाप्त भइसकेपछि तिनका नेता कार्यकर्ताले नारावाजी गर्नुपर्ने त तराई—मधेसमा हो। तर सत्ताको चास्नी भुइँबाट टिपेर भए पनि एकपटक जीब्रामा लगाएपछि त्यस लतले बाँचुन्जेल छाड्दैन। मधेस विरोधी शक्तिहरूले तत्कालका लागि हर्षबढाइँ गरेहुन्छ। प्रमुख मधेसवादी दलहरूको ‘राष्ट्रवादीकरण’ माओवादीको एमालेकरण भन्दा पनि तीव्र गतिमा भइरहेको छ। ती वीरगन्जको साटो वानेश्वरमा नाराबाजी गर्न रुचाउने भइसके। मुलुकको राजनीतिमा जडता व्याप्त रहे पनि दलहरूको रूपान्तरण प्रक्रिया अनवरत जारी छ। 
नेपालको राजनीतिक अन्योललाई पश्चिमा समाजशास्त्रका फासीवाद, उदारवाद, मार्क्सवाद एवं रुढीवादजस्ता परम्परागत व्याख्याका सैद्धान्तिक टुकी वा लालटिन बालेर ‘पढ्न’ सकिँदैन। राजनीतिशास्त्रलाई जति नै ‘वैज्ञानिक’ भनिए पनि त्यो भौतिकी, रसायन वा गणित होइन। राजनीतिको खेलमैदान आफ्ना सबै विविधताका साथ समाज हुने भएकाले अध्ययन पनि स्थानिक हुनुपर्छ भन्ने अवधारणाका अग्रदूत महात्मा गान्धी थिए। तर, गान्धी, जयप्रकाश नारायण वा राममनोहर लोहियाजस्ता युग पुरुष अध्येताभन्दा बढी उत्प्रेरक व्यक्तित्व एवं नेतृत्वकर्ता थिए। भारतीय राजनीतिक जटिलताहरूलाई सहज बनाउने उपक्रममा नलागी संश्लिष्टतासहित अध्ययन गर्नेहरूमध्ये अग्रणी थिए रजनी कोठारी (१९२८ — २०१५) जस्को यसै साता नयाँ दिल्लीमा निधन भयो। 
कालजयी कृतिको एउटा परिभाषा के पनि हो भने त्यस्ता पुस्तक पढ्दै नपढी तिनका समीक्षा एवं सन्दर्भविनाको उद्धरणका आधारमा मजाले गफ गर्न सकिन्छ। आजभोलि सिंगो महाभारत कसले पो पढ्ला र? संविधान सभाभित्र कौरव र पाण्डव पक्ष छुट्टिएको पण्डित्य छाँट्न पितामह भीष्मको पृष्ठभूमि सम्भि्कन जरुरी छैन। बीपी कोइरालाका कृति समष्टिमा कसैले पढ्दैनन्। त्यसैले उनको विरासत पूर्वपञ्चहरूले सजिलै हत्याउन पाएका छन्। रजनी कोठारीको ‘पलिटिक्स इन इन्डिया’ त्यस्तै संश्लिष्ट तर कालजयी कृति हो जसलाई लेखकका बौद्धिक अनुयायीहरूले आआफ्नै पाराले अर्थ्याएका छन्। कतिले अझै अर्थ्याउँदै छन्। त्यस अर्थमा दक्षिण एसियाको राजनीति बुझ्न कोठारीका अध्ययनहरूको सान्दर्भिकता बढ्दै जाने आकलन गर्न सकिन्छ। 
वैकल्पिक विचार
समृद्धिका लागि राजनीति गर्नेहरूले समाजशास्त्र पढ्नुपर्दैन। तिनले विज्ञान, प्रविधि वा व्यवस्थापनजस्ता विधामा योग्यता हासिल गरेपुग्छ। पुनरुत्थानवादीहरू धर्मशास्त्र एवं मिथक दोहोर्यापउने गर्छन्। पढ्नुपर्ने मूलतः प्रगतिवादीहरूले हो। तर, कम्युनिस्टहरूको हालिमुहालीले गर्दा वामपन्थीहरू पनि सकेसम्म आफ्नै वैचारिक पण्डित, पादरी र मौलाना रचित पोथीमात्र पाठ गर्ने गर्छन्। अलिकति उदार देखिनुपर्यो। भने चल्तीका अमेरिकी लेखकका अखबारी लेखन, वाचन वा अन्तर्वार्ता श्रवण गरेर विचार बनाउँछन्। त्यसभन्दा बढी पढे जात जाने डर जो हुन्छ।
दक्षिण एसियाली समाज बुझ्न स्थानीय भाषा एवं संस्कृतका कृतिहरूको प्रमुखतालाई त स्वीकार गर्नैपर्ने हुन्छ। तर, पश्चिमेली अध्ययन विधि अंगीकार गरेर भारतीय राज्य समाज पढ्नेहरूको जमात पनि सानो छैन। एमएन श्रीनिवास ( १९१६ — १९९९) बेगरको समाजशास्त्र, पीसी महालानोविस (१८९३ —१९७३) विनाको आर्थिक नीति एवं विपिन चन्द्रा (१९२८ — २०१४ ) विहीन इतिहास अध्ययन असम्भव नभए पनि अपूर्ण भने पकै हुन्छ। राजनीतिक अध्ययनमा रजनी कोठारी पनि त्यही उचाइका लेखक अध्येता हुन्। नेपालको बुद्धिजीवी वृत्तमा यी नाउँहरू उति परिचित बन्नसकेका छैनन्। पढेलेखेकाहरू बीचमा समेत बौद्धिक ‘सलमान खान’ बरु अमर्त्य सेन छन्। किनभने उनको स्वीकार्यता बेलायत अमेरिकातिर स्थापित भएर नोबल मेमरोरियल पुरस्कारले सम्मानित भएको छ। 
कोठारीका शिष्य योगेन्द्र यादवका अनुसार भारतीय राजनीतिको अध्ययनलाई ‘कोठारीपूर्व’ र ‘कोठारीपछि’ गरेर विश्लेषण गरे हुन्छ। परम्परागत अध्ययन पद्धतिमा राजनीतिक विकासका पाँच शैली थिए। बेलायत र अमेरिकाको आधुनिकीकरण बुर्जुवाहरूको अग्रसरतामा भएको हो। उदारवादको आधार त्यस्तै अनुभवहरूबाट बनेको छ। जर्मनी र जापान अभिजात नेतृत्वमा पछौटेपनबाट उम्किएकाले गर्दा ती समाजमा राष्ट्रवादका जरा गहिरा छन्। रुस र चीनजस्ता विशाल देशहरूमा कृपण किसानको चित्कारले क्रान्ति निम्त्याएकाले इतिहास हाडको कलमले रगतको मसीमा चोपेर लेखिएका छन्। 
साम्यवादका सपना रक्सी खाएको तन्द्रामा देख्न सकिँदैन। फ्रान्सेली क्रान्ति भने विपन्न तथा बुद्धिजीवीको सक्रियताबाट सम्भव भएकाले त्यसबाट प्रगतिवाद जन्मिएको हुनुपर्छ। प्रगतिवादमा शुद्धता एवं स्वच्छता महत्वपूर्ण हुने भएकाले साम्यवादमा जस्तै सौम्यवाद (आइडिएलीज्म) समेत सैन्यवादको प्रभावबाट मुक्त रहन सत्तै्कन। लगभग त्यस्तै निष्कर्ष स्थायित्व सिद्धान्तका प्रवर्तक मानिने स्यामुएल हन्टिङ्टनको पनि छ : सुव्यवस्था सुनिश्चित गर्न कानुन त कडाइका साथ लागु हुनैपर्छ। शीतयुद्धको उत्कर्षताका यिनै अवधारणाहरू राजनीतिमा व्याप्त थिए। रजनी कोठारीले भारतीय राजनीति अन्तर्राष्ट्रिय धारभन्दा भिन्न आफ्नै गतिकी (डाइनामिक्स) निर्माण गरेको प्रस्तावना ल्याउँदा उनको बेपत्ता आलोचना भएको थियो।
जातीय राजनीति
नेपाली कांग्रेसको अभिजात उद्गम जगजाहेर छ। पहिलो त्रिमूर्ति (बीपी, सुवर्ण र सूर्यप्रसाद) होस् वा दोस्रो ( गणेशमा सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला) गोर्खाली दरबारको छायाबाटै नेतृत्व पंक्तिले सत्तासँग संघर्ष इतिहास थियो। मधेसी, महिला, जनजाति वा दलित दोस्रो तहबाट नेतृत्वको प्रथम पंक्तिमा जति त्याग वा संघर्ष गरे पनि पुग्न गाह्रो हुने रहेछ। मधेस विद्रोहको भर्या्ङ उपेन्द्र यादवले स्वजातीय उमेदवारका लागि तेर्स्याई दिएकाले मात्र गणतान्त्रिक व्यवस्थाका प्रथम राष्ट्रप्रमुख पदमा दोस्रो दर्जाका नागरिक उक्लिन पाएका हुन्। यो कठोर यथार्थलाई मनन नगरी थपनाका प्रधानमन्त्री सुशील कोइरालाका बाध्यता बुझ्न सकिँदैन। आखिर उनी क्षेत्रीहरूको वर्चस्व रहेको पार्टीको अध्यक्षका रूपमा राप्रपा — नेपालसँग जातीय राजनीतिको प्रतिस्पर्धामा छन्।
सुरु नेवारहरूको अग्रसरतामा भएको भए पनि एमाले मूलतः पहाडी बाहुन वर्चस्वको पार्टी हो। पार्टीको टुप्पोदेखि जरासम्म एवं नेतृत्वदेखि संरचनासम्म बाहुनहरूको हालिमुहाली चुनौती नै दिन नसकिने किसिमको छ। दयामायामा दुईचार जना माथि पुग्नु बेग्लै कुरा हो नभए पहाडी बाहुन बाहेककाले एमालेको सदस्यता दोयम दर्जा स्वीकार गरेरमात्र लिनुपर्ने हुन्छ। तीव्र एमालेकरणको प्रक्रियामा रहेको एनेकपा (माओवादी) द्वारा भिन्न प्रक्रिया अंगीकार गरिएला भन्ने पत्याउन गाह्रो छ। आशा गर्दैमा त केही बिग्रन्न। 
सौम्यवादीहरूलाई कर्णकटु लागे पनि बहुन क्षेत्री वर्चस्व नेपाली राजनीतिको यथार्थ हो। आखिर पूरै दक्षिण एसियामा (भारतको उत्तराखण्ड राज्यबाहेक) उच्च जातका समूह (बाहुन—क्षेत्री)ले झन्डै ३० प्रतिशत जनसंख्या ओगटेको अन्त कतै छैन। मूलतः जातिविहीन धर्म भए पनि बङ्गलादेश, पाकिस्तान एवं श्रीलङ्काका प्रभुत्वशाली सामाजिक समूहहरू अत्यन्त सानो संख्यामा छन्। तिनले राजनीतिक परिचालनका लागि वर्ग, धर्म वा क्षेत्रका कुरा नगरी संगठन निर्माण गर्न सत्तै्कनन्। र परम्परागत नेतृत्वको राजनीति एवं आधुनिक व्यवस्थापनका सेना वा अदालतको मुखामुख हुँदा जनप्रतिनिधिको आँखा पहिले झुक्छ।
भारतीय अनुभवको मुख्य पाठ के हो भने परम्पराको जरो गहिरो गडेको समाजमा वर्गका मात्र कुरा गरेर पुग्दैन। र, भाषा, जाति एवं धर्मजस्ता विविधताहरू सारभूत लोकतन्त्रका बाधक नभएर सहयोगी हुन्। पश्चिमा राजनीतिका पोथीहरूमा ती पाइँदैनन्। बेनेडिक्ट एन्डरसनको ‘कल्पित समुदाय’ वा फ्रान्सिस फुकुयामाको ‘राष्ट्रनिर्माण’ जस्ता अपेक्षाकृत नयाँ अवधारणहरू पनि एकरूपता निर्मााणको वैचारिक जकडबन्दीबाट मुक्त हुनसकेका छैनन्। 
संविधान सभाको मूल उद्देश्य एकरूपताको साटो ऐक्यबद्धता निर्माण हो भने पहिचानको बहुलता एवं प्राथमिकतालाई स्वीकार गर्नैपर्छ। वर्गीय संघर्ष एवं वर्ग उत्थान राजनीतिक कार्यसूची हो। गरिबका देशमा धनीका लागि काम गर्छु भन्ने कुरा हाकाहाकी दाबी गर्ने स्वतः किनारामा पर्छन्। त्यसैले संविधानका लागि प्रक्रियाभन्दा पनि संवाद चाहिएको हो।
एकथान संविधानमात्र चाहिएको हो भने त त्यसका लागि दुई तिहाइ बहुमत नै पनि किन चाहियो र? स्थायी सत्ता सञ्चालन गर्नेले संकटकाल घोषणा गरेर अध्यादेशद्वारा संविधान जारी गरे पनि ‘बल्ल स्थायीत्व आउने भयो’ भनेर एकथरीले राष्ट्रिय झन्डा हल्लाउँदै दीपावली गर्ने नै छन्। दुई तिहाइ बहुमत भएको प्रधानमन्त्री जेल परेपछि उनका अधिकांश सहकर्मीले लर्को लागेर सैन्य संस्थापनालाई समर्थन गरेको मुलुकमा सांस्कृतिक ऐक्यबद्धता स्थापित हुने संरचना स्वीकार नगरेसम्म प्रजातान्त्रिक मूल्यमान्यता संस्थागत गर्न सकिँदैन।
अरू अन्तर्राष्ट्रिय समुदाय त त्यस्तै हो लाग्छ, संविधान सभाका दुई तिहाइ बहुमतवालाहरू पुनः एकपटक भारतीय सहजकर्तालाई निम्त्याउन आतुर छन्। तिनका पुस्तक पढेर सिक्ने ल्याकत नभएपछि व्याख्या गरेर बाध्य पार्ने गुरुहरूका लागि रातो कार्पेट ओछ्याउनुको विकल्प पनि छैन। सत्यनारायण कथा, चण्डी पाठ र पुराण वाचन पो यहीँका पुरेतले गर्नसक्छन्। सोमायगजस्ता बृहत् अनुष्ठानका लागि काशी प्रयागबाट पण्डित झिकाइनु कुनै अचम्म होइन। पश्चिमा विधाको संविधान पटकपटक असफल भइसकेपछि पहिचानको विविधताका वास्तविकतालाई स्वीकार गर्नैपर्ने परिस्थिति उत्पन्न भएको छ।
संविधान सभामा रोष र जोस मधेसी, महिला र जनजातिमा देखिनु संयोग वा प्रायोजनमात्र होइन। वर्ग त छ तर प्रमुख अन्तर्द्वन्द्व अब वर्णहरूबीचको हो। जोसमा होस गुमे जे पनि हुनसक्छ। अगाडिको बाटाका तगारा जोखिमका सूचक हुन्। पन्छाएरमात्र उम्किन सकिनेछैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस