खुसी र आनुवंशिकी
०१ माघ २०७१
•
१४ मिनेट पाठ
खुसी र आनुवंशिकी
आनुवंशिकी (जेनेटिक्स)ले चिकित्सा शास्त्रमा महत्वपूर्ण ठाउँ ओगट्न थालेको धेरै भइसक्यो। जन्मजात रोग, विकलाङ्गता आदिमा मात्र सीमित नभएर शारीरिक तथा मानसिक स्वास्थ्यका अनेक पाटामा आनुवंशिकीको महत्व झन्झन् बढिरहेकोछ। अहिले आएर त झन् चिकित्साशास्त्रमा मात्र सीमित नभएर मानिसका सबै गतिविधिमा आनुवंशिकीले महत्व पाउन थालेको छ। आज ‘जेनेटिक्स'मा चासो राख्ने अध्येताहरूमा चिकित्साशास्त्री र नृतत्वशास्त्रीमात्रै रहेका छैनन्। साथै समाजविज्ञानलगायत विज्ञानका सबै विधाका शोधकर्ताका निम्ति यसको उत्तिकै महत्व छ।बेलायतको वारविक विश्वविद्यालयका अर्थशास्त्रीको एउटा अध्ययनले खैलाबैला मच्चाएको धेरै भएको छैन। डा. युजेनिओ प्रोतो र प्रा. एन्ड्रु ओस्वाल्डको अध्ययनमा एउटा नयाँ तथ्य देखा परेकोछ। एक सय ३१ देशको सर्भेबाट पत्ता लागेको यस तथ्यले मानिसको खुसी वा क्षेमकुशलताका पछाडि आनुवांशिक कारण देखाएको छ।
विभिन्न राष्ट्रमा मानिसहरू कति खुसी छन् भनेर मापन गर्ने विभिन्न सूचकका आधारमा केही देशका मानिस बढी खुसी र अन्य देशका मानिस कम खुसी देखिएका छन्। यिनै सूचकाङ्कका आधारमा सर्वाधिक खुसी मानिसको देशमध्येमा डेनमार्क परेको छ। डेनिसहरूसँग अनुवंशकीय सामिप्य भएका अन्य देशका मानिस पनि बढी खुसी देखिए भने वंशानुगत दूरी जति टाढा भयो, खुसीका सूचक त्यति नै कमजोर देखिए। 
सेरोटोनिनले मानिसको खुसीको मनोदशा ‘मुड'को निर्धारण गर्छ भन्ने धेरैलाई थाह छ। यो ‘न्युरोट्रान्स्मिटर'को पुनर्परिचालन, पुनर्ग्रहण जति बढी भयो मानिसमा खुसीको मात्रा त्यति नै धेरै हुन्छ। र यो पुनर्ग्रहणको प्रक्रिया निश्चित वंशाणु (जिन)को खटनमा हुन्छ। यस वंशाणुका दुई प्रकारमध्ये छोटो चाहिँले सेरोटोनिनको पुनग्रर्हणलाई कम गराउने र मानिसमा खुसी र सन्तुष्टि कम गराउने गर्छ। शोधकर्ताहरूका अनुसार डेनमार्क तथा नेदरल्यान्डका रैथानेमा यो खराब वंशाणुको मात्रा सबभन्दा कम भेटियो। खुसीका सूचकाङ्क पनि तिनैमा राम्रा छन्।
जेनेटिक्स र खुसीबीचको यो सम्बन्ध विभिन्न पुस्ता र भौगोलिकतामा पनि फरक देखिन्छ कि देखिंदैन होला भनेर पनि तिनले अध्ययन गरेछन्। र त्यस अध्ययनले के देखाएछ भने पुर्खामा रहेको त्यो क्षेमकुशलताको ‘जीन' संसारका विभिन्न कुनामा छरिएर बसेका पछिल्ला पुस्तामा पनि कायम रहन सक्तोरहेछ। प्रा. ओस्वाल्डका अनुसार अमेरिकामा बसोबास गरेका आप्रवासीका सन्तान र तिनका पुर्खाको थातथलो भएको देशमा मानिसबीच खुसीको मात्राउस्तै देखियो।
यसले एउटा अत्यन्त गम्भीर प्रश्न जन्माइदिएको छ – वंशानुगतमात्रै हुन्छ त खुसी? देश विशेषका वा जाति विशेषका मानिसमात्र खुसी हुनसक्ने र अरू खुसी हुनै नसक्ने हो त? यो पनि कुनै नस्लवादी सोचलाई मलजल गर्ने कसरत त हैन? तर युरोपमा भएको यस अध्ययनका शोधकर्ताको त्यस्तो नियत चाहिँ देखिंँदैन। तिनले अपनाएको अनुसन्धान विधिमा पनि खोट देखिंँदैन। उनीहरू भन्छन् – ‘हामी आफैँ नै अचम्म भएका छौँ। हामीले अनुमान गरेभन्दा बिल्कुल फरक नतिजा निस्केको छ र यस विषयमा अझ धेरै अनुसन्धानको आवश्यकता छ।' 
यहीबेला अमेरिकामा अर्को आनुवंशिकीय अध्ययन भएको छ जुन माथिको भन्दा धेरै महत्वपूर्ण छ भन्ने मलाई लाग्छ। यसे अध्ययनले के देखाएको छ भने जीवनशैली र जीवन दर्शनले आनुवंशिकीय विशेषतामा, वंशाणुको परिवर्तन(म्युटेशन)मा महत्वपूर्ण प्रभाव पर्ने रहेछ। 
हामी सबैले अनुभूत गरेको त ‘खुसी' पनि धेरै किसिमका हुन्छन् भन्ने हो। तर, बार्बरा फ्रेडिक्सनको नेतृत्वमा भएको अध्ययनका शोधकर्ताले भने खुसीलाई दुईवटा प्रमुख प्रकारमा बाँडेका छन्। सम्यक खुसी (युडेमोनिक) र वासनापरक खुसी (हेडोनिक)। युडेमोनिक खुसी भनेको करुणा, समाजसेवा, उदारतासँग जोडिएको हुन्छ भने हेडोनिक खुसी मीठो खानु, राम्रो लगाउनु, पैसा कमाउनु, विभिन्न वासनामा रमाउनुजस्ता भोग केन्द्रित विषयमा सीमित हुन्छ। बाहिरबाट हेर्दा यी दुवै किसिमका मानिस खुसी नै देखिन्छन्। तर प्रा. फ्रेडिक्सनको अध्ययनमा भने यी दुईका बीचमा सूक्ष्म आनुवंशिक तहमा ठूलो अन्तर देखिएको छ। 
हाम्रो शरीरमा ‘सुरक्षा निकाय'का रूपमा रहेको आत्मसुरक्षाका निम्ति नभई नहुने प्रतिरोध संयन्त्र अर्थात् ‘इम्युनिटी'का कारण नै असंख्य हानिकारक सूक्ष्म जीवाणु र अरू वातावरणजन्य हानिकारक तत्वबीचमा हामी बाँच्न सकिरहेका छौँ। यो ‘सुरक्षा निकाय' कमजोर भयो भने हाम्रो प्रतिरोध क्षमतामा ह्रास आउँछ। एड्सका रोगी, क्यान्सरविरोधीलगायत विभिन्न औषधि सेवन गरिरहेका बिरामी, अङ्गप्रत्यारोपण गरेपछि उद्देश्यमूलकरूपमै प्रतिरोध क्षमता घटाएर राखिएका मानिसआदि यस्तै कमजोर ‘प्रतिरोध क्षमता'को स्थितिमा हुन्छन्। तर खासखास परिस्थितिमा भने प्रतिरोध संयन्त्र कमजोर भएको नभई अनावश्यकरूपमा गतिशील भइदिन्छ। यस्तो बेला यसले आफ्नै शरीरलाई हानि गर्न थाल्छ। यस प्रक्रियाले नजानिदो गरी अलिअलिमात्रै सक्रिय भएर लामो समयसम्म आफ्नै शरीरका विभिन्न अवयवलाई बिगार्दै, भत्काउँदै जाँदा मानिसलाई हृदयाघात, क्यान्सर, अल्जाइमर्स, डिप्रेसनजस्ता गम्भीर शारिरिक तथा मानसिक समस्याका निम्ति बाटो खुल्छ। 
त्यस्तो हुनुको एउटा कारण हो शरीरको प्रतिरोध संयन्त्रलाई ‘बदमाशी गर्न', ‘अन्तर्घात गर्न' ‘उक्साउने' एक किसिमका ‘जीन' वा वंशाणुका गतिविधि धेरै देखापर्नु। लामो समयसम्म चिन्ता, आशंका, डर, क्रोध, असहिष्णुता आदि अवस्थामा रहने मानिसमा यस्ता हानिकारक वंशाणुको गतिविधि बढेको हुन्छ भन्ने त यस अघिका विभिन्न शोधबाट पनि पत्ता लागेकै हो। तर ‘खुसी' देखिने ‘सफल' तर अत्यन्त आत्मकेन्द्रित र लवाइखवाइ विषयानुराग शक्तिसम्पन्नतालगायतका भौतिक सुखमा मात्र रमाउने ‘हेडोनिक' चरित्रको सुख भएको व्यक्तिका हकमा पनि यी हानिकारक वंशाणुहरु गतिशील हुन्छन् र तिनले शरीरभित्रका आत्मघाति गतिविधी गर्न आफ्नै ‘इम्युन' संयन्त्रलाई उक्साइरहेका हुन्छन् भन्ने जानकारी भने नयाँ हो। अर्कातिर, जगतकल्याणमा, समाजसेवामा, प्रकृतिप्रेममा रमाउने करुणा भएका र सम्यक जीवन शैली भएका ‘युडेमोनिक' मानिसको शरीरमा यस्ता हानिकारक वंशाणुको गतिविधि अत्यन्त कम देखिन्छ।
अर्थात्, जीवनशैलीले, जीवनदर्शनले आनुवंशिकीय विशेषतामा प्रभाव पार्न सक्छ। खुसी हुनु कुनै खास राष्ट्र, भौगोलिकता वा जातिको आनुवंशिकीय ‘अधिकार' हैन। 
करिब पच्चीस सय वर्षअघि यस दुनियाँमा आएका बुद्धले यो नयाँ तथ्यसँग मिल्दोजुल्दो कुरा उहिल्यै भनिसकेका थिए। आजको नेपालमा जन्मेका उनको बाटोमा हिँड्नेहरू संसारका सबैै कुनामा छन् र सबै जातिका छन्। तर ती सबै नै सम्यक जीवन बाँच्ने प्रयत्न गर्दैछन्। (स्वाङ मात्रै पार्नु वा साधनामा टिक्न नसक्नु अर्कै हो।) बुद्धभन्दा अघि र पछिका अन्य गुरुले पनि प्रत्येक शताब्दीमा यही भन्दैआएका छन्। तर आत्मकेन्द्रवादमा रमाउने धनाढ्यदेखि लिएर आफ्नै सोचका बन्दी विभिन्न ब्रान्डका क्रान्तिकारीसम्मले यस्ता शिक्षालाई हाँसेर उडाउँदै आएकाछन्। बेलाबखत यी शिक्षालाई जोगाउनै पनि असल मानिसहरूले ठूलो जोखिम उठाउनु परेको इतिहास साक्षी छ। तर अहिले आएर ‘उत्तर आधुनिकता'मा प्रवेश गरिरहेको आधुनिक विज्ञानले तिनै शिक्षालाई यथार्थपरक किसिमले एकएक गर्दै प्रमाणित गरिरहेकोछ। 
सम्यक जीवनशैली अपनाइरहेका मानिसको संख्या धेरै छैन आजको समाजमा। तर जो सम्यकताका साथ बाँचिरहेका छन्, तिनलाई ‘सफल', ‘गतिशील' जिन्दगी बिताइरहेका भनिने व्यापारी, उद्योगपति, राजनीतिकर्मी वा अरू कुनै पनि व्यवसायीसँग दाँज्दा ती शिक्षाभित्र लुकेको सत्य स्पष्ट देखिन्छ। जहिले पनि आफ्नो ‘इगो'लाई केन्द्रमा राखेर अघि बढ्नेहरू सधैँ नै कुनै न कुनै रूपमा अरूसँग आफूलाई अनावश्यकरूपमा तुलना गरिरहेका हुन्छन्, अरूसँग गलत किसिमले प्रतिस्पर्धा गरिरहेका हुन्छन्। बाहिरबाट हेर्दा ती सफल देखिनसक्छन्, खुसी देखिनसक्छन् तर तिनको ‘इगो'ले, ‘अहम्'ले सूक्ष्म वंशाणुलाई छल्न सक्तैनन्। र ती वंशाणुले दण्डित गर्न थाल्छन् – आफँै भित्रको 'इम्युन' संयन्त्रलाई उल्टो निर्देशन दिएर। पूर्वीय संस्कृतिमा भनिने गरेको ‘पितृको श्राप' सायद यही पो हो कि!
यतिबेला संविधान र संविधान सभावरिपरि विभिन्न कुराकानी, विचारविमर्श, घटनागतिविधि भइरहँदा विभिन्न खेलाडीको तस्वीर आँखाअगाडि नाचिरहेकोछ। यी खेलाडीमध्ये कतिले आफ्नो शक्ति, ओहदा, धन, ध्वंशात्मक क्षमता आदिका आधारमा आफूलाई अत्यन्त सुरक्षित ठानेको हुनसक्छ। ‘जगत्को हानी भए होस्, मलाई के पो हुन्छ?' भनिरहेका पनि होलान् कतिले। तर तिनका वंशाणुले नितान्त फरक कुरा बोलिरहेका हुनसक्छन्। हामी सबैले आत्मसात् गर्नुपर्ने के हो भने सम्यक जीवन, स्वधर्म पालना, करुणा, प्रेमजस्ता कुरा अब साधुसन्तका थेगोमात्र रहेनन्। बरु विज्ञानले देखाएको सूक्ष्म कोषिकाभित्रका अझै सूक्ष्म अणु तहमा प्रस्फुटित भइरहेको सत्यदर्शनका विषय बनिसके ती।
सबैको मङ्गल होस्। सबैमा सम्यक खुसी व्याप्त होस्!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस