धार्मिक स्वतन्त्रता कि सापेक्षता?
१३ पौष २०७१
•
१६ मिनेट पाठ
धार्मिक स्वतन्त्रता कि सापेक्षता?
म आफ्नो परिचय दिँदा धर्म जोडेर दिने गर्दिन तर कुन धर्म मान्छौ भनेर कसैले सोधे नहिचकिचाई भन्छु – म हिन्दु हुँ। हिन्दु भएकैले धर्म र शास्त्रका निर्देश संभव भएसम्म पालना गर्छु। धर्मका नाममा यो किन गरिरहेको छु भन्ने प्रश्न पनि मेरो मनमा आउँदैन। म 'शास्त्रमा लेखिएका कुरा किन भनेर नसोधी पालना गर्नु' भन्ने भनाइअनुसारै गर्छु।
मलाई धार्मिक स्वतन्त्रता चाहिन्छ। आफ्ना शास्त्र र पूर्वजले सिकाएअनुसारका धार्मिक कार्यमा मलाई कसैको बाधा बन्देज स्वीकार्य छैन। धर्मका नाममा हुने/गरिने हस्तक्षेप म ठाडै अस्वीकार गर्छु। अरूका धर्म र तिनको धर्मले सिकाएको संस्कृति बारे म टीकाटिप्पणी गर्न पनि चाहन्न।म कट्टर हिन्दु ब्राह्मण परिवारमा जन्मिएको नेपाली हुँ। धार्मिक अनुशासन पालना गर्न दुनियाँको कुनै पनि ताकतले मलाई रोक्न सक्दैन। तर म धार्मिक विभेद गर्दिन। अरुका धर्मको सम्मान र आफ्नो धर्म पालना गर्नुपर्छ भन्ने मलाई मानवीय धर्मले सिकाएको हो। म प्रत्येक देवीदेवताका मन्दिरमा गएर शिर निहुर्यापउँछु। पवित्र नदीहरूमा पुसको जाडोमा पनि विभिन्न मन्त्र पाठ गर्दै स्नान गर्छु। प्रत्येक मन्दिरका घण्टी बजाउँछु र आफू पुगेका मन्दिरमा पुजारीकै हातबाट टीका लगाउँछु र आर्शीवाद लिन्छु। धर्मका नाममा 'वाद'हरू मलाई अस्वीकार्य छन्। मलाई मगर पुजारी भएको मनकामना होस् या झुमा पुजारी भएको मुक्तिनाथ, चौधरी पुजारी भएको गढीमाई होस् वा नेवार पुजारी भएको मैतिदेवी, मधेसी सम्प्रदायका पुजारी भएको छिन्नमस्ता होस् वा पहाडी पुजारी भएको उग्रतारा सबै देवदेवताप्रति समान श्रद्धा लाग्छ। जब ती मन्दिरमा जान्छु हाम्रो धर्म संस्कारले सबैलाई बराबर देखेकोमा गर्व पनि लाग्छ। आफैँलाई कोट्याउँछु र सोध्छु के हाम्रो धर्मले जात र लिङ्गका आधारमा विभेद गर्दाे रहेछ त? जुन क्षेत्रमा जुन जातिको बाहुल्य छ त्यहाँका मन्दिरमा अधिकांश पुजारी तिनै जातिका हुन्छन्। उदाहरण खोजे सूची निकै लामो हुन्छ।

हिन्दु धर्मावलम्बीभित्रै जातपातका कुरा हुन्छन्, महिला पुरुष विभेदका प्रश्न उठ्छन्। तर हिन्दु धर्मले कहिल्यै पनि यस्ता विषयमा भेदभाव गरेको छैन। म प्रष्ट छु यी सब कुरा हाम्रो धर्म होइन, संस्कारमा छन्। धर्म र संस्कार त फरक कुरा हुन् नि! हामीले भने कुरै नबुझी धर्ममाथि प्रहार गरिरह्यौँ? हिन्दु धर्मले महिला पुरुषमा विभेद गर्ने भए हाम्रो धर्ममा शक्तिका देवता किन देवी (नारी)मात्र हुन्थे? हामीले कहिल्यै पनि सोचेनौ र धर्मलाई आक्षेपमात्रै लगाइरह्यौ। कतिले धर्म परिवर्तनको कारक नै यिनै कुरालाई मान्ने गरेका छन्। यो सरासर गलत हो। धर्मले जातपात, महिला पुरुष र धनीगरिब भने रकहाँ छुट्याएको छ? हाम्रै धर्ममा कृष्ण र सुदामाको मित्रता अनुपम छ। धन, विद्या र शक्तिका देवीहरू महिला नै मानिन्छन्। अनि मन्दिरमन्दिरमा जातजातका पुजारी छन्, महिला र पुरुष छन्। यति हुँदा हुँदै पनि धर्ममा विभेद देख्छौ भने हाम्रो दृष्टिमै दोष छ, खोट छ ।

नेवार समुदायले धेरै मान्ने जीवित देवी कुमारीको खुट्टामा मैले ढोगेको देखेर मलाई मेरा धेरै साथीले सोधे – किन? मेरो जवाफ प्रष्ट छ। पहिलो त, उनी जीवित देवी मानिन्छिन्। दोस्रो, उनी बालिका हुन् र तेस्रो उनी छोरी हुन्। जीवित देवी हुनु उनको पृथकता हो। हाम्रो धर्मले बच्चालाई भगवानका रूपमा लिन्छ र छोरीलाई पुज्ने हाम्रो चलनै छ। त्यसैले उनको खुट्टामा ढोग्नु मेरो धर्म हो। एकचोटि दक्षिण भारतका एकजना साथीलाई सोधेँ – तिमी कुन धर्म मान्छौ? उनको जबाफ थियो – 'म 'प्राक्टिसिङ' हिन्दु हुँ, हिन्दु धर्मको अभ्यास गर्छु।' उनको जवाफमा तर्क थिए। हो, धर्म मान्ने होइन, अभ्यास गर्ने हो अभ्यासका क्रममा स्वतः मानिन्छ।

यस बर्ष मेलाको अवसर पारेर म बारा पुगेको थिएँ गढीमाईको दर्शन गर्न। म जानुअघि र पछि पनि गढीमाईमा दिइने र दिइएको पशुबली बारे चर्काे प्रचारबाजी भइरहेको थियो। पशुअधिकारका कुरा गर्नेहरू र धर्मसंस्कृतिको रक्षा गर्नुपर्छ भन्नेहरूबीच निकै ठूलो मतभेद थियो। बलि चढाइएका पशु व्यस्थापनको विषय अर्काेतिर उठिरहेको थियो। अनेक कोणबाट विरोध गरिएको थियो गढिमाइमा दिइएको पशुवलीको। तर मैले त्यो विरोध केको थियो भन्ने छुट्याउन सकिन। के पशुपक्षींको हत्या हिन्दु धर्ममा मात्रै हुन्छ र त्यो पनि गढीमाईमा मात्रै हुने हो? हाम्रा सबै देवीको भाकल गरिन्छ र तिनका मन्दिरमा बलि चढाइन्छ। यतिमात्रै होइन कतिपय भैरव र गणेशका मन्दिरमा समेत बलि दिइन्छ। अनि, बलि दिने विधिको आलोचना गरिएको हो भने त्यतिधेरै दर्शनार्थी आउने र हजारौँको संख्यामा बलि चढाएको मन्दिर साँच्चिकै व्यवस्थित थियो। बरु त्यति व्यवस्थित हुँदाहुँदै पनि बाहिर गलत प्रचार भएको भन्दै मन्दिर व्यवस्थापन र सुरक्षाकर्मीसँग भेट भएका बेला तिनले गुनासो गरेका थिए। त्यो बिरोध पम्पराको हो कि? पशुबलिको हो कि? विधि प्रक्रियाको हो? आजसम्म चित्तबु‰दो जवाफ पाउनसकेको छैन। यसै पनि बलि प्रथा विस्तारै कम हुँदैगएको छ। पशुपंक्षीका सट्टा नरिवल र फलफूल बलिका लागि प्रयोग गर्न थालिएको छ। चेतनास्तर बढ्दै जाँदा मान्छे आफैँ बदलिन्छ। कसैले जबर्जस्ती गर्नैपर्दैन।

धर्मका विरुद्धमा ठूला ठूला दुष्प्रचार भएका छन्। हामी नेपालीलाई पनि उक्साइएको छ। धर्म नै विभेदको कारक हो भन्न लगाइएको छ। साँच्चै धर्मका नाममा 'भयानक खेती' भइरहेको छ। जनचेतनाका नाममा गाउँ पसेर धार्मिक आस्थाविरुद्ध भड्काउनेहरू सलबलाई रहेका छन्। यस्त्ाो बेलामा हामी पनि तिनै कुराका पछि लाग्ने कि सचेत हुने? विश्वका ठूलाठूला युद्ध धर्मकै कारण भएका छन्। त्यस्तो परिस्थिति हाम्रो देशमा नआओस्। धर्मका विरुद्धमा सोझा जनतालाई नभड्काइयोस्। धर्मलाई राजनीतिको अखडा बनाएर मानवीय संवेदनामाथि खेल्ने काम कहीँ कतैबाट पनि हुनुहुँदैन। धर्म हाम्रो आस्था हो।

भनाइ नै छ – खोला, माया र आस्थाको गति कहिल्यै पनि रोकिन्न, कहिल्यै बदलिन्न। 'कसैले आस्था बदल्यो' भन्ने कुरामा म विश्वास गर्दिन। त्यहाँ आस्था परिवर्तन भएको कसले देख्यो? धर्म परिवर्तन भएको कसले देख्यो? यस्ता घटनामा मैले स्वार्थमात्र सलबलाएको देख्छु। त्यसैले म धर्म परिवर्तनको विरोधी हुँ। आफ्नो स्वार्थ पूरा गर्ने अनि मैले धर्म परिवर्तन गरेँ भन्ने हक कसैलाई पनि छैन। धर्म परिवर्तन गरेको भोलिपल्टैदेखि अर्काे धर्म मान्नेको स्वाभिमानमा आँच आउने किसिमका भ्रम फैलाउने छुट पनि कसैलाई हुँदैन। वर्षाैदेखि, पुर्खाैदेखि चलिआएको धार्मिक आस्था कसरी परिवर्तन गर्न सकिन्छ हँ? तर्क गर्नेहरू भन्छन् – 'धर्म परिर्वतनको अधिकार दिनुपर्छ।' उनीहरूलाई सोध्न चाहन्छु – 'धर्म कसरी परिवर्तन हुन्छ र स्वार्थ परिवर्तनलाई के आधारमा धर्म परिर्वतनको नाम दिने?' कसैले चित्त बुझ्दो जवाफ दिएछन् भने स्वीकार गर्न मलाई कुनै आपत्ति छैन।

हिन्दु धर्मका धेरै कुरा पालन गर्ने भएकाले आफूलाई कट्टर हिन्दु हुँ भन्न नै रुचाउँछु म। त्यसैले हिन्दु धर्मको धेरै उदाहरण दिएँ। यसको मतलब हिन्दु धर्मका लागिमात्रै स्वतन्त्रता हुनुपर्छ भन्ने मेरो आशय होइन। मेरो धर्ममा जस्तै स्वतन्त्रता अरूको धर्ममा पनि हुनुपर्छ। चैत्य, बिहार, चर्च र मस्जिद जहाँ जान मन लाग्छ कसैको रोकतोकविना नै जान पाउनुपर्छ। आआफ्नो ईश्वर मान्न पाउनुपर्छ। नेपालमा बस्ने मुस्लिम र पाकिस्तानमा बस्ने हिन्दुले धर्मका कारण ममाथि विभेद भयो भन्ने ठान्ने वातावरण बन्नुहुँदैन। युरोपका बौद्ध र जापानका इसाईले कहिल्यै पनि उपेक्षित भएको महसुस गर्ने दिन आउनु हुँदैन। अहिले त्यस्तो भइरहेको छ भने बरु अन्त्यका लागि आवाज उठाउने आँट गर्नुपर्छ। बस् यही हो धार्मिक स्वतन्त्रता।

तर, अहिले धार्मिक स्वतन्त्रतालाई सापेक्षतासँग जोडेर राजनीति गर्नेहरूको जमात बढेको छ। विसं २०६३ सालअघि नेपाल हिन्दु राज्य नै थियो। अन्तरिम संविधानले देशलाई धर्म निरपेक्ष घोषणा गरेपछि धेरै पक्ष त्यसमा सहमत पनि देखिएका छन्। त्यसो त देशलाई धर्म निरपेक्ष बनाउनु हुँदैन भन्ने आवाज त्यतिबेलै पनि उठेको थियो। तर जब पहिलो संविधान सभा असफल भएर दोस्रोपटक चुनाव भयो, धर्मका नाममा राजनीति धेरै हुन थाल्यो। धार्मिक संगठन सक्रिय हुन थाले। देशलाई हिन्दु राज्य नै बनाउनुपर्छ भन्ने माग गर्दै विभिन्न पक्षहबाट अनेकौंँ कार्यक्रम पनि हुनेगरेका छन्।

लोकतन्त्र भन्नु नै बहुमतले निर्णय गर्ने र अल्पमतको कदर गर्ने संस्कृति हो। लोकतन्त्रलाई स्वीकारेको हाम्रो देशले यस्तै मागहरूको सम्बोधन गर्न हिन्दु धर्मलाई मात्रै लाद्ने काम गर्योी भने परिणाम के होला? हिन्दु राज्यलाई मुसलमान वा इसाई धर्मावलम्बीले कसरी आफ्नो भन्ने? यहाँ कसरी सुरक्षित महसुस गर्ने? के हाम्रो धर्मले यस्तै अधिनायकवादी बन्न सिकाएको छ र? छैन भने धर्मको राजनीतिमा देशलाई कहिलेसम्म बन्धक बनाउने?

जबसम्म म डोलेश्वरमा गएर निर्धक्क रुद्री गर्न पाउँछु, कार्यविनायकको मन्दिरमा लड्डु चढाउन पाउँछु, कुनैपनि देवीका मन्दिरमा गएर मेरो परम्परा र आस्थाअनुसार पूजा गर्न पाउँछु, जबसम्म बुद्ध धर्म मान्ने मेरो साथीलाई स्वयम्भुमा वा कुनै गुम्बामा गएर ध्यान गर्न रोकतोक हुँदैन, जबसम्म मेरो मुस्लिम साथी मस्जिदमा प्राथना गर्न कसैसँग डराउनुपर्दैन, हामीलाई देश धर्म निरपेक्ष भएर के अप्ठेरो पर्छ र? आफ्नो धर्मप्रति कटिबद्ध हुनेलाई देश धर्म सापेक्ष र निरपेक्ष हुनुको कुनै अर्थ हुन्छजस्तो मलाई लाग्दैन। तर बारम्बार स्वार्थ परिवर्तन गर्न चाहनेलाई जुन कुनै पनि वाद र व्यवस्थाले रोक्न सक्दैन। धर्मका नाममा राजनीति गर्नेहरूले यति त पक्कै पनि बुझेका होलान्। र पनि, उनीहरू धर्मको काँधमा चडेर राजनीति गरिरहेका छन् भने त्यसबाट कसैका लागि पनि राम्रो परिणाम निस्किँदैन। यो उनीहरूकै लागि पनि घातक हुन्छ। त्यसैले अरूको धर्मको सम्मान गरौँ र आफ्नो धर्म पालना गरौँ। हाम्रो देश धर्म निरपेक्ष भएकैमा हामीले गर्व गर्नुपर्ने धेरै कारण छन्।

धर्मका नाममा राजनीति गर्न र अनेक प्रचारवाजी गर्न धार्मिक स्वतन्त्रता र धर्म सापेक्षतालाई एउटै टोकरीमा हाल्न मिल्छ? पक्कै पनि यी दुई फरक विषय हुन्। त्यसैले एक जना कट्टर हिन्दु भएर मैले संविधान निर्मातासँग केही माग्नु पर्यो भने म माग्छु – मलाई धार्मिक स्वतन्त्रता चाहिन्छ, देश धर्मनिरपेक्ष हुँदा केही फरक पर्दैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस