नेपालमा सडक दुर्घटना दिनदिनै बढ्दै गइरहेको छ। सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउन निर्दोष नागरिक विवश छन्। यसरी भयावह बन्दै गइरहेको सडक दुर्घटनाको कारणको बारेमा छानबिन गर्न र सुझाव दिनको लागि सरकारले समयसमयमा समितिसमेत गठन गर्ने गरेको छ।
यस्ता समितिले दिएका प्रतिवेदनलाई अध्ययन गर्दा सवारी चालकको लापरबाही नै प्रमुख कारण रहेको पाइन्छ। एउटा चालकलाई सडक दुर्घटनाको सम्पूर्ण दोष दिएर अन्य कारणतर्फ ध्यान नदिँदा दुर्घटनाको खासकारण बुझ्न सकिएको छैन। अनि दुर्घटनाको दर पनि घटाउन सकिएको छैन। एउटा चालकमाथि सबै दोष थोपरेर अरू वास्तविक कारक पानीमाथिको ओभानो बन्ने प्रयास गरिरहेका छन्। दुर्घटना कम गर्नको लागि सरकारबाट हुनुपर्ने कुनै प्रयास भएकै छैन। सडक दुर्घटनाको दर र दायरा बढ्दै जानुमा सामाजिक कारण पनि रहेका छन्। त्यस्ता सामाजिक संरचनात्मक कारणलाई नबुझिकन वास्तविकताको नजिक पुग्न सकिँदैन।सडक दुर्घटनालाई मिहिनरूपमा हेर्ने हो भने कर्ता अर्थात् सवारी चालकको भन्दा पनि संरचनात्मक कारण बढी जिम्मेवार रहेका देखिन्छन्। दुर्घटनाका बारेमा प्राप्त भएका तथ्यांक तथा घटना हेर्दा सबैभन्दा धेरै दुर्घटना सुदूरपश्चिम तथा मध्यपश्चिम विकास क्षेत्रमा भएको देखिन्छ। पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रमा दुर्घटना बढी हुनुमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट प्रथाको मुख्य हात रहेको छ। पूर्वी क्षेत्रमा सिन्डिकेटको समस्या छँदैछैन, भए पनि निकै कम छ। तर, सुदूरपश्चिम तथा मध्यपश्चिम विकास क्षेत्रमा सिन्डिकेटको समस्या निकै नै छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६८ मा 'स्वच्छ प्रतिष्पर्धात्मक ढंगबाट यातायात व्यवसायको विकास गर्न सार्वजनिक सवारीलाई चक्रिय प्रणालीअर्न्तगत सेवा सञ्चालन गर्नेगरी इजाजतपत्र प्रदान गरिने छैन' भनिएको छ। ऐन लागु भएको २ दशक बितिसक्दा पनि यो प्रावधानको व्यावहारिक कार्यान्वयन हुननसक्दा दिनदिनै दुर्घटना बढिरहेका छन्।
सिन्डिकेटले २ किसिमबाट सडक दुर्घटनालाई बढाइरहेको छ। पहिलो, सिन्डिकेटमा रहेका बस निकै थोत्रा छन्। उकालोमा नतान्ने र ओरालोमा नथाम्ने थोत्रा गाडी सञ्चालन हुँदा दुर्घटना बढिरहेको छ। सामान्य ब्रेक, गियर, एक्सिलेटर पनि उचित अवस्थामा नरहेका यस्ता गाडीकै कारण दुर्घटना बढेको हो। दोस्रो, सिन्डिकेटवालाले प्रतिष्पर्धालाई निरुत्साहित गरेका छन्। अनि आफ्नो मनखुसीले आवश्यकताभन्दा निकै थोरै गाडी महँगो भाडा लिएर चलाउने गर्दछन्। उसै त थोत्रा गाडी, त्यसमा पनि क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेर सञ्चालन हुँदा दुर्घटनाको मात्रा निकै बढेको छ।
तेस्रो कारण, विकासको गलत अभ्यासले पनि सडक दुर्घटनालाई बढाइरहेको छ। मध्यपश्चिम र सुदूरपश्चिममा विकासका गतिविधि भर्खरै सुरु भएका छन्। सडक सञ्जाल विस्तारको काम भर्खरै अगाडि बढिरहेको छ। यसरी सडक सञ्जाल विस्तार गर्दा कुनै प्राविधिक तथा इन्जिनियरिङ मापदण्ड नै पूरा नगरिकन राजनीतिक दलका स्थानीय नेता तथा टाठाबाठाको लहड र दबाबमा सडक खनिएका छन्। यस्ता सडक प्राविधिक दृष्टिकोणले उपयुक्त र सुरक्षित छैनन्। सडक खन्न डोजरको प्रयोग गरिएको छ। डोजर चालकले जताजता चाह्यो त्यतैत्यतै बाटो खन्ने प्रवृत्ति झाँगिदै जाँदा दुर्घटनाको मात्रा पनि बढ्दै गएको छ। यसैगरी, सडकको स्तर उन्नतिको लागि काम अहिले पनि हुन सकेको छैन। नयाँ नेपालको नारा र विकासे प्रक्रिया काठमाडौँ उपत्यकामा मात्र सीमित छ। दुर्गम जिल्लाका बाटोको स्तर उन्नति गर्ने तथा त्यसलाई प्राविधिक दृष्टिकोणले उपयुक्त बनाउने काम गर्ननसक्दा डोजरले खनेका सडक यमलोक जाने मार्ग बनेका छन्।
अर्को कारण भनेको सडकको गुणस्तरसँग जोडिएको छ। एक अध्ययनअनुसार नेपालका कूल ६६ हजार ४ सय किलोमिटर ग्रामीण सडकमध्ये करिव ४२ हजार किमी सडक गाडी चलाउन अयोग्य रहेको छ। सानो टाटासुमोजस्ता गाडीसमेत चलाउन अयोग्य रहेका सडकमा बस तथा मिनिबस निर्वाध सञ्चालन भइरहेका छन्। भर्खरै ट्रयाक खुलेका, अर्को गाडीलाई साइड दिनसमेत ठाउँ नभएका, बाटोको छेउमा पर्खाल नबनाइएका सडकमा निर्वाधरूपमा गाडी सञ्चालनको लागि 'रुट पर्मिट' दिँदा दुर्घटना बढिरहेको छ। उदाहरणको लागि, यही मंसिर ४ गते जाजरकोटमा भएको दुर्घटना ट्रयाक्टरलाई साइड दिने क्रममा भएको तथ्य सार्वजनिक भएको छ।
पाँचौँ कारण भनेको यातायात क्षेत्रमा झाँगिदै गएको भ्रष्टाचार हो। यातायात क्षेत्रको भ्रष्टाचार दुर्घटनाको एक प्रमुख कारण बनिरहेको छ। यातायात सञ्चालनमा लाइसेन्स दिने क्रममा भ्रष्टाचार निकै हुन्छ। यही भ्रष्टाचारको कारण सवारी तथा यातायात व्यवस्था ऐनले गरेका व्यवस्थालाई समेत बेवास्ता गर्दै यातायात व्यवस्था कार्यालयका कर्मचारीले सिन्डिकेटवालाले चाहे र भनेअनुसारको मात्र गाडीलाई अनुमति दिँदै आएका छन्। यसैगरी, ट्रायल उत्तीर्ण नगरेका भर्खरका किशोर तथा युवालाई सवारीचालकको अनुमतिपत्र दिने काम पनि पैसाका भरमा भइरहेको छ। यसले राम्रोसँग गाडी चलाउन नजान्ने व्यक्तिले सवारी अनुमतिपत्र पाएका छन् र कच्ची तथा कमजोर गुणस्तरको सडकमा गाडी चलाइरहेका छन्। प्रहरी प्रशासनभित्रको भ्रष्टाचारी र घुसखोरी शैलीले थोत्रा र क्षमताभन्दा दोब्बर यात्रु बोकेका गाडी निर्वाधरूपमा सञ्चालन भइरहेका छन्। घुम्ती र चोकमा रहेका प्रहरी बिट तथा ट्राफिक कार्यालयका प्रहरीलाई घुस दिएर यस्ता गाडी सञ्चालन भइरहेका छन्। परिणामतः सडक दुर्घटना बढिरहेको छ।
अन्तिम कारण भनेको मानवीय कमजोरी अर्थात् चालकको लापरबाही हो। भर्खरै जुँगाको रेखी बसेका १८/२० वर्षका किशोरलाई ठूला सार्वजनिक यातायातका साधन चलाउने इजाजतपत्र दिँदा पनि दुर्घटना बढेको छ। यसैगरी सहयोगी (खलासी) लाई गाडी चलाउन दिने, मादक पदार्थ सेवन गरेर चलाउने, मोबाइलमा कुरा गर्दै तीव्र गतिम चलाउनेजस्ता मानवीय कमजोरीले पनि दुर्घटनाको दर र दायरा बढ्दै गएको छ।
अहिलेसम्म जति पनि सवारी दुर्घटना भएका छन्, सवारी चालकको लापरबाही मात्रले भएको छैन। दुर्घटनाको सामाजिक संरचनात्मक कारणबारे अहिलेसम्म कुनै लेखाजोखा हुनसकेको छैन। अहिलेसम्म सरकारले गठन गरेका छानविन समितिले दिएका प्रवितेदनले सवारी चालकको लापरबाहीलाई मात्र प्रमुख कारण मान्दै आएको छ। यो दृष्टिकोण आफैमा साँघुरो र गलत छ। दुर्घटनाका सामाजिक कारणलाई विस्तृतरूपमा अध्ययन गरी समाधान गर्नसकेमा मात्र यसलाई नियन्त्रण गर्नसकिन्छ।