सत्ता साझेदारीको राजनीति
१७ मंसिर २०७१
•
१८ मिनेट पाठ
सत्ता साझेदारीको राजनीति
माघ ८ गते नजिकिँदै गएसँगै तीनवटा 'ठूला' दलहरू (नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी) आफैँले आफ्नै घाँटीमा कसेको सुर्कने पनि कस्सिँदै गएको छ। हुनत, संविधान सभाको अवधि चार वर्षको हो तर उल्लेखित दलहरूले आआफ्ना घोषणापत्रमा जुनसुकै हालतमा पनि एक वर्षभित्र संविधान जारी गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए। यो प्रतिबद्धताको म्याद आगामी माघ ८ गते गुजि्रँदैछ। र, उक्त हदम्याद नजिकिँदै गर्दा दलहरूमा छटपटी, हतारो र दबाब बढ्दै गइरहेको छ। माघ ८ गतेपछि नेपाली राजनीतिमा के कस्तो ध्रुवीकरण होला भन्ने अनुमानमा राजनीतिक 'गसिप'को गवेषणा पनि बाक्लिँदै गएको छ।
माघ ८ गतेलाई संविधान सभाको विघटन हुने मितिजस्तै गंभीरतापूर्वक लिनुपर्ने कारणको जिम्मेवार पनि कांग्रेस, एमाले र एमाओवादी नै हुन्। नेपाली जनताले कहिल्यै पनि माघ ८ गते जसरी पनि संविधान जारी गर भनेका होइनन्/छैनन्। न त 'निर्धारित मितिमा संविधान जारी गर' भनेर कतै ठूलो दबाब दिएका वा जुलुस निकालेका छन्। त्यसकारण माघ ८ गतेलाई आफ्नै गलाको पाुो बनाएर झुन्डिने औजारको निर्माण ठूला दलबाटै भएको हो र मिति गुजि्रनै लाग्यो भन्ने कोकोहोलो पनि उतैबाट सुनिदैआएको छ। अर्कोतिर संविधान निर्माणको तयारीमा न सहमति गर्ने न त प्रक्रियामा जानसक्ने अनिर्णयको वन्दी पनि यिनै दल बनेका छन्। संविधान नबनेका कारणले जनताको समस्यामा केन्द्रित बन्न नपाएको स्पष्टीकरण दिँदै सबै खालका जनविरोधी कर्मलाई ढाकछोप गर्नसमेत यिनै तिन दलले भ्याएका छन्। कस्तो अचम्मको राजनीतिक परिवेश निर्माण भएको छ भने लाग्छ, नेपालको सम्पूर्ण बेथितिको जिम्मेवार कोही होइन, त्यही बन्न नसकेको संविधानको खोस्टो हो। 
यथार्थ भने ठीक उल्टो छ। विघटित संविधान सभाको पहिलो दुई वर्षले मात्र जनताको आशा र विश्वास आर्जन गर्नसकेको थियो। त्यसपछि बिस्तारै संविधान सभाप्रतिको जनताको मोहभंग हुँदै जान थाल्यो। तैपनि तत्कालीन संविधान सभाप्रति जनताको बाध्यात्मक विश्वास संविधान निर्माणभन्दा शान्ति प्रक्रियाको सहमति र संझौताको शीघ्र कार्यान्वयनका आशामा केन्द्रित थियो। त्यसैले विघटित संविधान सभाका पछिल्ला दुई वर्ष संविधान निर्माणमा भन्दा माओवादीका लडाकुको समायोजन, हतियार र त्यसको प्राविधिक विवाद व्यवस्थापनमा बित्यो। प्रारम्भिक दुई वर्षभित्रै विघटित संविधान सभाका विषयगत समितिले आआफ्ना प्रतिवेदन संविधान सभालाई बुझाइसकेका थिए। पहिलो र दोस्रो संविधान सभाले नयाँ संविधानको निर्माणमा गरेको भनेर देखाउन मिल्ने काम त्यत्तिमात्र हो। तिनै प्रतिवेदनमा आधारित केही झिना मसिना विवादमा कथित सहमति कायम गरेर बाँकी समयको बर्बादीमात्र गरिएको छ। मूलभूत विषयमा कहिले पनि सहमति जुट्न नसकेको तथ्य सर्वविदित नै छ। झन् दोस्रो संविधान सभाले त केही गर्नपरेकै छैन र पुरानै सहमति/असहमतिको स्वामित्वमात्र लिएको छ। त्यसैले विगत छ वर्षदेखिको निरन्तर कथित सहमतिको प्रयासले संविधान निर्माणको विषय औंलामा गन्न सकिने 'शीर्षनेता'को मात्र सरोकारको विषय बन्न गएको हो। 
सरकारमा साझेदारी
गत भाद्र महिनाको दोस्रो सातासम्ममा संविधानका मूल विषयवस्तुमा सहमतिको अन्तिम प्रयास सकारात्मक ढंगले अगाडि बढिरहेको थियो। सहमति कायम गर्न भाद्र २१ गतेलाई अन्तिम समयसीमा तोकिएको थियो। तर भाद्र १४ गतेको वरिपरि आइपुग्दा सम्पूर्ण सहमतिको प्रयास एकाएक भत्किन थाल्यो। उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्माण गरेर आफूले त्यसको नेतृत्व पाउनुपर्ने पूर्व संझौता कार्यन्वयनको माग गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति गर्न नसकिने उद्घोष जारी गरे। विडम्बना, उनकै पार्टीका अर्का शीर्ष नेता बाबुराम भट्टराईको नेतृत्वमा रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले भने निर्धारित समयभित्रै सहमति कायम भइसक्ने ठोकुवा गरिरहेको थियो। एमाओवादीभित्रको अन्तरविरोध यसरी प्रकट भइरहँदा स्वाभाविकरूपले मुख्य नेतृत्वको चाहनाबमोजिम सम्पूर्ण सहमतिको वातावरण बिग्रियो र आजको भताभुङ्ग परिस्थितिको निर्माण भयो। यद्यपि, सहमति बिगारेर भए पनि दाहालको मागबमोजिम उच्चस्तरीय राजनीतिक समितिको निर्माण गरिसकिएको थियो। तैपनि किन भएन त सहमति? किन संविधान निर्माणको वातावरण बन्दै जानुको साँटो बिग्रिदै जान थाल्यो? बाहिरबाहिर संविधानका कुरा गरे पनि शीर्ष नेताको अन्तर्यमा राजनीतिको कस्तो खिचडी पाकिरहेको थियो?
भाद्र महिनाको सम्भावित सहमतिको सकारात्मक प्रयास एकाएक भत्किनेबित्तिकै तत्कालै यस पंक्तिकारले यसै दैनिकमा लेखेको थियो – सहमतिको प्रयास भत्किनुको प्रमुख कारण संविधानको विषयले होइन, राजनीतिक 'कोर्स'मा गर्न खोजिएको परिवर्तनले हो। अर्थात्, सरकारको नेतृत्व परिवर्तन वा सत्ता साझेदारीको नयाँ खेलको आरम्भले नयाँ विग्रह पैदा गरेको हो। बितेका दुई महिनाभित्र जेजस्ता गतिविधि राजनीतिमा देखिए त्यसले राजनीतिक दलहरूबीचमा संविधानका कथित अन्तर्वस्तुको असहमति कृत्रिम भन्ने प्रमाणित गरिसकेको छ। र, मुख्य असहमति सत्ता साझेदारी वा शक्तिको बाँडफाँट हो। संविधानको कामलाई असमझदारीमा छोडेर दलहरू सरकार साझेदारीको 'वास्तविक असहमति'मा ओर्लिएका छन्। 
माघ आठ गतेको नजिकनजिक पुगुन्जेल वर्तमान सत्तासीन दलहरूका बीचमा सम्पन्न कैयौं खुला र गोप्य संझौताको म्याद सकिनेछ। उक्त अवधिमा पुग्नुभन्दा अगाडि सरकारको साझेदारीलाई आआफ्नो स्वार्थअनुसार प्रभावित पार्दै शक्तिशाली बन्ने अभ्यास सुरु भइसकेको छ। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतबाट बाबुराम भट्टराईले संविधान निर्माणमा अलि बढी गंभीरता देखाए पनि अध्यक्ष दाहाल सम्मानजनक अवसरको निर्माण गरेर सरकारमा जाने बाटो बनाउँदै थिए। त्यस्तो बाटो निर्माणका लागी सहमतिको कार्यमा एकोहोरो लागेका भट्राईको प्रयास बाधक बनेकोले भट्राईविरुद्ध दाहालको असन्तुष्टि सार्वजनिकरूपमा अभिव्यक्त भएको थियो। संविधान निर्माणमा आफ्नो उल्लेख्य भूमिका र सरकारमा समेत साझेदारी चाहेका दाहालले नियोजित र शंृखलाबद्धरूपमा आफ्नो राजनीतिक यात्रालाई सिंह दरबारतर्फ अघि बढाइरहेका थिए। दाहालले बुझिसकेका थिए – तत्काललाई संविधान निर्माणभन्दा सरकारमा जाने बाटो खोल्नु एमाओवादीका लागि बढी फाइदाजनक छ। त्यसको लागि उनले प्रमुख तीनवटा राजनीतिक खुट्किला तयार गरे।
पहिलो, सघन सहमतिको प्रयास भइरहेको गत भाद्र महिनाको राजनीतिक कोर्सलाई बर्गल्याउन दाहालले ६ महिनाअगाडि भएको सरकारसँगको सहमतिलाई बेमौसममा उठाइदिए। त्यसमा पनि आफ्नो दलको मुख्य सरोकार रहेको संविधान सभाको निर्वाचनमा भएको कथित संस्थागत धाँधलीको विषयलाई उनले कुनै प्राथमिकता दिएनन्। तर प्रमुख राजनीतिक दलहरूबीचमा भएको 'उच्च स्तरीय राजनीतिक संयन्त्र' बनाउनुपर्ने विषयमात्र उनको मूल सरोकारको विषय बन्यो। केही समयको रस्साकसीपछि उनले उक्त समितिको नेतृत्व पनि प्राप्त गरे। दोस्रो, राजनीतिक समितिको संयोजक हुनासाथ उनले जातीय तथा क्षेत्रीय दलहरूको मोर्चाबन्दीमार्फत दबाबको रणनीति अख्तियार गरे। बाइस दलीय मोर्चामार्फत घोषणा गरेको कथित आन्दोलनको प्रचारात्मक अभियान सरकारमा जान बनाइएको अर्को खुट्किलो मात्र थियो। तेस्रो तथा अन्तिममा उनले संविधान सभा छोडेर आन्दोलनको विद्रोहात्मक बाटो समात्ने चेतावनी दिँदै रोल्पाको बंकरमा गएर आफूतर्फ सबैको ध्यानाकर्षण गराए। उनको उक्त अभिव्यक्तिले संविधान सभाबाहिर रहेका शक्तिलाई बलियो पार्ने संभावना देखेपछि सरकारले पनि एमाओवादीको सहमति नलिईकन प्रक्रियामा प्रवेश गर्ने साहस गर्न सकेन। यसरी दाहालले सरकारमा जाने र आफ्नो भूमिकाको उल्लेख्य प्रदर्शनसहित संविधान निर्माण गर्ने दिशामा योजनाबद्धरूपमा कार्य गर्दैआइरहेका छन्।
अर्कोतिर, एमालेको नवौं महाधिवेशनपछि निर्वाचित केपी ओलीको नयाँ नेतृत्व पनि सत्ता साझेदारीलाई कांग्रेससँगको बराबरी हैसियतमा समग्र 'प्याकेज'मा पुनर्सहमति गर्न चाहन्छ। संयुक्त सरकार निर्माणको पूर्वसन्ध्यामै कांग्रेससँग उसको लिखित तथा मौखिक सहमति भइसकेको थियो। कांग्रेसको नेतृत्वसँग सत्ता साझेदारीमा केही असन्तुष्ट रहेका अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपतिलाई नयाँ संविधान सभाबाट अनुमोदित गराउनुपर्ने विषय उठाउँदै आएका थिए। यस विषयमा एमाओवादी अध्यक्ष दाहालको दृष्टिकोण पनि समान थियो। संसदीय दलको नेता र पार्टी अध्यक्ष भइसकेपछि अध्यक्ष ओलीको चाहना प्रधानमन्त्रीको कुर्सीतर्फ सोझिएको त सजिलै बुझिन्छ। जसरी भए पनि माघ ८ गतेसम्म संविधानको मस्यौदामात्र जारी गरेर भए पनि सरकारको नेतृत्व परिवर्तन गर्ने उद्देश्य ओलीको देखिन्छ। आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने उद्देश्यलाई संयुक्त सरकारको रूप दिन पाए सरल र सहज ढंगले संविधानका बाँकी विषयवस्तुमा सहमति कायम गर्न सकिन्छ भन्ने ठानेर उनले एमाओवादीको संस्थापना पक्षसँग संवाद अघि बढाइरहेका मात्र छैनन्, औपचारिक प्रस्तावसमेत राखिसकेका छन् । 
दबाबमा दल
सहमतिको लागी सबैभन्दा जटिल देखिएको संघीयताको प्रश्नमा सरकार सात प्रदेशभन्दा माथि जाने त कुरै छोडौँ, त्यसभन्दा पनि कम गर्ने पक्षमा छ। कांग्रेसको प्रस्तावलाई सरकारको प्रस्तावका रूपमा एमालेले पनि सहमति जनाइसकेपछि एमाओवादी दबाबमा परेको थियो। नयाँ संविधानका अन्तर्वस्तुमा सहमति नगरे प्रक्रियामा नजाने एमाओवादी/मधेसीलगायत दलको अडानपछि राजनीतिक गतिरोध उच्च विन्दुमा पुगेको थियो। उच्च गतिरोध थाती राखेर मुलुक अठारौं सार्क सम्मेलनमा होमिएपछि केही समय घरेलु राजनीतिमा युद्धविराम देखिएको हो। सार्क संमेलनको समाप्तिसँगै राजनीतिक दलहरू पूर्ववत् सत्ता साझेदारीको टुटेको कडी जोड्ने प्रक्रियामा छन्। तर विकसित नयाँ 'सार्क' दबाबको साथ।
सार्क सम्मेलनको अवधिमा ट्रमा सेन्टरको उद्घाटनको कार्यक्रममा सहमतिबाट बाहेक अन्य प्रक्रियाबाट संविधान जारी नगर्न भारतका प्रधानमंत्री नरेन्द्र मोदीले रणनीतिक प्रतिक्रिया व्यक्त गरेर नेपाली राजनीतिमा चर्को दबाब उत्पन्न गरिदिएका छन्। एमाओवादी र मधेसवादी दललाई प्रक्रियामा सहमति जनाउन अनवरत प्रयास गरिरहेका सत्तासीन दलहरू मोदीको अभिव्यक्तिपछि दुई कदम पछाडि हटेका देखिन्छन्। एमाओवादीमाथि दबाब बढाउने उद्देश्यले सार्क सम्मेलनभन्दा अगाडि नै केही मधेसवादी दललाई सरकारमा सम्मिलित हुन कांग्रेस र एमालेले फकाउँदैआएका थिए। सरकारको उक्त रणनीति सफल बन्ने सम्भावना पनि देखिन थालेको थियो। तर अचानक मोदी भाषणको प्रभावले उक्त संभावनालाई फरक ढंगबाट सम्बोधन गर्नुपर्ने स्थानमा पुर्या इदियो। अर्थात्, एमाओवादीसहितको गठबन्धनलाई नै सरकारमा सम्मिलित गरेर सहमतिमा पुग्नुपर्ने भयो। अहिले मुख्य तीन दलबीचमा सत्ता साझेदारीको प्रश्नले समान प्राथमिकता पाएको छ। संविधानका विषयवस्तुको अन्तर त एउटा बहाना हो। बरु सबै विवाद कसले कुन पद पाउने भन्ने प्रश्नमा केन्द्रित छ। आगामी राजनीतिक 'कोर्स' सत्ता परिवर्तनमा मात्र छैन, सरकार परिवर्तनलगत्तै सबैको ध्यान संविधान निर्माणभन्दा स्थानीय निकायको निर्वाचनतर्फ जानेछ। सरकारले ६१ वटा नयाँ नगरपालिका घोषणा गरेर त्यसको 'रिहर्सल' पनि सुरु गरिसकेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस