फिलिपिन्सका ५ सय नर्सिङ कलेजले वार्षिक एक लाख नर्स उत्पादन गर्छन्। प्रतिव्यक्ति उत्पादनको दृष्टिबाट फिलिपिन्स संसारकै सर्वाधिक नर्स उत्पादन गर्ने देश हो। सरकारी तथ्यांकअनुसार उत्पादित यी एक लाख स्वास्थ्य परिचारिकामध्ये त्यहाँ ३६ हजारमात्रै खपत हुन्छन्। त्यसो भए फिलिपिन्समा नर्स बेरोजगार छन् त? तर अवस्था अर्कै छ। फिलिपिना नर्स संसारका विकसित देशका अस्पतालमा भेटिन्छन्। संयुक्त राज्य अमेरिकामा एउटा भनाइ छ- फिलिपिन्सका नर्स नभए अमेरिकी अस्पताल बन्द हुन्थे।फिलिपिन्सका उप श्रमसचिव डनिलो क्रुजका अनुसार कलेज भर्ना हुनुअघि नै आन्तरिक आवश्यकता धान्ने र वैदेशिक रोजगारीमा पठाउनेगरी दुई प्रकारमा विद्यार्थी वर्गीकरण गरिन्छ । सोहीअनुसारको नर्सिङ प्रशिक्षण दिइन्छ। विभिन्न मुलुकका लागि त्यहाँको आवश्यकताअनुरूपकै नर्स उत्पादन गरिदिन्छ फिलिपिन्सले। त्यसैले केही विकसित देश आफ्नो देशमा नर्स उत्पादन गर्नुभन्दा फिलिपिन्सको भरपरेका हुन्छन्। फिलिपिना नर्सहरू पढाइ सकिनेबित्तिकै तालिमको प्रकृतिअनुसार कि त स्वदेशी स्वास्थ्य केन्द्रमा काम गर्न थाल्छन् कि वैदेशिक रोजगारीमा जान्छन्। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने स्वास्थकर्मी उत्पादन गरी देशलाई विकास गर्ने फिलिपिन्सको मानव संशाधन व्यवस्थापन नीति छ।
संयुक्त राज्य अमेरिकाको स्थिति फिलिपिन्सको भन्दा नितान्त फरक छ। अमेरिकामा नर्स र डाक्टर दुवैको अभाव छ। त्यसकारण विदेशी स्वास्थकर्मीको भरपर्नु उनीहरूको बाध्यता हो। अमेरिकामा कार्यरत एक चौथाइ डाक्टर वाह्य मुलुकमा प्रशिक्षित तथा विदेशी नागरिक हुन्। अमेरिकी डाक्टर तथा नर्स आपूर्ति परिषद्का अनुसार आउँदो १० वर्षमा संयुक्त राज्य अमेरिकामा २ लाख डाक्टरको आवश्यकता पर्छ। उक्त अवधिमा स्थानीय मेडिकल स्कुलले जम्मा १ लाख ५० हजार डाक्टरमात्र उत्पादन गर्ने भएकाले पछिल्लो एक दशकमा अमेरिकालाई थप ५० हजार डाक्टर आवश्यक पर्नेछ। तर पनि थप मेडिकल कलेज खोल्ने तथा चिकित्सा क्याम्पसको क्षमता अभिवृद्धि गरी धेरै चिकित्सक उत्पादन गर्ने नीति अमेरिकाले लिएको छैन। अमेरिकी सिनेटको स्वास्थ्य कमिटीको तर्क छ- संसारभरिका उम्मेदवारबाट उत्कृष्ट छान्न पाउँदापाउँदै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा किन आफ्नो उत्पादनका नाममा सम्झौता गर्ने! विश्वप्रतिस्पर्धाबाट छानिएका चिकित्सक स्थानीय उत्पादनभन्दा उत्कृष्ट हुने भएपछि अमेरिकाले धेरै खर्चिलो मेडिकल कलेज थप्ने जमर्को गरेन। उच्च तलब र सुविधाका लागि संसारभरका डाक्टर अमेरिका जान मरिहत्ते गरेको अवस्थामा उनीहरूको तर्क सही र उपयुक्त देखिन्छ।
विश्व स्वास्थ्य संगठनका निर्देशक मार्गरेट चानका अनुसार संसार प्रसिद्ध डाक्टर र नर्स उत्पादन गर्न क्युबा सर्वाधिक सफल मुलुक हो। हालै इबोला भाइरसले आक्रान्त अफ्रिकी मुलुकमा स्वास्थसेवा प्रदान गर्ने कार्यमा संलग्न मुलुकहरूको कार्य प्रगतिपछि संक्रामक रोगको महामारीसँग लड्नसक्ने स्वास्थकर्मी उत्पादन गर्ने सबैभन्दा सफल मुलुक क्युबा रहेको निष्कर्ष गत महिना विश्व स्वास्थ्य संगठनले निकाल्यो। स्वास्थ सेवा कुनै सोख नभई समर्पण भएकाले योग्य र आफूलाई समाजको सेवक ठान्ने व्यक्तिमात्र डाक्टर हुनसक्छ भन्ने क्युबाको मान्यता छ। हालै प्रकाशित सूचांकअनुसार क्युबाको स्वास्थ्य सेवा संसारकै सर्वोत्कृष्टमा पर्छ। क्युबामा एक सय ७० नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन एकजना डाक्टर खटिन्छन्। विश्वको सर्वाधिक धनी देश संयुक्त राज्य अमेरिकामा ४ सय जनाको भागमा एक जना डाक्टर भाग पर्छ भने नेपालमा एक जना डाक्टरले ४ हजार जनालाई हेर्नुपर्छ।
नेपालका डेढ दर्जन मेडिकल कलेजले प्रतिवर्ष २ हजार ५ सय डाक्टर उत्पादन गर्छन्। झन्डै त्यत्तिकै संख्यामा नेपाली विद्यार्थी विदेशी कलेजबाट डाक्टरको उपाधि लिएर आउँछन्। करिब ३ करोड जनसंख्या भएको नेपालमा प्रतिवर्ष ५ हजार डाक्टर उत्पादन हुनु संख्याको हिसाबमा उल्लेखनीय भएको ठान्छन् स्वास्थ्य विश्लेषकहरू। अहिलेकै गतिमा डाक्टर उत्पादन हुने हो भने १५ वर्षमा नेपाल जनतालाई सर्वाधिक स्वास्थ्य सुविधा दिने मुलुक बन्नपुग्छ। तर, यथार्थमा त्यसो हुने लक्षण छैन। देशका निजी मेडिकल कलेजमा पढ्ने विद्यार्थी योग्यताभन्दा आमाबाबुका सम्पत्तिको भरमा डाक्टर भएको देखिन्छ। विदेशमा पढेका कतिपय नेपाली डाक्टरले मेडिकल काउन्सिलको सामान्य योग्यता परीक्षासमेत उत्तीर्ण गर्ननसक्नुले तिनको स्तर सजिलै बुझ्न सकिन्छ। अर्थात्, देशको चिकित्सा शिक्षाको क्षेत्रमा भाँडभौलो भएको छ र त्यसको निदान आवश्यक छ।
सम्पत्तिको न्यायोचित लगानी र त्यसको उचित प्रतिफलप्रति नागरिकलाई आश्वस्त बनाउनु सरकारको कर्तव्य हो। आफ्ना सन्तानलाई डाक्टर बनाउने होडमा धन भएका मात्र होइन न्यूनआयका नागरिकसमेत होमिएका छन्। प्रतिफलको आशामा घरघडेरी बेचेरै भए पनि सन्तानलाई डाक्टर बनाउने सपना बोक्नेहरू समाजमा धेरै छन्। सन्तानलाई डाक्टर बनाउने आकांक्षा राख्दा परिवारै सडकमा पुगेको पनि यदाकदा देखिएकै हो।
चिकित्साशास्त्रको अध्ययन सबै विषयमध्ये क्लिष्ट मानिन्छ। सर्वाधिक क्षमतावान् विद्यार्थीमात्र डाक्टरी पढाइमा लाग्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ। अमेरिकी मेडिकल स्कुलमा भर्नाका लागि पूर्वसर्तका रूपमा विद्यार्थीले पूर्णांक ४ जीपीएमा ३.५ ल्याउनुपर्छ र रूपान्तरण गर्दा त्यो नम्बर हाम्रो 'डिस्टिङ्क्सन'बराबर हो। त्यसमाथि विषयगत जाँच (एमक्याट) मा समेत निकै राम्रो गरेपछिमात्र कुनै विद्यार्थीले अमेरिकी मेडिकल कलेजमा भर्ना पाउँछ। सबै विकसित देशको परिपाटी अमेरिकासँग मिल्दोजुल्दो नै छ। तर, नेपालको हकमा उच्चमाध्यमिक परीक्षा मुस्किलले उत्तीर्ण गरेको विद्यार्थीले समेत झण्डै ६० लाख तिर्ने सर्तमा निजी मेडिकल कलेजमा सजिलै भर्ना भएको देखिन्छ। अन्तर्राष्ट्रिय मापदण्डाका आधारमा हेर्दा पैसा तिरेर भर्ना हुन पाइने अधिकांशः मेडिकल कलेजका विद्यार्थीले न्यूनतम सर्तसमेत पूरा गरेको देखिन्न। यसरी, आवश्यक पूर्वाधार नै नभएको व्यक्ति चिकित्साशास्त्रको विद्यार्थी बन्दा डाक्टरको विश्वसनीयतामा ह्रास आउनु अस्वाभाविक होइन।
कुनै समय थियो, उद्योगी तथा व्यापारीका सन्तानमात्र धनी हुने। अहिले परिस्थिति फेरिएको छ। बुद्धिको भरमा मात्रै धनी हुनसकिने अवस्था अहिले छ। बिल गेट्स, मार्क जुकरबर्ग, स्टिभ जब्सको नाम नै उदाहरणका निम्ति पर्याप्त छ। युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसका शल्यचिकित्सक प्याटि्रक ह्वाङझ्याङ आफ्नो बुद्धिका कारण अफ्रिकामा जन्मिएर पनि संसारका सर्वाधिक धनी डाक्टर बने। अमेरिकामा चिकित्सकको औसत वार्षिक आम्दानी झन्डै २ लाख डलर छ। यो आम्दानीलाई दृष्टिगत गर्दै अन्तराष्ट्रियस्तरको डाक्टर उत्पादन गर्नसके त्यसमा खर्च हुने करिव एक करोड रुपैयाँलाई खराब लगानी भन्न पनि मिल्दैन।
स्तरीय चिकित्सक बन्न तीक्ष्ण बुद्धि हुनैपर्छ। अब्बल दर्जाको विद्यार्थीमा गरिने लगानीले प्रतिफल दिने सम्भावना धेरै रहन्छ। 'उच्च दिमागका विद्यार्थीमा गरिने लगानीलाई मात्र प्रोत्साहन गर्नुपर्छ' भन्ने शीर्षकमा न्युयोर्कका पूर्वमेयर तथा सफल व्यापारी माइकल ब्लुमबर्गले सुरु गरेको बहस नेपालको मेडिकल शिक्षाको सन्दर्भमा सापेक्ष देखिन्छ।
अहिलेको स्थितिमा सुधारका लागि मेडिकल कलेजमा भर्नाका लागि व्यक्तिको क्षमताभन्दा धनलाई प्राथमिकता दिने वर्तमानको सोचमा व्यापक परिवर्तन गर्नुपर्छ। पैसा तिर्नेगरी निजी मेडिकल कलेजमा प्रवेश परीक्षा दिनेमध्ये विशुद्ध शैक्षिक क्षमताको आधारमा सर्वोत्कृष्ट विद्यार्थी छानिनुपर्छ। सम्पन्न परिवारका हकमा सरकारको सहयोगको आवश्यकता रहेन। परीक्षामा अब्बल साबित भएका तर खर्च धान्न नसक्नेको विद्यार्थीका हकमा लाग्ने सम्पूर्ण खर्च राष्ट्रसेवाको करारनामासहित ऋण उपलब्ध गराउने व्यवस्था गर्नसके उत्पादित नेपाली डाक्टर स्तरीय हुनुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रनसक्ने थिए। उच्च तलबका कारण वैदेशिक रोजगारीमा विकसित मुलुकमा जाने डाक्टरले केही वर्षभित्रै शैक्षिक ऋण तिर्ने सक्नेमा शंका गर्नुपर्दैन। तर, उत्पादित सबै चिकित्सकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विदेशमा डाक्टरी काम गर्नपाउने अवस्था नहुन पनि सक्छ। त्यस्ता डाक्टरको हकमा सरकारले वैकल्पिक तरिका अपनाउनुपर्छ।
नेपालको दुर्गम क्षेत्रमा डाक्टरको चरम अभाव छ। डाक्टरसम्म गरिब जनताको पहुँच छैन। आफ्ना नागरिकलाई न्यूनतम स्वास्थ्य सुविधा उपलब्ध गराउनु सरकारको दायित्व हो। तसर्थ, सरकारले आफ्नो लगानीमा चिकित्सक बनेकालाई पूर्वकबुलियतनामा मुताविक देशका कुनाकन्दरामा पदस्थापन गरी पठाउनसके गरिब जनताको स्वास्थ्यमा पहुँच सहज हुने थियो।