दक्षिणावर्तको दिग्विजय
११ मंसिर २०७१
•
२४ मिनेट पाठ
दक्षिणावर्तको दिग्विजय
काठमाडौं सहर चार महिनाभित्रै पुनः मोदीमय भएको छ। सार्क सम्मेलन त बहानामात्रै हो। लाग्छ, नेपालको स्थायी संस्थापन दक्षिणका देउताको रथयात्रा गराउन आतुर थियो।देउताको रिस पनि आशिषै मानिने धर्म परम्परामा संविधान छिटो तर सहमतिमै बनाउनुपर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक हप्की पनि सायद काठमाडौंका सम्भ्रान्तलाई ननिको लागेन। तिनलाई प्रियतावादी कलाकार मोदीको नाटकीय अभिव्यक्तिको अन्तर्य तुरुन्तै तातिने र तत्कालै चिसिने सर्वसाधारणलाई भन्दा निकै बढी थाहा छ। उसै पनि संयम सम्भ्रान्तहरूको गुण हो। 
पशुपति दर्शनका लागि काठमाडौं आएका बेला भारतीय प्रधानमन्त्रीले मधेसीहरूलाई सार्वजनिकरूपमा तिस्कार गरेर अनौपचारिक भेटघाटमा आश्वस्त पारेका थिए। यसपटक उनको यात्रा विशुद्ध कामकाजी भएकाले उनलाई कारोबारको दोस्रो पक्ष नेपालको स्थायी संस्थापनलाई ठेगानमा राख्नुथियो। त्यसैले मधेस शब्द उच्चारण गरे। सहमतिका कुरा गरे।
बार्धक्य, रोग र पारिवारिक शोकले पनि होला भारतीय प्रधानमन्त्रीले प्रधानाध्यापकको जस्तो व्याख्यान दिइरहँदा आतिथेय राष्ट्रका कार्यकारी प्रमुख सुशील कोइरालाको अनुहार टेलिभिजनको पर्दामा पाठ नबुझाएको छात्रजस्तो देखिन्थ्यो। पछि निजी भेटघाटमा आश्वस्त पारिएकाले पनि हुनसक्छ सार्क सम्मेलन आयोजक राष्ट्रका प्रधानमन्त्रीका हैसियतमा भने उनी प्रफुल्लताका साथ प्रस्तुत भएका थिए। रातारात देखिएको उनको भावभंगीमामा आएको चमत्कारी परिवर्तन भारतीय प्रधानमन्त्रीले नेपाली राजनीतिक दलका नेतासँगको भेटघाटमा सम्प्रेषण गरेको भिन्नै राजनीतिक सन्देशबाट पनि हुनसक्छ। 
स्थायी सत्ताको इसाराबेगर बिरलै मुख वा कलम चलाउने काठमाडौंका विचार निर्माताहरूले भारतीय प्रधानमन्त्रीको सार्वजनिक गर्जन सुनेर अर्थपूर्ण मौनको नीति त्यसै अंगीकार गरेका हैनन्। दूध दिने गाईको लात्ती त सहनुपर्छ। एक खर्ब ऋणको बोझ अन्ततः सामान्यजनले नै बेहोर्नु परे पनि त्यत्रो ठूलो लगानीको तात्क्षणिक फाइदा त स्थायी सत्ताका व्यापारिक हिस्सेदारले न पाउने हुन्। नाफा क्षेत्रले गर्ने लगानी स्वभावतः आर्थिक प्रतिफलका लागि नै गरिने हो। बिजुली निर्यात गरेर सामान्यजनको हित हुने भए पेट्रोल बेचेर धनी भएका अरब मुलुकहरूको मानव विकास सूचकांक दुनियाँमा सबैभन्दा राम्रो हुन्थ्यो। पक्का हो, जलविद्युत्मा विदेशी लगानी आउन थालेपछि थप केही दलाल पुँजीपति भने डलर अर्बपतिमा रूपान्तपरित हुनेछन्। र, भारतीय प्रधानमन्त्री मोदीको उदय नै नाफा क्षेत्रको हित सुनिश्चित गर्नका लागि भएको हो। 
सामान्यजनप्रतिको उपेक्षाभाव नयाँ दिल्लीमा होस् वा काठमाडौंमा परम्परागत स्थायी सत्ताको चरित्र नै हुनेगर्छ। ब्राह्मण—बनियाँ बाहुल्यको भारतीय जनता पार्टी होस् वा बाहुन—क्षेत्री वर्चस्वको नेपाली कांग्रेस, नेकपा (एमाले), सांस्कृतिक आर्थिक अग्रता पाएका समूहहरू सामान्यतः दक्षिणावर्त (राइटिस्ट) राजनीति नै रुचाउँछन्। अंग्रेजीको ‘राइटिस्ट’ भन्दा नेपालीमा दक्षिणपन्थीको परिभाषा केही भिन्न छ। 
पश्चिमा राजनीति विज्ञानअनुसार परम्परामा विश्वास गर्ने र यथास्थितिलाई निरन्तरता दिन चाहने ‘राइटिस्ट’ हो। नेपाली शब्दकोशमा भने दक्षिणपन्थलाई उग्रवादी वा क्रान्तिकारी मतविरुद्ध क्रमिक, वैधानिक र सरल तरिकाले विकास गर्नुपर्छ भन्ने राजनीतिक पक्ष वा सिद्धान्तका रूपमा अर्थ्याइएको छ। यी दुई परिभाषालाई पछ्याउने हो भने भारतीय जनता पार्टीजस्तै नेपालका कांग्रेस, एमाले पनि दक्षिणावर्त राजनीतिक संरचना हुन् — मूलतः यथास्थितिवादी। पूर्व पञ्च एवं अन्य माले—मण्डलेहरू स्वभावतः प्रतिगामी प्रवृत्तिको पक्षधर रहेकामा शंका गर्नुपर्दैन। भित्री मनसाय जेजस्तो भए पनि माओवादीहरूमध्ये उग्रवादीदेखि क्रान्तिकारी भएका दाबी गर्नेहरूलाई फगत परिवर्तनका कार्यसूची स्वीकार्य छैनन्। दुईदुईपटक आम निर्वाचनमा भाग लिएर हारजित भोगिसकेका कतिपय क्रान्तिकारीको छलाङ मोह अझै भंग भएको छैन। 
त्यसो भए नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिका रूपमा कुन समूहलाई मान्न सकिएला? प्रश्न सरल भए पनि उत्तर स्पष्ट छैन। सन् १९९० पछि पूर्वपञ्चहरू प्रतिगामी एवं तत्कालीन नेपका (एमाले) मदन भण्डारीको चमत्कारी नेतृत्वमा उग्रवादी रहिरहँदासम्म गणेशमान सिंहले नेपाली कांग्रेसको क्रान्तिकारी छविलाई कायम राख्न सकेका थिए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेस यथास्थितिवादी दलमा रूपान्तरिक हुँदै गएको हो। तर, उनमा क्रान्तिको धुकधुकी बाँकी रहेकाले उनले माओवादीदेखि मधेसवादी समूहसम्मलाई मूलधारमा ल्याउने आँट देखाउन सकेका हुन्। 
नेपाली शब्दकोशको परिभाषाअनुसार गिरिजाप्रसाद कोइराला ‘दक्षिणपन्थी’ देखिन्छन् तापनि ‘प्रयोगवादी राजनीतिकर्मी’ शब्द सायद उनका लागि बढी उपयुक्त हुनेछ। परिवर्तनको मोह लगभग समाप्त भएको नेपाली कांगे्रस अब पूर्णतः ‘राइटिस्ट’ अर्थको दक्षिणवर्त राजनीतिक संयन्त्रमा रूपान्तरित भएको छ। एमाले त सुस्तरी प्रतिगामी नै बन्दै गएको छ भने पनि हुन्छ। उखान टुक्काको राजनीति प्रतिक्रियावादी नै हुने जो गर्छ। 
सिंहदरबारको दक्षिणावर्त प्रवृत्ति टड्धकारोसँग भारतीय प्रधानमन्त्रीको प्रस्तावित भनिएको जनकपुर भ्रमण कार्यक्रम निर्माण, खारेजी, पुनर्विचार, एवं असफलता प्रकरणमा उदाङि्गयो। जनकपुर भ्रमण प्रकरणका अन्य कुटिल, व्यावहारिक, कारुणिक एवं प्रहसनात्मक पक्ष नभएका हैनन्। समग्रतामा भने जनकपुर भ्रमण प्रकरणले दक्षिणावर्त राजनीतिको खोक्रोपनलाई राम्रोसँग उजागर गरेको छ। सिद्धान्तहीन राजनीतिको एकमात्र निश्चितता अनिश्चय नै हुने रहेछ।
स्वार्थहरूको बाझाबाझ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सम्भवतः चार कारणले विश्वका वैष्णवहरूको मामाघर ( जगज्जनी जानकीको माइती) जनकपुर आउन चाहेका थिए। अम्बानी—आडानी नाफा पथ छनौट गरेदेखि अयोध्या र राम जन्मभूमिप्रतिको आस्थाले गर्दा भाजपामा लागेका उत्तरभारतका हिन्दुत्ववादी ठुस्स परेका छन्। तिनका लागि जनकपुर भ्रमण ठूलो सन्देश हुन्थ्यो। राजनीतिमा प्रतीकको ठूलै अर्थ जो हुन्छ।
जनकपुरसँग सीमा जोडिएको विहार राज्यमा चुनाव हुनेवाला छ। बाह्रबिघामा गरिने प्रधानमन्त्री मोदीको सम्बोधन मूलतः सीमापार लक्षित हुने पक्का थियो। वारिपारि कायम रहेको घनिष्ठ सम्बन्धका बारेमा थाहा पाएका भाजपाका योजनाकारहरू आफ्ना प्रभावशाली प्रचारकलाई अपेक्षाकृत तटस्थ भूमिबाट पनि उपयोग गर्न चाहन्थे। 
प्रधानमन्त्री मोदीलाई भारतको हित प्रवर्धन गर्न मूलतः नेपालको वर्चस्वशाली समूहसँग लेनदेन गर्नुपर्ने हुन्छ। ठोस कूटनीतिमा रोटीबेटी सम्बन्धको खासै महत्व हुँदैन। तर, वर्चस्वशाली समूहसँग मोलतोल गर्दा मधेसी पत्ताको उपयोगिता बारे मोदीलाई पक्कै हेक्का हुनुपर्छ। साइकल बाँडेर सहजै रिझाउन सकिने समुदायलाई प्रशन्न तुल्याएर उनी आफ्नो मोलमोलाइ गर्ने शक्ति काठमाडौंमा बढाउन चाहन्थे। 
चौथो र अन्तिम स्वच्छ कारण पनि हुनसक्छ। जनकपुरमा सीमा क्षेत्रका भारतीय राज्यबाहेक सबभन्दा धेरै धार्मिक पर्यटक सम्भवतः गुजरात राजस्थानतिरकै वैष्णवहरू आउँछन्। पशुपति यात्रा मूलतः धार्मिक कूटनीतिको जिम्मेवारी थियो। जनकपुर भ्रमण आस्था अभिप्रेरित पनि ठहरिन सक्थ्यो। त्यसै हो भने उनको जनकपुर आगमन अहिले सोचेभन्दा छिटो पनि हुनसक्छ। प्रियतावादी राजनीतिकर्मीको वाचाको भरोसा त हुन्न तर तीर्थाटन गर्ने चाहना उनले सार्वजनिकरूपमै दोहोर्यााएका छन्। 
नयाँ दिल्ली संस्थापन पनि चार कारणले गर्दा सुरुदेखि नै मोदीको जनकपुर भ्रमणको विपक्षमा थियो। गएको २५ वर्षमा भारतको हस्तक्षेपकारी कूटनीतिक संस्थापनले मधेसमा न त अरू विदेशीलाई केही गर्न दिएको छ न आफैँले केही गरेको छ। भिठ्ठामोड—जलेश्वर—जनकपुर बाटो त एउटा दृष्टान्तमात्रै हो। मोदी स्थल मार्गबाट आएका भए उनले आफ्नै संस्थापनको नालायकी देख्न पाउने थिए। दोस्रो, मधेसको राजनीतिलाई ध्वस्त तुल्याउनमा भारतीय गुप्तचर निकायको भूमिका महत्वपूर्ण रहने गरेको छ। त्यो कुरा त सन्तमहन्तले पनि गर्थे होलान् तर तिनलाई कूटनयिकहरूले देखी जो सहँदैनन्।
मधेस मैत्री संविधान बन्नसक्ने सम्भावना अत्यन्त न्यून रहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण असफल मानिन सक्ने जोखिमप्रति संस्थापन सचेत रहनु स्वाभाविक पनि हो। चौथो तर सबैभन्दा महत्वपूर्ण कारण सम्भवतः नितान्त व्यवस्थापकीय थियो। जोखिमपूर्ण सीमा क्षेत्रमा अति विशिष्ट पाहुनालाई सुरक्षा प्रदान गर्नसक्ने नेपालका सुरक्षा निकायहरूको क्षमतामा सायद भारतीय रणनीतिकारहरूलाई विश्वास भएन। नेपालको संस्थापनले विश्वास दिलाउन पनि चाहेन वा सकेन।
बाह्रबिघा वा जानकी मन्दिर परिसर विवादले जनकपुरका राजनीतिकर्मीलाई विभाजित गर्ने परिस्थिति निलम्वित सभासद् सञ्जय साहद्वारा रिक्त गरिनसक्ने स्थानको सम्भावित उपनिर्वाचनका कारणले पनि हुनसक्छ। तर, त्यस विवादको भूमिका निर्णायक मान्न सकिँदैन। दोस्रो कारण सायद बढी महत्वपूर्ण ठहरिएको हुनसक्छ। जनकपुर क्षेत्रको अवस्था विहार, उडिसातिरका दरिद्रतम इलाकाभन्दा खासै राम्रो छैन। गफमै भए पनि काठमाडौंका सम्भ्रान्त कर्णालीतिरको अविकासको कुरा गर्न रुचाउँछन्। संख्यात्मकरूपमा भने सिंगो कर्णाली अञ्चलभन्दा विपन्नको संख्या महोत्तरी क्षेत्रमा मात्रै पनि बढी छ। निरीहताले असम्भव अपेक्षा जन्माउने रहेछ। मोदी भ्रमणको चमत्कारी असरको आशामा रहेका सामान्य मधेसी अपेक्षालाई कारुणिकबाहेक अरू केही भन्न सकिँदैन। 
हास्यास्पद प्रतिक्रिया भने काठमाडौं संस्थापनको उत्ताउलोपनमा देखियो — बोक्रा सुद्दै नरिवल खाने हतारमा। मोदीको जनकपुर तीर्थाटनको तिथिमिति कूटनीतिक तवरमा निश्चित हुन नपाउँदै भारतीय सञ्चार माध्यममा सम्प्रेषित प्रायोजित ‘समाचार’ का भरमा सवारी मन्त्रीका रूपमा विमलेन्द्र निधिलाई खटाउनु भुल नभएर अपरिपक्वता नै थियो। संविधान सभामै भ्रमणको औचित्यमा प्रश्न उठाउनुलाई पनि उर्बौलो प्रवृत्ति प्रदर्शन भने हुन्छ। नेपालीहरूको खोक्रो राष्ट्रवादको नौटंकीले अब मनोरञ्जन पनि दिँदैन। प्रहसनात्मक पाटो भने निश्चितै नभएको तीर्थाटन रद्द भएपछिको तमासामा देखियो। त्यसमा विनम्रता, निरीहता, वीरता, आँट, स्वाँग, विसंगतिजस्ता यावत् भावहरूको अभिव्यक्ति देख्न सकिन्थ्यो। 
सुनिएअनुसार, दक्षिणाधिपतिलाई भ्रमण रद्द नगर्न बिन्ती गर्नेहरूमा राष्ट्राध्यक्षदेखि सरकार प्रमुखसम्म थिए। सुरक्षाको प्रत्याभूति दिन गृह मन्त्री तम्सिए। निश्चित नै नभएको भ्रमण रद्द गरिएको नाटकका विदूषक अन्ततः नेपाल सरकारले तोकेका सवारी मन्त्री ठहर्यातइए। दक्षिणावर्त राजनीतिक नाटक हो। र, यस विधामा भाजपाका रणनीतिकारहरू पोख्त छन्। कांग्रेस एमालेका नौसिखुवाहरू कच्चा खेलाडी त ठहरिनु नै थियो। यस करुण हास्य प्रसंगले मधेसको राजनीतिलाई भने थप गिजोल्न सक्छ। 
चरणामृतको चाहना
सुन्दा नमीठो लागे पनि नेपालमा राजनीतिक रूपान्तरणको कार्यसूची अलपत्र हुन पुगेको यथार्थ स्वीकार गर्नैपर्छ। मोहन वैद्यले परिवर्तनको सम्भावनालाई अन्तरध्वंशबाट समाप्त गरेका थिए। विप्लवले प्रतिगमनको आधारभूमि तयार गर्दैछन्। एउटै पुस्ताले दुईपटक क्रान्ति गर्दैन। माओवादीहरूको क्षमता अझै पनि क्षयोन्मुख नै छ। एनेकपा (माओवादी) सँग ‘हिंग बाँधेको टालो’बाहेक अरू केही बाँकी छैन।
गैसस कर्ममा अग्रता एवं एकाधिकार कायम गरेकाले दलित एवं जनजाति अगुवा अझै पनि एमालेको परिक्रमापथबाट उम्किन सकिरहेका छैनन्। औपचारिकरूपमा नै ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने डर’ रूपी आतङ्कबाट एमालेका दलित जनजाति ग्रस्त छन्। हुन त पोल्टो खाली नै छ तर टिप्न निहुरिने हो भने पिठ्युँको भारीको पोल खुल्छ। बल्खु दरबारका रणनीतिकारको व्यवस्थापन क्षमतालाई मान्नै पर्छ। र, एमालेका दलित—जनजातिको कम्तीमा मौन समर्थनबिना पद्मरत्न तुलाधरको आन्दोलन कतै जानेवाला छैन। त्यो यथार्थ सायद उनलाई पनि थाहा छ। 
नेपाली कांग्रेसका मधेसी सभासद् भने अपेक्षाकृत बढी मुखर देखिएका छन्। तिनलाई थाहा छ, मधेस विरोधी छवि भएका कृष्णप्रसाद भट्टराईलाई एक हाँकमा पर्साबाट चुनाव जिताउन सक्ने गिरिजाप्रसाद कोइरालाको हैसियतको कुनै पहाडी नेता आजका मितिमा छैनन्। अर्को निर्वाचन लड्नु नै छैन भने बेग्लै हो नभए पहाडी मूलका अमृत अर्याल होउन् वा थारु राजनीतिकर्मी पद्मनारायण चौधरी तराई—मधेसमा राजनीति गर्ने महत्वाकांक्षा बोकेका कुनै पनि व्यक्तिले मधेसीहरूको कार्यसूची परित्याग गर्न सत्तै्कन। तिनको संख्या र प्रभाव न्यून रहेकाले कांग्रेसका मधेसवादीहरूले राम्रो खासै केही गर्न नसके पनि नराम्रो हुनबाट रोक्न भने सक्छन्।
विडम्बनाजस्तो देखिए पनि मधेसवादी दलहरूमा दक्षिणावर्त आकर्षण बढ्दै गएको छ। माओवादीसँग मधेसवादीको वैचारिक भिन्नता रहनु स्वाभाविक हो। प्रायः मध्यमवर्गीय पृष्ठभूमि एवं संसद्वादी राजनीतिक संस्कार बोकेका मधेसवादीलाई माओवादीको अर्थराजनीति नपच्नु अनौठो होइन। साथै, यथार्थ के पनि हो भने संघीयता एवं समावेशिताजस्ता मधेसीका कार्यसूचीप्रति एमाओवादीबाहेक अरू कुनै राजनीतिक शक्ति प्रतिबद्ध छैनन्। गणतन्त्र तथा धर्मनिरपेक्षता घोषणाको यश इतिहासका पानामा जीपी कोइरालाले सुनिश्चित गरिसकेकाले संघीयता र समावेशितामात्र आफ्नो राजनीतिक योगदान ठहरिन सक्ने सम्भावनाप्रति पुष्पकमल दाहाल सचेत छन्। त्यसैले गर्दा २२ दलीय प्रतिपक्ष मोर्चा सम्भव भएको हो। केही मधेसवादीहरूको दक्षिणावर्त भ्रान्तिले त्यो भत्किन सक्छ।
नरम धार्मिक कट्टरता ( सफ्ट हिन्दुत्व) सिद्धान्तको बुटी पिलाइएका केही मधेसवादीहरू मोदीले नै मधेसीको संकटमोचन गर्ने मोहभ्रममा फस्नसक्ने सम्भावनाको संकेत संयुक्त मधेसी मोर्चाको पुनर्जीवनमा देख्न सकिन्छ। यसको तात्कालिक फल मोदीको सम्बोधनमा मधेसी शब्दको उच्चारणरूपी ललिपप एवं संविधान सहमतिमै बनाइनुपर्ने उपदेशजस्तो केटाकेटीलाई भुलाउनेजस्तो झुनझुनामा नदेखिएको पनि होइन। यथार्थ के हो भने अझै पनि मधेसीहरू भारतीय संस्थापनाका लागि परेको बेला प्रयोग गरिने पत्ताभन्दा बढी केही होइनन्। दक्षिणावर्त राजनीतिलाई स्थायी सत्ताले सञ्चालन गर्ने गर्छ। र त्यसको बाझाबाझ, वार्ता, लेनदेन, समझदारी, सम्झौता र सहमति पनि अर्को स्थायी सत्तासँग मात्र हुनेगर्छ। संघर्ष र परिवर्तनको कार्यसूचीलाई अरू कसैको छातामुनिबाट अगाडि बढाउन सकिँदैन।
राजनीतिमा असफलता भन्ने शब्द अवसरवादीले मात्र प्रयोग गर्ने गर्छन्। पछाडि पर्नु अनौठो होइन। संघर्ष पुस्तौँपुस्ता चल्ने कुरा हो। भारतको निगाहाबाट मधेसीको हित सुनिश्चित हुने भए पहिलो संविधान सभाको अवसान हुन दिनुपर्ने अवस्थै आउने थिएन। मधेसवादी राजनीतिकर्मीको प्रायोजित तेजोबधपछि तिनमा निरीहता आएको छ। त्यसको ओखती संघर्षमात्र हुनसक्छ। समर्पण त राजनीतिक मृत्यु हो। कार्यसूचीका आधारमा परिवर्तनकामीहरूसँगको सहयात्राको विकल्प दक्षिणावर्त राजनीतिको जडता कदापि हुनसत्तै्कन। त्यसो भयो भने विप्लवको मधेसी संस्करणको उदयलाई सीके राउतजस्ता राजनीतिकर्मीले पनि रोक्न सक्नेछैनन्। 
मोदीका मायावी शब्दजाल एवं मोहनीबाट मुक्त हुनुपर्ने सबैभन्दा बढी आवश्यकता मधेसवादी राजनीतिकर्मीलाई छ। अरूलाई त हाँसे पुग्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस