महासंकटमा 'माओवादी'
२६ कार्तिक २०७१
•
१७ मिनेट पाठ
महासंकटमा 'माओवादी'
'आजको संकट भोलिका लागि व्यग्यमात्र हुन्छ' भन्ने अंग्रेज लेखक तथा साहित्यकार एच. जर्ज वेल्सको भनाइ नेपालको माओवादी शिविरका हकमा भने ठीक उल्टो प्रमाणित भएको छ। माओवादी शिविर भनेर एनेकपा (माओवादी), नेकपा–माओवादी र एमाओवादीबाट अलग भएका ससाना अरू समूहलाई भनिएको हो। आज संकटपूर्ण र जटिल ठानिएको कुनै समस्या समाधान भइसकेपछि अर्थात् भोलि मानिसले ज्यादै सामान्य ठान्छ र त्यसलाई हाँसोको विषय बनाउँछ भन्ने वेल्सको तात्पर्य हो। त्यसैले त आजको संकट आजै चिन्न सक्ने मान्छेमात्र महान् हुन्छ। किनभने आज जटिल लागेको कुनै विषय भोलि सामान्य व्यक्तिले पनि सरल ठान्छ। त्यसैले ठूला भनिएका मान्छेले 'ठूलो' कुरा गरेका हुँदैनन् बरु आज उत्पन्न संकटलाई 'बासी' हुन दिँदैनन्। संकटलाई 'बासी' रहन दिनु भनेको त्यसको थुप्रो लगाउनु हो। ससानालाई पनि गणना गर्ने हो भने झन्डै आधा दर्जन समूहमा विभक्त माओवादी शिविर अहिले यस्तै संकटको थुप्रोमा परिणत भएको छ। र, जर्ज वेल्सको कथनविपरीत 'हिजो' देखिको यस्तो माओवादी संकट अझैसम्म व्यंग्य र उपहासको विषय बनेको छैन बरु शान्ति प्रक्रियामा अवतरणपछि उत्पन्न उसका संकट 'फ्रिज'मा राखेको वस्तुजस्तै जस्ताको तस्तै रहिरहेका छन्। 
राजनीतिक वा सामाजिक संकट भनेको समाजमा अवस्थित वर्गहरूको अन्तर्सम्बन्ध र अन्तरविरोधलाई बुझ्न नसक्नुको परिणाम हो। यस्तो सम्बन्धलाई बुझ्नै नसकेपछि समाधान गर्नसक्ने प्रश्नै भएन। तर समाजमा उत्पन्न अन्तरसम्बन्ध वा अन्तरविरोधलाई बुझ्न र बदल्न आफ्नो दलले 'यो यो कार्यक्रमको आधारमा सक्छ' भन्ने दाबीका साथ राजनीतिक दलहरू निर्माण हुन्छन्। प्रष्ट छ, माओवादी पनि यही दाबीका साथ निर्माण भएको दल हो। तर यिनै सामाजिक अन्तरविरोधलाई समाधान गर्न भनेर दस वर्ष सशस्त्र संघर्ष गरेको माओवादीको दाबी जसरी असफल भएको थियो ठीक त्यसैगरी दाबी गरिएको माओवादीको शान्ति यात्रा पनि असफल हुँदैछ। आफूलाई समाज र राजनीतिका जटिल अन्तरविरोधलाई समाधान गर्न सक्ने अचुक चालकका रूपमा चिनाएको माओवादी शिविर आफ्नै आन्तरिक अन्तरसंघर्षले ध्वस्त बन्दै गइरहेको छ। 
साना ठूला गरी सयभन्दा बढी राजनीतिक दल रहेको हाम्रो मुलुकमा एउटा राजनीतिक दलभित्रको संकटले 'राष्ट्रिय संकट' उत्पन्न गरिरहेको छ। शान्ति प्रक्रियाका अधिकांश विषयको टुंगो लगाइसकिएको भए पनि नयाँ संविधानको रचना नहुँदासम्म सापेक्षिक रूपमा साना होउन् वा ठूला माओवादी शिविरको सहमति आवश्यक रहन्छ। किनभने, माओवादीका सवाललाई सम्बोधन गर्नका लागि नै उनीहरूको मागबमोजिम संविधान सभाको प्रक्रियामार्फत् समाधान खोज्ने सहमति भएको थियो। तर शान्ति प्रक्रियामा अवतरण गर्नेबित्तिकै देखिएको माओवादी शिविरभित्रको द्वन्द्व र कलहले संविधान निर्माणको विषयलाई थप जटिल बनाउँदै लगिरहेको छ। यति धेरै राजनीतिक दल हुँदाहुँदै पनि यदाकदा कस्तो परिस्थिति उत्पन्न हुन्छ भने एउटा राजनीतिक दलभित्रको निजी संकटले पनि राष्ट्रिय संकटको चरित्र ग्रहण गर्न सक्छ। माओवादी शिविरभित्रको यस्तै निजी द्वन्द्व, कलह र विभाजनले आजको राजनीतिक संकटलाई बढाउँदै लगेको छ। यसभन्दा पनि माओवादी शिविरको संकटले उत्पन्न गरेको अतिवादी सोचले राजनीतिक धु्रकवीरणलाई तीव्र बनाउँदै छ।
माओवादी शिविरभित्रको अन्तरविरोधले तिनको शक्तिको असाधारण क्षयी भएको छ। शक्तिको क्षयीकरणपछि नै टुटफुट र विभाजनका नयाँ नयाँ शृंखला आरम्भ भएका छन्। त्यसले गर्दा समग्र माओवादी शिविरको चिन्ता राष्ट्रिय राजनीतिमा नभएर आन्तरिक ध्रुवीकरणमा केन्द्रित हुनथालेको छ। पार्टी विघटन हुँदैछ। स्थानीय संगठनको संजाल ध्वस्त छ। कमिटीहरू कसैको निगरानी र नियन्त्रणभित्र छैनन्। 'फलामे अनुशासन'का पक्षमा कठोर रहने पार्टी अहिले जसले जे गरे पनि कार्बाही नसक्ने अवस्थामा छ। सांगठनिक अराजकताको अवस्था माथिल्लो पार्टी निकायदेखि लिएर तल्लो गाउँ कमिटीसम्म उस्तै छ। यसको प्रतिविम्बन संविधान सभाको निर्वाचनमा परेदेखि अनेक बहानामा आफ्नै मागबमोजिम प्रारम्भ संविधान सभाको प्रक्रियादेखि माओवादी शिविर भाग्दैछ। यस शिविरको एउटा महत्वपूर्ण घटक वैद्य माओवादीले पहिले नै संविधान सभा निर्वाचन बहिष्कार गरिसकेको छ भने एमाओवादी पनि यस प्रक्रियाबाट भाग्ने दाउ हेरिरहेको छ। 
थाहा भएकै कुरा हो, राजतन्त्रविरुद्ध सात दल र तात्कालीन माओवादीको मोर्चाबन्दी भएपछि १२ बुँदे सहमतिमार्फत् 'सहमति'को राजनीति आरम्भ भएको थियो। राजनीतिक दलहरुका बीचमा केही आधारभूत भिन्नता हुन्छन् जसले गर्दा नै उनीहरू अलगअलग दलका रूपमा क्रियाशील हुन्छन्। कुनै ऐतिहासिक मोडमा हुने राजनीतिक परिवर्तन र त्यसले उत्पन्न गर्ने संक्रमणको अन्त्य नहुन्जेलसम्म दलहरूका बीचमा अन्तरविरोध कम र सहकार्य बढी हुनुपर्थ्यो। स्वाभाविक रूपले नेपालका राजनीतिक दलले पनि १२ बँुदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, सेना समायोजन तथा पहिलो संविधान सभामा उठेका कैयौं विषयवस्तुमा सहमतिको सुझबुझ देखाएका थिए। भिन्नभिन्न राजनीतिक विचार र आस्थामा विभाजित दलहरुले सहमति खोज्नसक्ने विषय त्यति नै थिए भनेर बुझ्ने थप सुझबुझ दलहरुमा हुनुपर्थ्यो। सम्पूर्ण आधारभूत कुरामा समेत सहमति बन्ने हो भने सबै राजनीतिक दल एउटै भए भइहाल्यो नि! त्यसैले पहिले नै कल्पना गरिएको विषय हो– केही आधारभूत विषयहरुमा दलहरुबीचमा कहिल्यै सहमति हुनेछैन। त्यसैले त निर्वाचन र त्यसमा प्राप्त हुने मतको महत्व हुने हो। तर यति सिधा र सपाट कुरालाई बंग्याएर एमाओवादीले जसरी आफ्नो दलको निर्णयमा सहमति नभए संविधान निर्माणमा सहभागी नहुने बरु आन्दोलन गर्ने घोषणा गरेको छ त्यो सरासर राजनीतिक बेइमानी हो। एमाओवादीले सहमतिको सामान्य समीकरण बुझेको छैन भन्ने होइन। यो त पार्टीभित्र देखापर्दै गएको संकट र पुष्पकमल दाहालको नेतृत्वले गुमाउँदै गएको राजनीतिक भूमिकाको परिणाम हो। 
द्वन्द्वकालमा निर्माण भएको माओवादीको बाध्यकारी अनुशासन र व्यक्तिवादी केन्द्रीयता शान्ति प्रक्रियामा आएपछि राज्यको लोकतान्त्रिक परिवेशले भत्काइदियो। तर माओवादी नेतृत्वले त्यसलाई निरन्तरता दिन कोसिस गरिरह्यो। वाह्य परिस्थिति लोकतान्त्रिक बनिसकेपछि व्यवहारमा बाध्यकारी केन्द्रीयता लागु गर्न सम्भव पनि थिएन। व्यवहारमा अप्ठेरो पर्दै गएपछि बाध्यतावश पार्टीलाई एकल नेतृत्वको व्यक्तिवादी ढाँचाबाट बहुपदमा लगियो। बहुपदमा लगे पनि अध्यक्ष दाहालले अन्य पदाधिकारीहरूलाई कहिले पनि अधिकारको प्रत्यायोजन गरेनन्। पार्टी संरचना बहुपदमा गइसके पछि पनि दाहालले कर्तव्य जति अरुलाई र अधिकार जति आफैँलाई बनाएपछि अन्तरविरोध तीव्र बन्दै गयो। र, पहिलो संविधान सभा विघटनसँगै एमाओवादी पनि विभाजित भयो। एमाओवादीको विघटनले वस्तुतः चालु शान्ति प्रक्रिया र संविधान निर्माणमा पनि गंभीर असर पुर्याययो र पुर्यानइरहेको छ। 
माओवादी शिविरमा उत्पन्न महासंकटका खास कारण छन्। माओवादी आन्दोलनले मूलतः दुईवटा विषयलाई जोडतोडले उठाएको थियो – मुलुकमा रहेको वर्गीय विभेदको अन्त्य र राष्ट्रियताको जगेर्ना। तर शान्ति प्रक्रिया प्रारम्भ हुनेबित्तिकै उपर्युक्त विषयहरूमा माओवादीभित्र मतभेद देखिन थाल्यो। मूल नेतृत्वले लोकतन्त्रका आधारभूत पक्षमा लिखित सहमति जनाइसकेका कारणले गर्दा संविधानमार्फत् जेजस्तो राज्यको पुनःसंरचना गर्न सकिन्छ त्यसैमा सन्तोष लिने रणनीति बनायो। निरन्तर आर्थिक विवादमा मुछिएको नेतृत्वले वर्गीय कुरा त गर्नै पनि छोडिसकेको थियो। किनभने, एमाओवादी नेतृत्व आफैँ अभिजात वर्गमा रुपान्तरित भइसकेको थियो। यसले गर्दा उसले वर्गको भन्दा कथित विकास र जातिका कुरा गर्न थाल्यो। यथार्थमा माओवादी शिविरका जाति र विकासका सवाल समाधान गर्नुपर्ने विषय थिएनन्/हैनन्। बरु, वर्गीय सवालबाट स्खलन भएपछि थपिएका जगेडा मुद्दा हुन्। अर्कातिर भारत र मधेसी दलहरुसँग सुमधुर सम्बन्ध बनाइसकेपछि माओवादीले उठाउँदै आएको परम्परागत राष्ट्रियताको विषय पनि समाप्त भयो। यसरी 'जनयुद्ध'कालीन माओवादी र उसका तात्कालिक मुद्दाको सम्बन्धबाट माओवादी शिविर मुक्त भयो। यिनै विषयलाई आधार बनाएर संगठित भएको शक्तिले यी दुवै सवाललाई छोडेपछि विघटन नभएर अरू के हुन्छ? 
माओवादी शिविरभित्र मुख्य रुपमा दुईवटा वैचारिक प्रवृत्तिको प्रभुत्व थियो र छ। मार्क्सवादलाई जडसूत्रका रुपमा बुझ्ने र कथित आन्दोलन र शुद्धताको वकालत गरिरहने मोहन वैद्यको प्रवृत्ति हो। अर्को चाँहि राजनीतिक लगामबिनाको शान्ति र विकासको मात्र कुरा गर्ने बाबुरामको प्रवृत्ति हो। यी दुवै प्रवृत्तिलाई युद्धको चापमा गजबसँग प्रयोग गर्न सफल दाहालमाथि दुवै प्रवृत्तिले पार्टीभित्र आआफ्नो राजनीतिक लाइनको आफैं वकालत गर्न सुरु गरेपछि संकट आइपरेको हो। त्यसभन्दा अघि दाहालको मुखबाट आफ्ना अभिमत पारित गराउने रणनीति बाबुराम र वैद्यको हुन्थ्यो। पार्टी र सरकारको निरन्तर नेतृत्व लिएका दाहालले लाभका पदमार्फत् संगठनभित्र आफ्नो पकड सधैँ बलियो बनाउँदै आएका थिए। माओवादी मुद्धाविहीन त बनेकै थियो साथसाथै दाहालको नेतृत्वमा विचारविहीन झुन्डमात्र रहन पुग्यो। यसले विचारको शृंखला बोकेका बाबुरामलाई संगठनबाट अलग राख्यो। परिणामस्वरुप एमाओवादी विचारविहीन, संकटग्रस्त र असंगतिपूर्ण बाटोमा अलमलिन पुग्यो। त्यसले दाहाल र भट्टराईलाई पनि विभाजनको नजिकै पुर्यासयो।
उता माओवादी शिविरको वैद्य समूहले पनि यस्तै समस्याको सामना गरिरहेको छ। वास्तवमा मोहन वैद्य जडसूत्रीय मार्क्सवादका अभियन्ता तथा नेकपा (मसाल)का नेता मोहन विक्रम सिंहका असल अनुयायी हुन्। जडसूत्रीय मार्क्सवादभन्दा भिन्न सोच राख्ने नेत्रविक्रम चन्द भने पुष्मकमल दाहालजस्तै चर्को महत्वाकांक्षा र कमजोर सैद्धान्तिक र राजनीतिक सुझबुझ भएका व्यक्ति हुन्। उनले दाहालले जस्तै जतिबेला र जोसँग मिलेर भए पनि शक्तिमा जाने एक सूत्रीय लक्ष्य बोकेर पार्टी विभाजन गर्दैछन्। चन्दले पनि वैद्यलाई संगठनबाट त्यसरी नै अलग गर्दैछन् जसरी दाहालले बाबुरामलाई। यसले के देखाउँछ भने माओवादी शिविर विघटितमात्र हँुदै्छैन बरु अराजक र अराजनीतिक पनि हुँदैछ। त्यसको अभिव्यक्ति दाहालको 'बंकरकाण्ड' र चन्दको दोस्रो 'जनयुद्ध'को लफ्फाजीमार्फत् आइरहेको छ। र, संविधान निर्माणका पक्षमा रहेका बाबुराम र विशुद्ध कम्युनिष्ट आचरणसहितको पार्टी निर्माण गर्ने पक्षमा रहेका वैद्य निरीह देखिएका छन्। यसको प्रतिविम्बन माओवादी शिविरको विनाशमा त देखिने नै छ तर संक्रमणकालीन नेपाली राजनीतिका धेरै अदृश्य खेलाडीलाई पनि यसले ऊर्जा प्रदान गर्नेछ। यसलाई व्यवस्थापन गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) समर्थ होलान् भन्ने आधार पनि कमजोरै छ। त्यसैले माओवादी शिविरको आन्तरिक संकट राष्ट्रिय संकटमा रुपान्तर हुनसक्छ। त्यसो नहोस् भन्ने हो भने सबैले बेलैमा ध्यान पुर्याटउनु आवश्यक छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस