अस्थिरताको चक्र
२४ कार्तिक २०७१
•
१८ मिनेट पाठ
अस्थिरताको चक्र
संसदीय व्यवस्थालाई नै प्रजातन्त्र र लोकतन्त्र ठान्ने मेरो पुस्तालाई विगत अढाई दशककोे अभ्यासले यस पद्धतिप्रति नै वितृष्णा जाग्नु उचित थिएन। मेरो पुस्तालाई मात्र होइन अहिले सत्तासीन नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी र लेनिनवादी)लाई पनि परम्परागत संसदीय व्यवस्थाप्रति रुचि रहेन। यसैले तिनले नेपालको भावि शासकीय पद्धतिका लागि 'सुधारिएको संसदीय व्यवस्था'को प्रस्ताव संविधान सभामा राखेेका छन्।कांग्रेस एमालेको सुधारिएको संसदीय व्यवस्थाको प्रस्तावले साढे तीन दशकअगाडि तत्कालीन राजा वीरेन्द्रले अगाडि सारेको सुधारिएको पंचायती व्यवस्थाको स्मरण गरायो। बिपी कोइरालालाई राजनीतिमा निषेध गर्न र जनमत संग्रहमा बहुदलीय व्यवस्थालाई पराजित गर्न दरवारिया षडयन्त्रका रूपमा सुधारिएको पंचायती व्यवस्थाको 'ललिपप' जनतालाई देखाइएको थियो। तर सिद्धान्त, दर्शन र व्यवहारमा तालमेल नमिलेकाले सुधारिएको पंचायती व्यवस्थाले कथित जनमत संग्रहमा जिते पनि एक दशक चल्न सकेन। 
अहिले कांग्रेस एमालेले अगाडि सारेको सुधारिएको संसदीय व्यवस्थाको भाष्यकार को हुन् थाहा छैन। यस्तै अगाडि सारिएको सुधारिएको संसदीय व्यवस्थासम्बन्धमा कतै बहस र छलफल भएको पनि सार्वजनिक जानकारीमा छैन। सबै चुपचाप छन्। कांग्रेस र एमालेका दुई तिहाइ सभासद् चुप छन्। जस्तो विगतमा धर्मनिरपेक्षताका विषयमा सबै चुप लागेका थिए। दुई दलको सहमतिको दस्तावेज बन्न पुगेको शासकीय स्वरूप विकृत छ। मुलुकलाई दूरगामी प्रभाव पार्ने कांग्रेस एमालेको यस प्रस्तावको संसदीय सिद्धान्त, दर्शन र व्यवहारसँग कतै तालमेल मिलेको छैन। तसर्थ प्रस्तावित शासकीय स्वरूपलाई सुधारिएको संसदीय व्यवस्था होइन 'बिगारिएको संसदीय पद्धति' नामाकरण गर्नु उपयुक्त हुनेछ। 
प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने, संसद् सदस्य संख्याको दश प्रतिशतभन्दा बढी मन्त्रिपरिषद्मा समावेश नगर्ने र नयाँ प्रधानमन्त्रीको नाम सार्वजनिक गरेरमात्र बहालवाला प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्नेजस्ता व्यवस्था गरेर सुधारिएको संसदीय व्यवस्था भनिएको देखियो। वास्तवमा यी सबै तथाकथित संसदीय सुधारका प्रबन्ध कांग्रेस एमाले नेताको विगतका आफ्ना कर्म र अनुभवबाटै निःसृत हुनुपर्छ। संसदीय पद्धतिको प्रभावकारिता र सुधारको कुनै सार्थक सोच र बहस नभईकन मनोगत विश्लेषणका आधारमा गरिने यस्ता 'कस्मेटिक' सुधार दुई ठूलासत्तारुढ दलले प्रस्तावित गरेका छन्। आफ्नो पार्टी, सभासद्, समर्थक, र शुभेच्छुक कतै कसैसँग पनि बहस र छलफल नचलाई हठात् नेताहरूको खल्तीबाट फुत्त निकालिएको यो शासकीय सुधार हचुवा छ र जनता झुक्याउने प्रकारको छ। 
नेपालमा संसदीय व्यवस्थाको अनुभव यसै पनि सुखद छैन भन्ने मानिन्छ। तर पनि विश्वेश्वरप्रसाद कोइरालाको अठार महिने शासनकाल, गिरिजाप्रसाद कोइरालाको सुरुको साढे तीनवर्षको अवधि र मनमोहन अधिकारीको नौ महिनाको शासनकालमा संसदीय पद्धतिबाटै पनि जनअपेक्षालाई धेरै हदसम्म सम्बोधन गर्न सकिएको देखिएको थियो। यसको कारणसंसदीय पद्धतिको मूल चरित्र अर्थात् प्रधानमन्त्रीको संसद् विघटन गर्ने 'लङ स्टिक' त्यति बेला प्रभावकारी हुनु नै थियो। प्रधानमन्त्रीसँग भएको यही हतियारको कारण नै बीपीले छोटो समय शासन गरेर पनि लोकतान्त्रिक संस्था निर्माण गर्न सके, गिरिजाप्रसादले आर्थिक उदारीकरणबाट सहरिया मध्यमवर्गको उत्थान गरे र मनमोहन अधिकारीले 'आफ्नो गाउँ आफै बनाऊँ ' भन्ने कार्यक्रमबाट राज्य र गाउँको सम्बन्धमा नयाँ आयाम थपे।
मनमोहन अधिकारी नेतृत्वको सरकार दुई दशकअगाडि राजनीतिक कारणबाट नभई न्यायिक प्रक्रियाबाट ढलेको थियो। तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायधीश विश्वनाथ उपाध्यायको निर्णयबाट अधिकारी ताजा जनादेश लिनबाट वञ्चित गरिए। नेपालमा संसदीय राजनीतिको चमक यहीँबाट फिका हुन थालेको हो। प्रधानमन्त्रीलाई सांसदहरूले मोलतोल गर्ने, मुसा प्रवृति देखाउनेजस्ता अन्तहीन विकृति त्यसपछि बढ्दैगयो। संसद् र सांसदले प्रधानमन्त्रीलाई बन्धक बनाउँदा ताजा जनादेशका लागि जनताकहाँ जाने बाटो खुला हुने संसदीय परिपाटीको प्रयोग नेपालमा अदालतको निर्णयबाट कुण्ठित हुनपुग्यो। नेपालको न्यायप्रणालीलाई विश्वनाथ उपाध्यायको निर्णयबाट लागेको राजनीतिक लत अझै कायमै छ। 
संसदीय व्यवस्थाप्रति मोह हुनेले यस व्यवस्थालाई सुधार्न जहाँबाट बिग्रेको हो त्यहीँबाट सुधार आरम्भ गर्नुपर्ने थियो तर त्यसो हुनसकेको देखिएन। त्यसो हुननसक्नुको कारण नेताहरूको 'विकृत संसदीय व्यवस्था'को चाहना रहेछ भन्ने भान परेको छ। विसं २०५१ सालपछिको राजनीतिक अस्थिरता र सत्ता लेनदेनलाई निरन्तरता दिने उद्देश्य रहेको यो बिगारिएको संसदीय पद्धतिले नेता र तिनको गिरोहको त हित गर्ला तर जनताका प्रतिनिधि भने निरीह र कमजोर भएर जानेछन्। 
पार्टी निर्णय र घोषणापत्रविपरीत गएर प्रस्तावित शासकीय पद्धतिलाई एमालेका नेताहरू 'सहमतिको राजनीति' र 'लचकता'जस्ता शब्दजालमा छोप्न बाध्य भएका छन्। एमाले नेताहरूको मनोवृत्ति सधँै सत्ताको अभ्यास गर्ने बाटो खुला राख्ने उद्देश्यबाट अभिप्रेरित रहेको सहजै बु‰न सकिन्छ। अन्यथा, आफ्नो शक्तिशाली जनमत र नैतिक पक्षलाई तिलाञ्जली दिएर एमाले नेताहरू आफ्ना समर्थक र शुभेच्छुकलाई असन्तुष्ट बनाएर 'प्रत्यक्ष निर्वाचित कार्यकारी'को व्यवस्था छाड्न तत्पर नहुनुपर्ने हो। एमाले नेतागण सत्ता लोभमा पर्नुका साथै एनेकपा (माओवादी)को त्रासबाट पनि अझै त्राण पाउन नसकेको पनि देखियो। यथार्थमा एमाले नेताहरू आफ्नो जनाधारप्रति भरोसा र विश्वासभन्दा पनि एमाओवादीसँगको त्रासबाट बढी प्रभावित देखिए। 
यता कांग्रेसमा पनि लामो समय 'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख'को वकालत गर्दै सहीछाप गर्ने नेता , अभियन्ता र सभासद् थुपै्र छन्। संसद् सचिवालयमा दर्ता भएको तिनको आस्था र विश्वास अझै भेटिनेछ। तिनले पनि बिगारिएको संसदीय पद्धतिलाई स्वीकार गर्दा पार्टी 'लाइन'प्रति बफादारीसमेत देखिने र हारेको विचारको संवाहक हुन पनि नपर्ने भनेर मन बुझाउन सक्लान्। यस्तो आश्वासनले तिनलाई केही काल त नैतिक संकटबाट जोगाउन पनि सक्ला तर भविष्यमा तिनको राजनीति भुत्ते र प्रभावहीन हुनेमा कुनै शंका छैन। राजनीतिमा व्यक्तिले विचार अगाडि सार्छ र अन्ततः त्यही विचारले संगठनात्मक रूप लिन्छ भन्ने मान्यता धेरै पुरानो हो। अनी त्यस्तो विचार तत्कालै पूरा हुनुपर्छ भन्ने आग्रह पनि कुनै चिन्तकले राख्दैनन्। तर कांग्रेसभित्र वैचारिक यात्राको अभियान अहिले विसर्जनमा छ, थाकेर समर्पणको अवस्थामा शेरबहादुर देउवा र सुशील कोइराला क्याम्पमा घुस्रेको छ।
अर्कोतिर कांग्रेसमा सधैँ सत्तामा रहिरहन रुचाउने प्रभावशाली पक्ष पनि छ। यस पक्षलाई देश, राजतन्त्र, गणतन्त्र, हिन्दुराष्ट्र, धर्मनिरपेक्षता, संघीयता, केन्द्रीयता र समावेशीजस्ता यावत् विषयको कुनै अर्थ छैन। यिनलाई सत्ताको अभ्यास गर्न पाउँदासम्म सबै ठीक हुन्छ। यिनै र यस्तै गठजोडबाट कार्यकारी प्रमुख जनताले प्रत्यक्ष मतदानबाट छान्ने विषय बिस्तारै छायाँमा पर्दैछ। र, नेपालको राजनीतिमा पेसेवर र अपराधीमाथि भर पर्नुपर्ने संवैधानिक व्यवस्थाको खाका कोरिँदैछ। 
समय सीमा र सर्त पूरा गरेरमात्र प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव ल्याउन पाइने प्रावधानले जनताको भावनामाथि कुठाराघात गरेको छ। प्रधानमन्त्री जनताको हुन्छन्। अनि जनहितमा काम गर्ने प्रधानमन्त्रीलाई सांसदहरूले अवरोध गर्दा त्यस्तो प्रधानमन्त्री जनतामा ताजा जनादेशको लागि जाने कि दुई वर्षसम्म कमजोर र प्रभावहीन भएर सत्ता हस्तान्तरण गर्ने मौका कुरेर बस्ने? अनि यस्तो अवस्थामा देश र जनताको दुर्गतिको जिम्मेवार को हुने? यस्तो 'रकमी' व्यवस्था प्रचलित संसदीय पद्धतिमा संसद् विघटन गरेरै भए पनि प्रधानमन्त्रीले जनतासामु जाने मौका पाउन सक्थे। कांग्रेस एमालेको प्रस्तावित शासकीय व्यवस्था जनता र देशलाई केन्द्रमा राख्नुको साटो सांसदहरूको विगतको नकारात्मक प्रवृत्ति नियन्त्रण गर्ने सोचबाट आएको देखिन्छ। निषेधको सोचबाट प्रभावित भएकाले तसर्थ यो 'सुधारिएको' भनिएको संसदीय व्यवस्था 'बिगारिएको' बन्नपुगेको हो। 
भनिन्छ, इतिहास निर्मम र कठोर हुन्छ। यस्तै कठोर र निर्मम इतिहास नेपालमा संसदीय व्यवस्थाको छ। नेपालमा संसदीय व्यवस्थाले कहिल्यै स्थिरता दिन सकेन। सक्तैन भन्ने पनि ६ दशक बढीको अभ्यासले सिकाएको पाठ हो। विसं २००७ सालका क्रान्तिनायक बीपी कोइरालाबारे भनिरहनु पर्र्र्दैन। संसद्को दुई तिहाई बहुमतले पनि बीपीलाई तत्कालीन राजा महेन्द्रको कोपभाजनबाट बचाउन सकेनन्। त्यस्तै भयो संसदीय व्यवस्थाका मर्मज्ञ कृष्णप्रसाद भट्टराईका हकमा पनि। उनको नाम र फोटो देखाएर जनता सामु कांग्रेसले भोट माग्यो र निर्वाचनमा बहुमत पनि पायो। तर तिनै सन्तनेता कृष्णप्रसाद भट्टराईले संासदहरू सामु अवरुद्ध गलामा संसद्को रोस्ट्रमबाटै आफ्नो ६ दशक लामो राजनीतिक जीवन त्यागेर आध्यात्मतर्फ लागे। यसरी संसदीय अभ्यासका सबै खाले प्रयोगले नेपालको भलो भएको छैन र हुने लक्षण देखिँदैनन्। किनभने नेपालको राजनीतिक र सामाजिक धरातल अहिले त्यसको लागि तयार भइसकेकै छैन। 
यस प्रसंगमा नेपालको राजनीतिक सामाजिक धरातल कस्तो छ त भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। नेपालमा लोकतान्त्रिक पद्धतिबाट शक्तिशाली कार्यकारी प्रमुखको खोजी अहिले जनचाहना देखिएको छ। अहिले त शासक नै छैन नेपालमा। सडक, संसद्, सुरक्षा, भ्रष्टाचार, कुशासन र बेरोजगारीबाट आक्रान्त जनतालाई आफूले चुनेको व्यक्तिबाट शासन होस् भन्ने जनइच्छा देखिन्छ। अहिले पार्टी नेताको कृपाबाट व्यक्ति र संगठित अपराधी गिरोहले जनतामाथि शासन गरिरहेका छन्। प्रधानमन्त्री सुशील कोइरालालाई आफू शासनको केन्द्रमा छु भन्ने भ्रम छ भने नेपालका सबै विश्वविद्यालयको दुर्गतिमात्रै हेरे पनि आफ्नो हैसियत थाहा हुनेछ। त्यस्तै सार्क सम्मेलनका लागि राजधानीलाई सुन्दर बनाउने क्रममा भएको भ्रष्टाचार कमनवेल्थ गेममा दिल्लीको सिंगारपटार गर्दा भएकोभन्दा कम छैन। दिल्लीको त्यही भ्रष्टाचारमा डुबेर भारतीय कांग्रेस उठ्नै नसक्ने गरी थलापरेको छ अहिले। सार्क सम्मेलनपछि कांग्रेस र कोइराला सरकारको हविगत त्यस्तै नहोस्!
सिंहदरवार र बालुवाटारमा एउटै परिवारले झैँ एकैथरी जाति र वर्गले कब्जा गरेको लामो समय भयो। देश र मूलधारका पार्टीको नीति निर्माण केही व्यक्तिको गोलचक्कर चलिरहेको पनि लामो समय भयो। संवैधानिक राजतन्त्रदेखि समावेशी गणतन्त्रसम्म पनि बालुवाटार र सिंहदरवारभित्र देखिने अनुहार फेरिएनन्। नफेरिएका तिनै अनुहारले देशलाई शान्त र समृद्ध त बनाएनन् नै व्यवस्थालाई समेत जोगाउन सकेनन्। यसैबीच उल्का जसरी देखिएका माओवादी र मधेसवादीले केही समय बालुवाटार र सिंहदरवारमा ताण्डव गरेर गए। सायद, सनातनी संसदीय पद्धतिलाई संचालन गर्न असमर्थ यही जमातले नै अहिले सुधारिएको संसदीय शासन पद्धतिको प्रस्ताव गरेका होलान्। 
नेपालमा कम्युनिस्ट व्यवस्था र संसदीय पद्धतिबारे लामो द्वन्द्व चलेको हो विगतमा। पार्टीदेखि युवा पुस्तासमेत यस लडाइँमा संलग्न थिए। मेरो पुस्ता संसदीय पद्धति स्थापनाका लागि पंचायत र कम्युनिस्टसँग लडेको थियो। बीसौं शताब्दीको उत्तरार्ध र एक्काइसांै शताब्दीको प्रारम्भमा नेपालमा सनातनी संसदीय पद्धतिले आफ्नो औचित्य स्थापित गर्न सकेन। यो क्रममा धेरै समय र ऊर्जा खेर गयो। तसर्थ, लोकतान्त्रिक शासक प्रत्यक्ष निर्वाचनवाट खोज्ने क्रम पद्धति रोजौँ। त्यसो गर्न सम्भव नभए प्रचलित संसदीय पद्धति नै बेस हुन्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस