संविधान निर्माण नरोक
२२ कार्तिक २०७१
•
१३ मिनेट पाठ
संविधान निर्माण नरोक
संविधान निर्माणमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच एक ढंगको सहमति बन्न थालेको देखिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने साझा प्रतिबद्धतामा टेकेर त्यो गठबन्धनले प्रान्तहरूको संख्या, त्यसको भूगोल र नामकरणका विषयमा साझा धारणा संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्ने गरी संवाद समितिमा प्रस्ताव गरेको छ। त्यस्तै, संसद्बाट निर्वाचित प्रधानमन्त्रीका साथै विगतमा संसदीय अभ्यासका क्रममा देखिएका विसंगतिलाई अन्त्य गर्नेलगायतका प्रावधान राख्ने सन्दर्भमा पनि गठबन्धनले सहमति गरेको छ।सात वटा प्रदेश निर्माणका सन्दर्भमा उनीहरूले प्रस्तुत गरेको खाकामा केही संशोधन हुन सक्छ। प्रस्तावित प्रदेशहरूका राजधानीसम्म पुग्न अर्को प्रान्तको भूगोल हुँदै जानुपर्ने अवस्था तथा सबै प्रान्तको सिमानाले दक्षिण(भारत)को सीमा नछोएको विषयमा व्यावहारिक दृष्टि राखेर त्यसलाई सामान्य हेरफेर गरेर अघि बढ्न सकिन्छ। त्यसो गर्दा प्रदेशको संख्या ७ बाट ८ हुन पुग्यो भने त्यसलाई अन्यथा नमान्ने गरी छलफल गर्न सत्ता गठबन्धनका साझेदार दलहरू तयार हुनुपर्छ। त्यस्तै, संसद्बाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सहमति कायम गर्दै उनीहरूले प्रधानमन्त्री निर्वाचित भएको दुई वर्षसम्म संसद्मा उसका विरुद्ध अविश्वास प्रस्ताव लैजान नपाइने, दुई वर्षपछि प्रस्ताव लैजान परेको खण्डमा पनि भावी प्रधानमन्त्रीको समेत प्रस्ताव गर्नेजस्ता प्रावधान राखी संसदीय अभ्यासलाई व्यवस्थित र कम विसंगतियुक्त बनाउनेतर्फ गम्भीर बनेको देखिएको छ। संसदीय पद्धतिलाई अझ सुदृढ र प्रभावकारी बनाउनका लागि गठबन्धनको यो प्रस्तावमाथि पनि 'थप राम्रोका लागि' अझै छलफल गर्न सकिन्छ। न्यायालय र निर्वाचन पद्धतिका सन्दर्भमा पनि गठबन्धनको प्रस्तावलाई छलफलको आधार बनाई त्यसमा आवश्यक संशोधनसहित टुंगोमा पुग्नु उचित हुन्छ। 
यही ढंगमा गठबन्धनले प्रस्ताव गर्ने र त्यसलाई अन्तिम रूप दिन विपक्षीहरुसँग पनि छलफल गरेर सहमतिमा ल्याउन सक्ने हो भने संविधान निर्माणको कामले गति लिनेछ। यस्तै प्रयासको अभावमा अघिल्लो संविधानसभा मूल काम नै नगरी विघटन हुन पुग्यो। फेरि पनि अघिल्लो संविधानसभामा जे भयो त्यस्तैमात्र गर्ने हो भने यो संविधानसभाले पनि कुनै नतिजा दिनसक्नेछैन। संसद्मा हल्लाखल्ला होला, कसैले आपत्ति जनाउलान्, कसैले मानमर्दन भएको महसुस पनि गर्लान् तर, एउटा नयाँ बाटो पहिल्याउँदा त्यसले निश्चित रूपमा नतिजा दिन्छ। जनता देशको नयाँ मूल कानुन बनेको हेर्न चाहन्छन्, त्यसकारण पनि संविधान निर्माणको पवित्र उद्देश्यले चालिएको कुनै पनि कदमले पक्कै राम्रो गन्तव्यमा पुर्या,उनेछ। यो प्रयासमा आफ्नो 'स्पेस' नदेखेर आपत्ति जनाउनेहरूको आवाज पनि धेरै दिन टिक्न सक्ने देखिन्न। दलहरूबीच पूर्णसहमति हुननसक्दा र उनीहरूले प्रक्रियामा जाने आँट नगर्दा संविधान निर्माण हुन सकेन। फेरि पनि त्यही लाचारी देखाउने हो भने संविधान बन्न कठिन छ। 
प्रतिपक्षी गठबन्धनले सत्तारुढ दलहरूको प्रस्तावमा असहमति जनाएको छ, तर त्यसको विकल्पमा कुनै सिर्जनात्मक अवधारणा प्रस्तुत गर्न सकेको छैन। विकल्पविनाको विरोधले संक्रमणकाल लम्ब्याउनमात्रै मद्दत गर्छ। अति दक्षिणपन्थी र उग्र तथा अव्यावहारिक सोच राख्नेहरूले विरोधका नाममा संविधानको अन्तरवस्तुमाथि छलफल हुने वातावरण नै बन्न नदिने काम गरिरहेका छन्। यस्ता अतिवादी व्यवहारले कुनै सुखद परिणाम दिनसक्दैन। प्रस्तावित एजेन्डामा छलफल गर्दै संविधान निर्माणको बाटोमा जानुको विकल्प छैन। जनताको शक्तिमा विश्वास गर्नेले संविधान निर्माणका क्रममा कुनै कुरामा चित्त नबुझे फेरि जनताको विश्वास जितेर त्यसलाई संशोधन गर्ने आँट गर्नुपर्छ। 
विगतमा संक्रमणकालबाट निकास दिँदै मुलुकलाई रक्तपातमा जानबाट जोगाउन नेताहरूले महŒवपूर्ण भूमिका खेलेका हुन्। संविधानसभाको निर्वाचन हुन नदिन दरवारले षड्यन्त्र गरिरहेका बेला संघर्ष गर्दै न्यायालयसम्म पुगेका बीपी कोइराला त्यो माग छाडी संसद्को निर्वाचन गर्न तयार भएका थिए। मुलुकमा सम्भावित रक्तपात रोक्नका लागि उनले त्यस्तो निर्णय लिएका थिए। उनलाई जनमतमा विश्वास थियो। त्यस्तै, २०३७ सालको जनमतसंग्रहको परिणाम अस्वीकार गर्दै संघर्षमा जान ठूलो दबाब हुँदा पनि उनले त्यसो गरेनन्। कोइरालाको त्यो निर्णय तत्कालका निम्ति अलोकप्रिय देखिए पनि त्यसले सम्भावित रक्तपातबाट मुलुकलाई जोगाएको थियो। तर दुर्भाग्य, अहिलेका नेताहरूमा यस्तो व्यावहारिक सोच देखिँदैन। संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउने हो भने 'रक्तपात निम्तने' चेतावनी दिँदै उत्तेजक भाषण गर्दै हिँड्ने नेता थुपै्र छन्। संविधान बनाउन खोज्नेलाई 'सिँहदरवारबाट हटाउने', 'आफूहरूले सिँहदरवार कब्जा गर्ने' र 'देशमा रक्तपात मच्चाउने' आशयका मन्तव्य एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबाटै आइरहेका छन्। के जनमत केवल अंकगणितमात्रै हो? त्यसको सम्मान गर्नु जरुरी छैन? करोडौँ खर्च गरी सम्पन्न भएको संविधानसभाको निर्वाचनको परिणामलाई राजनीतिक शक्तिले सम्मान गर्नु पर्दैन? संविधानसभाले संविधान बनाउने बाटो समात्न लाग्दा कोकोहोलो गर्नेहरूको मन साँच्चिकै सफा छ त? अघिल्लो संविधानसभा झैँ यसपटक पनि सिँहदरवारमा संविधान नबनाउने वा बनाउने प्रक्रिया नै नथाल्नेहरूको मात्र कब्जा रहनुपर्ने हो त? दाहालले प्रस्ताव गरेका कुरामात्र सत्य र सर्वस्वीकार्य हुन् त? उनका प्रस्तावलाई के कुनै छलफलविनै अस्वीकार गरिएको हो र? दाहालले अहिले अड्को थापेको प्रान्तको संख्यामात्रै ठीक अरु गलत भन्ने छैन। बीपी कोइरालाले जीवनको उत्तरार्द्धमा राजनीतिक अनुभवका आधारमा भनेका थिए– 'सत्य बहुआयामिक हुन्छ।' यो कुराको अर्थ बुझ्न सक्नेले मात्र लोकतन्त्रको मर्म समात्न सक्छ र संवाद वा सहमतिको प्रयास गर्ने नैतिक हक राख्छ। आफू र आफ्नो सोच नै सम्पूर्णरूपमा सत्य हो भन्ने ठान्नेसँग संवाद गरिरहनु भनेको संविधान निर्माणलाई अनिश्चित बनाउनु हो। 
यस्तो अवस्थाबाट मुलुकलाई पार लगाउन र संविधान निर्माणको प्रक्रियालाई अघि बढाउन संविधानसभाका सभामुखको महŒवपूर्ण भूमिका रहन्छ। प्रक्रिया थाल्नु भनेको बहुमत र अल्पमतका आधारमा निर्णय गर्नुमात्र होइन। जहाँनेर सहमति अड्कन्छ त्यहाँबाट अगाडि बढ्नका लागि अहिले प्रक्रिया थालिएको हो। एउटै टेबुलमा सहमति नबने पछि कुनै एउटा समूहसँग सहमति कायम गरी संविधानसभामा छलफल गर्ने बाटो खोलिदिएको मात्र हो। यो क्रमलाई निरन्तरता दिन र त्यसमा संविधानसभामा छलफल आरम्भ गर्नका लागि सभामुखको अहम् भूमिका रहन्छ। उनले पनि आँट गर्नुपर्छ अब। संविधानसभा र संसद् फरक हुन्। विशेष अवस्थामा संसद् अबवरुद्ध गर्न सकिए पनि संविधानसभामा त्यस्तो हुनु हुँदैन, हुन दिनु पनि हुँदैन। खुलारूपमा छलफल गर्न दिनु पर्छ। संविधानसभामा संविधानका अन्तरवस्तुमाथि छलफल हुन कहीँकतैबाट रोकिन दिनु हुँदैन। सभामुख सुवासचन्द्र नेम्बाङको भूमिका पनि यतिखेर परीक्षणको कसीमा छ। अन्तरिम संसद्को सभामुख हुँदा 'राम्रो' काम गरेको आधारमा उनको त्यो पद निरन्तर कायम रहँदै आएको हो। अन्तरिम संसद् रहँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका सहमतिलाई संसद्बाट अनुमोदन गराउने कार्यमा उनको भूमिका राम्रो थियो। समकालीन राजनीतिमा गिरिजाप्रसाद जस्तो अभिभावकीय भूमिका निर्वाह गर्नसक्ने नेता नभएकाले अब त्यो भूमिका खेल्ने जिम्मा स्वतः जनताका प्रतिनिधिहरूको थलो संसद् र संविधानसभामा जान्छ। संसद् र संविधानसभाको नेताका हैसियतले सकेसम्म मिलाएर संविधानसभामा अनुमोदनका लागि लैजाने, नसके संविधानसभालाई नै त्यसको निर्णय गर्न दिने भूमिका सभामुखले निर्वाह गर्न सक्नु पर्दछ। 
सहमतिका नाममा संविधानसभाजस्तो सर्वाधिकार सम्पन्न निकायलाई पंगु बनाउनु हुँदैन। हलो अड्किएको ठाउँबाट अगाडि बढ्ने प्रक्रिया थाल्नु र त्यसपछि फेरि सहमतिका लागि पहल गर्नु अन्यथा होइन। कानुनले दिएको बाटोमा हिँड्दै देशको संक्रमणकाल छोट्याउन निर्णय गर्नेहरू इतिहासमा गलत ठहरिने छैनन्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस