सत्ता परिवर्तनमा भ्रष्टाचार
२० कार्तिक २०७१
•
१४ मिनेट पाठ
सत्ता परिवर्तनमा भ्रष्टाचार
इतिहासमा भएका सत्ता परिवर्तनका पछाडि धेरैले राजनीतिक कारणलाई बढी केन्द्रित गरी विश्लेषण गरेका छन्। तर यसको विहंगम र विस्तृत अध्ययन गर्ने हो भने हरेक सत्ता परिवर्तन र राजनीतिक संक्रमणका कारणमा राजनीतिक भ्रष्टाचारको भूमिका पनि महत्वपूर्ण पाइन्छ। यस लेखमा नेपालको आधुनिककालमा भएका सत्ता परिवर्तनमा भ्रष्टाचारको भूमिकाको सामाजिक इतिहास खोतल्ने प्रयास गरिएको छ। पृथ्वीनारायणपछिका राजा प्रतापसिंह शाहको अकालमै मृत्यु भएको थियो। यसपछि रणबहादुर शाह राजा भएका थिए। रणबहादुरको पालामा नेपालमा भ्रष्टाचार बढेको इतिहासको अध्ययनबाट देखिन्छ। यसै क्रममा शेरबहादुर शाह र त्रिभुवन खवासले राज्यको ढुकुटीबाट १८ हजार सरकारी रकम मासेको घटना सार्वजनिक भयो। यस घटना छानविन गर्नका लागि रणबहादुरले वि.सं. १८६३ वैशाख १४ गते राति कचहरी सभा बोलाएका थिए। कचहरीमा वादविवाद चल्दा शेरबहादुर शाहले तरबार प्रहार गरी रणबहादुर शाहको हत्या गरेका थिए। इतिहासको यो एउटा यस्तो मोड थियो जसले भीमसेन थापाको ३१ वर्षे शासनको जग बसाल्यो। 
इतिहासविद् डा. राजाराम सुवेदीका अनुसार भीमसेन थापाको समयमा उनका परिवारका सदस्यहरु समेत भ्रष्टाचारमा संलग्न थिए। यिनका भतिजा माथवरसिंह थापाले राज्यकोषको लाखौँ रुपियाँ हिनामिना गरेका थिए। इतिहास शिरोमणि आचार्यका अनुसार एक पटक माथवरसिंहले कलकत्तामा नाचगान र भोजभतेरमा मात्रै डेढ लाख रुपियाँ राज्यकोषबाट सकेका थिए। यसै घटनालाई लिएर महारानी साम्राज्यलक्ष्मी रिसाएपछि भीमसेन थापाले आफ्नै घरबाट ल्याएर सो रकम सरकारी ढुकुटीमा दाखिला गर्नुपरेको थियो। भीमसेन थापाको पालामा माथवरसिंह थापाले अनैतिक र अवैधानिकरूपमा धेरै रकम जम्मा पारेका थिए। 
विभिन्न भ्रष्टाचार र अनियमितताको घटनामा मुछिएका माथवरसिंह थापालाई समयमा कारबाई नहँुदा वि.सं. १९०० पुसमा यिनी नेपालको प्रधान मन्त्री भए। आर्थिक मामिलामा कमजोर रहेका थापाको शासनकालमा भ्रष्टाचार र अनियमितताले डाँडो चढेको थियो। राज्यकोषलाई आफ्नो व्यक्तिगत हितमा खर्च गर्ने यिनको बानीले गर्दा सर्वसाधारण, सेना र दरबार सबै असन्तुष्ट थिए। जसको आडमा जंगबहादुर कुँवरले वि.सं. १९०३ असोज २ गते राति कोतपर्व मच्चाउन सफल भए। भीमसेन थापा र त्यसपछिका शासकहरुले आफ्नो, परिवारको र नातागोता स्वार्थमा सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत हितमा खर्च गर्दा निम्तिएको दुष्परिणाम थियो कोतपर्व। 
राणा शासनमा भ्रष्टाचार झनै बढेको इतिहास पाइन्छ। कुँवर राणाजीहरुको बृहत् वंशावलीअनुसार बाबु बालनरसिंह कुँवरको सर्वस्वहरणको क्षतिपूर्तिस्वरूप १९०१ मा जंगबहादुरले २१ हजार ६८ रुपियाँ पाएका थिए। जसको तीन वर्षमै यिनी प्रधान मन्त्री बने। इतिहास शिरोमणि आचार्यका अनुसार जंगबहादुरले आफ्नो कार्यकालमा ४६ करोड रुपियाँ भन्दा बढी जम्मा पारेका थिए। राणाकालीन इतिहासबारे विशेष दख्खल राख्ने इतिहासविद् पुरुषोत्तमशमशेर जबराका अनुसार सबै राणा प्रधान मन्त्रीले राष्ट्रको ढुकुटीलाई आफ्नो र परिवारको स्वार्थका लागि खर्चेका थिए। यसबेला राज्यको सम्पत्ति र व्यक्तिगत सम्पत्तिबीचमा कुनै रेखा थिएन।
राणा शासकहरुको भ्रष्टाचारबाट राजा त्रिभुवन वाक्क भएका थिए। नेपाली कांग्रेस यसैको जगमा जन्मिएको थियो। वि.सं. १९९७ मा जन्मेको नेपाल प्रजा परिषद्ले लिथो मेसिनबाट छापेर बाँडेको पर्चामा राणा शासनमा आर्थिक विसंगति र भ्रष्टाचार झाँगिएकाले यसको अन्त्य आवश्यक रहेको औल्याइएको थियो। यसैको जगमा वि.सं. २००७ सालमा राजनीतिक आन्दोलनको आधार तयार भयो र परिवर्तन भएको थियो। 
प्रजातन्त्र स्थापनापछि पनि यसमा सुधार आएन। २००८ सालमा प्रधान मन्त्री मातृकाप्रसाद कोइरालाको सरकार समेत भ्रष्टाचारका घटनामा मुछिएको थियो। सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै मन्त्रीहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र सुवर्णशमशेरले राजीनामा दिएका थिए। वि.सं. २०१२ सालमा टंकप्रसाद आचार्यको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै बालचन्द्र शर्मा र पशुपति घोषले मन्त्री पदबाट राजीनामा दिएका थिए। यसपछि आचार्य आफँैले राजीनामा दिए। अनि डा. केआइ सिंह नेपालको प्रधान मन्त्री भए। सिंहले आफूभन्दा अघिका सरकारहरुले गरेका भ्रष्टाचारबारे छानविन र कारबाई गर्न २०१४ भदौ १७ गते हिसाब जाँच कमिसन गठन गरेका थिए। उनले मुलुकको ढुकुटीबाट १२ देखि १५ करोड रुपियाँसम्म भ्रष्टाचार भएको बताएका थिए। तर सिंहले पूर्ववर्ती शासकहरुबाट दुरुपयोग भएको भनिएको रकम उठाउन नपाई छोटो समयमै अर्थात् १२० दिनमै राजीनामा दिए। सिंहले भ्रष्टाचारीका कारण आफूले राजीनामा दिनुपरेको बताएका थिए। 
वि.सं. २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत पायो। बीपी कोइरालाको नेतृत्वमा सरकार बन्यो। सो सरकारले २०१६ साउन ३० मा घाँसे घिउ आयातमा राणाकालदेखि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्योक। यस निर्णयमा व्यापारीको आर्थिक प्रलोभनमा परेर घिउमा प्रतिबन्ध हटाइएको आरोप लागेको थियो। यस्तै काण्डहरुलाई देखाएर वि.सं. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले “कु” गरे। महेन्द्रले प्रजातन्त्र अपहरण गर्न भ्रष्टाचारको कार्ड प्रयोग गरेका थिए। उनले “तलासी समिति” गठन गरेर कोइराला मन्त्रिपरिषद्का सदस्यहरुको घर खानतलासी गर्न लगाए। भ्रष्टाचार निवारण पुलिस विभाग गठन गरे। महेन्द्रले शासनसत्ता हत्याएको तीन महिनामै २०१७ साल चैत २७ गते भ्रष्टाचार निवारण ऐन जारी गरेका थिए। 
पञ्चायतकालमा राजनीतिक भ्रष्टाचारले ऊर्वर भूमि पायो। यसबीचमा गाउँ फर्क, सुन, वन, सांसद किनबेच, कार्पेट, गाई गधा, रासायनिक मललगायतका विभिन्न काण्ड भए। पञ्चायतलाई जिताउनका लागि तस्करसँग साढे तीन करोड रुपियाँ लिएको त्यसबेलाका राजनीतिक खेलाडी नवराज सुवेदीले आफ्नो जीवनीमा लेखेका छन्। यस्ता धेरै भ्रष्टाचारको कारण बद्नाम भएको पञ्चायत शासन व्यवस्थाको विरुद्धमा नागरिकहरु समेत जुर्मुराएका हुन्। सो बेलामा आन्दोलनको औचित्य प्रष्ट्याउदै गणेशमान सिंहले पञ्चायती व्यवस्था भ्रष्टाचार र आर्थिक विचलनमा लिप्त भएकाले देशलाई जोगाउनका लागि जनआन्दोलन आवश्यक भएको बताएका थिए। 
यसैको जगमा भएको आन्दोलनको बलमा वि.सं. २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भयो। यसपछिका वर्षहरुमा भ्रष्टाचार झनै झाँगिदै गयो। यसबीचमा नेपाल वायुसेवा निगममा मात्रै धमिजा, चेजएयर, चाइना साउथवेस्ट, लाउडालगायतका काण्ड भए। सांसद किनबेच र पजेरो काण्ड भए। निर्वाधरूपमा सुन तस्करी भयो। राप्रपा एमालेको गठबन्धनको बेलामा बढेको सुन तस्करी राप्रपा कांग्रेसको गठबन्धनको बेलामा उत्कर्षमा पुग्यो। २०५५ सालमा सूर्यबहादुर थापा सरकारकै सहयोगमा सुन तस्करी भएपछिको घटना सार्वजनिक भएपछि राजदरबारले सादा पोशाकका सेनालाई अन्तर्राष्ट्रिय विमानस्थलमा खटाएको थियो। 
यस्ता भ्रष्टाचार र आर्थिक अनियमितताका घटना देखाएर माओवादीले सशस्त्र युद्ध सुरु गर्योल। राजनीतिक दलहरु भ्रष्टाचारका काण्डहरुमा फस्दै गएका कारण दरबारले प्रजातन्त्रमाथि आँखा उठायो। दलका नेताहरु भ्रष्ट भएको भन्दै राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते “कु” गरे। त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २१ बुँदे निर्णय गरेको थियो। जसको पहिलो बुँदामा भ्रष्टाचार छानविन गर्न अधिकार सम्पन्न शाही आयोग गठन गर्ने उल्लेख थियो। 
दलका नेताहरुको भ्रष्टाचारलाई देखाएर सत्ता हत्याएका ज्ञानेन्द्र आफँै थप आर्थिक अनियमिततामा फसे। लोकतन्त्र स्थापना भएपछि २०६३ जेठ १ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक अवस्थासम्बन्धी श्वेतपत्रअनुसार आ.व. २०५८/५९ मा जम्मा १२ करोड ६२ लाख रुपियाँ राजदरबार गएको थियो भने राजाको प्रत्यक्ष शासनकालको अन्तिम ९ महिनामा मात्रै ७५ करोड ११ लाख रुपैयाँ राजदरबारमा गएको थियो। यसैगरी तत्कालीन सरकारले सुराकी परिचालनमा मात्रै आ.व. २०६२/६३ मा १ करोड ८७ लाख रुपियाँ खर्च गरेको थियो। यसबीचमा केही मन्त्रीहरु मलकाण्डमा मुछिए। सञ्चार माध्यमबाट आर्थिक अनियमितताका घटना सार्वजनिक हुन थालेपछि नागरिक आन्दोलित भए। जनआन्दोलनका क्रममा नागरिकले भ्रष्टाचारविरुद्ध नारासमेत लगाए। जसको बलमा २०६३ साल वैशाख ११ गते जनआन्दोलन सफल भएको थियो। 
गणतान्त्रिककालमा पनि विभिन्न भ्रष्टाचारका काण्ड भइरहेका छन्। यस अवधिमा सुडान काण्ड, समानुपातिक सभासद् बिक्री काण्ड, सत्ता परिवर्तन गर्न विदेशीसँग पैसा मागेको काण्ड, लडाकु काण्ड, स्थानीय निकायमा जाने रकममा भएको भ्रष्टाचारलगायतका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन्। यस्ता भ्रष्टाचार बढ्दै गएमा नागरिकले अहिलेको शासन व्यवस्थाको पनि विकल्प खोज्न सक्नेछन् जुन झनै भयाबह हुन सक्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस