नेपालको अन्तरिम संविधान, २०६३ को भाग ११ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ। संविधानको धारा १२० मा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको छ भने आयोगले अनुसन्धान र तहकिकात गर्न वा गराउन सक्नेछ भन्ने लेखिएको छ।
अर्थात्, अन्तरिम संविधानले यो संवैधानिक आयोगलाई धेरै महत्वपूर्ण जिम्मेवारी दिएको छ र त्यसको सही प्रयोग भएमा भ्रष्टाचार नियन्त्रणमा ठूलो सकारात्मक प्रभाव पर्नसक्छ। तर यस आयोगको स्थापना र यस अघिका यस्तै आयोगको उपस्थितिले नेपालमा भ्रष्टाचारको व्यापकता नियन्त्रण गर्न नसकेको अनुभव छ। हुनत, लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गरिएपछि आयोग बढी नै चर्चामा छ। यसले गरेका सकारात्मक कामको प्रशंसा भएको छ भने कतिपय अवस्थामा अख्तियारले भ्रष्टाचार रोकथाम गर्न खोजेको हो कि सरकारनै आफै हुँ भन्ने छनक दिन खोजेको हो भन्ने प्रश्न पनि उठेको छ।
अख्तियारले कुनैपनि सरकारी कार्यालयमा पत्र लेखेर कुनै वस्तुको आयात निर्यात रोक्ने अथवा खोल्ने, कुनै कर्मचारीको सरुवा वा बढुवा रोक्ने अथवा छिटो गर्न निर्देशन दिने, कुनै सरकारी काम गर्नलाई दबाब दिने वा रोक्न कोसिस गर्नेआदि अनेक प्रकारका विवादास्पद विषय बारम्बार चर्चामा आइरहेका छन्। यस्ता कार्य सरकारले गर्ने हो कि अख्तियारले हो भन्ने प्रश्न पनि उब्जिएको छ। हालैमात्र चिकित्साशास्त्र अध्ययन संस्थानलाई मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिन दबाबस्वरूप अख्तियारले गरेको पत्राचारले आयोगको कामलाई थप विवादास्पद बनाएको छ भने यसको अधिकार क्षेत्रका विषयमा पनि प्रश्न उठाएको छ। कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन दिने वा नदिने कार्य लहडमा गरिने वा कसैले निर्देशन दिएका आधारमा हुने अवश्य पनि होइन। सम्बन्धनका लागि भौतिक पूर्वाधार, आवश्यक जनशक्तिलगायतका मापदण्ड पुगेको छ कि छैन र सम्बन्धन दिएपछि त्यस कलेजले योग्य विद्यार्थी उत्पादन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न निर्णायक हुनुपर्छ। चिकित्साशास्त्र अध्ययन संस्थानले पैसा खाएर सम्बन्धन दिएको अथवा नदिएको हो भने अख्तियारको हस्तक्षेप उचित हुन्थ्यो तर यस प्रकरणमा त्यसो भएको देखिँदैन। नदिइनुपर्ने कलेजलाई अख्तियारले दबाब दिएको आधारमा सम्बन्धन दिँदा त्यस कलेजबाट उत्पादन हुने डाक्टर अयोग्य भएर जनताको ज्यान जान थाल्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ? हुनत, अख्तियारको पत्रमा सिधै सम्बन्धन दिनु नभनी उक्त सम्बन्धमा कारवाही गर्नु भनिएको छ तर यो पत्रको स्वरूप दबाबमूलक भएको अनुमान सहजै लगाउन सकिन्छ। यसैले उक्त पत्रले सम्बन्धित क्षेत्रमा आतंक सिर्जना गरेको देखिएको छ।
केही अघि परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले नागरिक दैनिकमा अन्तर्वार्ताका क्रममा थिए – यो देशमा राजनीति अदालतले चलाइरहेको छ र प्रशासन अख्तियारले। अख्तियारको अहिलेको अति सक्रियताले त्यस्तै भान पारेको छ। असम्बन्धित निकायले राम्रै मनसायले काम गर्न खोजे पनि त्यो कानुनी शासनअनुरूप हुँदैन। देशमा आन्तरिक शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी प्रहरी संगठनको हो तर सेनाले अझ राम्रोसँग गर्न सक्छ भनेर त्यसमा हात हाल्न थाल्यो भने शान्ति होइन त्रास उत्पन्न हुनसक्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई कामै गर्न त यत्रतत्र भइरहेका भ्रष्टाचारका घटना नै पर्याप्त देखिन्छ। अधिकार क्षेत्र बाहिर गएर विवादास्पद कार्य गर्न जरुरी छैन। लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सम्बर्द्धन गर्ने हो भने अख्तियारसहित सबै संवैधानिक निकायले आफ्नो अधिकारको परिधिमा रहेर प्रभावकारी कार्य गर्नुपर्छ। अधिकार क्षेत्र मिच्ने चाहना र प्रवृत्तिले निरंकुशतन्त्रको पृष्ठपोषण गर्छ।