संविधानले पिरोलिएको देश
१० कार्तिक २०७१
•
१८ मिनेट पाठ
संविधानले पिरोलिएको देश
दसैँमा चकमन्न हुँदा पनि राजधानीलाई सिंगारपटार गर्ने काम रोकिएको थिएन। सार्क सम्मेलनमा आउने विदेशी पाहुनालाई राजधानी राम्रो छ भनेर देखाउन मूलसडक, पेटी, सरकारी भवन रंगरोगन गर्ने र बनाउने काम तीव्र गतिमा भइरहेको थियो।कतिसम्म भने हुर्केका हरिया विरुवासमेत माइतीघरदेखि भक्तपुरसम्म सार्ने र मर्ने काम सँगसँगै भइरहेको देखिन्थ्यो। भिक्टोरियन समयमा बेलायतकी महारानी आफ्नो उपनिवेश जाँदा त्यहाँ कार्यरत बेलायतीहरू उनलाई खुशी पार्न यस्तै ‘कस्मेटिक' काम देखाउँथे। इथियोपिया भन्ने देशको राजधानी अदिसअबाबालाई त्यहाँका राजा महाराजाले पेरिसजस्तै बनाउँछु भनेर लाग्दा देशको अन्य भागसँग तिनको सम्बन्ध विच्छेद भयो। र, अन्ततः मानव सभ्यताको प्रारम्भ भूमि ठानिने इथियोपिया भोकमरी, गरिबी र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको द्वन्द्वको अखडा हुँदै दुई टुक्रा हुनपुग्यो। वेलायती साम्राज्यको पतन बारे त भनिरहनै पर्दैन। यद्यपि हालै भएको स्कटल्यान्डको जनमत संग्रहले भने बेलायतको इज्जत जोगाइदिएको छ। 
राजधानीको नक्कली विकास मोडललाई एनेकपा (माओवादी)का नेता बाबुराम भट्टराईले श्रीगणेश गरेका हुन्। त्यसपछि कांग्रेस र एमाले पनि उनैको पदचिह्नमा अगाडि बढिरहेका छन्। राजधानीको सिंगारपटारलाई अन्यथा भन्न नमिल्ला तर यस क्रममा मुलुकका अन्य भूभागमा के भइरहेको छ भन्ने सामान्य चिन्ता र चासोसमेत राज्य संचालकले नलिएको देखिन्छ। सरकारले दसँै तिहारमा भएका बस दुर्घटनालाई सम्बोधन गर्न अपनाएको शैली हेर्दा अहिले राजकाज गर्नेसँग देश र जनताको सम्बन्ध चुडिएको त देखिन्छ नै तिनमा जनताको सामान्य समस्यालाई बुझ्ने ‘औकात'समेत नभएको देखिन्छ। 
नेपालको सार्वजनिक यातायात र सडकमा हिड्ने मानिसहरू सबैभन्दा असुरक्षित छन्। दसैँ, तिहार र छठमा लाखौँ मानिसबीच भेटघाट, सम्बन्धको पुनर्मिलन र आर्थिक सामाजिक अन्तरक्रिया हुनेगर्छ। चाडपर्वमा यात्रुको भिडभाडले यातायातमा चाप पर्नु स्वाभाविकै हो। सार्वजनिक यातायत भन्नाले निजी व्यवसायीले नाफाका लागि सञ्चालन गरेको बस, जिप र भाडाका साना गाडी भन्ने बुझिन्छ नेपालमा। सामान्य जनताले एक ठाउँवाट अर्को ठाउँमा जान तिनै नाफामूलक निजी व्यवसायीमा निर्भर रहनुपरेको छ। सडक भने सरकार र दातृ निकायले बनाउँछन्। केही समय यता भने स्थानीय जनताले मिलेर बाटो निर्माण गर्ने र निजी लगानीमा बस र जिप चलाउने चलन पनि देशभरी सुरु भएको छ। 
नेपालको सडक यातायात निजी, सरकारी, डन, र दादा सबैको सक्रिय संलग्नतामा अराजक किसिमले सञ्चालित छ अहिले। तसर्थ, सामान्य अवस्थामा पनि नेपालको स्थलमार्ग सुरक्षित छैन। त्यस्तै हवाई मार्ग पनि असुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार र प्रतिबन्धका धम्की सुन्नु र पढ्नु परेको छ। नेपालका अधिकांश विमानस्थल पनि नारावाजी गर्ने ठाउँ र नेताको कब्जामा देखिन्छ भने राजधानीमा रहेको देशकै एउटामात्र अन्तर्राष्ट्रिय विमान स्थलसमेत अपवाद बन्न सकेको छैन। सबै नेता ‘भीआईपी' भएकोले यस्तो अवस्था आएको सुरक्षाकर्मीको गुनासो छ। 
बस दुर्घटनापछि एउटा बैठक बोलाएर कर्मचारीतन्त्रलाई निर्देशन दिने पंचायती शैली अझै कायम छ। भर्खरै ओखलढुंगा बस दुर्घटनापछि त्यसै गरेको देखियो। नीतिगत सुधार पर्खेर बसेको सार्वजनिक यातायातले सरकारबाट प्रक्रियागत निर्देशन पायो। यस्तो अबुझ र हचुवा शैली हेर्दा सिंगो मन्त्रिपरिषद् नै नेपालको सार्वजनिक यातायतसम्बन्धमा अनभिज्ञ देखिएको छ। 
सडक मार्गमा हुने दुर्घटनाले मात्र गाउँघरमा रुवावासी भइरहेको हैन। मध्यपूर्व र मलेसियाबाट दिनहुँ आउने युवाको शवले पनि गाउँघरमा धेरैको अनुहार अँध्यारो बनाएको छ। सबै शंका र सन्त्रास देखिन्छन्। विदेश जाँदा सन्तानलाई धन सम्पत्ति आर्जन गर्न आशीष दिने हातले नै सन्तानको काजकिरिया गर्नुपर्ने घटना सामान्य हुँदैगएको छ गाउँघरमा। यस्तै देखियो झन्डै पैतालीस दिनको अथक प्रयासपछि सउदी अरबबाट मोरंगको दर्वेशामा मोहन आचार्यको मृत शरीर आइपुग्दा। 
मोहन आचार्यका बाबु उमाशंकर आचार्य चारदशक अगाडि धनकुटाबाट आर्थिक उपार्जनका लागि मोरंगको दर्वेशा – १ मा आएका थिए। सामान्य खेतीपाती गर्दै दुई छोरा र तीन छोरीलाई स्थानीय स्कुलमा पढाउन सुरु गरे पनि केटाकेटीले राम्ररी पढ्न सकेनन्। सरकारी विद्यालय पठनपाठनको केन्द्र नभएर राजनीतिको अखडा भएकाले अयोग्यहरू शिक्षक भएका छन्। तर विद्यार्थीलाई असफल भए भनिन्छ। शिक्षक असल भए कुनै स्थितिमा पनि विद्यार्थी खराब र असफल हुन संभव छैन भन्ने यथार्थ कसरी सम्झाउनु? असफल भनिएका विद्यार्थी देश, समाज र परिवारको दबाब र आर्थिक समस्या थेग्न नसकी विदेशिने क्रममा मोहन पनि सउदी अरब पुग्छन्। दाजुकै पदचिह्नमा भाई पनि विदेशिन्छन्। बृद्ध हुँदैगएका आमाबाबुको हेरचाह गर्ने कोही होस् भने विदेश जानुअघि मोहनले विवाह गरेका थिए। तिहारको बेला घरको आँगनमा विदेश कमाउन गएको छोराको मृत शरीर आइपुगेको देखेर आमाबाबु, दिदीबहिनी, पत्नी र मोहनको सानो बच्चा टाउकोमा हात राखेर बसेकाछन्। 
अधिकांश गाउँका प्रायः सबै परिवारका युवा रोजगारीको खोजीमा विदेश गएका छन्। सबैका अभिभावक, बच्चा र पत्नीको आँखामा सन्त्रास देखिन्छ। केही समय अगाडिमात्र नेपाली कांग्रेसका एक जना निष्ठावान् नेता आशीनाथ राजवंशीका छोराको शव यसैगरी विदेशबाट आइपुगेको थियो। यसबीच अरू पनि थुप्रै युवाका शव घरअँागनमा आइरहेका छन्। मोहनका घरमा जम्मा भएकाहरू सबै गम्भीर देखिन्छन्। सबैले नेताहरूको अदूरदर्शिता र सत्ता मोहले देशमा यस्तो अवस्था आएको भन्दै गाली गर्दै चित्त बुझाए। यस्तो दारुण अवस्थामा पनि एकजना पाका र भद्र पुरुषले मसँर्ग सोधे – ‘संविधान बन्ला?' 
म सार्वजनिक यातायात, शिक्षा र स्वास्थ निजी क्षेत्रको जिम्मा लगाउँदा नेपालमा मानवीय मूल्य क्रमशः ह्रासोन्मुख भइरहेको अवस्था वारे सोचिरहेको थिए। त्यस्तै त्यस भेगका सबै उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा विद्यार्थी नदेखिएको यथार्थ बुझ्न सोधपुछ गर्दैथिएँ। विराटनगरका कुनै एक जना एमए उत्तीर्ण व्यक्तिलाई कागजमा नियुक्त गरेर स्थानीय अदक्ष र अयोग्य शिक्षकबाट काम चलाउने र सरकारले उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न दिएको पैसा सबै मिलेर बाँडीचुँडी खाने चलन यतातिर सामान्य रहेछ। कहिल्यै स्कुल नटेक्ने विराटनगरका शिक्षक कानुनीरूपमा उच्चमाध्यमिक विद्यालयमा नियुक्ति पाएर कार्यरत छन्। सरकार चलाउनेहरूलाई पनि यो सबै थाहा छ तर संविधान बनाउन जुटेकाहरूलाई अरू कुराको के चासो? 
सामाजिक पूर्वाधार र सेवा क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई सम्बोधन गर्न संविधान आउने वा नआउने विषयले कुनै फरक नपार्नुपर्ने हो। तर नेपालमा भने संविधान नै सबै रोगको एकमात्र उपचारजस्तो ठानिदैछ। गाउँका बूढापाकाले यही भएर त शोेकको समयमा पनि सोधेका रहेछन् – ‘संविधान आउँछ?' संविधान आउँछ र सबै विकृति विसंगतिको अन्त्य हुन्छ भन्ने मानसिकता नेताले निर्माण गरिदिएका छन् नेपाली जनतामा। यो खतरनाक मनोविज्ञानको निर्माणबाट संविधान निर्माणपछि हुने द्वन्द्व र निराशालाई अहिले त कल्पना गर्न पनि सकिन्न।
संविधान आए पनि नआए पनि सुरक्षित बस यात्रा, रोजगारीका अवसर र भ्रष्टाचारविहीन सरकारी सेवा उपलब्ध गराउन मंत्री र प्रशासन संयन्त्रले किन नसकेको हो भन्ने बुझिनसक्नु छ। प्रधानमन्त्री स्वयम्ले माघ ८ गते संविधान ल्याएपछि ‘म एकक्षण पनि सत्तामा बस्तिन' भन्नुको तात्पर्य अहिले शासन र सेवा दिन होइन संविधान निर्माण गर्नमात्र प्रधानमन्त्री पदको जिम्मेवारी लिएको जस्तो भान हुन्छ। प्रधानमन्त्रीको अभिव्यक्ति जति सरल र सोझो लाग्छ नेपाली राजनीति ठीक उल्टो छ। अर्थात्, प्रधानमन्त्रीको यही अभिव्यक्तिले माघ ८ गते संविधान नआउने रहस्य उजागर गरेको सहजै बुझन सकिन्छ। माघ ८ मा संविधान ल्याएर सत्ता छाड्ने परिस्थिति निर्माण गर्न उनका मन्त्री र सहयोगी कोही पनि इमानदारीसाथ प्रवृत्त देखिएका छैनन्। यसै पनि सत्ता संविधानभन्दा माथि रहेको छ नेपालमा। अर्थात् माघ ८ गते यिनले संविधान ल्याउँदैनन्। 
मोहनका बृद्ध आमाबाबु, विधुवा पत्नी र सानो बच्चाको भविष्य र यिनीहरूप्रति राज्यको दायित्व कस्तो हुनुपर्ला वा हुनुपर्छ भनी गाउँका भद्र भलादमीको कुरा सुनिरहेको थिएँ। सामान्य जनताले यस्तै संविधान लेख्दैछन् गाउँघर, चोक र सडकमा। नागरिक तहमा संविधानमा लेखिनुपर्ने विषयका रूपमा चलेको यस्ता कुराले नेताहरूले लेख्ने संविधानमा ठाउँ पाउने छैन। यो पक्का छ। केही पाका व्यक्तिहरूका अनुसार संविधान ल्याउँछु भनेर गफ दिने नेता र तिनलाई सहयोग गर्ने विदेशी दातृ निकायबाहेक माघ ८ मा संविधान आउँछ भनेर सामान्य जनता कसैले पनि पत्याएका छैनन्। 
‘संविधान बनाएपछि सरकारमा बस्दिन' भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबाट संविधान निर्माण प्रक्रिया पर धकेलिएजस्तै सार्वजनिक यातायात सेवामा प्रक्रियागत त्रुटिमात्र देख्ने सरकारी दृष्टिकोणले भविष्यमा पनि सवारी दुर्घटना निरन्तर रहने आधार खडा गरेको छ। निजी क्षेत्र नाफाबाट निर्देशित हुन्छ। कैयौं बस सञ्चालकले आफ्नो भएभरको जायजेथा बेचेर गाडीमा लगानी गर्छन्, गरेका छन्। लगानी गर्दाको जत्तिकै जोखिम व्यवसायीले नाफा कमाउन पनि उठाउँछन्। यो जोखिमपूर्ण नाफामूलक व्यवसाय संचालनको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले अढाई दशक अगाडिदेखि निजी क्षेत्रलाई सुम्पेको छ, सच्याउनुपर्ने त्रुटि त्यहाँ छ। नागरिकको जीवन अहिले त्यही नीतिगत त्रुटिका कारण सस्तो भइरहेको हो।
सार्वजनिक यातायात सम्पूर्णरूपमा निजी क्षेत्रले सञ्चालन गरेको देश संसारमा सम्भवतः नेपालमात्रै होला। सरकारले विश्वासिलो र भरपर्दो सार्वजनिक यातायात सेवा आफैँले वा नागरिक र सरकारबीचको लगानीबाट सञ्चालन नगरुन्जेल चाडपर्वका उत्सव होइन त्रासद दुर्घटनाका कारण मलामीमा रूपान्तरण हुने अभियान चलिरहने छ।। नेपालमा उदारवादी अर्थ व्यवस्थाका प्रवर्धकहरू कांग्रेस, एमाले र एमाओवादीमा प्रशस्तै छन र तिनले निजी लगानी र नाफाको सिद्धान्त राम्रैगरी बुझेको हुनुपर्छ। सार्वजनिक यातायात नागरिकको जीवनसँग जोडिएको विषय हो । सार्वजनिक यातायातका नीतिगत त्रुटिबारे बहस, छलफल र निर्णय नगरी प्रहरी, प्रशासन, व्यवसायी, बाटो र यात्रु आदिलाई मात्र दोषी बनाउनु बहुलट्टी प्रदर्शनमात्रै हो। कुनै पनि यात्रु कष्टकर र जोखिमपूर्ण यात्रा गर्न चाहँदैन। तर यात्रुलाई राज्यले नै विकल्पहीन अवस्थामा पुर्यायएको छ। सिद्धान्तमै त्रुटि भएपछि प्रक्रियामा जस्तै सुधार गरे पनि त्यो टिकाउ र भरपर्दो हुनसक्तैन। त्यो त ‘कस्मेटिक' मात्र हुनजान्छ। अहिले राजधानी काठमाडांैको विकासको मोडलजस्तै। 
अन्त्यमा, संविधान निर्माण गर्ने नाममा सबै काम पछि गर्नुपर्छ भन्ने सोच र प्रवृत्ति बेठीक हो तर अहिले सरकारले त्यही शैली अपनाएको खेअिएको छ। कम्तीमा बृद्ध, वालक र विधुवाप्रति राज्य जिम्मेवार हुनैपर्छ। शिक्षा र स्वास्थमा असमानता उत्पन्न र खेलबाड गरेर द्वन्द्वको अन्त्य होइन सिर्जना हुन्छ। रेमिटेन्सले राष्ट्र धान्न सकिएला तर चलाउन गाह्रो हुन्छ। यो सबैले बुझ्नुपर्छ। त्यस्तै विदेशी आउँदामात्र राजधानी सफा र सुन्दर राख्नुपर्छ भन्ने संस्कार पनि जनमुखी होइन। जनताको आँखा छल्ने हैन सधैँ सफा र सुन्दर राख्नसकेमात्र लोकतन्त्र टिक्छ। आगे नेताको मर्जी!


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस