काठमाडौँले भुल्न नहुने सत्य
२० असोज २०७१
•
११ मिनेट पाठ
काठमाडौँले भुल्न नहुने सत्य
हरेक वर्षको दशैँमा काठमाडौं सुनसान हुन्छ। यस वर्ष पनि सोही अवस्था दोहोरियो। काठमाडौँका सडकहरु बन्दप्रायः रहे। सडकमा मानिसको चहलपहल बन्द थियो। बजार तथा पसल बन्द थिए। काठमाडौँका भव्य र अग्ला घरमा मानिस नै बस्दैनन् कि भन्नेझैं भएको थियो। केही दिनअगाडिसम्मको काठमाडौँको चहलपहल, चमकदमक र शान गायब भयो कता? दशैँको समयमा भर्खरै छोरी अन्माएको माइती जस्तै भयो। उराठलाग्दो र दिक्कलाग्दो दिन काठमाडाँैले भोग्यो। कतिपयलाई यो सामान्यझैँ लाग्न सक्ला तर हरेक वर्ष दोहोरिने यो यथार्थताले काठमाडौँको दम्भमाथि निरन्तर प्रहार गरिरहेको छ। देश नै मै हुँ र मेरो आवाजले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्छ भन्ने काठमाडौँको आत्मरतिमाथि दशैँले हरेक वर्ष गिज्याइरहेको देखिन्छ। दशैँको समयले काठमाडाँैलाई केही पाठ निरन्तर सिकाइरहेको छ। त्यसैले काठमाडौँले आफ्नो अहंकार र दम्भ अलि पर राखेर केही यथार्थता आत्मसात गर्नु आवश्यक छ। 
पहिलो कुरा काठमाडौँको शान तथा शौकत दुर्गम गाउँको आडमा टिकेको छ। काठमाडौँमा व्यापार गर्नेदेखि सेवा दिने अधिकांश जनशक्ति दुर्गम गाउँघरले जन्माइदिएको छ। बच्चापनको रेखदेख तथा स्याहारसुसार दुर्गम गाउँघरले गरिदिएको छ। काठमाडाँैमा सबैभन्दा महँगो बनेको शिक्षा गाउँघरले ती बालबालिकालाई दिएर काठमाडौँले खोजेअनुसारको सिर्जनशील तथा कर्मशील जनशक्ति बनाइदिएको छ। त्यही बच्चा युवा भएपछि अर्थात उनीहरुको उत्पादनशील उमेर सुरु भएपछि काठमाडाँै आउँछ र तिनीहरुको सिर्जनशील दिमाग र बलियो पाखुराको भरमा काठमाडाँैले आफ्नो रवाफ फैलाएको छ। 
दोस्रो कुरा भनेको काठमाडौँको अर्थतन्त्र, राजनीति, व्यापार, समाज सबै गाउँको आडमा माथि उठेको छ। दशैँको अवधिमा काठमाडौँको अर्थतन्त्र पनि बन्दप्रायः हुन्छ। अझ भनौँ यहाँको अर्थतन्त्र दशैँसँगै गाउँ जान्छ। काठमाडौँमा व्यापार ठप्प हुन्छ। गाउँका चोक, बजार तथा हाटमा ह्वात्तै बढ्छ। यहाँको राजनीति गाउँको चिया पसल तथा चोक र गल्लीमा पुगेको हुन्छ। नेतादेखि कार्यकर्तासम्म दशैँमा गाउँमै पुगेका हुन्छन्। तिनीहरुसँगै प्लेन वा गाडी चढेर राजनीति थोरै समयका लागि भए पनि ग्रामीण इलाकामा पुग्छ। अर्को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको काठमाडौँको सामाजिक भावना नै गाउँ जान्छ। दशैँको बेलामा काठमाडाँैको समाज एक आपसमा अन्तर्क्रिया गर्दैन। यदि गर्यो भने पनि निकै कम गर्छ। काठमाडाँैमा सामाजिक भावना तथा एकता कत्तिको छ भन्ने अध्ययन गर्ने हो भने दशैँको चार दिन अध्ययन गर्यो भने वास्तविक तस्बिर अगाडि आउँछ। यहाँको समाज अन्तर्क्रिया गर्दैन। आफ्नो कोठा वा आफ्नो प्ा्क्ल्याट वा आफ्नो घरबाट बाहिर निस्कँदैन। यहाँको समाजलाई जीवन्तता दिने, अन्तर्क्रिया गर्ने, सामाजिक बन्नका लागि प्रेरित गर्ने भनेको त्यही गाउँबाट आएकाहरुले हो। जुन गाउँलेहरु दशैँ मनाउनका लागि गाउँमा फर्किंदा काठमाडाँैले अन्तर्क्रिया तथा छलफल गर्न भुल्छ वा गर्न जान्दैन। 
तेस्रो पक्ष भनेको काठमाडौँले सधैँभरि आफ्नो जनसंख्या धेरै भएको घमण्ड र दम्भ गर्छ र त्यसैअनुसारको केन्द्रीय बजेटमा हिस्सा खोज्छ। काठमाडौँले आफ्नो जनसंख्या करिब ५० लाख भएको दाबी गर्दै आएको छ। नेपालको जनसंख्या तथा बसाइँ सराईको परिभाषाअनुसार त्यो सही नै होला। किनकि यो परिभाषाले ६ महिनाभन्दा बढी समय कुनै स्थानमा बसोबास गर्यो भने त्यसलाई बसाइँ सराई मान्छ। तर दशैँको समयमा हेर्दा काठमाडाँैको खास जनसंख्या कति हो भन्ने स्पष्टसँग देखिन्छ। भौतिकरूपमा मानिस यहाँ बसे पनि अलिकति फुर्सद पायो भने राम/रमाइलो गर्नुपर्यो भने अनि परिवारका सदस्यहरु भ्ोटघाट गर्नुपर्यो भने त्यो मानिस गाउमै पुग्न चाहन्छ। यसले स्पष्ट पार्छ कि काठमाडौँको खास जनसंख्या यसले दाबी गरेको जस्तो संख्यामा छैन। भावनात्मकरूपमा बस्नेको संख्या त झनै कम छ। यसलाई भुल्न मिल्दैन। 
चौथो पक्ष भनेको अहिलेसम्म काठमाडौँले आफ्नो विकास भए देशकै विकास हुने दलिल पेस गरिरहेको छ। यो आफैँमा गलत छ। दशैँको चारदिने बिदाले स्पष्ट पार्छ काठमाडाँैको विकासले मात्र समग्र देशलाई बोक्न सक्दैन, समग्र देशको रूपान्तरण र आर्थिक प्रगतिको सूचक बन्न सक्दैन। केही समयअगाडि पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँको सडक फराकिलो पारेर नयाँ नेपाल अभियानको सुरुवात गरेको बताएका थिए। काठमाडौँको सडक ठूलो पारेर दुर्गम गाउँघरका नागरिकलाई के फरक पर्यो? काठमाडाँैको सडक सुविधा सम्पन्न पारेर के गाउँघरको सडक दुर्घटनालाई घटाउन सकियो र? काठमाडौँको सडक फराकिलो पारेर त्रिशूलीको साँघुरो सडकमा गाडी जुध्नबाट रोक्न सकियो र? सकिएन। त्यसो हो भने देशको विकास गर्ने सन्दर्भमा काठमाडाँैको विकासलाई मात्र दिमागमा राखेर योजना बनाउने प्रक्रियामै गम्भीर त्रुटि छ। एक तथ्यांकअनुसार नेपालको कुल बजेटको करिब ६० प्रतिशत काठमाडौ उपत्यकामा मात्र खर्च हुन्छ। के यो मोडलको विकासले देश रूपान्तरण हुन सक्छ? यदि समग्र देशकै प्रतिनिधित्व गर्ने काठमाडाँैको चाहना हो भने अब ठूलो मात्राको बजेट यहीँ खर्च हुनुपर्छ भन्ने हठ पनि उसले छोड्न सक्नुपर्छ। 
पाँचौँ पक्ष भनेको नेपालको दुर्गम गाउँको विपन्नता काठमाडौं अनि काठमाडौंजस्ता सहरहरुको विभेदको उपज हो। समाजशास्त्री माइकल लिप्टन संसारभरको ग्रामीण विपन्नता सहरी विभेदले सिर्जना गरेको दुखद् परिणाम हो भन्छन्। लिप्टनका अनुसार सहरले जहिले पनि ग्रामीण क्षेत्रलाई विभेद गर्छ। सहरले गाउँलाई शोषण गर्छ। यही शोषण र विभेदको ढाडमा टेकेर सहर समृद्धिको बाटोमा अगाडि बढ्छ भने ग्रामीण क्षेत्र गरिबीको दुष्चक्रमा फस्छ। नेपालको दुर्गम गाउँको विपन्नता र काठमाडाँैको सम्पन्नतालाई यही दृष्टिकोणबाट हेर्न सकिन्छ। सहर र गाउँमा उत्पादनको मूल्यमा हुने फरकपना, सहर र गाउँको ज्यालामा रहेको असमानता, स्रोत विनियोजनमा भएको विभेद तथा क्रमशः घट्दै गएको कृषि क्षेत्रको बजेट र अनुदानजस्ता कारणले गाउँमा विपन्नता बढेको छ भने सहरले दम्भ गर्ने ठाउँ पाएको हो। यो सहरी विभेदको मूल जरोलाई पहिचान गरेर यसको उन्मूलनमा काठमाडौँले नै गाउँलाई सहयोग गर्यो भनेमात्र समग्र देशको प्रतिनिधित्व गर्न सक्ने सामर्थ्य यसले बोक्छ। 
यस वास्तविकतालाई आत्मसात गरेर काठमाडाँैले आफूलाई केन्द्रमै राखिराख्नका लागि केही यथार्थता र वास्तविकता छिटो सम्बोधन गर्न तयार हुनुपर्छ। पहिलो आफूसँग भएको अधिकार सकेसम्म धेरै र सकेसम्म छिटो विकेन्द्रीकरण गर्न तयार हुनुपर्छ। संघीयताको माग र संवैधानिक व्यवस्थालाई यदि काठमाडौँले रोकिराखेको वा अल्झाइरहेको हो भने यो उसका लागि दुर्भाग्यपूर्ण हुन्छ। काठमाडौले आफ्नो अधिकार तथा शक्ति दुर्गम गाउँबाट “नासो” लिएको हो। गाउँको नासो गाउँलाई नै छिटोभन्दा छिटो फिर्ता गर्दा उसका लागि राम्रो हुन्छ। यसैगरी काठमाडौँले अधिकारमात्र होइन आर्थिक विकेन्द्रीकरणका लागि पनि उदार हुनुपर्छ। पैसाबिनाको शक्तिले गाउँलाई झनै धेरै आक्रोशित र आन्दोलित बनाउँछ। यसले झनै थप समस्या ल्याउने सम्भावना हुन्छ। त्यसैले काठमाडौँले आफ्नो दम्भ छाड्न तयार हुनुपर्छ किनकि अब समग्र देश काठमाडौँले मात्र बोक्न सक्दैन, प्रतिनिधित्व गर्न सक्दैन।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस