नयाँ र मौलिक संविधान आधुनिक राष्ट्रको प्रतीक हो। वर्तमान विश्वका अधिकांश राष्ट्रको स्थापना संविधान लेखन प्रक्रियाबाट भएको छ। संविधानले दिएको राज्य र नागरिकताको परिभाषालाई आधार मानेर राज्यले कानुन बनाउँछ।
संविधानमा आधारित रहेर बन्ने कानुनले समाजमा विद्यमान असन्तुलनका बीचमा सन्तुलन स्थापना गर्न सघाउँछन्।
संविधान निश्चित प्रक्रियाको उपज हो। तसर्थ, संविधानविद्हरूले कुनै मुलुकको शासकीय चरित्र वा राजनीतिक संस्कार तथा संरचना बु‰न त्यहाँको संविधान निर्माण प्रक्रियाको अध्ययन गर्ने गर्छन्। जर्मनी र संयुक्त राज्य अमेरिकाका बिल्कुल पृथक संविधान निर्माणका प्रक्रियाले ती देशका पृथक ऐतिहासिकता र राजनीतिक संस्कारलाई पनि धेरै हदसम्म चित्रित गर्नसक्छन्। केन्या र बोलिभियाले संविधान लेख्ने प्रक्रियामा भोगेका कठिनाइको अध्ययनले ती मुलुकका सामाजिक तथा राजनीतिक संरचनामा रहेका अन्तर्विरोध धरै हदसम्म बु‰न सकिन्छ ।
यस मान्यतालाई आधार मानेर नेपालको इतिहासदेखि हालसम्मको संविधान लेखन प्रक्रिया केलाउँदा विभिन्न रोचक निष्कर्ष निकाल्न सकिएला। तीमध्ये एउटा हुनसक्छ – विगतका ६ ओटा संविधानको असफलता राष्ट्र निर्माणको लक्ष्यमा नेपालले सामना गर्नुपरेका चुनौतीका प्रतिविम्ब थिए।
संविधान लेखन प्रक्रिया नेपालमा राणाहरूको जहानियाँ शासनबाट सुरु भयो। विसं २००७ सालको राजनीतिक परिवर्तनपछि सहभागितामूलक संविधान लेख्ने प्रयास पनि भएको हो। महेन्द्रले लागु गरेको पञ्चायती संविधान र २०४६ पछिको संविधान प्रभावका हिसाबमा उल्लेख्य रहे। यसबीचमा २ अन्तरिम संविधान पनि जारी भएका हुन्। यद्यपि, यी कुनै संविधान राष्ट्र निर्माणको लक्ष्यमा सार्थक बन्न सकेनन्।
विगतमा विभिन्न समयमा जारी गरिएका र कालान्तरमा अस्वीकृत भएका संविधानहरूमा एउटा मूलभूत समानता पाउन सकिन्छ — त्यो हो दूरदर्शिताको अभाव। राणा प्रधानमन्त्री तथा शाह राजाहरूले जारी गरेका संविधान आफैंमा प्रवृत्तिका आधारमा निरंकुश र अलोकतान्त्रिक थिए। लोकतान्त्रिक भनिएका संविधानमा पनि समाज र विश्वमा आएका परिवर्तनसँगै तिनका प्रावधानलाई आवश्यक परिमार्जन गर्ने ...स्पेस' उपलब्ध थिएन। विगतका कुनै संविधानले गतिशीलताको मान्यतालाई पूर्णरूपमा आत्मसात गर्न सकेनन्।
यस अर्थमा विगतका सबै संविधानको असफलतालाई तिनमा अन्तर्निहित सीमितताका आधारमा व्याख्या गर्न सकिन्छ।
तर, विगतका संविधानको असफलताको अर्को पाटो पनि छ जसलाई हामीले अहिलेसम्म बेवास्ता गरेका छौँ। त्यो हो – संविधानको मूल्य र यसको सान्दर्भिकताका बारेमा हामीमा विद्यमान भ्रम। नियमित कानुनी र राजनीतिक प्रक्रियाबाट समाधान हुनसक्ने र गरिनुपर्ने समस्याको बोझ संविधानलाई बोकाउने हाम्रो चाहना संविधान लेखन प्रक्रियाको चुनौती बन्नगएको छ।
सरकार र माओवादी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण रूपान्तरणको माध्यमका रूपमा नयाँ संविधान लेखन प्रक्रियाले नेपालको राजनीतिमा स्थान पाएको हो। दोस्रो जनआन्दोलन र मधेस आन्दोलनमार्फत् एकात्मक र केन्द्रीकृत संरचनाका ठाउँमा संघीय प्रणाली र समावेशी राज्यसंरचना स्थापना गर्ने विषय स्थापित भए। यी सबै विषयलाई मुलुकको भावि राजनीतिक संरचनामा समावेश गर्न गणतन्त्र र धर्मनिरपेक्षता राज्यका निर्देशक सिद्धान्तका रूपमा अपनाउने राजनीतिक सहमति कायम भयो। सशस्त्र द्वन्द्वमा संलग्न माओवादीको शान्तिपूर्ण राजनीतिमा अवतरणका क्रममा मुलुकको राजनीतिक संरचना र राज्यको चरित्रमा आएको यो परिवर्तनलाई कम आँक्न मिल्दैन। नेपालको अहिलेको संविधान लेखन प्रक्रियाले यी उपलब्धिलाई संस्थागत गर्ने उद्देश्यमा केन्द्रित रहेर आधारभूत राजनीतिक दस्तावेजका रूपमा भावि संविधानको नक्सा तयार पार्न सक्नुपर्थ्यो।
अहिले समग्र देशलाई छटपटी र हताशाले घेरेको छ। एकातिर सामान्य मानिसमा अन्य मुलुकका तुलनामा देशको विकास हुन नसकेको छटपटी छ भने अर्कोतिर संविधान बनाउने र शान्ति ल्याउने नाममा वर्षौं वर्ष मुलुक गतिहीन भएर बसेकोमा हताशा छ। राजनीतिक अन्योल र अस्थिरताको मार सबैभन्दा बढी विपन्न वर्गलाई परेको छ र तिनका लागि दैनिक जीवन धान्ने काम दिनानुदिन कष्टकर बन्दै गएको छ। नेपालको अहिलेको आवश्यकता राजनीतिक सहमतिको संक्षिप्त संविधान जारी गर्ने र मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने हो।
तर, दुःखका साथ भन्नुपर्छ निर्धारित समयमा नयाँ संविधान लेखिने र मुलुक शान्ति र विकासको मार्गमा अघि बढ्ने नेपालीको चाहनामा तुषारापात भएको छ। राजनीतिक नेतृत्व संविधान लेखनको कसीमा असफल प्रमाणित हुँदैछ।
दोस्रो जनआन्दोलनको समाप्तिसँगै संविधानलाई अतिरञ्जित ढंगले अर्थ्याउने काम सुरु भएको हो। त्यसबेला २०४७ को संविधानलाई देशका सबै समस्याको कारकका रूपमा व्याख्या गर्ने र नयाँ बन्ने संविधानले मुलुकका सबै वर्ग, जाति, क्षेत्रका सम्पूर्ण समस्या स्वतः समाधान गरिदिने माध्यमका रूपमा प्रचार गरियो। सर्वसाधारण नेपालीमा नयाँ संविधान आएपछि जनजीविकादेखि राष्ट्रको विकाससम्मका सबै चुनौती समाप्त भएर जाने सपना बाँडियो।
गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिता आदि सबै माध्यम मात्र हुन् र हाम्रा वास्तविक समस्याको समाधानका लागि यी माध्यमको उपयोग गर्दै राजनीतिक र आर्थिक सुधारका प्रयत्न गर्नु आवश्यक हुन्छ भन्ने विषयमा राजनीतिक नेतृत्वले न आफूलाई प्रशिक्षित गर्न सक्यो न जनतालाई नै यस विषयमा स्पष्ट पार्योा। जनसाधारणमा मात्र नभएर संविधान सभाको हलभित्र संविधान लेख्न चुनिएका अधिकांश प्रतिनिधिमा संविधानलाई साध्यका रूपमा बु‰ने प्रवृित्त व्याप्त छ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता नेपालका लागि क्रान्तिकारी र सकारात्मक परिवर्तनका माध्यम अवश्य हुन्। तर, हाम्रो राजनीतिक नेतृत्वले नबुझेको कुरा के छ भने गणतान्त्रिक मुलुक निरंकुश पनि छन्, संघीय मुलुक गरिब र अविकसित पनि छन् र धर्मनिरपेक्ष मुलुक साम्प्रदायिक द्वन्द्वको चपेटामा परेका पनि छन्। क्रान्तिकारी राजनीतिक परिवर्तन आफैँमा विकास वा समृद्धिको सूचक होइन। संविधान जतिसुकै प्रगतिशील र अग्रगामी भए पनि यसले दिने भनेको मार्गदर्शन हो। समृद्धिको बाटो तय गर्ने काम संविधान लागु भएपछि बल्ल आरम्भ हुने हो, अन्त्य हुने होइन।
नेपालका सन्दर्भमा संविधान निर्माता, नागरिक समाज र बुद्धिजीवीको ठूलो हिस्सा भने यो कुरा स्वीकार गर्न तयार छैन। उनीहरू चाहन्छन् अहिलेको संविधान निर्माण प्रक्रियाले सुदूर इतिहासदेखि सुदूर भविष्यसम्मका सबै हिसाबकिताबको छिनोफानो गरोस्। टोलबस्तीदेखि सिंहदरबारसम्मको हैसियत परिभाषित होस्। हरेक नागरिकका जन्मदेखि मृत्युपर्यन्तका सबै अधिकार संविधानका पानाभित्रै समेटिउन्। विकासको मार्गचित्र त्यहीँ कोरियोस्। वैदेशिक सम्बन्ध र व्यापार नीति संविधानले नै व्याख्या गरिदेओस्। भविष्यमा बन्ने सरकार वा निर्वाचित संसद्ले संविधानको परिपालनामात्र गरे पुग्छ।
उद्विकासवादको सिद्धान्तमा प्रयोग गरिने आइरिस एल्क नाम गरेको जरायोजस्तो जनावरको प्रसंग निकै रोचक छ। आजभन्दा झण्डै १० हजार वर्ष पहिले युरोपमा उल्लेख्य संख्यामा रहेको यो जनावर एकाएक लोप भएर गएको पुरातात्विक उत्खननले देखाएका छन्। धरै जीवशास्त्री तथा वैज्ञानिकको अनुमानमा यो जनावर कालान्तरमा आफ्नै सिंङ भारी भएर लोप भएको थियो।
संविधानसँग जोडिएका हाम्रा अपेक्षा भारी भएर संविधान निर्माणको प्रक्रिया पनि आइरिस एल्कको अस्तित्वझैँ असफल हुने हुन् कि भन्ने आशंका झन्झन् बढिरहेको छ।