आध्यात्म र नेपालको राजनीति
३० भदौ २०७१
•
१६ मिनेट पाठ
आध्यात्म र नेपालको राजनीति
राष्ट्रपति कार्यालयमा भाद्र २७ गते शक्रबार दिउँसो एउटा रोचक र आकर्षक कार्यक्रममा भूचन्द्र वैद्यको 'भगवद् गीता' नामक पुस्तक राष्ट्रपतिबाट विमोचन गरियो। भगवद् गीताका संस्कृतका मूल श्लोक, रोमनमा लिपि रुपान्तर, नेपाली र अंग्रेजी भाषामा भावानुवाद गरिएको पुस्तकमा मन्त्री महेश आचार्य, केदारभक्त माथेमा र प्राध्यापक कृष्ण खनालले मन्तव्य व्यक्त गरेका थिए।




राजनीति र प्राज्ञिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको विचारबाट उपस्थित श्रोताको मन केही समय शान्त भएको थियो। कार्यक्रम सुरु हुनुअघि भएको सामान्य कुराकानीमा देशले यसपटक संविधान पाउँछ भन्ने नेताहरूको भनाइ पत्याउन कोही तयार थिएनन्। तर नेपालको वर्तमान राजनीतिलाई पटक्कै नसुहाउने परिवेश र प्रस्तुति थियो कार्यक्रमका वक्ताको। गीता दर्शनबाट उत्पन्न वैराग्यबीच आत्मा र शरीरको सम्बन्ध , निष्काम कर्म र कर्तव्यबारे मन्तव्य अनि गीताबाट प्रेरणा लिएका महात्मा गान्धी र कृष्णप्रसाद भट्टराईको सम्झना भयो। म को हुँ? किन र कहाँबाट पृथ्वीमा आए र मृत्युपछि कहाँ जान्छु भन्नेजस्ता गहन विषयमा गीताको ज्ञान कार्यक्रममा प्रवचनको विषय बन्यो। 
कार्यक्रममा व्यक्त विचारबाट विगत पैसठ्ठी वर्षमो नेपालको राजनीतिक इतिहासमा कृष्णप्रसाद भट्टराईबाहेकका अरू प्रधानमन्त्री आध्यात्मिक नभएर भौतिकवादी रहेछन् भन्ने बुझिन्थ्यो। भट्टराई विषयहरूको आग्रहसाथ अर्थात् कसैलाई निषेध नगरी पूर्वीय चेतनाबाट राजनीतिलाई बुझ्ने सामर्थ राख्थे। भट्टराईका नेता बिपी कोइरालाको व्यक्तित्व कार्ल मार्क्स र पश्चिमा लोकतन्त्रबाट प्रभावित भएको बीपी आफैँले स्वीकार गरेका छन्। पूर्वीय दर्शनका ज्ञाता भए पनि बीपी कोइरालाको निजी जीवन र राजनीतिक विचारमा पश्चिमा प्रभावको गहिरो थियो। यद्यपि, आर्थिक विकासको प्रारूपमा बीपी गान्धीको विचारबाट प्रभावित थिए। 
व्यक्तिको स्वतन्त्रता बीपीको मूल चिन्तन रह्यो। व्यक्तिले स्वतन्त्र विचरण गर्ने पूर्वीय दर्शनलाई ब्रह्मज्ञान वा ऋषिमन भनिन्छ। यहाँनेर भने बीपीलाई पूर्वीय दर्शनको नगिच पाउन सकिन्छ। अर्कातिर, नेपालमा लामो समय शासन गरेको राजतन्त्र र राणातन्त्र हिन्दुधर्मका छद्मभेषी रक्षक र पालक थिए भन्ने प्रशस्तै उदाहरण छन्। यी दुवै वंशका शासकले कहिल्यै पनि आध्यात्मिक चेतनाबाट राजकाज चलाएनन्। राणा आफ्नो परलोक सुधार्न चाहने धर्मभीरु प्रवृत्तिका शासक थिए भने राजतन्त्रमा त त्यसको पनि अभाव थियो। राजदरबार हत्याकाण्ड नै राजपरिवारमा व्याप्त चरम भौतिकवादी जीवनशैलीको परिणाम हो। 
राजनीतिक नेतामा अध्यात्मको अंश भएमा देशले विकासको गति लिनसक्छ भन्ने विश्वासका साथ माथिका कुरा अगाडि राखेको हुँ। तर कस्तोलाई आध्यात्मिक राजनीतिक नेता भन्ने विषयमा गहन छलफल हुनसक्छ। जस्तो भारतमा भयो। भारतमा स्वतन्त्रतापछि दुई दशक एकछत्र राज गर्ने जवाहरलाल नेहरु र पछि इन्दिरा गान्धीभन्दा सामान्य भारतीयको जीवन पीभी नरसिंह राव र अटल विहारी वाजपेयीको प्रधानमन्त्री कालमा समृद्ध भयो। यी दुवै धर्म प्रचारक थिएनन् तर आध्यात्मिक थिए, लोककल्याणमा यिनको विश्वास थियो। राव र वाजपेयी दुवै निःस्वार्थ कर्ममा विश्वास राख्थे। 
व्यक्तिको स्वतन्त्रतामा बन्देज गर्नेदेखि समाजवादको नाममा राज्यमाथि प्रकारान्तरले कर्मचारीतन्त्रप्रति निर्भरता बढाउनेजस्ता काम भारतमा नेहरु र इन्दिराको समयमा भयो। नेहरुले भारतको लोकतन्त्रको रक्षा गरे। किनभने उनी बेलायतमा पढेका र बढेका थिए जहाँ लोकतन्त्रले समृद्धि र वैभव थुपारेको उनले देखेका थिए। तर भारत निर्माणमा उनी चुके। बेलायतको राजनीतिक प्रणाली र सोभियत रुसको आर्थिक पद्धतिको दुविधाग्रस्त मानसिकता नेहरु र भारतको लागि घातक प्रमाणित भयो। व्यक्तिको स्वतन्त्रताको सार्थकता राजनीतिकमात्र होइन आर्थिक गतिविधि पनि गर्न पाउनुमा मात्र हुन्छ। तर जवाहरलाल नेहरु र इन्दिराबाट आर्थिक स्वतन्त्रतामा बन्देज लगाइयो। 
भारतले राजनीति पद्धति र आर्थिक विकासको 'फाइन ट्युनिङ' गर्दैछ अहिले। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक छन् तर कर्मकाण्डी छैनन्। आध्यात्मिक छन् तर परलोक सुधार्न लागिपरेको देखिँदैन, आफ्नै जीवनकालमा भारत समृद्ध बनाउन चाहन्छन्। त्यसैले उनी २०२२ सम्म समृद्ध भारत बनाउने सपना देख्छन्। मोदी पूर्वजन्मको फल भनेर पुर्पुरोमा भरपर्ने सोचका देखिँदैनन् बरु गीताको कर्मयोगमा विश्वास गर्छन्। बीपी कोइराला ठीक यस्तै देखिन्छन् २००४ सालमा मोहनशम्सेरसँग कुरा गर्दा। तर अहिले बीपी कोइराला होइन उनैका शिष्य सुशील कोइराला नेपालका प्रधानमन्त्री छन्। तसर्थ उनकै चर्चा गरौँ। 
भारतमा आत्मविश्वासले भरिएका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री सुशील कोइरालाबीच थुप्रै विषयमा समानता छ। तर, मूलभूत पक्षमा भने यी दुई जना नदीका दुई किनाराजस्ता देखिन्छन्। मोदीले राजकाजबाट नातागोता र आफन्तलाई टाढा राखे। अरू मंत्री पनि मोदीकै आदेशबाट आफन्तलाई राजकाजबाट टाढा राख्न बाध्य भए। सुशील कोइराला अविवाहित भए पनि आफन्तको मात्र भर परेको गाइँगुइँ राजधानीमा छ। थाहा छैन उनका आफन्त को को हुन् र ती कहिलेबाट आफ्ना भए?
महाभारत आफन्तबीचको युद्ध थियो। अर्जुन आफन्तसँग युद्ध गर्नुपर्दाको पीडामा थिए। 'सबै आफन्तलाई मारेर कसको लागि राज्य जितौँ? ' अर्जुन सोध्छन् कृष्णसँग। अर्जुनलाई राज्य जित्नु छ तर आफन्तलाई देखाउन, तिनलाई मारेर होइन। व्यक्तिको पीडा र प्रतिस्पर्धा आफ्नो यश र कीर्तिभन्दा आफन्तसँग हुन्छ। गीतामा यस्ता मनोवैज्ञानिक तत्वज्ञान भेटिन्छ सामान्य पाठकका लागि। तर राष्ट्रपति कार्यालयमा गीता विमोचन हुँदा प्रवचनमा यस्तो विषय सुनिएन। नेपाली राजनीतिको समस्याको चुरो यही मनोविज्ञानमा छ। 
अब प्रधानमन्त्री सुशील कोइरालालाई उदाहरणका रूपमा हेरौँ। सबैलाई प्रधानमन्त्री कोइरालाको सबै थोक कांग्रेस पार्टी हो, पार्टीका कार्यकर्ता हुन् अनि लोकतन्त्रका् संस्थागत विकास हो भन्ने लाग्थ्यो। कोइराला पूर्वीय दर्शनमा वर्णित व्यक्ति र परिवारभन्दा समाज र राष्ट्र ठूलो हुन्छ भन्ने प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेको बुझिन्थ्यो, बुझिन्छ। उनी गृहस्थाश्रम प्रवेश गर्न नरुचाएका देश र जनताप्रति समर्पित सरल विचारकजस्ता लाग्थे। तर प्रधानमन्त्री कोइराला फरक देखिए किन? प्रधानमन्त्री कोइरालाले पूर्वीय दर्शनबाट दीक्षित र प्रशिक्षित हुने अवसर पाएनन्। प्रधानमन्त्रीमा सामान्य पूर्वीय दर्शनकोे ज्ञान र सुझबुझपूर्ण चिन्तन भएको भए भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सय दिनमा दसौं मंत्रीको कामबाट असन्तुष्ट भएर नसिहत दिए झैँ कोइरालाले नेपालमा अहिले भएका मन्त्रीलाई धेरै पहिले सचेत गराएको नेपाली जनताले सुन्थे होलान् । आफन्तहरू नगिच गएर हैरान बनाउन सम्भवै हुने थिएन। 
नेपालको राजनीतिक क्षेत्र उराठलाग्दो देखिन्छ। आकर्षक वक्ता र समयमा काम गर्ने कला नेपाली राजनीतिमा दुर्लभ हुँदैगएको छ। दोस्रो संविधान सभाले पनि बिस्तारै पहिलो संविधान सभाकै नियति बेहोर्दै गरेको देखेरमात्र यस्तो भन्नुपरेको होइन। सम्पूर्ण राजनीतिक क्षितिज नै डरलाग्दो र उकुसमुकुस वातावरणबाट गुजि्ररहेको छ। बर्टे्रन्ट रसेलले भनेजस्तो राजनीतिमा असल व्यक्तिले खराब व्यक्तिका लागि कुर्सी खाली गर्छ भन्ने कथन नेपाल पुष्टि हुँदैछ। बिस्तारै पुराना, त्यागी र राजनीतिमा निरन्तर टिकेका पुस्ता समाप्त हुँदैछन् । स्वभाविकरूपमा नयाँ पुस्ताले तिनलाई विस्थापित गर्दैछन्। तर कस्तो छ त नयाँपुस्ता? अनि कहाँ तयार हुँदैछन् देशको जिम्मेवारी लिने नयाँ राजनीतिक युवा? 
महेश आचार्य, केदारभक्त माथेमा र कृष्ण खनालले आफ्नो विधाभन्दा फरक विषय भए पनि राष्ट्रपति निवासमा गीताबारे उच्चकोटीको प्रवचन दिए । राष्ट्रपति स्वयम्ले पटकपटक आफूलाई विद्वान्हरूका बीचमा पाउँदा गीताको कर्मयोग बारे केही सिक्ने मौका मिल्यो भने। तर गीता प्रवचनमा प्रभावकारी यी तीन जना विद्वान्जस्तै राजकाजमा र आफ्नो विषयमा अनुभव र ज्ञान भएका प्राज्ञको समय योग्य युवा पुस्ता निर्माणमा कति लागेको होला? त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विभाग बन्दजस्तै छ। युवा पुस्ता आकर्षित छैन राजनीति पढ्न। देश सुहाउँदो अर्थराजनीतिको निर्माण नभएर नेपाल अन्तर्राष्ट्रिय दाता र वित्तीय संस्थाको प्रयोगशाला भएको पनि धेरै भयो। अनी त्यस्तै त्रिभुवन विश्वविद्यालयको शिक्षा र शैक्षिक वातावरण लज्जास्पद अवस्थामा पुगेको छ। राजनीतिमा अनभिज्ञ र पुँजी निर्माण र परिचालनमा शून्य ज्ञान भएको अहिलेका युवाबाट एक्काइसौँ शदाब्दीको सोच भएको गतिशील नेतृत्व देशले पाउला र? सम्भवतः विदेशमा पढिरहेका उच्च मध्यमवर्गका सन्तान र कुलीन परिवारले भोलिको नेपालको राजनीति कब्जा गर्ने आधारभूमि निर्माण हुँदैछ अहिले। 
वास्तवमा नेपालमा दुई दशकदेखि राजकाज र विभिन्न निकायमा नेतृत्वदायी भूमिका खेलेका धेरै व्यक्ति अब ऋषिमन लिएर युवा पुस्ता तयार गर्न लाग्नुपर्ने हो। उनीहरूसँग देशको सफलता र असफलताको ज्ञान एवं अनुभव छ। कृष्ण खनाल र महेश आचार्यले नैतिक शक्तिसहितको अर्थराजनीतिलाई अगाडि बढाउन सक्ने युवापुस्ता तयारीमा लाग्ने समय आएन र? युवा पुस्तामा ज्ञान र अनुभव बाँड्न हिन्दु समाजले वानप्रस्थको समय तोकेको छ। थुप्रै राजनीतिकर्मी र अनुभवी प्राज्ञ वन प्रस्थान गर्ने वयमा पुगेका छन्। तिनले सत्तामा अझै टाँसिनुको अर्थ हो नेपाललाई धाम्नसक्ने नयाँ नेतृत्व निर्माण नहुनु। अर्थात्, यस्तै रहे संविधान बने पनि देश बन्न सम्भव छैन। देशले धेरै दिएको छ विगतका प्राज्ञ र राजकाजमा बस्नेलाई। अझै पनि राष्ट्रको दोहनमै लाग्दा भावि पुस्ताले पुरानो पुस्ताबाट के ज्ञान लिने? 
गीता हज्जारौँपल्ट पढ्ने करोडौँ मानिस होलान् संसारमा। तर त्यस्तो ज्ञानको के काम जस्ले व्यक्तिको आन्तरिक जीवनमा रुपान्तरण गर्न सक्तैन? राष्ट्रपति निवासमा भूचन्द्रवैद्य गीताबाट आन्तरिकरूपमै रूपान्तरित व्यक्तित्व देखिए। नेपालको राजनीतिमा अध्यात्मको प्रवेश र त्यसको व्यवहारमा प्रदर्शन नेपाल निर्माणको लागि पूर्वसर्त झैँ भएका बेला माथिका तीनजना प्रतिनिधि पात्र हुन पुगे। किनभने यी तीनै जनाको गीता प्रवचनवाट राष्ट्रपतिलाई मात्र होइन उपस्थित सबैलाई प्रेरणा मिलेको प्रतीत हुन्थ्यो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस