चुरे क्षेत्रको वातावरणमा आएको ह्रासले तापक्रम बढेको, कृषि उत्पादकत्वमा ह्रास आएको, भूमिगत जलस्रोत घटेको जस्ता प्रभाव देखिएका हुन् भन्ने एकथरीको मत छ। जसअनुसार हालै भित्री मधेस वा चुरेको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा अल्पवृष्टिका कारण परेको खडेरी अथवा अतिवृष्टिबाट आएको बाढी तथा नदीको धार परिवर्तन र बगरीकरण जस्ता प्राकृतिक प्रकोप पनि चुरे विनाशको कारण बनेको हो।
साथै, चुरेको पर्यावरण बचाउन सकिएमा महाभारतीय पहाडी क्षेत्रमा हुने अतिवृष्टिसमेत क्रमिक वर्षामा परिवर्तन गरी सुनकोशीमा आएजस्तो पहिरो नियन्त्रण गर्ने सम्भावना हुन्छ भन्ने मानिन्छ। यस्तो धारणा राख्ने समूहले चुरेे समस्याको समाधान, मूलतः जैविक एवं वनस्पति विविधतालाई प्राथमिकतामा राखी भौगोलिक तथा भूगर्भिक समस्याका निराकरण र आर्थिक क्रियाकलापको व्यवस्थापन एकीकृत दृष्टिकोणबाट गर्नुपर्छ भन्ने सोच राख्छ। यस लेखमा एकीकृत संरक्षण अवधारणाअन्तर्गत वैकल्पिक उपाय प्रस्तुत गर्ने प्रयास गरिएको छ।
प्राकृतिक वातावरणको विकास
चुरे क्षेत्रमा वन विनासले गर्दा भूक्षय, जलाधारमा स्रोतको कमी, खहरे उत्पत्ति, बगरीकरण, सुक्ष्म जैविक तथा वनस्पतीय विविधताको ह्राससँगै वन्यजन्तुको लोप र पलायन भएको मानिएको छ। यसको रोकथामका लागि प्रारम्भिक चरणमा वन विनाशलाई पूर्ण प्रतिबन्ध लगाई गिट्टी बालुवा निकासीमा वैज्ञानिक नियन्त्रण गरेर प्राकृतिक वातावरणको स्थायित्वका लागि वन विस्तारको सम्भावना रहेका ठाउँमा संरक्षित क्षेत्र किटान गरी विकास गर्नु एउटा विकल्प हुन सक्छ। यसो गर्दा भूक्षय रोक्न चाँडो हुर्किने र तुलनात्मकरूपमा आर्थिक लाभ भएका बोटबिरुवा सीमांकनका रूपमा लगाएर क्रमैसँग प्राकृतिक वन क्षेत्र बिस्तार गर्दै जानुपर्ने हुन सक्छ। प्राकृतिक वन विकासका लागि पुनः पौष्टिक तत्त्वको समाहीकरण तथा प्रांगारिक कार्बनको मात्रा बढाउन सुक्ष्म जीवको विविधताका लागि जैविक मल प्रयोग गर्नु उपयुक्त हुनसक्छ।
यस्ता जैविक मल अत्याधुनिक वैज्ञानिक प्रविधिबाट समिश्रण गर्नाले मिथेन ग्यास उत्सर्जन (कार्बन डाइअक्साइडभन्दा सात गुणा ज्यादा प्रभावकारी हरित ग्यास) मा कमी ल्याउनुका साथै नाइट्रोजन समायोजन बढाउने सम्भाव्यता राख्छ। मिथेन ग्यास उत्सर्जनमा कमी तथा नाइट्रोजन समायोजनले थप हुने बायोमासले बिसर्जन गर्ने कार्बनडाइअक्साइडको मात्राले हरित ग्यास उत्सर्जनमा कमी ल्याई औसत तापक्रम वृद्धि रोकी प्राकृतिक बीज अंकुरण प्रतिशत बढाउने सम्भावना रहन्छ। चुरेको अति संवेदनशील तथा अपरिपक्व माटोलाई खनिजीकरण (मिनरलाइजेसन) तथा स्थायीकरण गर्न आवश्यक बायो फिल्म उत्पादनमा पनि सहायक भई प्राकृतिक म्याटको काम गर्नाले माथिल्लो माटोको क्षयीकरण, चुरेमा सञ्चित ऊर्वरशक्तिको बैंकिङका साथै वर्षातको पानी सञ्चय गरी प्राकृतिक वातावरण विकासमा सहयोगी हुन सक्छ।
स्थानीय पुँजी विकास तथा निगरानी
चुरे क्षेत्रको सर्वांगीण विकासमा सरकारी तथा सुरक्षा संयन्त्र सहायक मात्र हुन्छन् भने स्थानीय जनसमुदायको रेखदेख तथा स्काउटिङको प्रमुख भूमिका रहन्छ। वर्तमान आर्थिक गतिविधि र पुँजी संरचना संरक्षण तथा वन पैदावार एवं गिट्टी, बालुवा आदिको चोरी निकासी रोक्न भन्दा पनि दोहन गर्न फाइदाजनक देखिएकाले चुरेमा अत्याधिक चाप परेको छ। तर चुरेको वैज्ञानिक प्रयोजन गरी उच्च लाभ दिने आर्थिक क्रियाकलापको विकास गर्ने प्रविधि जनसमुदायमा हस्तान्तरण गर्न सकेमा स्थानीयले नै प्रभावकारी संरक्षण तथा संवर्धन गर्न सक्छन्। तसर्थ समुदायलाई कृषि तथा वन पैदावारसँगै पृथक आर्थिक गतिविधिमा संलग्न गराउनाले चुरेसँगको निर्भरता कमी गराई दीर्घकालीन संरक्षण रणनीति विकास गर्न सम्भव हुन सक्छ। खासगरी, तुलनात्मकरूपमा आर्थिक तथा प्राकृतिकरूपले लाभदायी हुने हरित उद्योगका लागि सहायक बोट बिरुवाको विकास गरी आवश्यक कच्चा पदार्थ प्रबर्धन गर्दै दिगो औद्योगिक विकास तथा चुरे संरक्षण हुन सक्छ।
प्रांगारिक कृषिको विकास
चुरेबाट वैज्ञानिक तवरले संकलन गरिएको बायोमासलाई हरित उद्योगमा प्रशोधन गरी बाँकीलाई प्रांगारिक मलमा विकास गर्न सकिन्छ। प्रांगारिक बायोमासले पानी सञ्चय, सुक्ष्म जीवहरुको बिस्तारमा सहयोग तथा बिरुवालाई आवश्यक पर्ने धातु तथा अन्य पोषण सहज उपलब्ध गराउँछ तर बिरुवालाई आवश्यक पोषणलाई दृष्टिगत गर्दा प्रांगारिक मल प्रतिहेक्टर प्रयोग मात्रा अत्याधिक हुने हुनाले आपूर्ति कठिनाई भई रासायनिक मलको निर्भरता कायम नै रहन्छ। साथै अत्याधिक प्रांगारिक मलको प्रयोगसँगै खाद्यान्नमा समाहित हुने धातुको मात्रा बढेमा मेटल टक्सिसिटी हुन सक्नाले हाम्रा कृषि उपजहरु निर्यात एवं उपभोेग्य नहुने सम्भावनाले गर्दा सीमित मात्रामा मात्र प्रांगारिक मल प्रयोग गर्नु उपयुक्त हुन सक्छ।
तसर्थ प्रागंारिकमा समिश्रण गरिने जैविक मलको वैज्ञानिक विकास गर्दै प्रभावकारी मल उद्योग स्थापना गरी रासायनिक मलको निर्भरता न्यून गर्न सकिन्छ। यसरी प्रांगारिक खेतीतर्फ उन्मुख भई कालान्तरमा प्रांगारिक उपज उत्पादन गर्न सकिन्छ। चुरेमा सुक्ष्म जैविक विविधता ल्याउन प्रयोग हुने जैविक मल कृषि प्रयोजनमा पनि प्रभावकारी हुन्छ। यस्ता जैविक मलमा भएका सुक्ष्म जीवहरुको घनत्व बढेपछि यिनले माटोमा भएको पोषण बोटबिरुवालाई प्रदान गर्छन् भने आवश्यक पर्ने नाइट्रोजनीय पोषण वायुमण्डलमा भएको नाइट्रोजन ग्यासलाई समायोजन गर्दै बिरुवामा समाहित गर्छन्। खासगरी इलेक्ट्रोन र हाइड्रोजन उत्पादन गर्ने, वन पैदावारलाई प्रांगारिक बनाउने, नाइट्रोजन फिक्सिङ गर्ने, फोसफोरस सलुबलाइजेसन तथा मेटल मोबिलाइजेसन गर्नेखालका सुक्ष्म जीवहरुको समिश्रण भएको मल विकास गर्नुपर्छ।
ग्रामीण रोजगारी र सामाजिक सद्भाव
चुरे संरक्षण कार्यक्रमको सार्थकता चुरेबाट प्रत्यक्ष र परोक्षरूपमा प्रभावित जनसमुदायको सबल सहभागितामा निर्भर गर्छ। तसर्थ चुरेलाई केन्द्रमा राखेर श्रम सघन उद्योगहरुको स्थापना तथा विकास गरी तिनमा यी जनसमुदायको सहकारी अवधारणाअन्तर्गत स्वामित्व तथा सेयरको व्यवस्था गरेमा जात, धर्म, लिंग, जनजाति, आदीवासी, दलित, भूमिहीन भनी भिन्नता नआई सहअस्तित्वका लागि एकता विकास हुन सक्छ। चुरेसँगको सहअस्तित्वले चुरे वरपर बसोबास गर्ने पहाडी मूल एवं दक्षिणको तराई भागका मधेसी मूलका प्रमुख दुई नेपाली समुदाय तथा यी समुदायभित्रका दलित, महिला, मुस्लिम या सीमान्तकृत समूहलाई आर्थिक मूल प्रवाहमा ल्याई यिनीहरुबीच सामाजिक सद्भाव विकास हुन सक्छ।
प्रविधि विकास एवं हस्तान्तरण
कच्चा पदार्थको उपलब्धताका कारण स्थानीय स्तरमा मात्र सम्भावना हुने उद्योग सञ्चालन गर्न सकिन्छ। त्यसमा संलग्न प्राविधिक जनशक्तिले स्थानीय स्तरमै गई काम गर्नुपर्छ। तर यस्ता जनशक्ति स्थायीरूपले नबस्ने सम्भावना उच्च भएकाले यस्ता उद्योगमा विकास हुने प्रविधि स्थानीय जनशक्तिलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। खासगरी बायोटेक्नोलोजीका प्रारम्भिक प्रविधि, जैविक प्रांगारिक मल उत्पादन, च्याउ खेतीका नवीनतम् उपाय तथा यसको बीउ उत्पादन, बोट बिरुवाका बेर्ना उत्पादनमा आवश्यक टिस्यु (तन्तु) कल्चर, व्यावसायिक खेती, एन्टरप्रिन्युरसिप आदिका प्रविधि हस्तान्तरण हुन्छन्। पँुजी विकास तथा प्रवीधि हस्तान्तरणले गर्दा यी प्रविधिमा आधारित रोग प्रतिरोध क्षमता उच्च भएका कृषि उपज, न्युटि्रसनल सप्लिमेन्ट, प्रोबायोटिक, फिड, फुड सप्लिमेन्ट, डेरी, मासु प्रशोधन आदि एन्टरप्राइजहरुको विकास स्थानीय जनसमुदायबाट नै सम्भव हुन सक्छ।
औद्योगिक विकासको आधारशीला
पुँजी वृद्धिले 'कन्ज्युमरिजम' विकास हुनाले 'कन्ज्युमर प्रडक्ट्स' उद्योगहरु बायोमासमा आधारित ऊर्जा, मिथेन, डिजल, इथानोल आदि उत्पादनले ल्याउने पारबहन इन्धनको लागत कमीले प्रतिस्पर्धी भई विकसित हुन सक्छन्। प्रांगारिक कृषिको विकासले युएसपीयुक्त मिलिङ, फुड/मिट प्रोसेसिङ, फिड उद्योगहरु स्वाभाविकरूपले विकास हुन्छन्। साथै चुरेमा विकास भएको हरित उद्योगको विश्वसनीयताले स्थानीय स्तरमा नै ऊर्जा तथा इन्धन उत्पादन गर्नाले लेबर तथा ऊर्जा सघन स्टिल, सिमेन्ट उद्योगको उत्पादन लागतमा गुणात्मक कमी ल्याउने हुनाले यस्ता नेपाली उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन्।
जनस्वास्थ्य तथा ग्रामीण शिक्षामा विकास
चुरे क्षेत्रमा वृक्षरोपण गर्ने बोट बिरुवा मूलतः सीमान्तकृत माटोमा चाँडो हुर्किने उच्च पौष्टिक तत्त्व भएको विकास गरी मानिस, पशु तथा माछालाई पौष्टिक तत्त्व प्रदान गर्नुपर्छ। यसरी पौष्टिक तत्त्वको प्रयोगले ग्रामीण कुपोषणबाट मुक्त गर्नुका साथै जैविक प्रांगारिक मलको विकाससँगै प्राप्त हुने विषादीमुक्त पौष्टिक आहारले जनस्वास्थ्य तथा बालबालिकाको मस्तिष्क विकासमा टेवा पुर्याउँछ।
स्थानीय स्तरमा नै प्राविधिक तथा अर्धप्राविधिक रोजगारको विकास हुने हुनाले गुणस्तर शिक्षाको आवश्यकता स्थानीयले महसुस गर्नेछन्। आफ्ना सन्तानलाई स्थानीय क्षेत्रमा नै राम्रो शिक्षा प्रदान गर्न स्थानीय स्कुलहरुको विकासमा जनचासो बढी आवश्यक खर्च सहकारीको आम्दानीबाट लगानी गर्न सक्छन्। बालबालिकाको सर्वांगीण विकासका लागि एकीकृतरूपले विकास गरिएको स्कुलहरुमा आकर्षक तलब दिएर सहरी क्षेत्रमा चार पाँचवटा स्कुलमा अध्यापन गराइरहेका दक्ष शिक्षकहरु स्थानीय स्कुलमा ल्याउन सकिन्छ। यसरी जनस्वास्थ्य तथा ग्रामीण शिक्षामा गुणात्मक विकास गरी चुरे संरक्षण अझ प्रभावकारी बनाउन सकिन्छ।