बालकेन्द्रित शिक्षण विधि : गुणस्तरीय शिक्षाको आधार
३१ साउन २०७१
•
१९ मिनेट पाठ
बालकेन्द्रित शिक्षण विधि :  गुणस्तरीय शिक्षाको आधार
शिक्षा मानिसको मौलिक हक स्थापित भइसकेको विश्व सन्दर्भमा नेपालमा मात्र शिक्षा व्यापार र निजी व्यवसायको विषय हुन सक्दैन। शिक्षा त नागरिकको अधिकार र राज्यको दायित्व हो। राज्यको लगानीमा सबै नागरिकले समानस्तरको शिक्षामा पहुँच पाउने अधिकार राख्छन्।शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरभन्दा माथि जान सक्दैन। शिक्षा राजनीतिक विषय हो, दलीय राजनीति होइन। शिक्षण पेशा पवित्र व्यावसायिक हो, राजनीतिको माध्यम र भर्‍याङ होइन। समान शिक्षा पाउनु हरेक नागरिकको अधिकार हो, कसैको दया र मायाको विषय होइन। शिक्षा प्रदान गर्नु राज्यको दायित्व हो, निजी क्षेत्रको व्यापारको विषय होइन। विद्यालय शिक्षकको होइन, विद्यार्थी र अभिभावकको हो। शिक्षाको बजेट उपभोग्य खर्च होइन, उत्पादकत्व बढाउने राज्यको लगानी हो। कुनै व्यक्तिले शिक्षा पायो भने त्यसको फाइदा उक्त व्यक्तिलाई मात्र होइन, समाज र राज्यलाई पनि हुन्छ। शिक्षाको लाभ एक वर्षलाई मात्र होइन व्यक्तिको जीवनभरि र अर्को पुस्तालाई पनि हुन्छ। शिक्षा व्यक्तिगत होइन सामाजिक वस्तु हो। शिक्षालय व्यक्तिगत र निजी होइन, यो त सार्वजनिक सम्पत्ति र संस्था हो। शिक्षा स्थिर होइन, गतिशील र परिवर्तनमुखी हुन्छ। शिक्षाले व्यक्तिलाई मात्र होइन समाजलाई पनि रुपान्तरण गरिदिन्छ। शिक्षा तरबार र बन्दुकभन्दा पनि बलवान छ। शिक्षा जसले प्राप्त गर्‍यो त्यहीसँगै रहन्छ, यसलाई व्यक्तिबाट अलग गर्न, चोेरेर लैजान वा परिवार र दाजुभाइमा भागबन्डा गर्न सकिँदैन। शिक्षा जति अरुलाई दियो त्यति थपिँदै वा बढ्दै जान्छ।
शिक्षा विद्यालय वा विश्वविद्यालयबाट प्रमाणपत्र हासिल गर्दैमा वा त्यसपछि कुनै कार्यालयमा स्थायी जागिर पाउँदैमा सकिँदैन, सम्पन्न हुँदैन। यो त जन्मदेखि मृत्युपर्यन्त चलिरहन्छ। शिक्षा ग्रहण गर्न छोड्यो भने मानिस अल्छी, अपरिपक्व र असान्दर्भिक हुन्छ। शिक्षा निरन्तर चलिरहने प्रक्रिया र चाहिरहने वस्तु हो। शिक्षा विद्यालयको चार भित्ताभित्र हुने पढाइ वा सिकाइमात्र होइन, घरपरिवार, साथीसंगति, सञ्चार माध्यम र  कार्यक्षेत्रमा हुने अन्तरक्रिया, सम्वाद, सहकार्य र अनुभवबाट पनि प्राप्त हुन्छ। सफलताबाट मात्र होइन असफलताबाट पनि शिक्षा लिइन्छ। ठूलाबडा र पढेलेखेका मानिसबाट मात्र होइन, साना भाइबहिनी र लेखपढ गर्न नजान्ने सर्वसाधारणबाट पनि शिक्षा पाइन्छ। शिक्षा पढेरमात्र होइन, सुनेर, देखेर, लेखेर, भनेर, गरेर, सोचेर र सिकाएर पनि प्राप्त गर्न सकिन्छ। यो तथ्य मैले मेरो विद्यावारिधिको अनुसन्धानको क्रममा विद्यालयको बालक्लबमा आबद्ध बालबालिकाहरुले ग्रहण र अभ्यास गरेका व्यक्तिगत, सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक क्षमताका तत्वहरुमा अन्तरनिर्भर भएको पाएँ। बालबालिकामा बालक्लबले ल्याउने संस्थागत उपस्थिति, अन्तरवैयक्तिक सम्बन्ध र अन्तरनिर्भरता, व्यक्तिगत सिप र क्षमता, लोकतान्त्रिक संस्कार र सशक्तीकरणले विद्यालयमा बालमैत्री शिक्षण पद्धति र गुणस्तरीय शिक्षा प्रबर्द्धन गर्न अभिभावक र विद्यालय व्यवस्थापन समितिको आँखा र कानका रूपमा सक्रिय योगदान गर्दोरहेछ।
विद्यार्थी र शिक्षकबीच समाजबारे गरिने अन्तरक्रिया र खोजविन नै शिक्षा हो। समाजको अध्ययन र विश्लेषण नै विद्यार्थीको पाठ्यक्रम हो। शिक्षक त्यसका सहजकर्ता हुन्।  शिक्षक, विद्यार्थी र अभिभावकको समष्टिगत रूप र सहकार्य गर्ने स्थल नै शिक्षालय हो। नेपालका ३४ हजार विद्यालयका कक्षा १ देखि १२ सम्म ७८ लाख विद्यार्थीको अध्यापनमा ३ लाख शिक्षक/शिक्षिका कार्यरत छन्। विद्यार्थीबिनाको विद्यालयको कल्पना पनि गर्न सकिन्न, तसर्थ विद्यालयको मालिक विद्यार्थी हुन्। उनीहरुको चाहना, इच्छा र भावनाको कदर गर्दै विद्यालय सञ्चालन गर्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो। तर उक्त विद्यालयहरुको व्यवस्थापन समितिमा नीतिगत निर्णय गर्दा एक जना पनि विद्यार्थीको सहभागिता छैन। विद्यालयको कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी विद्यार्थी हुन्छन् तर शिक्षकले आफ्नो विचार र निर्णय उनीहरुमाथि लादिरहेका छन्। ५ प्रतिशत जनसंख्याले ९५ प्रतिशत जनसंख्यालाई कजाउने हाम्रा विद्यालयमा के विद्यार्थीले लोकतन्त्रको अर्थ, मर्म र भावनानुरूपको संस्कार, नीति र व्यवहार पाएका छन्? अवश्य छैन। विद्यालयमा विद्यार्थीले लोकतान्त्रिक अभ्यास गर्न पाउँदैनन् भने के उनीहरुबाट घरपरिवार, समाज तथा कार्यथलोमा लोकतान्त्रिक व्यवहारको अपेक्षा गर्न सकिन्छ? अवश्य पनि गर्न सकिन्न। तसर्थ शिक्षा मन्त्रालयले २०६७ सालमा तर्जुमा गरेको गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप तथा मन्त्रिपरिषद्बाट पारित बालमैत्री स्थानीय सुशासन राष्ट्रिय रणनीति, २०६८ र बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९ लाई आधार मानी विद्यालय र कक्षा कोठाका हरेक गतिविधि र निर्णय प्रक्रियामा बालविकास केन्द्रदेखि उच्चतहसम्म बालबालिकाको इच्छा, क्षमता, चाहना र रुचीका आधारमा सहभागी गराउनु हामी सबैको कर्तव्य हो।
शिक्षा बालबालिका र समाजका लागि भएकाले बच्चा, समाज र बजारअनुकूलको पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन पद्धति विद्यालयले अंगाल्नुपर्छ। बालबालिका र समाजले अंग्रेजी मागेको छ। घोकन्ते होइन, सूचना प्रविधि र रोजगारी तथा उद्यमशीलतामा आधारित व्यावहारिक र कामयावी शिक्षा बजारको माग हो। उत्तम सञ्जेलले प्रारम्भ गरेको मासिक १०० रुपियाँमा अग्रेजी शिक्षा प्रदान गर्ने अभियानको सफलता यसैको आधार हो। उक्त विद्यालयहरुमा अझै बालबालिकाको चाहना र सहभागिताले ठाउँ पाएको छैन। विद्यालयका सबै शिक्षकलाई एकै ठाउँमा ल्याएर विद्यालयमा आधारित बालमैत्री शिक्षण विधि तालिम र व्यवस्थापन समितिका सदस्यहरुलाई उक्त विषयमा अभिमुखीकरण गरिसकेपछि कक्षा कोठामा आएको परिवर्तन खोज्दै जाँदा काभ्रे, धादिङ र सिन्धुपाल्चोकका केही विद्यालयका विद्यार्थीको भनाइले चकित बनायो। प्राथमिक तहका विद्यार्थीको भनाइ थियो– पहिलापहिला हाम्रो कक्षामा एक जना शिक्षक पनि पाउन कठिन थियो तर आजभोलि त हाम्रो कक्षामा ३० जना शिक्षक छन्। खोज्दै जाँदा थाहा भयो, ती विद्यालयमा शिक्षक नियमित थिएनन्। शिक्षकहरु विद्यालयमा हाजिर भए पनि कक्षाकोठामा समयमा नै नजाने र चाँडै आफ्नो कक्षा छोड्ने चलन थियो। शिक्षकहरुले भाषण विधि प्रयोग गरी किताब पढाउँथे र पाठमा भएका प्रश्नोत्तर लेखाएर घोक्न लगाउँथे। तर आजभोलि केही विद्यालयमा भाषण विधिको ठाँउमा परियोजना कार्य, सामूहिक छलफल, साथी शिक्षा, समस्या समाधान तथा प्रदर्शन विधिले प्रवेश पाएको रहेछ। तसर्थ कक्षाका हरेक विद्यार्थीले कम्तीमा प्रत्येक पिरियडमा एक मिनेट आफ्नो कुरा भन्ने, बोल्ने र अरुलाई सिकाउने मौका पाँउदा रहेछन्। यसलाई विद्यार्थी केन्द्रित सिकाइ भनिन्छ जहाँ सिकाइको केन्द्रमा विद्यार्थी रहन्छ र सक्रिय हुँदोरहेछ। उक्त विद्यालयहरुमा विद्यार्थीको उत्तीर्ण दर र औसत सिकाइ उपलब्धि आकासिएको छ।
कक्षा कोठामा अस्टे्रलिया र क्यानडाले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन हरेक विषयमा पाँच इ (इन्गेज, एक्प्लोर, एक्सपेरिमेन्ट, एक्प्लान र इभ्यालुएट) को विधि प्रयोग गर्दारहेछन्। यसले विद्यार्थीलाई नै थोरै शैक्षिक सामग्रीको प्रयोगमा बालकेन्द्रित र बालमैत्री शिक्षण सिकाइ क्रियाकलापमा शिक्षकका रूपमा परिचालन गर्न सकिँदोरहेछ। सर्वप्रथम पहिलो इअन्तर्गत हरेक दिन हरेक विषयमा सर्वप्रथम हिजोको पढाइ र सिकाइको समीक्षा विद्यार्थी आफँैले गर्दा रहेछन्। हिजो के सिकियो वा के कठिन भयो पालैपालो सबै विद्यार्थीले बताएपछि अन्तमा शिक्षकले सबै विद्यार्थीले भनेको कुरालाई जोडेर हिजोको पाठको समीक्षा गर्छन्। दोस्रो इअन्तर्गत आज हामीले पढ्ने पाठ के हो? हिजोको पाठसँग यसको के सम्बन्ध छ? पाठको शीर्षकको आधारमा यस पाठले के सिकाउन खोजेको होला भन्दै विद्यार्थीलाई पाठ पढ्न र अन्तरवस्तु खोज्न उत्प्रेरित गरिन्छ। यसले विद्यार्थीलाई जिज्ञासु र अन्वेषक बनाउँछ। तेस्रो इमा विद्यार्थीलाई आ–आफ्नो समूहमा उक्त पाठलाई पालैपालो पढ्ने, अभ्यास गर्ने र उक्त पाठको अर्थ, सिकाइ र भनाइलाई छलफल गर्छन्। चौथो इमा उनीहरुले गरेको परीक्षण, अभ्यास वा पढाइलाई फेरि कक्षामा सबै विद्यार्थीबीच व्याख्या गर्न, भन्न वा सिकाउन लगाइन्छ। पाठको अन्तमा फेरि विद्यार्थीलाई आजको पाठबाट के सिक्यौँ? के बुझ्यौँ? भन्दै उनीहरुको सिकाइको मूल्यांकन र समीक्षा पाँचौ इअर्न्तगत गराइन्छ। शिक्षाविद्हरु यस्तो शिक्षण प्रक्रियालाई निर्माणात्मक शिक्षा वा रूपान्तरणीय शिक्षा भन्छन् जसले शिक्षण सिकाइको केन्द्रबिन्दुमा विद्यार्थी हुन्छन् र शिक्षकको भूमिका सहजकर्तामा मात्र सीमित रहन्छ। शिक्षाविद् कोनेको भनाइमा शिक्षककेन्द्रित भाषण विधि र शिक्षण सिकाइ (सुनाइ, पढाइ, हेराइ) मा विद्यार्थीको सिकाइ उपलब्धि ३० प्रतिशतभन्दा बढी हुन सक्दैन तर बालकेन्द्रित र बालमैत्री शिक्षण विधि (लेखाइ, गराइ, बोलाइ र अरुलाई सिकाइ) ले बालबालिकाको सिकाइ उपलब्धि ९० प्रतिशतसम्म हुन्छ। हाम्रा सामुदायिक विद्यालयहरुको एसएलसी नतिजा (२८ प्रतिशत) ले शिक्षककेन्द्रित शिक्षणविधि विद्यार्थीको सुँगा रटाइको नतिजा हो। शिक्षकहरुले कक्षाकोठामा गर्ने शिक्षण विधि र मूल्यांकन पद्धति (निरन्तर दैनिक तथा साप्ताहिक मूल्यांकन) ले मात्र विद्यार्थीहरुको सिकाइ उपलब्धि र विद्यालयको शैक्षिकस्तर वा मापदण्ड बढाउन सकिन्छ।
यो पाँच इको विद्यार्थी केन्द्रित शिक्षण विधिलाई मैले दुई वर्षदेखि काठमाडाँै विश्वविद्यालयका एमफिल तथा पिएचडीका विद्यार्थीबीच शिक्षाको आधार र परियोजना अनुगमन तथा मूल्यांकन विषयहरुको अध्यापनका क्रममा आफैँ प्रयोग गर्दा सकारात्मक नतिजा प्राप्त भए। हरेक हप्ताको कक्षा प्रारम्भ गर्दा अध्ययन गरिरहेको विषयका बारेमा अघिल्लो हप्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तर एवम् सञ्चारमाध्यमले उठाएका शिक्षाका सवालहरुको छलफलले आफू अध्यापन गर्ने विद्यालयमा बालमैत्री शिक्षक शिक्षण तालिमको आयोजना गरे। गिजुभाइको दिवास्वप्ना किताबको छलफलबाट आफ्ना छोराछोरीको सिकाइमा घरमा समय बढी दिने गरेका छन्। केही प्रधानाध्यापकहरुले निरन्तर मूल्यांकन पद्धति प्रारम्भ गर्नुभयो। केही विद्यार्थीले त आफ्ना छोराछोरीको विद्यालयमा गएर नमुना कक्षा पनि सञ्चालन गर्नुभयो। कक्षागत अन्तरक्रियाका बुँदाहरु समावेश गरी हामी शिक्षा मन्त्री भएको भए शिक्षा सुधारका प्राथमिकताका विषयमा लेखहरु लेख्नुभएको छ। मेरो उक्त अभ्यास र प्रयोगले विद्यार्थीहरुको कक्षाकोठा र कार्यस्थल दुवै ठाँउमा उनीहरुको सोच, दृष्टिकोण, व्यवहार, साथी शिक्षा र सिक्ने बानीमा परिवर्तन आएको छ। कक्षाकार्यका लागि बनाएको साथी समूहलाई आफैँले निरन्तर सिकाइ समूहमा परिणत गरेका छन्।
अरुको विचार र दृष्टिकोणलाई धैर्यपूर्वक सुन्ने, सम्मान गर्ने, विश्लेषण गर्ने र आफ्नो विचार, सिकाइ तथा भोगाइलाई अरुको तर्क र विचारसँग जोड्ने बानीको क्रमशः विकास भएको पाएँ। उनीहरुले उक्त सिकाइलाई आफ्नोे दैनिक जीवनमा एक कुशल प्रश्नकर्ताका रूपमा आफ्ना छोराछोरीसँगको व्यवहार र पढाइमा प्रयोग गर्न थालेको, नयाँ कुरा खोजी गर्ने र सानासँग पनि सिक्न थालेको तथा शिक्षासम्बन्धी छलफल तथा बहसमा उनीहरुको सहभागिता बढ्न थालेको स्पष्ट देख्न सकिन्छ। यसले उनीहरुको सिकाइ उपलब्धि र सहकार्यको संस्कार बढ्को छ। यसबाट म के आशावादी छु भने युनेस्कोले सन् १९९६ मा एक्काइसाँै शताब्दीको शिक्षाका लागि सिफारिस गरेको चार स्तम्भ तथा सक्षमताहरु 'ज्ञान आर्जन, सिप निर्माण, व्यक्तित्व विकास र सहकार्यको संस्कार' ले हाम्रा सबै तहका विद्यार्थीलाई सुसज्जित गर्न सकिन्छ। त्यसो भएमा मात्र हामीले हाम्रो शिक्षा प्रणाली (पाठ्यक्रम, शिक्षण विधि, मूल्यांकन पद्धति र शिक्षालयको सुशासन तथा व्यवस्थापन) लाई विद्यार्थीको चाहना र क्षमता, जीविकोपार्जनमा सक्षम र सफल, समाजको अपेक्षा र बजार सुहाउँदो बनाउन सक्छौँ। यसका लागि नेपालमा तीनवटा कुराको खाँचो र खडेरी परेको छ। ती हुन्– शिक्षकहरुको पेशागत प्रतिबद्धता, विद्यार्थीसहित सबै सरोकारवाला पक्षहरुको शिक्षा प्रणालीमा अर्थपूर्ण सहभागिता र समान गुणस्तरीय शिक्षामा सबैको पहुँच स्थापित गर्न शिक्षामाथिको दलीय राजनीति होइन शिक्षाको राजनीति।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस