मोदीको छायामा नेपाली नेता
१९ साउन २०७१
•
१५ मिनेट पाठ
मोदीको छायामा नेपाली नेता
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको व्यवस्थापिका संसद्लाई गरेको सम्बोधन मैले असी वर्षकी बिरामी आमासँगै घरैमा रेडियोमा सुने। लोडसेडिङका कारण टेलिभिजन बन्द थियो। आमाले रेडियोमा कान टाँसे र सुन्न थाल्नुभएको मोदी प्रवचन अन्त्यसम्म छाड्नु भएन। बीचमा बीबीए पढ्ने मेरी छोरीले पनि मोदीको भाषण सुन्न थालिन् र भाषण समाप्त नहुन्जेल सुनिरहिन्। म चकित भएँ।




राजनीतिक परिवेश र पृष्ठभूमिको भए पनि मेरो परिवारका युवा बृद्ध सबैलाई राजनीतिप्रति अरुचि हुन लागेको लामै समय भएको थियो। यसै पनि नेपालमा मध्यम वर्गीय परिवारका युवा आफ्ना अविभावक राजनीतिमा लागेको देखेर ' देश बिगार्ने यिनै हुन्' भनी आक्रोश व्यक्त गर्छन्। यस्तै सन्तानको भविष्य यस देशमा सुरक्षित नभएको ठानेर कतिपय राजनीतिकर्मी सन्तानलाई विदेश पठाउने उतै घरजम गर्न उक्साउने धुनमा लागेको पनि प्रशस्तै उदाहरण छन्। यसरी धनी, गरिब र मध्यम वर्ग सबैले नेपालको राजनीतिक नेतृत्वबाट आशा गर्न छाडिसकेका बेला छिमेकी देशका प्रधानमन्त्रीले भने पौने घन्टाको संसद् सम्बोधनबाट नेपाली जनताको मुटु नै हल्लाए। मोदी सम्बोधन असामान्यरूपमा सबै नेपालीको प्रिय बन्यो। किन यस्तो भयो होला? 
भारतका प्रधानमन्त्रीको नेपाल आवगमनको पूर्वसन्ध्यामा नेपाली छापा मोदीमय भएका थिए। त्यसैकारण मैले उदारवाद र भूमण्डलीकरणमा पनि कसरी प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीतन्त्रले राज्य संचालन गर्छ भन्ने लेख तयार गरेको थिएँ। नेपालकै सन्दर्भमा कैयौं उदाहरण छन् जस्लाई सूक्ष्मरूपमा हेर्दा देश अझै कर्मचारीतन्त्रको कब्जामा देखिन्छ भन्ने बहस अगाडि ल्याउनुपर्ने मलाई लागेको थियो। तर भारतका प्रधानमन्त्री मोदीको संसद सम्बोधनपछि नेपाली समाजमा उत्पन्न अद्भूत तरंग र अपार आशाका कारण मेरो लेखको विषय बदलियो। 
भारतका प्रधानमन्त्रीले कसरी र किन त्यस्तो प्रभावशाली भाषण दिन सके अनि नेपाली जनताले उनको भाषणमा के पाए र सारा देश तरंगित भयो? 
भारतका प्रम मोदीको वक्तृत्वकला उच्चकोटीको छ। उनको भाषणको शैलीले कृष्णप्रसाद भट्टराईको सम्झना गराउँछ। तर भट्टराई आफ्नो भाषणमा असंगठित र अराजक हुन्थे अधिकांश समय। मोदी संगठित र सुविचारित बोल्छन्। ज्ञानको असीमित भण्डार भएर पनि भट्टराई कहिलै नेपालमा 'मास'को नेता हुन सकेनन्। उता आफ्नो वक्तृत्व कला र इतिहासको जिम्मेवारी बोधबाट मोदीले केही महिनाअगाडि भारतीय जनता पार्टीलाई निर्वाचनबाट सत्ताको शिखरमा पुर्याइए। मोदीको वक्तृत्वकलासँगै अनुहारको तेज, शरीरको भाव भंगिमा र शब्द संयोजनले भारतीयमात्र होइन नेपाली जनताको पनि मुटु छोयो। इतिहास र संस्कृतिको गौरव बखान गर्न मोदी कहिले बिर्सँदैनन् आफ्नो भाषणमा। वर्तमानको शासकीय सुधारमा उनको ध्यान केन्द्रित रहन्छ र त्यसका उपाय उनी अगाडि सार्छन्। स्रोत र साधनको मूल्य अभिवृद्धि गरेर विकासलाई गतिदिने काममा मोदी अब्बल छन्, अनि भावि पुस्ताप्रति अत्यन्त जिम्मेवार भएर आधुनिक विचार प्रस्तुत गर्न सक्छन्।
इतिहास र संस्कृतिको रक्षा र त्यसप्रति गौरव गर्नुपर्छ भनेका कारण मेरी असी वर्षकी आमाले मोदीको भाषण पूरै सुन्नु भयो। म मोदीले दिने विकास र विनम्रताको मन्त्र हाम्रा नेताले सुन्लान् , बु‰लान अनि आफ्नो देशप्रति जिम्मेवार होलान् भनी उनको भाषण सुनिरहेँ। छोरी सायद नेपाललाई 'डिजिटल युगमा' प्रवेश गराउने मोदीमन्त्रबाट प्रभावित भइन्। 
भारतका प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसद् भवन भित्रका पौने छ सय सांसदलाईमात्र हैन सम्पूर्ण नेपाली जनतालाई सम्बोधन गरिरहेको ठानेको देखियो। मोदी सिधा नेपाली जनतालााई सम्बोधन गरिरहेका थिए। हुनत, मोदीको भाषणको केही भाग नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा केन्द्रित थियो तर उनको अधिकांश अभिव्यक्ति मासिँदै गएको नेपाली संस्कृति र सभ्यतालाई पुनर्जागृत गराउने उद्देश्यबाट अभिप्रेरित देखिन्थ्यो। मोदी भाषणमा नेपालप्रति असीम मायामात्र व्यक्त गरेनन् बरु समृद्ध नेपालको सोचप्रति पनि मोदी इमानदारीका साथ प्रस्तुत भए। उनले बुद्ध नेपालका हुन् मात्र भनेनन्, नेपाल सर्वभौमराष्ट्र हो र आफनो देशको निर्णय आफँै गर्न सक्षम छ पनि भने। उनले हिमालय, जनक, बुद्ध, सीता र पशुपतिनाथको स्मरण गरे। ऋषिमनबाट वैदिक शास्त्रको रचना भए झँै नेपालको संविधान पनि त्यही सोच र दूरदृष्टिका साथ गर्न सुुझाए। मोदीले गरिब र गाउँको किसानलाई सम्झे। आफू चिया बेच्नेबाट प्रधानमन्त्रीसम्म भएको पनि बढो चलाखीपूर्ण तरिकाले सम्झाए।
प्रधानमन्त्री मोदीले भारतमा हराएको नेपाली बालकलाई शिक्षित र योग्य बनाएर नेपालमा उनको परिवारलाई जिम्मा लगाए। यसरी महत्वका साथ यस घटनालाई अगाडि सारेर उनले भारत नेपाल सम्बन्धको पारिवारिक पुनर्मिलन भएको सन्देश दिन सफल भए। यही कडीलाई प्रष्टै शब्दमा संसद् सम्बोधनका क्रममा भने– 'अब विछोड र विलापको दुई दशक रहनेछैन'। 
मोदीको भाषणले लठि्ठएको नेपाली समाजलाई झन्डै अढाई दशकअगाडि भारतका नेता चन्द्रशेखरको भाषणले पनि यसरी नै रोमाञ्चित बनाएको थियो। गणेशमान सिंहको नेतृत्वमा नेपालको प्रथम जनआन्दोलनको पृष्ठभूमि तयार गर्ने काममा चन्द्रशेखरको त्यस भाषणको नेपाली जनता अझै पनि स्मरण गर्छन्। उति बेला अहिलेजस्तो सूचना र संचारको विकास भएको थिएन। त्यसैले चन्द्रशेखरको भाषण क्यासेटको रूपमा देशभर वितरण गरिएको थियो। त्यस प्रकारको क्यासेटबाट जनआन्दोलनको तयारी गर्ने कार्य त्यस समयमा कम जोखिमपूर्ण र रोमाञ्चक थिएन। अहिले समय र परिस्थिति फेरिएको छ भने प्रविधि र विज्ञानमा अद्भूत प्रगति भएको छ। त्यही सञ्चार र प्रविधिको विकासलाई माध्यम बनाउँदै नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुन पुगेका हुन्। अहिले नेपाली जनताको घर आँगनमा 'नेता हुनु त यस्तो पो ' भन्ने मान्यता स्थापित गराउन सक्षम भए। 
मोदीको नेपाल भ्रमण सफल रह्यो। नेपाली जनताको मन जित्न सक्यो। उनको भ्रमण दुई देशबीच विश्वासको वातावरण अभिवृद्धि गर्नेमा पनि 'कोसे ढुंगा' भएको देखिन्छ। तर उता भारतमा भने त्यहँाको प्रतिपक्षले नेपालसँग ऊर्जा व्यापार र विकास संझौता हुन नसकेकोमा मोदीको विदेश नीति असफल भएको टिप्पणी गरेको छ। भारतमा प्रतिपक्षले लगाएको आरोप पूरै निराधार र दम नभएको भन्नसक्ने स्थिति भने छैन। वस्तुगत रूपमा भारतीय प्रधानमन्त्रीको भ्रमणमा दुई पक्षीय सन्धि र संझौता केही पनि भएन भने हुन्छ। एकपक्षीयरूपमा भारतका प्रधानमन्त्रीले नेपालको संसद् भवन भित्रबाट केही ठूला र साना घोषणा गरे। तिनको आफ्नो ठाउँमा महत्व भए पनि छात्रवृत्ति बढाउनेजस्ता सहयोगले नेपालका विश्वविद्यालय र कलेजहरू सुधि्रने सम्भावना थम कमजोर हुनेछ। आयोडिनयुक्त नुनजस्तो विषय अब प्रधानमन्त्री तहबाट सम्बोधन गर्नुपर्ने थिएन। यसको सम्झौता त साल्ट ट्रेडिङका कर्मचारी तहबाटै गरिएको भए पनि हुन्थ्यो। 
भारतका प्रधानमन्त्री मोदीको काठमाडौं भ्रमण यहाँका सर्वसाधारणका लागि भने कष्टप्रद भयो। जताततै घन्टौ सवारी जाम भयो। बृद्ध , बालबालिका र महिला सबैले दुख पाए। सम्भवतः त्यही बुझेर हो कि मोदीले सम्पूर्ण सुरक्षा संयन्त्रको पर्वाह नगरी सडकमा ओर्लेर सुरक्षा घेरा तोडी पेटीमा उभिएका सर्वसाधारणसँग साक्षात्कार गरे। यहाँ उनी विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको सच्चा सिपाही देखिए। तर नेपालको सुरक्षा संयन्त्र भने अझै पनि दरबारी धङधङीबाट मुक्त हुन चाहेको देखिएन। 
मोदी भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंमा मोदी हिड्ने बाटो र सडक पेटीलाई चिटिक्क र सफा राख्ने प्रयत्न गरियो। त्यस क्रममा युद्धस्तरमा भएका कामबाट केही बाटा सफा भए। सयौं बोरा धुलो ट्रकमा हालेर लगियो। असहाय र बृद्ध लड्ने, ठोकिने बाटाका ढिस्का हटाइए। सडकका छेउलाई हरियो देखाउन रुख पनि रोपिए। धुवाँ र प्रदूषित सवारी नियन्त्रण गरियो। यी सबै काम भारतका प्रधानमन्त्रीलाई एकक्षण देखाउनमात्र गर्नेभन्दा करिब पचास लाख उपत्यकावासीको स्वास्थसँग जोडिएको विषय हो भनी बुझ्न किन नसकेको? मोदी आउँदा उठाउन सकिने धुलो र रोक्न सकिने धुँवाबाट पचास लाख उपत्यकावासीले पनि त मुक्ति पाउनु पर्योस नि! 
मोदी चाँडै आउने र नेपालमा थप घुमघाम गर्ने वाचा गर्दै फर्के। अहिले मोदीको वचन र व्यवहारले नेपालका नेतालाई फिक्का बनाइदिएको छ। यथार्थमा आफ्नै जनताको आँखामा अझ तल झरे नेपालका नेताहरू । तर मोदीजस्ता नेता भारतमै पनि सत्ताको नेतृत्वमा सधैं कहाँ भेटिन्छन् र? केही महिना अगाडिसम्म प्रधानमन्त्री रहेका मनमोहन सिंह शालीन भए पनि सुस्त र वाणीविहीन जस्ता थिए। दस वर्ष उनले भारतको नेतृत्व गरे। पहिलो कार्यकाल सफल भए पनि दोस्रो कार्यकालमा भ्रष्टाचार र कुशासनको कसीमा मनमोहन सरकार जनताबाट तिरस्कृत भयो। 
केही महिनापछिको सार्क शिखर सम्मेलनमा मोदी आउने नै छन्। त्यस बखत अहिले मोदीले नेपालमा गरेका वाचाले उनलाई कार्यान्वयन तहबाट पछ्याउने छ। गुजरातमा मोदीको गति बोलीमा मात्र होइन, काममा पनि चरितार्थ भएको मानिन्छ। नेपालमा भने नेताले बोलीबाट पनि जनताको चित्त बुझाउन नसक्ने भए। नेपालमा तीन पुस्तादेखि राजनीतिबाट खिन्न र दिक्क भएको जमात ठूलो छ। तसर्थ नेपालका नेतालाई कामबाट जनताको मन जित्नुको विकल्प छैन। त्यस कामको सूची मोदीले संसद् भवनबाट सभासद् र नेपाली जनतालाई जानकारी गराएका छन्। मोदीको भाषणमा नेपालको नीति तथा कार्यक्रमै छ। मोदीले आफ्नो बोलीको परीक्षणका लागि पाँच वर्ष कुर्न सक्लान्। नेपालका नेताका लागि भने २०७१ माघभन्दा पछिका दिन सहज हुनेछैनन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस