बिजुलीमा आफ्नै नीति
१७ साउन २०७१
•
१२ मिनेट पाठ
बिजुलीमा आफ्नै नीति
भारतीय प्रधान मन्त्री र विदेश मन्त्रीको नेपाल भ्रमणको सन्दर्भमा यसपाली सबैभन्दा चर्कोरूपमा नेपाली जलस्रोतको उपयोग गरी विद्युत् उत्पादन कसरी बढाउने भन्ने कुरा उठ्यो। नेपाल र भारतका बीचमा जलस्रोत सम्झौता गरी नेपालले भारतलाई विद्युत् बेच्न वातावरण बनोस् भन्ने चाहना त्यो सम्झौताको अन्तरनिहित कुरा हो।यसरी सम्झौता गर्दा भारतले नेपाललाई तल पारेर हस्ताक्षर गर्न बाध्य पार्छ कि भन्ने शंकादेखि लिएर नेपाली पक्षले पनि आफ्नो हितबारे भारतसँग राम्ररी संवाद गर्ने आँट गर्दैन कि भनेर शंका पनि गरिएको छ। यही दुईथरी शंकाका कारण नै यतिबेला नेपाल र भारतबीच हुने भनिएको विद्युत् व्यापार सम्झौताले निकै चर्चा पाएको हो। जलस्रोतविज्ञदेखि परराष्ट्र मामलाका जानकारहरुसमेतले यतिबेला यो विषयमा जोडदार बहस गरिरहेका छन्। 
यतिबेला चलेका सबै बहस र छलफल हेर्ने हो भने भारतबाट हामी ठगिन्छौँ कि भन्ने शंकासहित चनाखो भएर नेपालीहरुले विशेष चासो दिइरहेको प्रष्ट हुन्छ। यो सचेतता र प्राकृतिक स्रोत सम्पदाको आफ्नो हितमा उपयोग गर्न पाउनुपर्छ भन्ने मान्यताका कारण अब नेपाल आफूलाई कमजोर पारेर सम्झौता गर्ने अवस्थामा रहँदैन भन्ने कुरामा प्रष्ट हुन सकिन्छ। राज्यलाई बल दिने भनेको जनताको चेतना स्तर र बलियो इच्छाशक्तिले नै हो। यतिबेला जनस्तरबाट यी दुवै कुरा प्रकट भएका छन्। त्यसकारण यस पटक हुने वा अब हुने सम्झौताहरुमा नेपाल पक्ष कमजोर हुन्छ कि भनेर त्यति धेरै चिन्ता लिने ठाउँ देखिँदैन। यसपटक प्रकट भएको नेपाली चासो र सचेतताले यो कुरामा ढुक्क हुने ठाउँ दिएको छ। 
नेपालले आफूलाई कति विद्युत् चाहिएको हो र त्यति विद्युत् उत्पादन गर्नका लागि आफँैले के गर्न सक्छ भन्ने कुरामा केन्द्रित भएर आन्तरिक रणनीति निर्माण र तयारी गर्नुपर्ने आवश्यकता देखिन्छ। त्यसका लागि आफ्नो क्षमता, विदेशी सहयोग अनुदान, ऋण सबै कुराको लेखाजोखा गर्नुपर्ने हुन्छ। एउटा धु्रवसत्य कुरा के हो भने नेपालले विद्युत् ठूलो मात्रामा बेचेर नै आफूलाई समृद्ध बनाउने पथमा हिँडाउने हो। तर आजै हतारमा ठूलो परिमाणमा विद्युत् उत्पादन गरी हतारमा कमाउने रणनीति निर्माण गर्ने भनेको हतारको मानसिकतामात्र हुन जान्छ। पहिले आफ्नो स्रोत साधनको अधिकतम उपयोग गरी विद्युत्को राष्ट्रिय माग पूर्ति गर्ने ढंगले नेपाली रणनीति बनाइनुपर्छ। आफूसँग आफूलाई पुग्ने विद्युत् उत्पादन गर्ने रणनीतिअनुसार देश अगाडि हिँड्ने हो भने बाह्य देशले यहाँ आफ्नो स्वार्थलाई केन्द्रमा राखेर बिजुली उत्पादनको योजना बनाउन सक्दैनन्। अहिले त जसरी पनि विदेशी लगानी भित्राएर ठूलो परिमाणमा बिजुली उत्पादन गरी लोडसेडिङ पनि हटाउने र बिजुली बेचेर मनग्य कमाउने दुइवटै उद्देश्य सँगसँगै अगाडि सारिएकोझैँ देखिन्छ। लोडसेडिङको मार खेपिरहेका नेपाली उपभोक्ताले पनि यो कुरामा सहमति जनाएका छन्। लोडसेडिङको मार खेप्नुभन्दा त्यसै बगिरहेको पानीबाट विदेशीले बिजुली उत्पादन गर्छ भने त्यसमा किन टाउको दुखाउनु भन्ने भावना विकास भएको छ। पीडामा बसिरहेका जनताको मनोविज्ञान तत्कालको राहतमा केन्द्रित भएको हुन्छ। तर राज्यले त्यो मनोविज्ञानलाई सम्बोधन गर्ने बेलामा पनि दीर्घकालीन हित, फाइदा र सम्भावना हेरेर आवश्यक रणनीति बनाउनुपर्ने हुन्छ। 
अहिले नेपालमा ११ सय मेगावाट विद्युत्को माग छ। जबकि अहिले ७ सय मेगावाट मात्र आपूर्ति भइरहेको छ, त्यो पनि वर्षायाममा मात्र। हिउँदमा भारतसँग १ सय ५० देखि २ सय मेगावाट किन्नुपरिरहेको छ। माग र आपूर्तिबीचको यही भिन्नताका कारण लोडसेडिङको मारमा नेपाल पिल्सिरहेको छ। नेपालको यतिबेलाको पहिलो प्राथमिकता भनेको माग र आपूर्तिका बीचमा सन्तुलन ल्याउने हुनुपर्छ। हालको मागको वार्षिक १० प्रतिशतका दरले नेपाली बजारमा विद्युत्को माग बढ्दै जाने अनुमान विज्ञ गर्छन्। अहिले निर्माणाधीन आयोजनाहरु सम्पन्न भइसक्दा २५ सय मेगावाट बिजुली उत्पादन हुन जान्छ। त्यतिबेलासम्म नेपाली बजारको माग पनि त्यसैको बराबरी पुग्नेछ। अहिले ७ सय मेगावाट आपूर्ति भइरहेको अवस्थामा सन् २०१५ को अन्तिमसम्म यो माग १४ सयको हाराहारीमा पुग्ने अनुमान विद्युत् प्राधिकरणको एउटा अध्ययनमा गरिएको छ। यसरी वर्षेनी विद्युत्को माग बढ्दै जाँदा र उत्पादनको अनुपात त्यससँग मेल नखाइरहँदा छटपटी लाग्नु स्वाभाविक हो। एउटा आयोजना निर्माण गर्न ५ देखि ७ वर्ष लाग्छ। यसरी निर्माणाधीन आयोजनाहरु सम्पन्न हुँदासम्म विद्युत्को माग बढेर जान्छ र भर्खरै निर्माण सम्पन्न भएको उत्पादनले पनि नेपाली बजार मात्रको मागलाई पूरा गर्न सक्दैन। लोडसेडिङका कारण दैनिक व्यापार घाटा १ सय ७० करोड रहेको र त्यसमध्ये ४० करोड त डिजल जलाएर सकिने गरेको तथ्यांक निजी क्षेत्रले दिएको छ। अब यो अवस्थाबाट मुक्ति र राज्यको लक्ष्यअनुरूप कम्तिमा ३ वर्षमा लोडसेडिङ मुक्त गर्नका लागि नेपालको योजना के हो? यो कुरामा केन्द्रित भएर योजना बनाइनुपर्छ। यो क्षेत्रमा अन्य विदेशी लगानी ल्याउँदा कसरी ल्याउने? त्यो सम्झौतामा हाम्रो प्राथमिकता के हुने? भन्ने विषयमा प्रष्टरूपमा नीति निर्माण गर्नुपर्छ। विद्युत् उत्पादनका लागि राष्ट्रिय पुँजी निर्माण गर्नतर्फ पनि सोच्नुपर्ने देखिन्छ। दैनिक १ सय ७० करोड व्यापार घाटा सहनुपरेको निजी क्षेत्रले पनि विद्युत्का लागि राष्ट्रिय पुँजी निर्माण गर्न वा भनौँ हाइड्रो पावरमा लगानी लगाउनेतर्फ पनि गम्भीर भएर सोच्न जरुरी छ। राज्यले पनि विद्युत्को आपूर्ति बढाउनका लागि स्थानीय स्तरमा विद्युत् उत्पादनका प्रयासलाई सघाउने नीति बनाउन जरुरी छ। एउटा सामान्य प्रयासमा रोल्पा र रुकुममा ५ सय किलोवाट भन्दा बढी विद्युत् उत्पादन भई स्थानीयरूपमा उज्यालो अनुभव गर्न सकिएको छ। यस्ता प्रयासहरुलाई पनि निरन्तरता दिँदै जाँदा उपलब्धिमूलक नै हुने यो एउटा गतिलो उदाहरण हो। 
तत्काल ठूलो परिमाणमा विद्युत् उत्पादन गरी बिक्री गर्न सकियो भने रातारात नेपाल धनी हुने अवस्था छैन। आएको पैसाको सदुपयोग र व्यवस्थित प्रयोग गर्ने क्षमताको विकास गर्नेतर्फ पनि ध्यान दिनु जरुरी छ। अहिले पनि वार्षिक बजेटको २५ देखि ३० प्रतिशतको हाराहारीमा विकास बजेट खर्च हुन नसकेको तथ्यांक प्रत्येक वर्ष सार्वजनिक हुने गरेको छ। त्यसैले रातारात धनी हुने सपनाभन्दा पनि नेपालले आफू विद्युत्ले सम्पन्न मुलुक हुने रणनीति पहिलो चरणमा बनाउनुपर्छ भने दोस्रो चरणमा विद्युत् बेच्ने योजना बनाउने हो। यस्तो योजना बनाएर बसेको मुलुकसँग सम्झौता गर्न आउने राष्ट्रले पनि हेपेर प्रस्ताव गर्न सक्दैन। हाम्रो विद्युत्को बजार प्रशस्तै छ। एकप्रकारले भन्ने हो स्थायी बजार नै छ। भारतको उत्तर क्षेत्र हाम्रो विद्युत्को राम्रो बजार हो। उत्तर प्रदेश, बिहार, उत्तर दिल्लीमा अहिले पनि १० हजार मेगावाट बिजुलीको आवश्यकता रहेको बताइन्छ। यो हाम्रा लागि राम्रो बजार हुनसक्छ। भारत अहिले आन्तरिकरूपमै पनि तापीय र सौर्य ऊर्जाबाट विद्युत् उत्पादनमा जुटेको छ। यदि बेलैमा त्यहाँको बजार सम्भावनालाई पक्रन नसक्ने हो भने हामीले पाएको अवसर पनि गुम्ने खतरा पनि छ। 
मोदी नेपालको भ्रमणमा छन्। उनको आगमनको पूर्वसन्ध्यामा उठेको विद्युत् सम्झौताको प्रसंगमा नेपालले आफ्नो अवस्था, सम्भावना, आवश्यकता हेरेर विद्युत् उत्पादन नीति बनाउने र त्यसै नीतिमा केन्द्रित भएर सम्झौता गर्ने प्रस्ताव गर्ने हो भने नेपालले सधैं भारतबाट माग्ने काम मात्र गर्छ भन्ने भावना अन्त्य गर्नसक्ने सम्भावना रहन्छ। माग्नु र समान हैसियतमा प्रस्ताव गर्नु फरक कुरा हुन्। नेपालले अब आफूलाई यस्ता सम्झौता गर्दा समान हैसियत र राष्ट्रिय हितलाई ध्यानमा राखेर प्रस्ताव गर्नसक्ने बनाउनुपर्छ। यसका लागि आन्तरिक तयारी र साझा नीति निर्माण गर्नु अनिवार्य हुनजान्छ।
अर्को समाचार
नीति–कार्यक्रममा ऊर्जा
१५ जेष्ठ २०७९
•
७ मिनेट पाठ
नीति–कार्यक्रममा ऊर्जा
नेपालदेखि धेरै टाढा समुद्रपारिको पश्चिमी संसार बेलायतको एउटा ग्रामीण नगरमा बसेको मैले उत्सुकतापूर्वक राष्ट्रपतिले प्रस्तुत गरेको २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रत्यक्ष प्रसारण सुनेँ। जलविद्युत् र ऊर्जाको क्षेत्रमा विशेष चासो राख्ने र केही वर्षदेखि नेपालको ऊर्जा संकटलाई नवीकरणीय ऊर्जाले कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानरत रहेको ऊर्जाको एक विद्यार्थी भएकाले मैले यस क्षेत्रका केही बुँदालाई उत्सुकतापूर्वक केलाउने जमर्को गरेको गरेको छु। राष्ट्रपतिद्वारा प्रस्तुत ६६ पृष्ठ लामो १४५ बुँदामा प्रस्तुत भाषणमा ऊर्जासम्बन्धी कार्ययोजनालाई मैले सूचीबद्ध गरेको हुँ।

त्यसो त यसप्रकारका नीति तथा कार्यक्रम सदाझैँ कर्मकाण्डी रूपमा दशकौँदेखि गरिँदै आएका छन्। यस्ता कार्यक्रमहरूमा गत वर्ष के प्रतिज्ञा गरिएको थियो, यस वर्ष कति प्रगति भयो, कति कमी/कमजोरी भए, तिनलाई चुस्तदुरुस्त बनाउन के/कस्ता योजना ल्याइए भन्ने किसिमको रचनात्मक समीक्षा गर्ने परिपाटी नेपालमा देखिँदैन। सस्तो लोकप्रियताका लागि यो पनि, त्यो पनि, सबै गरिनेछ भनेर जनतालाई आश्वासनको खोले बाँडिन्छ।

यथार्थमा नेपालका आयोजना कुनै पनि निर्धारित समयमा बन्दैनन्। अझ ऊर्जा जलस्रोतसम्बन्धी आयोजनाहरूका कथा दयनीय छन्। ऊर्जासम्बन्धी प्रोजेक्टहरू ६ महिनादेखि १२ वर्षसम्म ढिला हुने गर्छन् र तिनको लागत दोब्बरदेखि तेब्बरसम्म पर्ने गरेको पाइएको छ मेरो अनुसन्धानमा।

नेपालको ऊर्जा क्षेत्रले १११ वर्ष लामो गौरवमय इतिहास बोकेको छ। यसरी एक शताब्दीभन्दा लामो समयमा ऊर्जा क्षेत्रले भर्खरै मात्र २००० मेगावाट टेकेको छ। त्यसो त हरेक वर्ष अनेक सरकारका नीति तथा कार्यक्रममा, हरेक मन्त्री प्रधानमन्त्रीका भाषणमा जलविद्युत्को छेलोखेलो विकास गरेर यो देशलाई कहिले सिंगापुर त कहिले स्विट्जरल्यान्ड बनाउने होड चलिरहेको छ। १११ वर्षमा २००० मेगावाट बनाउने देशले अनेकथरी श्वेतपत्र जारी गरे सरकारैपिच्छे ५ हजार मेगावाट, कहिले १० हजार मेगावाट, कहिले २० हजार मेगावाटको गीत गाइरहेछ।

कमजोर र निरीह स्वास्थ्य संरचना

कोभिड–१९ महामारीका कारण विश्व मानव जातिमाथि यो शताब्दीकै सबैभन्दा भयंकर महासंकट सकिन नपाउँदै विश्व फेरि ऊर्जाको भूराजनीतिमा जकडिएको छ रुस–युक्रेन युद्धसँगै। कोभिड–१९ ले विश्वका शक्ति सम्पन्न रास्ट्रहरू एउटा सानो कोरोनारूपी भुसुनासँग लड्न नसकेर कसरी तिनीहरूको शक्ति सम्पन्न दुनियाँ विश्वको उत्कृष्ट स्वास्थ संरचनाहरू कति कमजोर, कति निरीह रहेछन् भन्ने कुरा अमेरिका र युरोपले भोगेको मृत्यको नृशंस दृश्यले देखायो। कोरोनाले दुनियाँलाई देखायो कि विश्वव्यापी रूपमा सानो महामारीविरुद्ध लड्न संसारका मौजुदा स्वास्थ्य सेवा र सुविधाहरू अपुरा र अधुरा रहेका प्रमाणित भयो।

ऊर्जा सुरक्षा

कोभिड–१९ महामारीका घाउमा टाटा नबस्दै विश्व यतिखेर चर्को ऊर्जा संकट भोग्दैछ। आधुनिक विश्वले बिरलै यसप्रकारको ऊर्जा संकटको अवस्था आउला भनेर सोचेको थियो। आफ्नो आधुनिक ऊर्जा प्रणाली र केन्द्रीकृत ऊर्जा प्रणालीको गर्व गर्दै स्मार्ट ग्रिडको गीत गाइरहेको युरोपलाई साना दुई छिमेकीहरूको घर झगडाले देखाइदिएको छ विश्वको परनिर्भर र आयातित ऊर्जा प्रणाली कसरी क्षणभरमा टुट्न र फुट्न सक्छ भन्ने।

आज रुसको आयातित ऊर्जा प्रणालीले छिमेकका युरोपीय देशहरूमात्र नभएर त्यसका परकम्प एसिया हुँदै नेपालसम्म आएको छ। हप्तामा दुईपटक पेट्रोलियम र ग्यासको भाउ बढेको छ। उता कोइलाको भाउ बढेसँगै छिमेकीबाट सयौँ माइल टाढाबाट ल्याइने डर्टी कोलले बनेको बिजुलीको भाउ अकासिएको छ। त्यसले महँगी, बेरोजगारी र आर्थिक मन्दी निम्त्याएको छ।

यो विश्व घटनाले हाम्रा ऊर्जा प्रणालीको ठूलो दुरुहतालाई छर्लंग पारेको छ। ठूलो पाठ सिकाएको छ। ऊर्जा सुरक्षा कुनै पनि देशले कुनै पनि बेला भोग्नुपर्ने बताएको छ। नेपालका दर्जनौँ ठूला प्रोजेक्टहरू इन्डिया र चीनले दशकौँदेखि ओगटेर राखेका छन्, तिनले न बनाउँछन् न नेपाललाई आफैँ गर्न दिन्छन्।

यसरी सबै स्रोतमा विदेशी हावी हुनु ऊर्जा सुरक्षाका दृष्टिले खतरापूर्ण संकेत हो। इन्डियाले बेलाबेलामा गर्ने नाकाबन्दीले नेपालको अर्थतन्त्र धेरैपटक धराशायी भएको छ। अहिलेको पनि सीमा विवादले पुनः सीमा बन्द हुन सक्छ। पेट्रोल, ग्यास, बिजुली काटिन सक्छ। नेपालले बेलैमा सोचोस्, ऊर्जाको अटुट समाधानका लागि अरूको भर पर्नु ऊर्जा सुरक्षाका दृष्टिले नेपालको भूराजनीतिक अवस्थिति, छिमेकीहरूको विगत सबैलाई बेलैमा बुझेर देशका ठूला प्रोजेक्टहरू विदेशीलाई धमाधम बेच्ने उपक्रम रोकिनुपर्छ।

पछिल्लो ६ वर्षमा भारतबाट नेपालले ८१ अर्ब ६२ करोड रुपियाँको बिजुली किनेको छ नेपालको लोडसेडिङ हटाउनलाई। प्रतिमेगावाट २० करोडको दरले कति मेगावाटको हाइड्रो पावर आयोजना बन्थ्यो? कति मेगावाटको सोलार फार्म बन्थ्यो? कति मेगावाटको वेस्ट हिट रिकभरीवाट बिजुली निकाल्न सकिन्थ्यो? कति मेगावाटको फोहोरलाई मोहरमा बदल्न सकिन्थ्यो? कति मेगावाटको वायु ऊर्जाको विकास गर्न सकिन्थ्यो?

बुँदा ४५ मा उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई आयात प्रतिस्थापन गरिनेछ। यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दर भन्दा बढी नहुने गरी बिजुली महसुलमा सहुलियत उपलब्ध गराइनेछ भनिएको छ। बुँदा ६५ विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गरिनेछ, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्वतयारी गरिनेछ भन्ने छ।

७६ मा विद्युत् उत्पादन प्रसारण र वितरणलाई सामञ्जस्यपूर्ण ढंगले अगाडि बढाउने, निजी क्षेत्रलाई विद्युत्व्यापारमा सहभागी गराउने, विद्युतीय ऊर्जाको आन्तरिक खपत वृद्धि र निर्यात प्रवर्द्धन गर्ने र बाहै्र महिना विद्युत् आपूर्ति सुनिश्चित गर्ने, ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिइने भनिएको छ।

७७मा नेपाल र भारतद्वारा संयुक्त रूपमा जारी गरिएको ऊर्जा विकाससम्बन्धी दीर्घकालीन अवधारणा बमोजिम विद्युत् उत्पादन, प्रसारण प्रणाली विस्तार निर्माण दुवैतर्फको विद्युत व्यापार, दुवै देशका राष्ट्रिय प्रसारण लाइनको समन्वयात्मक उपयोग र संस्थागत सहयोगका क्षेत्रमा भएका अवसरको उपयोग गरिनेछ भनिएको छ।

७८ मा आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने, विद्युत् उत्पादन, प्रसारण तथा वितरणका लागि लगानी वृद्धि गरिने, सरकार तथा निजी लगानीबाट प्रवर्द्धित जलविद्युत् आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्षमा थप ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने, जलाशययुक्त तथा नदी बेसिनमा आधारित आयोजनालाई जोड्ने गरी चार सय केभिए क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय विद्युत् प्रसारण लाइन बिस्तार गर्न सुरु गरिने भनिएको छ।

यसैगरी विद्युत् राष्ट्रिय प्रसारण प्रणाली नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत् र सौर्य ऊर्जाबाट थप २५ हजार घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराइने पनि उल्लेख छ।

७९ मा बूढी गण्डकी जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीबाट निर्माण गरिने र पश्चिम सेती आयोजना, तल्लो अरूण परियोजना र सेती रिभर–६ को निर्माण कार्य सुरु गरिने उल्लेख छ।

८० मा हरित ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै पारम्पारिक ऊर्जाको प्रयोगलाई क्रमशः विस्थापन गरिने, निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चर्जिङ स्टेसनहरू स्थापना कार्यलाई विस्तार गरिने भनिएको छ।

८१ मा सबै नेपालीलाई ऊर्जाको पहुँच सुनिश्चित गर्न विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर जडान गरिने, बिजुली खपत बढाउन र खाना पकाउने ग्यासको प्रयोगलाई क्रमशः विस्थापन गर्न विद्युत् महसुल दरमा पुनरवलोकन गरिने भनिएको छ।

कार्यान्वयनको खाँचो

आशा गरौँ, सरकारका यी नीति र कार्यक्रम सुन्न र पढ्नमा जति राम्रा देखिए सदाझैँ त्यस्तै गरी यिनको सही कार्यान्वयन आजको खाँचो हो। कुनै पनि देश विकासको एउटा पूर्वाधारमा ऊर्जा व्यवस्थाले ठूलो भूमिका खेलेको हुन्छ। दशकौदेखि ऊर्जाको ठूलो संकट भोगेको र ऊर्जाको विशाल जल भण्डार, तीन सय दिन घाम लाग्ने आकास र विश्वकै अग्ला हिम शृंखलाले वेष्ठित नेपालले लुकाएको वायु ऊर्जा, बायो माससम्मको ठूलो सम्भावना मात्र ४ प्रतिशत हाइड्रो पावरको प्रयोगमा अल्झिएको छ।

सरकारले सरकारी उदयपुर र हेटौँडा सिमेन्टलाई बिजुलीमा सहुलियत दिएर भारतीय सिमेन्टलाई बिस्थापित गर्ने र नेपालका सबै प्रोजेक्टले तिनको सिमेन्ट अनिवार्य किन्नुपर्नेछ भनेर किन लेख्न सकेन? नेपालको सिमेन्ट चाइनाको भन्दा दोब्बर र भारतको भन्दा तेब्बर महँगो हुनुमा बिजुलीको भाउ एउटा ठूलो कारण भएको कुरा मेरो पिएचडी अनुसन्धानले बताएको छ।

विश्वको बदलिँदो ऊर्जा भूराजनीतिलाई समयमै बुझेर आफ्नो ऊर्जाका नीतिहरू बनून्, ती जुनसुकै सरकार आए पनि नबदलिउन्। देशको वातवरण जैविक विविधता सबैलाई सम्मान गर्दै प्राकृतिक अवस्थामा ठूलो दखल नपुराई अनुसन्धान र विकासमा विज्ञका कुराहरू मनन गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो। यसलाई नेपालले समयमै बुझ्नुपर्छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस