विज्ञानप्रति प्रतिबद्धता
२२ कार्तिक २०६६
•
१५ मिनेट पाठ
विज्ञानप्रति प्रतिबद्धता
केही दिनअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)को कर्मचारी संघले 'समृद्ध नेपालका लागि विज्ञान प्रविधिको महत्व' विषयमा नास्टको सभाकक्षमा एक विशेष प्रवचन कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बोल्न पंक्तिकारलगायत एनेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराई, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष कमलकृष्ण जोशी , काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्मा, नेपाल कृषि अनुसन्धान परिषद्का रामप्रताप शाह र रिसोर्सेज हिमालयका प्रल्हाद योञ्जनलाई आमन्त्रित गरिएको थियो।

भट्टराईको विचार सुन्नु र उनलाई आफ्नो विचार सुनाउनु पंक्तिकारका लागि कार्यक्रमको विशेष आकर्षण थियो। नास्टको उपकुलपति छँदा पंक्तिकारलाई अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयको अडिटोरियममा उनको प्रमुख आतिथ्यमा आयोजना गरेको एक विचार गोष्ठीमा वक्ताका रूपमा आमन्त्रित गरेको थियो। लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीकालमा युद्धविरामपछि वार्ताका लागि माओवादी नेता काठमाडौंमा उपस्थित भएका थिए। त्यति बेला भट्टराईले पंक्तिकारसँग नास्टको गतिविधिबारे जिज्ञासा राखेका थिए र पंक्तिकारले उनलाई नास्टमा आउन निम्तो दिएको थियो। उनले नास्ट आउने इच्छा पनि राखेका थिए। तर वार्ता असफल भएपछि उनी नास्ट आउने सम्भावना हराएको थियो। संविधानसभाको चुनावी घोषणापत्रमा माओवादीले अन्य राजनीतिक दलका तुलनामा विज्ञान प्रविधि क्षेत्रको विकासलाई बढी महत्व दिएको पाइएको थियो। त्यसैले पनि विज्ञान प्रविधिको विषयमा भट्टराईको धारणा सुन्ने उत्सुकता थियो। तर अकस्मात् अस्वस्थताका कारण उनी कार्यक्रममा उपस्थित हुन नसक्ने सूचना आयो। पंक्तिकारजस्तै भट्टराईको विचार सुन्न उत्सुक अधिकांश सहभागी उनी अनुपस्थित हुने सूचना पाएर खिन्न भएका थिए। कार्यक्रममा भट्टराईको अनुपस्थितिलाई सहभागी वैज्ञानिकले राजनीतिक प्रतिबद्धताको अभावका रूपमा लिए। हाम्रा कतिपय नेताहरू कार्यक्रमको अन्तिम क्षणमा आफ्नो कार्यव्यस्तता वा स्वास्थ्यको कारण देखाएर अनुपस्थित हुने गर्छन्। उनीहरू यस्तो व्यवहारबाट आयोजकलाई पर्ने अप्ठेरो र सहभागीबीच पर्ने नराम्रो प्रभावको वास्ता गर्दैनन्।
विज्ञान के हो भन्नेबारेमा अधिकांश नागरिक अझै अनभिज्ञ देखिन्छन्। एकै वाक्यमा भन्ने हो भने विज्ञान व्यवस्थित ज्ञान सिर्जना गर्ने र सत्यको खोजी गर्ने प्रक्रिया हो। पारदर्शिता, विश्वव्यापकता, इमान्दारी, युक्तिसंगत तर्क र सही प्रमाण विज्ञानका केही स्थापित मान्यता हुन्। भौतिक शास्त्र, रसायन शास्त्र, जीव शास्त्र र गणित सबै विज्ञान विषयका जननी हुन्। प्रविधि विज्ञानको एक परिणाम हो। विज्ञानले सिर्जना गरेको नयाँ ज्ञानका आधारमा नयाँ प्रविधिको विकास हुन्छ। नयाँ प्रविधिको विकासबाट प्राप्त साधनले थप वैज्ञानिक खोज गर्न मद्दत पुर्‍याउँछ।
विज्ञान र प्रविधि साइकलका दुई पांग्राजस्तै हुन्। एकले अर्काेलाई निरन्तर अगाडि बढाउँछ। विज्ञानबाट सिर्जित ज्ञान र प्रविधिको उपयोग गरी मानवजाति आफ्नो दैनिक जीवनको गुणस्तर बढाउन र आर्थिक सामाजिक विकास गर्न सफल भएको छ। वास्तवमा मानव समाजका कुनै पनि यस्तो पक्ष छैन जसको विकासमा विज्ञान प्रविधिको भूमिका नरहेको होस्।
पछिल्लो समयमा विज्ञान प्रविधिको क्षेत्रमा भएका विकासका कारण ज्ञानको सिर्जना द्रुत गतिले भइरहेको छ। यिनै कारणले एक्काइसौँ शताब्दीलाई ज्ञानमा आधारित समाज भन्न थालिएको छ। यस्तो समाजमा हरेक व्यक्ति, समाज र मुलुकको सफलता र समृद्धि उसको ज्ञान सिर्जना गर्ने र उपयोग गर्ने क्षमतामा भर पर्छ। तसर्थ के धनी, के गरिब, सबै राष्ट्रले आफ्नो वैज्ञानिक क्षमता विकास गर्नैपर्छ। यस्तै आजको युगमा सबैले वैज्ञानिक चेतना र क्षमता विकास गर्न त्यतिकै आवश्यक छ।
व्यक्ति, समाज र मुलुकबीच विद्यमान आर्थिक सामाजिक असमानताको प्रमुख कारण उनीहरूबीच रहेको ज्ञानको असमानता पनि हो। यिनै कारणले कुनै देश अति विकसित र धनी छन् भने कुनै देश अति अविकसित र गरिब। उदाहरणका लागि विश्वका विकसित मुलुकका २० प्रतिशत जनताको हातमा विश्वको ८० प्रतिशत धन रहेको छ र अविकसित मुलुकका ८० प्रतिशत जनताको हातमा विश्वको २० प्रतिशतमात्र धन छ। विश्वका करिब ३ सय ६० अर्बपतिको धनसम्पति अविकसित मुलुकका २ अर्ब व्यक्तिको भन्दा बढी छ। विश्वका ८० प्रतिशतभन्दा बढी इन्टरनेट प्रयोगकर्ता विकसित मुलुकका छन्। यसै गरी विश्वका ८० प्रतिशतभन्दा बढी वैज्ञानिक विकिसत मुलुकमा कार्यरत छन्। विश्वमा वैज्ञानिक अनुसन्धानमा गरिने कुल लगानीेको ८० प्रतिशत पनि यिनै विकसित राष्ट्रले गर्दै आएका छन्। विश्वका ८० प्रतिशत वैज्ञानिक प्रकाशन यिनै मुलुकले गर्छन्। वैज्ञानिक क्षमता, लगानी र आर्थिक सम्पन्नताबीच देखिएको यस प्रकारको प्रत्यक्ष सम्बन्ध संयोगमात्र होइन। आजको युगमा वैज्ञानिक क्षमता र आर्थिक सम्पन्नता पर्यायवाची बनिसकेका छन्।
अन्तर्राष्ट्रिय विज्ञान परिषद्ले वर्गीकरण गरेअनुसार नेपाल विज्ञान प्रविधिको क्षेत्रमा विश्वका अति अविकसित राष्ट्रमा पर्छ। यसो हुनुको प्रमुख कारण हाम्रो देशमा शिक्षा, विशेष गरी विज्ञान शिक्षाको आरम्भ ढीलो हुनु हो। देशको पहिलो विद्यालय (दरबार हाईस्कुल) सन् १८५४ मा स्थापित भएको थियो भने पहिलो कलेज (त्रिचन्द्र कलेज) र विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय) क्रमशः सन् १९१८ र १९५९ मा खुलेका थिए। यसरी विद्यालयदेखि विश्वविद्यालयम्मको शैक्षिक यात्रा तय गर्न हामीलाई १ सय ५ वर्ष लाग्यो। विद्यालय तहको शिक्षा पूरा गरेपछि विश्वविद्यालयसम्मको शिक्षा पूरा गर्न साधारणतया बढीमा ८ वर्ष लाग्छ। आधारभूत विज्ञानको स्नाकोत्तर र प्राविधिक विज्ञानको स्नातक तहको शिक्षा क्रमशः सन् १९६० र १९७० को दशकमा मात्र प्रारम्भ भयो। यसरी हाम्रो देश विज्ञान प्रविधिको विकासमा निकै पछाडि पर्‍यो।
अहिले देशमा विज्ञान प्रविधिको विषय पढाइ हुने थुप्रै शैक्षिक संस्था खुलेका छन्। प्रत्येक वर्ष करिब ३० हजार विद्यार्थी विज्ञान प्रविधि विषयको उच्चअध्ययन गर्न विभिन्न शैक्षिक संस्थामा भर्ना हुने गर्छन्। सन् १९७७ मा करिब २ हजार ४ सयको संख्यामा सीमित विज्ञान प्रविधि मानव संसाधनले आज ३० हजार नाघेको छ। तथापि देशको समग्र आर्थिक सामाजिक विकासका लागि आवश्यक कतिपय विषयमा मानव संसाधन अझै अपर्याप्त छ। भएको मानव संसाधनको पनि उचित उपयोग हुन सकेको छैन। विज्ञान प्रविधिसँग सम्बन्धित सबैजसो संस्थामा पूर्वाधार र लगानीको ठूलो अभाव छ। राष्ट्रले विज्ञान प्रविधिको विकासमा उचित ध्यान र प्राथमिकता दिन सकेको छैन। समृद्ध नेपालको निर्माण गर्ने हो भने अन्य राष्ट्रले जस्तै हामीले पनि वैज्ञानिक क्षमताको अभिवृद्धि गर्नैपर्छ र यस क्षेत्रमा उचित लगानी गर्नैपर्छ। दह्रो राजनीतिक प्रतिबद्धता भए कुनै पनि गरिब राष्ट्रमा विज्ञान प्रविधिको विकासमा उचित लगानी गर्न आर्थिक स्रोतको अभाव हुँदैन। भारत, चीन, ब्राजिल, कोरियाजस्ता कुनै बेलाका अति गरिब मुलुकले यस तथ्यलाई प्रमाणित गरिसकेका छन्।
वैज्ञानिक चेतनाको अभावका कारण नेपाली समाज रुढी र अन्धविश्वास ग्रस्त छ। यस्तो प्रवृत्ति आधुनिक नेपाल निर्माणका लागि प्रमुख बाधक बनेको छ। तसर्थ नयाँ संविधानमा विज्ञानमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता सबै दलले व्यक्त गर्नु जरूरी छ। निर्धारित राष्ट्रिय लक्ष्य र प्राथमिकता हासिल गर्न वैज्ञानिक मानव संसाधनको सही उपयोग गर्नुपर्छ। विद्यालयदेखि विश्वविद्यालयसम्मको विज्ञान शिक्षामा जोड दिनुपर्छ। विज्ञान प्रविधिको विकासमा निजी क्षेत्रलाईसमेत संलग्न गराउनु आवश्यक छ। देशका राजनीतिज्ञ, योजनाकार, उद्यमी र बुद्धिजीवीबीच नियमित अन्तरक्रिया गर्ने संयन्त्रको विकास गर्नु त्यतिकै जरुरी छ। गाउँघरदेखि सहरसम्मका हरेक वर्गमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने कार्यक्रममा जोड दिनुपर्छ। यसका लागि विभिन्न स्थानीय भाषामासमेत विज्ञान प्रविधिसँग सम्बन्धित सामग्री प्रकाशन गर्नु जरुरी छ। देश विकाससँग सम्बन्धित विषयमा देशभित्र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगमा उत्कृष्ट केन्द्रहरूको स्थापना हुनुपर्छ। देशभित्र वैज्ञानिक एवं प्राविधिज्ञलाई काम गर्ने उचित अवसर र वातावरण सिर्जना गर्नुपर्छ। यी सबै कामको लागि संविधानमा नै व्यवस्था हुनु जरुरी छ।
देशमा विज्ञान प्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएर नेपाललाई समृद्ध बनाउने हो भने अहिलेसम्म सबैभन्दा सुविधाविहीन, अनाकर्षक र विज्ञान प्रविधिको विकासभन्दा बढी राजनीतिक सन्तुलनका लागि प्रयोग हुने मन्त्रालयका रूपमा चिनिने विज्ञान मन्त्रालयलाई एक महत्वपूर्ण मन्त्रालयका रूपमा विकिसित गर्नुपर्छ। यसको नेतृत्व क्रान्तिकारी सोच भएका र विज्ञानको महत्व बुझेका वरिष्ठ एवं प्रभावशाली (सम्भवतः उपप्रधानमन्त्री तहको) राजनीतिज्ञले लिन सक्नुपर्छ। अन्यथा चुनावी घोषणापत्रमा सबैभन्दा बढी महत्व दिइएको विज्ञान प्रविधि र हाम्रा नेताहरूले यस क्षेत्रको विकासप्रति यदाकदा व्यक्त गर्ने सार्वजनिक प्रतिबद्धता अर्थहीन औपचारिकतामा सीमित रहनेछ।

 

विज्ञान प्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएर नेपाललाई समृद्ध बनाउने हो भने विज्ञान मन्त्रालयको नेतृत्व क्रान्तिकारी सोच भएका र विज्ञानको महत्व बुझेका वरिष्ठ एवं प्रभावशाली राजनीतिज्ञले लिनुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस