नेपाली खेलकुद फेरि एकपटक राजनीतिक लडाइँको बन्दी बनेको छ। नेकपा (एमाले) विरुद्ध एनेकपा (माओवादी)को खेलकुद लडाइँले दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदमा नेपालको सहभागिता अन्योलमा त परेको छ नै तयारी पनि प्रभावित भएको छ।
विगतमा पनि ठूला अन्तर्राष्ट्रिय खेलमेला हुँदा विवाद नेपाली खेलकुदको नियति थियो। विगतमा सरकार पक्ष र नेपाल ओलम्पिक कमिटी वादीप्रतिवादीका रूपमा उभिन्थे। यसपल्ट पात्र फरक छन्। सरकारकै दुई मुख्य निकायका प्रमुखबीच राजनीतिक द्वन्द्व उत्कर्षमा पुग्दा ओलम्पिक कमिटी चाहिँ सातदोबाटोबाट कुरीकुरी गरिरहेको छ। लाजै नमानी कमलपोखरी र त्रिपुरेश्वर आङ कन्याएर छारो उडाउन मस्त छन्।
संविधान सभाको दोस्रो निर्वाचनपछि एमाओवादीले ठूलो दलको हैसियत गुमायो। तेस्रो स्थानको एमाले दोस्रोमा उक्लियो। सरकारमा परिवर्तन भयो। माओवादीकै सिको गरेर खोलिएको एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाए। पार्टीले उनलाई नेपाली खेलकुदको विकास र विस्तारको मात्र जिम्मेवारी दिएको थिएन। सबैभन्दा पहिला माओवादीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ति लिएर बसेकालाई हटाएर एमाले कार्यकर्ता भर्ती गर्नु उनको उद्देश्य थियो। मन्त्रीले पनि काम गर्न आफूअनुकूल व्यक्तिलाई परिषद्मा ल्याउन खोज्नु स्वाभाविकै हो। अझ राजनीतिक नियुक्ति भएकाले 'एमालेको भागमा मन्त्रालय परेपछि एमालेकै नीतिअनुसार खेलकुद् अघि बढाउने हो। हाम्रो नीति कार्यान्वयन माओवादीले गर्न सक्दैनन्। गर्दैनन्। त्यसैले मन्त्रीको अनुकूल पदाधिकारी परिषद्मा पनि चाहिन्छ' भन्ने महासंघका महासचिव लामा टेन्डी शेर्पाको तर्कमा दम पनि होला।
सँगै कानुनी राज्यमा पहिला कानुन त्यसपछि मात्र राजनीति वा नैतिकता भन्ने युवराज लामाको भनाइ पनि कमजोर छैन। उनी कानुनी लडाइँमा लागिसकेका छन्। मन्त्रीले पदावधि सकिएको भन्दै पदमुक्त गरेको विरोधमा अदालत गएका लामा र उनका अन्य ५ सहकर्मी अहिले अदालतकै 'स्टे अर्डर' लिएर पदमा फर्केका छन्। त्यसयता लामाले मन्त्री पौडेलविरुद्ध थप तीन मुद्दा दायर गरिसके। दुवै पक्ष पदको सामान्य मर्यादासमेत बिर्सिएर वाक्युद्धमा छन्। एक पक्ष कानुनको कुरा गरिरहेको छ भने अर्को राजनीतिक नैतिकताको विषय उठाइरहेको छ। तर दुवै पक्षका एउटा समानता के छ भने दुवै आफूलाई खेलकुदको भाग्यविधाता मान्छन्। अर्को पक्षलाई दुवै भ्रष्ट र राजनीतिक 'झोले' देख्छन्।
खेलकुदको विवाद अदालत पुगिसकेको छ। अब यसको टुंगो अदालतले नै लगाउँला। होइन भने मन्त्री पौडेल (एमाले) वा सदस्यसचिव लामा (एमाओवादी) मध्ये एक जनापछि हटेमात्र तत्कालको समस्या टुंगो लाग्ने हो। दोस्रो विकल्प सहज देखिन्न। मुखैमा आएको एसियाली खेलकुदमा तयारी र सहभागिताको नाममा तर काढ्ने लोभ दुवै पक्षलाई हुनसक्छ। विगतमा पनि तर काढ्ने उद्देश्यकै लागि एसियाली खेलकुद, ओलम्पिक र दक्षिण एसियाली खेलकुदअघि नेपाली खेलकुदमा ठूल्ठूला विवाद हुने गरेका थिए। कतिसम्म भने सहभागिताका लागि नेपाली टोली जाँदा 'सेभ द मिसन'को जिम्मेवारी कसले पाउने भन्ने लडाइँमै परिषद् र ओलम्पिक कमिटीबीच असमझदारी हुन्थ्यो। यसले तर काढ्नका लागि मात्र विवाद हुनेगरेको प्रमाणित हुन्छ।
अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा ओलम्पिक कमिटीबाहेक कुनै पनि देशको सरकार वा सरकारी प्रतिनिधिलाई चिनिदैन। ओलम्पिक कमिटीमार्फत्मात्र ओलम्पिक काउन्सिल अफ एसिया र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा स्थानीय आयोजकले काम गर्ने व्यवस्था छ। देशभित्र सबै खेल र खेलाडीको तयारी तथा सहभागिताको लगानी सरकारले गर्ने गर्छ। त्यही 'लगानी सरकारले गर्ने, सेभ द मिसन भएर मोज गर्ने ओलम्पिक कमिटीले?' भन्दै परिषद्ले किचलो गर्थ्यो भने ओलम्पिक कमिटीको प्रतिवाद हुन्थ्यो, 'सरकारको काम लगानी गर्ने नै हो। ओलम्पिक कमिटीको काम सरकारले तयार गरेका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर मिलाउने।'
यसपल्ट सरकार र ओलम्पिक कमिटीको दोहोरी सुन्न र लेख्नबाट सञ्चारकर्मी पनि मुक्त छन्। तर सरकार विरुद्ध सरकारकै लडाइँले स्थिति थप पेचिलो बनाएको छ। सरकारकै दुई पक्ष एसियाड तयारीबारे फरक फरक बैठक गर्छन्। राष्ट्रिय संघ, खेलाडी र प्रशिक्षकलाई आफूखुसी उर्दी जारी गर्छन्, 'खबरदार उतातिर नलाग्नू। उनीहरूले भनेजस्तो होइन। नत्र!' दुवै पक्षबाट उस्तै धम्कीपूर्ण निर्देशन सुन्दासुन्दा खेलाडी वाक्क भइसकेका छन्। तैपनि दुवै पक्ष दाबी गर्न छोड्दैनन् – 'हामी खेलकुदका लागि लडिरहेका छौं। हामी खेलकुदलाई 'सिस्टम'मा ल्याउन चाहन्छौँ। सुशासन दिन चाहन्छौँ। राजनीतिमुक्त पार्नु हाम्रो मुख्य अभियान हो।'
नेपाली खेलकुदमा संघ, खेलाडी र प्रशिक्षक पनि ससाना स्वार्थमा अल्भि्कएका छन्। बरु स्वार्थकै लागि तालाबन्दी, तोडफोड र कुटपिटमा उत्रन खेलकर्मी सबैभन्दा अघि होलान् तर, लागेको कुरा निस्वार्थ भएर अनुशासित ढंगमा मुख फोर्न सक्दैनन्। उनीहरूलाई पनि लोभ छ। संघलाई बर्खास्तगीमा परिएला भन्ने चिन्ता छ। प्रशिक्षकलाई सरुवा हुनुपर्ला भन्ने डर, अनि खेलाडीलाई सहायक प्रशिक्षकको जागिरको मोह। अझ धेरै त आफै विभिन्न राजनीतिक दलका झन्डामा विभाजित भइसकेकै हुन्छन्। त्यसैले लोक लजाउने गरी राजनीतिक दलका कार्यकर्ता खेलकुदमा नांगिइरहेका छन्। खेलाडी र खेलकर्मीमा पैदा गराएको शक्तिको त्रास र राजनीतिक फाइदाको लोभले उनीहरूलाई नांगिन थप दुरुत्साहित गरिरहेको छ।
नबोल्नु भनेको नबुझ्नु चाहिँ होइन। राजनीतिको आडमा नेपाली खेलकुदको महत्वपूर्ण जिम्मेवारीमा पुगेका मन्त्री पौडेल र सदस्यसचिव लामाले यो बुझ्नु जरुरी छ। खेलकर्मीमा पैदा गराएको त्यही त्रास र लोभका कारण उनीहरूले मुख खोल्न मात्र नसकेका हुन्। सहमति जनाएका होइनन्। मनमनै खेलाडी, प्रशिक्षक, खेलकर्मी र खेलप्रेमीले तपाईँहरूलाई सत्तोसराप गरिरहेका छन्। त्रिपुरेश्वरको खेलाडी चोकमा हरेक खेलकर्मीको एउटै आशय सुनिन्छ, 'खेलकुदको विकास, सुशासन, स्थिति बसाल्ने र खेलकुद राजनीतिमुक्त बनाउने हो भने खुरुक्क आफैँ पहिला ऐनामा अनुहार हेर न, थाहा पाइहाल्छौ। पार्टीको झन्डा पेरिसडाँडा र बल्खुमा बिसाएर त्रिपुरेश्वर र कमलपोखरी आऊ त अन्योल आफैँ चिरिन्छ।'