राष्ट्रवादभित्र अन्तर्विरोध
१७ असार २०७१
•
१५ मिनेट पाठ
राष्ट्रवादभित्र अन्तर्विरोध
भनिन्छ, राष्ट्रको आधार परिकल्पना हो। भूगोल, जनसंख्या र ऐतिहासिकताका निश्चित परिभाषाका आधारमा राष्ट्रका सीमा कोरिएका हुन्छन्। यी परिभाषामा समयक्रममा फेरबदल भइरहन्छ। राष्ट्र विशेषका पनि परिभाषा र उद्देश्यमा परिवर्तन आउन सक्छन्। तर, परिभाषामा तरलता हुँदाहुँदै पनि राष्ट्रको सीमाले व्यक्तिको जीवनमा गहिरो अर्थ राख्छ। आफ्नो देश वा राष्ट्रसँगको सम्बन्धलाई मानिसहरूले कुनै क्लब वा संस्थाको सदस्यताका रूपमा नभई पहिचानकै रूपमा बुझ्छन् र सम्मान गर्छन्।राष्ट्रसँगको मानिसको सम्बन्ध पहिचान वा सम्मानमा मात्र सीमित भने छैन। आधुनिक राष्ट्रको इतिहास हेर्ने हो भने व्यक्तिले आफ्नो राष्ट्रको बचाउका लागि ज्यान अर्पण गरेको असंख्य दृष्टान्त भेन्छिन्। मुलुकहरूबीच हुने लडाईँ वा देशभित्रका विद्रोहको प्रमुख ऊर्जा राष्ट्रवाद हो। हाल भइरहेको विश्वकप फुटबलमा आफ्नो देशको टोलीको समर्थनमा दर्शकले व्यक्त गरेका मनोवेगका दृश्यले पनि राष्ट्रसँगको मानिसको सम्बन्धमा रहेको तीव्रता प्रदर्शन गर्छन्।

नागरिकको जीवनमा राष्ट्रको प्रभावका अनेकौं औपचारिक र अनौपचारिक आयाम हुन्छन्। हामीले बोक्ने राहदानी होस् वा राज्यलाई तिर्ने कर त्यसबाट राष्ट्रसँगको हाम्रो सम्बन्ध कायम भइरहेको हुन्छ। राज्यका विधिविधान, प्रशासनिक प्रबन्ध र पक्रिया आदिका माध्यमले पनि सामान्य मानिस राष्ट्रसँग जोडिन्छन्। कानुनीरूपमा राज्यबाट प्राप्त गर्ने परिचय वा सेवासुविधाले हामीलाई औपचारिकरूपमा कुनै राष्ट्रको सदस्य बनाएका हुन्छन्।

तर नागरिकको जीवनमा राष्ट्र र यसको सान्दर्भिकतालाई जोगाइराख्ने काम औपचारिक आधारमा मात्र सम्भव छैन। त्यसैले कुनै पनि राष्ट्रमा शासन सञ्चालनको जिम्मेवारीमा रहेको वर्गले राष्ट्रको पृथक अस्तित्व पुष्टि गरिरहन र यसप्रति सामान्य व्यक्तिको सम्मानलाई जोगाइराख्न विभिन्न प्रतीक र मानकको सिर्जना र प्रबर्धनलाई अत्यन्त ठूलो महत्व दिएको हुन्छ। यस्ता प्रतीकको रचना र प्रबर्धन सर्वसाधारण मानिसले पनि गरिरहेका हुनसक्छन्। नेपाललाई बुद्धको जन्मभूमिका रूपमा चिनाउन वा भारतीय टेलिभिजन च्यानलले आयोजना गर्ने विभिन्न कार्यक्रममा नेपाली समुदायका भनेर चिनिएका प्रतिस्पर्धीलाई जिताउनमा नेपालीले देखाएको चासोलाई राष्ट्रको सान्दर्भिकता थामिराख्ने प्रयासका उदाहरणका रूपमा व्याख्या गर्न सकिन्छ।

बुद्धको जन्मभूमि वा सगरमाथामात्र होइन पृथक वा सबल राष्ट्रका रूपमा नेपालको परिचय बनाउन गीत, कविता, पूराकथा र प्रतीकका रचना भएका छन्। हरेक देशका आआफ्नै राष्ट्रिय गान छन्। उदाहरणका लागि नेपाली वीर छन्, नेपाल सुन्दर छ वा नेपाली सरल र सहयोगी छन्जस्ता अभिव्यक्ति अरूलाई सुनाउन र अरूबाट सुन्न अधिकांश नेपाली रहर गर्छन्। त्यसैगरि, विभिन्न जातका चराचुरुङ्गी, जनावर, पोसाक वा अन्य सामग्रीलाई राष्ट्रको पहिचानसँग जोडेर त्यसप्रति श्रद्धाभाव देखाउने चलन पनि नौलो होइन। यस्तो प्रचलन संसारका प्रायः सबै मुलुकमा छ।

राष्ट्रप्रतिको प्रेमलाई जागृत गराउन वा सशक्त बनाउन कतिपय अवस्थामा काल्पनिक वा असान्दर्भिक परिस्थितिको पनि रचना हुनेगर्छ। बुद्धको जन्मभूमिका रूपमा नेपाललाई भारतले मान्यता नदिएकामा नेपालीहरूको चिन्ता वा सेनकाकु टापुको स्वामित्वका विषयमा चीन र जापानबीच चलिरहेको द्वन्द्वलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। यी दुवै सन्दर्भलाई प्राथमिकतासाथ उठाउनेहरूको चासो बुद्ध धर्म वा सम्बन्धित टापुहरू भन्दा पनि यी विषयले मानिसका मनमा उत्पन्न गर्ने तरंगसँग सम्बन्धित छ। सीमा, संस्कृति, भूगोल आदिसँग सम्बन्धित विषयलाई लिएर चलेका कतिपय अन्तर्राष्ट्रिय द्वन्द्वहरू यथार्थमा आधारित नभएर देशभित्र राष्ट्र प्रेम प्रबर्धन गर्ने उद्देश्यबाट निर्देशित छन्।

राष्ट्रको सदस्यता वा यसप्रतिको सम्मान अत्यन्त संवेदनशील विषय हो। आफ्नो राष्ट्रको अपमान वा यसमाथिको थिचोमिचो रुचाउने मानिस कमै होलान्। धेरैको अनुमानविपरीत भूमण्डलीकरण वा आधुनिकीकरणको प्रक्रियाको समानान्तरमा राष्ट्रप्रतिको प्रेम घट्दै जानुको साटो झन्झन् बढ्दै गएको देख्न सकिन्छ। वर्तमान विश्व परिदृश्यका चुनौतीले पनि मानिसलाई राष्ट्रियताको भावनाप्रति झन् संवेदनशील बनाएको हुनसक्छ।

राष्ट्रप्रेम वा देशभक्तिका सकारात्मक पक्षहरू अनेकांै हुनसक्छन्। राष्ट्रप्रतिको माया वा श्रद्धाले मानिसहरूमा आत्मसम्मान थपेको हुन्छ। कुनै मुलुकलाई राजनीतिक रूपमा स्थिर, आर्थिक रूपमा सबल वा सांस्कृतिक रूपमा समृद्ध बनाउनमा राष्ट्रभक्तिको भूमिका रहन्छ भन्नेहरूको पनि कमी छैन। कतिपय मानिस देशको मायालाई सबै नागरिकले पहिलो प्राथमिकतामा राख्नुपर्ने तर्क गर्छन्। नेपालमा पनि राष्ट्रभक्तिलाई देशविकासको आधार मान्ने सोच धेरै मानिसहरूमा रहेको पाइन्छ। यसो भए तापनि राष्ट्रवाद वा राष्ट्रप्रेमको भावनाभित्र केही उल्लेख्य अन्तर्विरोध छन्। यसको चर्चा र विवेचना आवश्यक छ।

पहिलो, राष्ट्रप्रेम र यससँग जोडिएको संवेदना नागरिकलाई तिनका अधिकारबाट वञ्चित गर्नमा प्रयोग गरिएका उदाहरण प्रशस्त छन्। संसारका विभिन्न मुलुकमा शासक वर्ग वा राजनीतिक नेतृत्वले राष्ट्रवादका नाममा आफ्ना नागरिकबाट निःसर्त आस्था र विश्वासको अपेक्षा गरेका हुन्छन्। नेपालकै सन्दर्भमा पनि पञ्चायती व्यवस्थाको वैधानिकताको प्रमुख आधार राष्ट्रवाद रहेको हो। संसारका विभिन्न तानाशाही व्यवस्थाका मुलुकहरूमा नागरिकलाई अधिकार र स्वतन्त्रताबाट विमुख गर्न राष्ट्रवादको उपयोग गरिन्छ। उत्तर कोरिया वा क्युबाको तानाशाहीको प्रमुख आधार राष्ट्रवाद नै हो।

राष्ट्रवादलाई नागरिक अधिकारविरुद्ध प्रयोग गर्नमा तानाशाहीमात्र होइन, लोकतान्त्रिक भनिएका व्यवस्था पनि निकै अगाडि छन्। भारतदेखि लिएर संयुक्त राज्य अमेरिकासम्मका मुलुकमा राष्ट्रको बृहत्तर हितका नाममा नागरिकलाई स्वाभाविक अधिकारबाट वञ्चित गरिएका प्रशस्त उदाहरण भेट्न सकिन्छ। यी मुलुकमा आतंकवाद रोकथाम वा प्रतिरोधका लागि बनाइएका कानुनी व्यवस्था सामान्य नागरिकका स्वाभाविक अधिकारका विरुद्ध भए तापनि राष्ट्रवादका नाममा तिनलाई वैधानिकता दिइएको छ।

दोस्रो, राष्ट्रवादको भावना गाढा हुँदा यसले आत्ममूल्यांकनलाई नकारात्मकरूपमा प्रभावित गरिरहेको हुन्छ। देशलाई माया गर्नेहरू सामान्यतया आफ्नो देशका सीमितता वा कमजोरीको मूल्यांकनका लागि असमर्थ हुन्छन्। यसको उदाहरण खोज्न अन्यत्र जानुपर्दैन। राष्ट्रवादबाट ओतप्रोत नेपालीहरू देशका सीमितता वा कमजोरीका बारेमा कुनै चासो राख्दैनन् बरु आफ्नो देशलाई संसारकै सुन्दर र महान् भन्ने आत्मरतिमा रमेका हुन्छन्। उदाहरणका लागि नेपालीहरू सबै खोलानालाबाट ८३ हजार मेगावाट बिजुली निकालेर धनी हुन सकिन्छ भन्ने आत्मरतिमा रमाइरहनुमा राष्ट्रप्रेमकै ठूलो हात छ।

विभिन्न लाभका अतिरिक्त नेपालका अनेकौं सीमितता छन्। ज्ञान, सीप र प्रविधिमा नेपाल अन्य कतिपय मुलुकका तुलनामा धेरै पछाडि छ। प्राकृतिक र भौगोलिक रूपमा नेपालका सम्भावनाभन्दा चुनौती बढी छन्। शासक वर्ग वा राजनीतिक नेतृत्वमा राजनीतिक इच्छाशक्तिको अभाव छ। हाम्रा चाहना र मानसिकताबीचमा गहिरो खाडल छ। तर, राष्ट्रवादीहरू यी कुनै कुरामा चासो राख्दैनन्। राष्ट्रवादबाट ओतप्रोत मानिसहरू आफ्नो देशका सीमितता वा नकारात्मक पक्षका विषयमा चर्चासम्म गर्न पनि उत्सुक हुँदैनन्।

राष्ट्रवादको तेस्रो समस्या यसले प्रश्रय दिने असहिष्णुता हो। राष्ट्रवादमा अरूलाई सम्मान गर्ने र विषयवस्तुलाई गहिराइमा पुगेर हेर्ने प्रवृित्तको चरम अभाव हुन्छ। हरेक मुलुकका मानिसले आफूलाई राम्रो वा असल देखाउन अरू मुलुकका नकारात्मक पक्षलाई बढाचढाई गरेर प्रस्तुत गरिरहेका हुन्छन्। संयुक्त राज्य अमेरिकालाई हेर्ने अन्य मुलुकको दृष्टिकोण वा भारतलाई हेर्ने नेपालको दृष्टिकोणलाई यसको उदाहरण मान्न सकिन्छ। भारतप्रतिको नकारात्मक दृष्टिकोण प्रतिशोधमा रूपान्तरित हुँदा नेपालीहरूले कसरी सहिष्णुता गुमाउँछन् भन्ने उदाहरण केही वर्षअघि 'रितिक रोसन काण्ड'मा राम्रैसँग प्रदर्शित भएको हो।

बुद्ध जुन समयमा जन्मे त्यस समयमा राज्य वा तिनका सीमा थिएनन्। आज नेपालको भूभागभित्र पर्ने लुम्बिनीमा जन्म लिए पनि बुद्धले ज्ञान प्राप्त गरेको र जीवनको उल्लेख्य समय बिताएको स्थान आजको भारतीय भूभागमा पर्छ। सगरमाथा नेपालको मात्र होइन चीनको पनि सीमामा पर्छ। हामीले राष्ट्रिय गौरव मानेका प्राकृतिक वा सांस्कृतिक सम्पदा अन्य मुलुकका पनि विशेषता हुन्। तर, राष्ट्रवादले हामीलाई कति संकीर्ण बनाउँछ भने हामी यी सबै कुरा स्वीकार गर्न तयार हुदैनौँ। अनेकौं सुन्दर र विशाल तालको धनी स्विट्जर्ल्यान्डका नागरिकले पनि हाम्रो फेवाताललाई मन पराउनै पर्छ भन्ने अड्डीमा रहन्छौँ हामी। यो असहिष्णुताको स्रोत राष्ट्रवाद नै हो।

अन्त्यमा, राष्ट्रवाद वा राष्ट्रप्रेमलाई सकारात्मकरूपमा मात्र हेर्ने प्रवृित्त गलत छ। राष्ट्रवादले हाम्रो क्षमताको होइन कमजोरीको आधारका रूपमा काम गरिरहेको छ। राष्ट्रप्रेमका नाममा राजनीतिक नेतृत्व वा शासक वर्गले सामान्य जनतालाई आफ्नो हितमा उपयोग गर्ने प्रवृित्तकै हालसम्म पनि नेपालमा प्रभुत्व छ। राष्ट्रवादले हामीलाई आफ्ना सीमितता वा कमजोरीको विवेचना गर्ने कर्तव्यबाट विमुख गरेको छ। त्यसैगरी, राष्ट्रप्रेमका नाममा हामीले कतिपय सन्दर्भमा असहिष्णु र हास्यास्पद काम गरेका छौँ।

आजको विश्वमा शिक्षा र चेतनाका हिसाबले समृद्ध विकसित मुलुकभन्दा चेतनाले पछि परेका गरिब र अल्पविकसित मुलुकमा राष्ट्रभक्तिको भावना सम्भवतः बढी हुन्छ। यसबाट राष्ट्रवाद अविकासको कारक र परिणाम दुवै रहेको प्रस्ट हुन्छ। आफ्ना सीमितताको वास्तविक मूल्यांकन गर्न, सम्भावना पहिल्याउन र सुखद् भविष्यको बाटो कोर्न नेपालीहरूले राष्ट्रवादको सतही सम्भाषण (डिस्कोर्स)बाट आफूलाई मुक्त गर्नु आवश्यक छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस