तन्द्रामा गणतान्त्रिक चेतना
१५ जेष्ठ २०७१
•
१७ मिनेट पाठ
तन्द्रामा गणतान्त्रिक चेतना
प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले परम्परागत सय दिने मधुमासको अवधि पूरा गरेको धेरैले पत्तै पाएनन्। थाहा पाउनेले पनि सरकारी विज्ञप्तिको वास्ता गरेनन्। लाग्छ, यो अहिलेको सरकार आदि कालदेखि नै थियो र अनन्त कालसम्म रहिरहनेछ।त्यसैले यस सरकारलाई केही गर्ने कुनै हतार छैन। भारतका एकजना पूर्व प्रधानमन्त्री भन्ने गर्थे — ‘निर्णय नलिनु पनि निर्णय नै हो। ’ प्रधानमन्त्री कोइरालाले त्यही दिव्यवाणीको अनुसरण गर्दै दिनकटाई रहेको आभास धेरैलाई भएको हुनुपर्छ।
उपप्रधानमन्त्री वामदेव गौतम काज सरुवा विशेषज्ञका रूपमा आफ्नो छवि कायम राख्न सफल भएका छन्। अर्का उपप्रधानमन्त्री पनि आफन्तलाई काँध थाप्ने कामका लागि नै चर्चामा आएका छन्। सामान्य प्रशासन मन्त्रीले ‘तन स्वदेशी मन विदेशी ’ भएका अधिकारीलाई तह लगाउने डंका पिटेका थिए। उनको हात अब गलेजस्तो छ। केही नगर्नेले गल्ती गर्ने सम्भावना साह्रै कम हुन्छ। त्यसैले धेरैजसो मन्त्रीले जागिर पकाइरहनु सामान्य लाग्न थालेको छ।
राजधानीको मध्यम वर्ग मन्त्री नरहरि आचार्यविरुद्ध भने कम्मर कसेर लागेको छ। त्यो स्वाभाविक पनि हो। सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी कानुनी व्यवस्था शान्ति प्रक्रियाका थाती राखिएका काम थिए। जेजस्तो निर्णय गरे पनि राष्ट्रिय अन्तर्राष्ट्रिय विचार निर्माताबाट गाली खाइने डरले यस अगाडिका कुनै पनि कानुन मन्त्रीले त्यस मामिलामा हात हाल्ने आँट गर्नसकेका थिएनन्। मन्त्री आचार्यले निर्णय लिए। खोक्रो आदर्शको ठ्यांग्रो ठोकेर जान्ने भइटोपल्नेहरू क्षुब्ध हुने नै भए। उपलब्धि नै न होला तर सुशील कोइराला सरकारले हालसम्म गरेको एकमात्र नीतिगत अग्रसरताको काम सायद सत्य निरुपणसम्बन्धी नै हुनुपर्छ।
अझै पनि नेपालमा न्यायालय छैन। अदालतहरूमात्र छन्। अदालतले फैसला गर्छ। न्याय भयो वा भएन भन्नेसँग फैसलाको कुनै सम्बन्ध हुँदैन। फैसला प्रचलित नियमकानुनअनुसार हुनुपर्छ। त्यत्ति हो। विधिविधान एवं ऐनकानुनअनुसार भए गरिएका फैसलालाई न्याय मान्ने प्रणालीमा आवश्यक योग्यता पुगेका न्यायाधीशको पात्रतामा मीनमेख निकाल्ने काम पुरेत्याइँमात्र हो। मन्त्री आचार्यको पवित्रतामा एकथरी पुरेतहरूले न्यायाधीश मनोनयन प्रकरणमा पनि प्रश्न नउठाएका हैनन्। यस विषयमा उनको अग्रसरताको गुणदोष आफ्नो ठाउँमा होला। स्वीकार के गर्नुपर्छ भने माननीय सभासद्हरूले रमाइलो मानी मानी प्रश्न गरेका कानुनकर्मीहरू आफ्नो पेसाका स्थापित व्यक्तित्व हुन्। मंगल ग्रहबाट विशिष्ट प्राणी झिकाएर नेपालका न्यायाधीश बनाउन सकिँदैन। फ्रान्सेली उखान छ — हरेक समाजले आफू सुहाउँदो सरकार पाउँछ। अदालत पनि त्यही नै हो।
पश्चिमाहरूले जनताअनुसारको शासक भन्ने अवधारणा अंगीकार गरेका छन् भने पूर्वमा ‘यथा राजा तथा प्रजा’ भन्ने मान्यता छ। हुन पनि पहिला अण्डा कि चल्लाजस्तो वृत्ताकार जिज्ञासा लाग्न सक्छ तर सायद प्रजा गुनाको सरकार भन्ने तर्क बढी वस्तुपरक छ। केही द्रष्टा एवं राजनेताहरूले जनताको जागरुकता एवं आकांक्षालाई दिशानिर्देश गरेको कुरा सही हो। सामान्यतः भने जनता जतातिर गइरहेका छन् त्यस हुलको अगाडि पुगेर बाटो देखाउने नै म हुँ भन्ने भ्रम पार्न सक्ने व्यक्ति तत्कालका लागि नायक ठहरिन्छन्। जनताको गतिशीलता भने युगबोधबाट आउँछ। अब त्यसले आकार कसरी ग्रहण गर्छ भन्ने प्रश्न उठ्छ। विचारधारा, आम राय, जनमत सँगसँगै विश्व परिदृश्यका घटना युगबोधका महत्वपूर्ण अवयव हुन्।
वैचारिक संकट
शासनको सबैभन्दा पुरानो स्वरूप ‘वीर भोग्या बसुन्धरा’ कै हो। तरबारको धारले महाबलीहरू भाग्यरेखा कोर्ने गर्थे। त्यसै मान्यतालाई सैद्धान्तीकरण गरेर कौटिल्यले राजधर्म परिभाषित गरेका थिए। पश्चिमा संसारमा म्याकियावेलीसम्म मूलतः राजाको हित नै राज्यको हित हो भन्ने विश्वास कायम रहेको पाइन्छ। 
राजधर्मलाई शान्ति सुव्यवस्थाका बाध्यताका रूपमा स्वीकार गर्नुपर्ने दार्शनिक आधार थोमस हब्स ( सन् १५८८ — १६७९ ) ले तयार गरिदिएका हुन्। सार्वभौम शासकको असीमित अधिकारबिना राज्य व्यवस्था चल्न सत्तै्कन भन्ने तर्क गर्नेहरू अझै पनि छन्। शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलन अवधारणाद्वारा राज्यको असीमित अधिकारबाट जनताको स्वतन्त्रता सुरक्षित गर्ने व्यवस्थाका बौद्धिक पुरोधा मन्टेस्क्यु थिए। त्यसपछि भने प्रजातान्त्रिक व्यवस्था, लोकहितकारी राज्य एवं व्यक्तिगत स्वतन्त्रताका विषय क्रमिकरूपले स्थापित हुँदै गए।
युरोपको औद्योगिक क्रान्तिको तिम्ल्याहा वैचारिक सन्तानका रूपमा साम्राज्यवाद, उदारवाद एवं समाजवाद देखापरेका थिए। उपनिवेशवाद, पुँजीवाद एवं साम्यवाद तिनैका केही परिष्कृत वा विकृत रूप हुन्। आस्थाअनुसार प्रत्येक व्यक्तिले आफ्नो र अरूको विचारधारालाई अर्थ्याउने गर्छन्। प्रथम विश्वयुद्धपछि सैन्यवाद पनि एउटा मान्यताकै रूपमा प्रकट भयो भने हुन्छ। कालान्तरमा त्यो फासीवादी राष्ट्रवादमा विकृत भयो र द्वितीय विश्वयुद्ध निम्तियो।
विकासको सपना बाँड्ने पश्चिमा गठबन्धनको रणनीति एवं मुक्तिको इन्द्रेनी देखाउने सोभियत गठजोडको जोडबल शीतयुद्ध ताका मूलतः दोस्रो विश्वयुद्धपछिको प्रभाव क्षेत्र कायम राख्ने यथास्थितिवादी उद्देश्यबाट अभिप्रेरित थिए। विकास वा मुक्ति विश्वका अधिकांश जनताका लागि अझै सपनासरहै छ। विपन्नता र दासताका रूप भने फेरिएका छन्। त्यसैले परम्परागत प्रजातन्त्र वा साम्यवादप्रति आकर्षण घट्दै गइरहेको छ।
सन् १९९० पछि अमेरिकी वर्चस्वको वैचारिक औजारका रूपमा वैश्वीकरण पैलिएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठनजस्ता संरचनाबाट प्रवर्धित उन्मुक्त बजारका नकारात्मक प्रभावहरू बारे टीका टिप्पणी हुन थालेपछि कुनै बेला अस्वीकार्य ठहर्‍याइएको ‘एसियाली पन्थ’ नामाकरण गरिएको ‘नरम नियन्त्रणवाद’ अचेल पुनः चर्चामा आएको छ। 
इतिहासमा सबैभन्दा छिटो र धेरै जनतालाई गरिबीबाट मुक्त गर्न सफल खुला अर्थतन्त्र तर निर्देशित राजनीतिको ‘बेइजिङ कन्सेन्सस’ दोस्रो विश्वयुद्धपछि व्यापकरूपमा प्रचार प्रसार गरिएको ‘वासिङटन कन्सेन्सस’को विकल्पमा रूपमा देखिन थालेको छ। मध्यम वर्गको मुखर विद्रोहबाट सरकारमा पुर्‍याइएका भारतका नरेन्द्र मोदी, त्यसअघि आन्ध्र प्रदेशका मुख्यमन्त्री छँदाका चन्द्रबाबु नायडु वा विहारका नीतिश कुमारजस्तै ‘विकास पुरुष’ चित्रित गरिएका छन्। नारामा सिंगापुरका ली क्वान युको नाम प्रयोग गरिए पनि आजभोलि सबै ‘विकास पुरुष’ ( विकास महिला भन्ने थेगो उतिसाह्रो सुनिएको छैन) देङ सियाओ पिङजस्तै असीमित अधिकारको खोजीमा देखिन्छन्।
के गणतन्त्रको प्रमुख उद्देशय प्राकृतिक स्रोतको असीमित दोहन गरेर हातहातमा मोबाइल र घरघरमा टेलिभिजन पुर्‍याई उपभोक्तावादलाई जीवनको एकमात्र उद्देश्यका रूपमा स्थापित गर्नु हो? धार्मिकमात्र हैन व्यावहारिक चिन्तकहरूले पनि चाहना नियन्त्रणलाई महत्व दिने गरेका छन्। सुकरात र अरस्तुदेखि अमर्त्य सेनसम्म सके ‘सर्वजन हिताय’ नभए पनि कम्तीमा ‘बहुजन हिताय’ प्रणालीको खोजीमा रहँदै आएका छन्। हुनत, त्यसका अर्थराजनीतिक खाका कस्तो हुने हो भन्ने चाहिँ सायद कसैलाई थाहा छैन।
पुँजी स्वेच्छाले विचरण गर्न पाउने तर श्रमको स्वतन्त्र आवतजावतमा राज्यहरूले आफूखुसी नियन्त्रण कायम गर्न विश्व अर्थ व्यवस्थामा राष्ट्रियताको परिभाषालाई अद्यावधिक गरेर सान्दर्भिक बनाइराख्न गाह्रो छ। नग्न पुँजीवादका त्रासदीहरू उजागर हुँदै गएपछि सहयोगी पुँजीवाद (कोलाबोरेटिभ क्यापिटलिज्म) को अवधारणा अगाडि सारिएको छ। तर, सम्पन्नले मात्र निर्वाचन प्रक्रियामार्फत् राजनीतिक लगाम समात्नसक्ने गणतन्त्र परम्परागत सम्भ्रान्ततन्त्रभन्दा फरक होइन भन्ने सन्देह बढ्दै गएको छ।
प्रकटरूपमा नेपालजस्तो सीमान्तीकृत अर्थराजनीति विश्वव्यापी वैचारिक अन्योलभन्दा बाहिर देखिए पनि गणतन्त्रका आधारभूत प्रश्न एवं विकल्पहरू मिल्दाजुल्दा छन्। प्रविधिबाट चमत्कारको आशा ( हाते फोनमा सित्तैमा इन्टरनेट उपलब्ध भएपछि जनताले जागरुकता देखाउन थाल्छन् भन्ने एउटा भारतीय सेवा प्रदायकको प्रचारजस्तो) वा सबै दुःखको उपचार धार्मिक आस्था हो भन्ने उन्माद फैलँदै गएको छ। नवरुढीवादको विस्तार भइरहेको समसामयिक विश्वमा बिचरो गणतन्त्र दीन, हीन र असहाय देखिँदैछ। नेपालमा त्यस्तो विचलन झनै विकराल हुँदै गएको छ।
झिनो प्रतिरोध 
नवरुढीवाद विभिन्न आवरणमा फैलँदै गए पनि सार्वभौम संसद् मौन छ। सार्वभौमिकताका अभ्यास गरिने सडकहरू खाली छन्। बैठक कोठाको वैधानिकता पाएर क्रियाशील रहने प्रशस्ती गायहरूबाहेक अरूको स्वर सुनिनसमेत छाडेको छ। अन्तर्जालको अराजक संसारमा भने रमितेहरूको गतिविधि बढेको छ। त्यो गतिविधि हो सक्रियता होइन। फेसबुकमा फनफन वा टि्वटरमा ट्वारट्वार गर्दैमा सारभूत रूपान्तरण हुँदैन भन्ने इजिप्ट र थाइल्यान्डको सेना तथा युत्रे्कन एवं भारतका धनीमानीले ‘भ्रष्टाचार विरोधी’ दस्तालाई देखाइसकेका छन्। 
मोहम्मद मोर्सीलाई धर्मान्ध एवं सिनावात्रालाई प्रियतावादी भन्नेहरू सेनाले सत्ता हत्याएपछि शान्त भएका छन्। मनमोहन सिंहलाई कमजोर भन्नेहरू रातारात छेपारो भएर कर्पोरेट जगतको छाया सरकारलाई नमो नमः गर्न थालेका छन्। गणतन्त्र कस्तो हुने भन्ने विषयमा विवाद होला। तर, त्यसलाई व्यक्ति हैन दलले सञ्चालन गर्‍यो भनेमात्र जनहितसँग जोडिन पुग्छ। नेपालमा सबैजसो राजनीतिक दलहरू फ्भावहीन हुँदै गएकाले गणतन्त्रको नियमित विकासक्रमप्रति अविश्वास बढिरहेको हुनसक्छ। सत्तामा शून्यता त रहँदैन। राजतन्त्र फर्काउन त अब सम्भव देखिँदैन तर परम्पराको नियन्त्रणबाट मुक्त तारणहार अन्ततः संहारक भएर निस्कन्छ भन्ने यथार्थ त सामान्य इतिहास चेतना भएको व्यक्तिले पनि बुझेको हुन्छ।
बहुलतायुक्त समाज एवं अर्धनिर्मित राज्यमा गणतन्त्र सायद सुस्त गतिमै चल्ने रहेछ। एक्सेलेटरको साँटो ब्रेकजस्तो सहयात्री भएको सरकार चलाउन सहज त पक्कै हुँदैन। त्यति हुँदाहुँदै पनि आफ्नो अकर्मण्यताको दोष प्रधानमन्त्री सुशील कोइरालाले अरू कसैका थाप्लामा राख्न पाउँदैनन्।
विदेश भ्रमणका लागि ‘सवारी’ चलाइँदामात्र देशमा प्रधानमन्त्री पनि रहेछन् भन्ने आवस्था धेरै कालसम्म चल्न सत्तै्कन। सहीगलत जेजस्तो भए पनि एमाले माओवादी पंक्तिमा गतिशीलता छ। नेपाली कांग्रेसको तन्द्रा भने भयावह बन्दै गइरहेको छ। र त्यसको अन्त्य नभएसम्म राजनीतिक जडता टुंगिने छाँटकाँट छैन।
समृद्धि एवं विकासका नारा आकर्षक हुन्छन्। त्यस्ता आश्वासन फोस्रा ठहरिएपछिको विकर्षण एवं विरक्ति झन् डरलाग्दो हुन्छ। तर, पटकपटकको गल्तीबाट समेत पुनरावलोकन एवं पुनर्विचार नगर्नेहरूले गर्दा नै राजनीतिकर्मी बदनाम भएका हुन्। जनतासँग विकल्प नै छैन भन्ने दम्भ प्रायः आत्मघाती हुनपुग्छ। सुशील कोइराला सरकारको सय दिन सकियो। आफ्नो सान्दर्भिकता साबित गर्ने समय भने बल्ल सुरु हुँदैछ नवरुढीवादी सरकारका लागि। जनता अनन्तकालसम्म प्रतीक्षारत रहनेछैनन्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस