जजमानी संस्कृतिको रोचकता
१८ वैशाख २०७१
•
२२ मिनेट पाठ
जजमानी संस्कृतिको रोचकता
पवित्र हुनलाई नुहाउन नै जानुपर्छ भन्ने छैन। राष्ट्रपति रामवरण यादवले वाग्मतीमा गएर जल सिँचन गरे। पूजामा बस्नेहरु आचमन गर्छन्। साधु जीवनशैलीका लागि कहलिएका मुख्य न्यायाधीश कुन्नि कुनचाहिँ खोलामा डुबुल्की लगाएको तस्बिर अन्तर्जाल (इन्टरनेट) तिर छ्याप्छ्याप्ती देखिएको थियो।शायद उनले मन्त्र वा मौसल स्नान गरेका होलान्। कर्मकाण्डका ज्ञाता छन्। विदेश भ्रमणमा जाँदासमेत स्नानद्रोणी (बाथटब) भित्र जडीबुटी मिसाएर, शुद्धीकरण गरेर मात्र सम्माननीय प्रमुख श्रीमान् (प्रशस्तीको संस्कारले गर्दा नेपालीहरुमा सम्बोधनमा अतिरेकको अवधारणा नै छैन्) रितपूर्वक प्रक्षालन गर्ने गर्छन् भन्ने कुरा उनका आफन्त एवं प्रशंसकमाझ प्रख्यात छ।
शुद्धताका लागि सेचन, आचमन एवं स्थानभन्दा सहज उपाय पनि उपलब्ध छन्। गुरुको आशीर्वादबाट गंगा स्नानभन्दा पनि बढी पुण्य प्राप्त हुन्छ। त्यसैले होला, सरकार प्रमुखदेखि पूर्व प्रधान मन्त्री एवं ठूला व्यापारीदेखि चलनचल्तीका सञ्चारकर्मीसमेत स्वामी कमलनयनाचार्य महाराजको आशीर्वचनका लागि लाम लाग्ने गर्छन्। मुलुकको स्थायी सञ्चालनको औजार भएर मन्त्री बन्न पुगेका एक कवि हृदय महामनाले त सार्वजनिक लगानीद्वारा स्वामीजीको आश्रमको सुरक्षा एवं सौन्दर्भ सुनिश्चित गरिदिए। आखिर गुरुचरण चार धामभन्दा सहज बाटो भने अनुमोदनको हो। ब्राह्मणस्य वचनम् शुद्धम्। त्यसभन्दा बढी किन भनिराख्नु पर्‍यो र? नेपालमा पढ्न सक्ने जति सबै जान्ने नै छन्। अब विज्ञेषु किम अधिकम्?
पवित्रताको प्रसंग भने नेकपा (एमाले) ले नेपालको अर्थतन्त्र पुँजीवाद उन्मुख भएको युगान्तकारी निष्कर्षले गर्दा समसामयिक बन्न पुगेको हो। एमालेको निर्क्यौल मुलुकका विचार निर्माताहरुका लागि निर्देशसरह हुने गर्छ। सामान्य पाठक–स्रोता भने प्रायशः विमर्श प्रवाहमा डुबुल्की लगाउन चाहँदैनन्। शीर्षकले सेचन वा उद्धरणका आचमन गरेर शुद्ध हुन्छन्। र, जसोतसो मूल पुरोहितको वचन, त्यहीअनुसार स्वाहा भन्न थाल्छन्। कुनै बेला ‘अर्ध साम्राज्यवादी एवं अर्ध सामन्तवादी' नेपाली अर्थ राजनीतिको थेगो भएजस्तै अब भने ‘पुँजीवाद उन्मुख' मन्त्रले व्यापकता पाउने सम्भावना देखिँदैछ।
अर्थ राजनीतिका यथार्थहरु भने स्थापित विचारको खोपामा खुरुक्क राख्न मिल्नेखालका हुँदैनन्। प्रतिनिधित्व बेगरको कर संकलन, अनुपस्थित भूस्वामित्व एवं राज्य सम्बर्द्धित जनसंख्या स्थानान्तरणद्वारा अभिशप्त मधेसीको दृष्टिकोणबाट नेपालको अर्थ राजनीति हेर्ने हो भने उपनिवेशवादमा झुण्ड्याइएको अर्ध उपसर्गको निरर्थकता स्वतः स्पष्ट हुन्छ। त्यस्तै, जंगबहादुरले सत्ता हत्याएपछि सामन्तवादको परम्परागत अवधारणा (महासामन्तका लागि सैनिक एवं सैन्य सामग्री उपलब्ध गराउने सर्तमा रैतीलाई कज्याउन पाउने एकछत्र अधिकारको प्रयोग) अन्त्य भयो। त्यसपछि श्री ३ महाराज स्वयं महासामन्त भए भने तिनका भाइ, भारदार, दरवारिया, चाकरिदार एवं सेवक कि त ज्यालाका लागि काम गर्ने कामदार वा कुत–कर र बेठ–बेगार उठाउने मौखिक करारनामाका ठेकेदारका भूमिकामा सीमित भए। दरबारका सामान्य कर्मचारीका अगाडि ‘मै हुँ' भन्ने जग्गावालको पनि वाक् नफुट्ने चलन त शाह पुनर्स्थापनपछि पनि कायम नै रह्यो। व्यवहारगत अवशेष त सम्बन्धहरुमा अझै बाँकी छ।
दरबार केन्द्रित अर्थ राजनीतिको सामाजिकतलाई डोरबहादुर बिष्टले चाकरी प्रथाका रूपमा विश्लेषण एवं व्याख्या गरेका छन्। उनको ‘आफ्नो मान्छे' अवधारणाले नेपालको शासनतन्त्रको सामाजिक संरचना बुझ्न सघाउँछ। अर्थ राजनीतिको दृष्टिकोणबाट भने चाकरी वा आफ्नो मान्छे प्रारूपका उपयोगिताहरु आवश्यक भए पनि पर्याप्त लाग्दैनन्। चाकरी बजाउन पुग्नेहरुमध्ये आफ्नो मान्छे त मूल ढोकाबाटै दरबारको पर्खालभित्र छिर्न पाउँछन्। त्यसपछि महलको कोठाचोटाभित्रका सीमारेखाहरु भने जजमानी प्रथाका प्रचलनहरुद्वारा निश्चित गरिएका हुन्छन्।
कानुनतः जातपात निर्मूल गरिएको आधा शताब्दीभन्दा बढी भयो तर धोबी वा हजाम आफ्ना जजमान (संस्कृतमा आश्रय दिने व्यक्तिका लागि समेत प्रयोग गरिने यजमानको शाब्दिक प्रयोगका अर्थमा) कहाँ यज्ञ गराउने पुरोहितसँगै पूजा गराउने कोठासम्म पुग्न सक्दैनन्। सोपानतन्त्र वर्णाश्रम व्यवस्थामा जस्तै जजमानी अर्थ राजनीतिको आधारभूत संरचनाका रूपमा रहेको छ। सामान्य जीवनका अन्य धेरै कुरा जस्तै जजमानी प्रवृत्तिको व्यापकता स्वतः स्पष्ट भएकाले यसबारे खासै चर्चा/परिचर्चा भने हुँदैन। तर ‘पुँजीवाद उन्मुख' अर्थ राजनीतिक अवधारणाले सामाजिक स्वीकृति पायो भने जजमानी प्रथा अझ बढी शक्तिशाली बन्ने जोखिम भने बढ्न सक्छ। पुनरोत्थानको सोझो लाभ बाहुन बाहुल्य भएको राजनीतिक दल एमालेले पाउनेछ। तर अर्थ राजनीतिमा रूपान्तरणको मुद्दा कमजोर हुनु सामाजिक तथा सांस्कृतिक सामञ्जस्यका लागि उत्साहबर्द्धक सुरुवात होइन। कसैलाई मन परे वा नपरे पनि एमाले नेपाली राजनीतिको महत्वपूर्ण धार रहेकामा शंका गर्नुपर्दैन। अघोषित त जे थियो, छँदै थियो। औपचारिकरूपमै एमालेले पुँजीवाद उन्मुखतालाई अर्थ राजनीतिक यथार्थका रूपमा स्थापित गर्न सुरु गरेपछि तथाकथित ‘सुधारवादीहरु' राज्य–समाजभित्र अझ बढी चर्को स्वरमा बोल्न थाल्ने पक्का छ।
संग्रहित सम्पत्ति
आदिम संग्रहका बारेमा कार्ल मार्क्सको टिप्पणी प्रख्यात छ। सम्पत्ति मूलतः ‘फतह, दासकरण, डकैती र हत्या, संक्षेपमा बल प्रयोग' द्वारा मात्र थुपार्न सकिन्छ। फ्रान्सेली कथाकार वाल्जाकले त्यसैलाई कलात्मकरूपमा भनेका छन्– ‘अकारण जस्ता लाग्ने विशाल वैभवका पछाडि रित पुर्‍याएर गरिएको र बिर्सिसकिएको अपराध रहस्य भएर लुकेको हुन्छ।' र, विशाल वैभव त अकारण नै हो थुप्रिने। ढाँट, छल, कपट एवं बल प्रयोगद्वारा आदिम संग्रह पूरा भएपछि पुँजी स्वयं शक्तिको स्रोत बन्न पुग्छ।
सामन्ती व्यवस्थामा आदिम संग्रहद्वारा लाभान्वित समूहले आयाधिक्यको लगानी अझ बढी आम्दानीका लागि गर्ने गर्थे। त्यसैले गर्दा समुद्रपारिको जोखिमपूर्ण व्यापार एवं औद्योगिकीकरण सम्भव भयो। तर, जजमानी अर्थ राजनीतिमा संरक्षतकर्ता एवं संरक्षित (पैट्र क्लाएन्ट) दुवैथरीको भविष्य निरन्तर अनिश्चित भइरहने भएकाले पुँजी निर्माण एवं पुँजी पलायन प्रक्रिया सँगसँगै सुरु भए। मधेसी रैतीको पसिना एवं जनजाति लडाकाहरुको रगतको अर्ध प्राप्तिद्वारा केही महल काठमाडौंमा ठडिएका भए तापनि उल्लेख्य रकम काशी, प्रयाग, कलकत्ता, राँची, बंगलोर र देहरादुनदेखि सागरसम्म त छिमेकी भारतमै फैलिएको थियो। सिंगापुर, मलेसिया र अस्टे्रेलियातिर लगानी गर्ने चलन केही नयाँ भए पनि बेलायत र स्विटजरल्यान्डतिर पुर्‍याइएको संचित धनको लोखाजोखा नै छैन। नेपाल ट्रस्टको आंकडा पत्याउने हो भने शाह राजाहरुबारे त्यत्तिकै हल्ला फैलाइएको रहेछ। कि त राजा वीरेन्द्रको सम्पत्ति कता गयो? अचम्म मान्नुपर्छ। होइन भने विचरा अलि ठूला जमिनदार मात्र रहेछन् भन्नुपर्ने हुन्छ।
सम्पत्ति पलायन सामान्य प्रवृत्ति भएपछि राज्यको भविष्य सुनिश्चित गर्ने सामाजिक पूर्वाधारमा कसैले पनि लगानी गर्दैन। परोपकारी पुँजीवाद नयाँ अवधारणा भए पनि त्यसका जराहरु सामाजिक संरचनाभित्र रहेका हुन्छन्। जजमानी संस्कृतिमा भने घाँसीले कुवा खनाउने छन्। तिनीभन्दा कैयौँ गुणा सम्पत्ति भएकाले कविता लेखेर वाहवाही पाउँछन्। मन्दिरमा झुण्याउन लगाएको ऐनामा समेत दाताको नाम रातो अक्षरमा लेख्नुपर्ने आवश्यकता ‘मनसा, वाचा, कर्मणा' दरिद्र बन्न पुगेको समाजमा मात्र देखिन सक्छ।
उद्यमशीलता पुँजीवादको परिष्कृत स्वरूप हो। पुँजी, श्रम, संसाधन एवं प्रविधिको सुनियोजित प्रयोगबाट प्राप्त भएको समुचित प्रतिफललाई सम्मान गरिनुपर्छ। त्यस्तो सम्पत्तिको सुरक्षा व्यक्तिको अर्थ राजनीतिक अधिकार हो। तर जोखिम उद्यमीले मात्र होइन, जुवाडे एवं अपराधीले बढी उठाउँछन्। साहसिक पर्यटनका सहयोगीहरु त झन् ज्यान हत्केलामा राखेर हिमालमा भर्‍याङ झुण्याउँछन्। प्रतिफलको वितरण त फरक फरक हुने रहेछ। सहज ज्ञानलाई हालसालै फ्रान्सेली अध्येता थोमस पिकेट्टीले गहन अनुसन्धानबाट अनुमोदन गरेका छन्– सम्पत्ति परिश्रम, ज्ञान वा साहस होइन कि सम्पत्ति स्वयंले मात्र थुपार्न सकिने रहेछ। आश्रितले जति नै मेहनत गरे पनि धनी हुने मूलतः जजमान नै हुन्छन्। धनी झन् धनी हुँदै जाने प्रक्रिया पुँजीवादको आधारभूत प्रवृत्ति त हुँदै हो। जजमानी संस्कृतिमा त्यो अझै विकृतरूपमा देखापर्छ।
कामको अन्तरनिहीत आनन्दसँग विमुख श्रमिकमा आत्मसन्तुष्टिको भाव दिनानुदिन क्षीण हुँदै जान्छ। नवहिन्दुकरण गरिएका जजमानले संस्कृत बुझ्दैनन्। त्यस्तो ठाउँमा सत्यनारायण कथाका श्लोकको साटो चण्डीपाठ गरिदिए पनि कसैले चल पाउने होइनन्। ‘राजाको काम, कहिले जाला घाम' प्रवृत्ति कायमै रहेसम्म सार्वजनिक सेवा सामान्य ज्यालाको कार्य मात्र नभएर सेवा कर्म हो भन्ने मान्यता स्थापित हुँदैन। अनि त चिकित्सकले हड्ताल गर्ने, शिक्षकले तालाबन्दी गर्ने र कानुनकर्मीले नाराबाजी गर्ने जस्ता काम सामान्य हुने नै भए। दक्षिणाका लागि पुरोहित, दानका लागि पण्डित एवं बक्सिसका लागि सेवकले जजमानलाई घुर्क्याउने कुरा अनौठो होइन। चलेकै चलन हो।
नेपाल पुँजीवाद उन्मुख नै हो भन्ने निष्कर्ष वस्तुपरक विश्लेषणमा आधारित भएको भए तापनि बल्खु दरबारका हर्ताकर्ताहरुले हर्षबढाइँ गर्न हतार नगरे हुन्छ। नेपालका परम्परागत पुँजीपतिहरुको आयको मुख्य स्रोत उद्यम वा लगानीभन्दा पनि व्यापार तथा जमाबन्दी आय (रेन्ट भ्यालु) त हुँदै हो, उदीयमान धनपतिहरु समेत बट्टा खाने व्यवसायमै फस्टाइरहेका छन्। विप्रेषण, वैदेशिक सहयोग एवं शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, बचत र ऋण व्यवस्थापन तथा आधारभूत आवश्यकताका वस्तुहरुको वितरणमा देखिएको ‘कार्टेल' तथा ‘सिन्डिकेट' हरुले पुँजीवादलाई अगाडि बढ्न दिने छैनन्।
राज्यको अग्रसरता
जजमानी व्यवस्थामा रीतिथिति एवं चलन निर्णायक हुने गर्छ। श्राद्धमा बिरालो छोप्ने प्रचलन रहेछ भने त्यसको सान्दर्भिकतामा प्रश्न उठाउनु दुस्साहस ठहरिन सक्छ। त्यसैले जजमानले तोकिदिएको परिधि एवं पुरेतले निर्धारण गरेको विधिभित्र रहेर जस्तोसुकै जोखिम उठाए पनि त्यसभन्दा बाहिर गएर सिर्जनात्मकता देखाउने अधिकार कुनै पनि सेवाकर्मीको हुँदैन। भाँडा माझ्ने या लुगा धुने हाते कलसमेत बनाउन नसक्ने समाजमा कलात्मकता मन्दिर, मूर्ति वा महलमा मात्र देखिनु अस्वाभाविक होइन। जड समाजमा परिवर्तनको अग्रसरता नाफा क्षेत्रले लिन सक्दैन। अगैसस भनिने पससहरुले त झन् कठिन सामाजिक रोगको उपचार विकासे झारफुक गरेर मात्र गर्न खोज्छन्। एकथरी भुइँफुट्टा वर्गको रोजीरोटी त्यस्ता काम गरेर राम्रैसँग चल्छ। समाजको शक्ति सन्तुलनमा त्यसले कुनै असर गर्दैन। उसै पनि गैसस अवधारणा राज्यलाई नियन्त्रणमा राख्न ल्याइएको हो। निर्वाध नाफालाई अनुगम गरेर सामाजिक न्याय सुनिश्चित गर्नु पससहरुको उद्देश्यभित्र पर्दैन।
नाराको रूपमा नवउदारवादीहरुले जेसुकै भने पनि अर्थ राजनीतिको मूल प्रश्न अहिले पनि न्यायसंगत वितरणकै हो। उत्पादन बढाउनुपर्छ भन्ने उद्देश्यसँग त कसले विमति जनाउन सक्छ र? तर रोटी टुक्र्याउने काममा ध्यान नदिई त्यसको आकार ‘निजीकरण, लगानी प्रबर्द्धन एवं खुला बजार' भन्ने सूत्र वाक्यको मन्त्र जप नियमितरूपमा गरेरमात्र बढ्दैन।
नेपालका मुख्य आर्थिक गतिविधि (निर्माण, व्यवसाय, जनशक्ति निर्यात, विप्रेषण व्यवस्थापन, आयात–निर्यात, पर्यटन एवं सार्वजनिक यातायात) पूर्णतः नाफा क्षेत्रको कब्जामा छ। कृषि कर्म अब निर्वाहयोग्य पनि रहेन। अब त सार्वजनिक प्रशासन, प्रहरी, कर–भन्सार र सेनाको निजीकरण गरेमात्रै हो। आर्थिक सुधारबारे अनावश्यक हो–हल्ला नगरे हुन्छ।
वैदेशिक लगानीको मृगमरीचिका पनि कम लाखलाग्दो छैन्। यथास्थितिमा वैदेशिक लगानी ओइरिने हो भने पनि त्यो कैयौँ गुणा प्रतिफलसहित आएकै हवाईमार्गबाट फिर्ता जान्छ। अर्थ राजनीतिको सञ्चालन क्षमताभन्दा बढी पुँजीले रोजगार सिर्जना वा कर संकलनमा खासै योगदान गर्दैन भन्ने कुरा स्रोत दोहनमा आधारित गरिब मुलुकहरुमा पटक–पटक देखिसकिएको छ। नेपालको अर्थतन्त्र उड्न त परै जाओस्, गुड्ने अवस्थामा पुग्नसमेत समय लाग्ने देखिँदैछ। हतार गरियो भने सिंगापुर वा कोरियाको साटो अफगानिस्तान बन्न सक्ने जोखिम बढी छ। त्यसो भए अबको बाटो के त? यो प्रश्न कम, उपहास बढी हो। बजारवादीहरु आफ्ना निर्विकल्पताबारे त्यति धेरै आवश्स्त छन्।
विकल्प अवधारणाकै चरणमा रहे पनि खुला बजारको जय/जयकार गर्नेहरुको स्वर सन् ९० को दशकतिर जस्तो चर्को अब रहेन। सोभियत संघको विघटनपछि समाजवाजको चर्चासमेत ओझेलमा पर्न पुगेको थियो। अब भने ‘गैरसाम्यवादी समाजवाद' बारे खुला बहस पुनः सुरु हुने सम्भावना देखिन थालेको छ। दुर्भाग्यवस वैचारिक दरिद्रताले गर्दा नेपाली कांग्रेस त्यस्तो विमर्शमा कतै छैन। त्यसो हुँदैमा एमालेको पुँजीवादी चण्डीपाठ अर्थ राजनीतिको निर्देशक नीति भयो भने विपत्ति अझ गहिरिन सक्ने सम्भावनाप्रति सचेत रहन भने जरुरी छ।
अर्थराजनीतिको आधारभूत कार्यसूची क्षमता विस्तार हुनुपर्छ। पुँजी निर्माण वा परिचालन त्यसपछि मात्र उपलब्धिमूलक बन्न सक्छ। चीनको उदारवादको चमत्कार साम्यवादको जगमा ठडिएको हो। कर र अन्तरन (ट्याक्स एन्ड ट्रान्सफर) भन्दा अघिको आय वितरण हेर्ने हो भने युरोपका केही देश अमेरिकाभन्दा असमान छन्। राज्यको अग्रसरताले त्यस्ता असमानतालाई सह्य स्तरमा ल्याउने हो।
एमालेले पुँजीवाद उन्मुख भनिसक्यो। एमाओवादी उत्पादन ब्रिगेडको कुरा गर्दैछ। नेका बल्ल आचमन गर्ने सुरसार गर्दैछ। मन्त्र कुन पढ्ने हो, सुनिन बाँकी छ। जनता भने अब फूल प्रसाद पाएर सन्तोष गर्ने अवस्थाभन्दा केही माथि उठेका छन्। राजनीतिक पुरेतहरुको असन्तोष व्यवस्थापन गर्ने क्षमता एवं जजमानहरुको अनुकूलन सामर्थ्य पुनर्परीक्षण हुने अवस्था फेरि आउन सक्छ। तबसम्म सार्वजनिक जीवनको तमासा हेर्दै रमाउन सबै स्वच्छन्द छन्। नाटक जारी छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस