जितुवाको जयजय
०७ चैत्र २०७०
•
२१ मिनेट पाठ
जितुवाको जयजय
जनमुक्तिको साटो समृद्धिको राजनीति गर्नेहरू सरकारमा छन्। सम्भ्रान्त राजनीतिकर्मीले जे काम पनि सुस्तरी गर्छन्। कसैलाई कुनै कुराको हतार हुँदैन। त्यसैले निर्वाचन परिणामपछि सरकार निर्माणसम्ममै पनि केही महिना लाग्यो। त्यसपछि अरू केही साता साता मन्त्रीहरूको सम्पत्ति सार्वजनिक हुन लाग्ने नै भयो।सत्तासीन दलहरूबीचको गठजोड चुनावअघि भएको थिएन। सरकार बनाउनैका लागिमात्र एक ठाउँमा आउने भएपछि स्वाभाविकरूपमा न्यूनतम सहमतिका नीति तथा कार्यक्रमभन्दा मन्त्रालयको बाँडफाँट महत्वपूर्ण बन्नपुग्छ। उसै पनि समृद्धिको राजनीति गर्नेहरूको नीति तथा कार्यक्रम परामर्शदाताले बनाउने गर्छन्। तिनले आफ्नो काम आफ्नै सुविधा र प्राथमिकताअनुसार गर्छन्।
सार्वजनिक गरिएको मन्त्रीहरूको सम्पत्ति विवरण नीति तथा कार्यक्रमभन्दा चाखलाग्दा छन्। अनुमान गरिएजस्तै यस सरकारले वर्गीय दृष्टिकोणबाट औसत नेपालीको प्रतिनिधित्व गर्दैन। त्यसलाई मनन नगरेसम्म नीति तथा कार्यक्रमहरूका बारेमा टिप्पणी गर्नु उपयुक्त हुँदैन। केही परोपकारी एवं बलिदानी स्वभावका व्यक्ति सबै समाजमा हुन्छन्। प्रायः व्यक्तिको प्राथमिकता भने आफ्नै हितबाट निर्देशित हुन्छ। विचारधारा र आदर्श गौण बन्दै गएको परिवेशमा त झन् सार्वजनिक हितका लागि व्यक्तिगत महत्वाकांक्षालाई बलि चढाउन तयार हुनेहरूको संख्या कम हुँदै जानु आश्चर्यको विषय होइन।
सम्पत्ति एवं समर्पणका आधारमा सरकारका मन्त्रीहरू व्यक्तिगत एवं सामूहिक मूल्यांकन गर्ने विधि केही हचुवाजस्तो लागे पनि आधारहीन भने होइन। के र कस्तो प्रकारको सम्पत्ति कुन किसिमले आर्जन गरिएको रहेछ भन्ने व्याख्याले राजनीतिकर्मीको व्यक्तिगत झुकाव देखाउँछ। कस्ता प्रकारका प्रतिबद्धता सार्वजनिक भएका छन् भन्ने जानकारी मन्त्रीहरूको व्यक्तिगत एवं सामूहिक प्राथमिकताको दस्तावेज हो। दबाबको अभावमा त्यही नीति तथा कार्यक्रम राष्ट्रिय कासूचीका रूपमा स्थापित हुनपुग्छ। कार्यान्वयनमा जेजस्ता कठिनाइ देखिए पनि नीति तथा कार्यक्रमको वैधानिकतामा भने प्रश्न उठाउन सकिँदैन। परस्पर विरोधी प्राथमिकता छन् भने व्यावहारिकताको नीति तथा आवश्यकताको सिद्धान्तले जित्छ।
सम्पन्नताको आधार
सार्वजनिक गरिएका सम्पत्ति विवरण सरसर्ती हेर्दा पैत्रिक, पेवा एवं दाइजोजस्ता स्रोत स्वआर्जनभन्दा बलिया देखिन्छन्। हुन पनि राजनीतिमा लागेकाले आफ्नै कमाइले सम्पत्ति जोडेको दाबी गर्ने हो भने के र कस्ता स्वदेशी तथा विदेशीको सल्लाहकार, स्रोत व्यक्ति एवं परामर्शदाता भएर काम गरेको हो भन्ने कुरा खुलस्त गर्नुपर्ने हुन्छ। त्यस्ता कार्यभारका लागि चाहिने योग्यता, पात्रता, उपलब्धता उवं उपयुक्तता पनि चासोका विषय बन्न पुग्छन्। पेसा, व्यवसाय, व्यापार वा उद्यमको विवरण त झन् सहजै आधिकारिकरूपमा जाँच र मिलान गर्न सकिने किसिमका हुन्छन्। करदाताको गोप्यताले गर्दा मन्त्रीहरूले राजस्वमा गरेको योगदानको आकलन गर्न गाह्रो छ। सम्पत्तिको प्रकृति हेर्दा भने त्यो उल्लेखनीय नरहेको हुनसक्छ।
तोलाका तोला सुन एवं किलोमा तौलिने चाँदी वैधानिक आयबाटै खरिद गरिएको हो भने पनि तिनको परल मोल एवं बजार भाउबीचको अन्तर एकिन गर्न सहज छैन। बहुमूल्य धातु कुन मितिमा, के भाउमा वा कसरी प्राप्त भएको हो भन्ने चाहिँ विवरण बुझाउनेकै व्याख्याले मात्र देखाउन सक्छ। वस्तुगत मूल्यांकन सम्भव छैन।
घरजग्गा एवं जमिन जायदाद पनि व्यक्तिगत समपत्तिका ‘ठोस’ आधार हुन्। तिनको क्रयविक्रयबाट प्राप्त आम्दानी बारे एकिनका साथ दलाली व्यवसायमा लागेका व्यक्तिहरूबाहेक अरूले अनुमान पनि लगाउन सत्तै्कनन्। कर प्रयोजनका लागि कागतमा खोलिएको रकम प्रायः औपचारिकमात्र हुन्छन्। निजी निवास एवं सवारी साधनको संख्या, गुणस्तर एवं किसिमका आधारमा आवश्यकता, उपयोगिता वा विलासितामध्ये जे पनि हुनसक्छ। कुनै क्रिस्टल पात्र वा पौवा कलाकृतिको मोल कति हो भन्ने कुरा गुणग्राहीभन्दा बाहेककाले ठम्याउन सक्ने कुरा पनि भएन। त्यस्ता सम्पत्तिको विवरण प्रधानमन्त्री सुशील कोइरालाबाहेककाले सार्वजनिक गरेका पनि छैनन्। उनीसँग भने तीनवटा गोजी (मोबाइल) फोन रहेछन्।
लाग्छ, प्रधानमन्त्रीबाहेक मन्त्रिपरिषद्का अरू सदस्यले गोजी फोनलाई सम्पत्तिमा गणनै गरेका छैनन्। कम्तीमा सञ्चार माध्यममा त्यस्ता विवरण देखिएका छैनन्। हुन पनि सम्पत्ति केलाई मान्ने भन्ने कुराले वैयक्तिक मान्यतालाई पनि दर्शाउँछ। विनिमय मूल्यले बजारको प्रवृत्ति दर्शाउँछ। दस वर्ष पुरानो मोटर नयाँभन्दा सस्तो हुन्छ। तर सय वर्ष पुरानो रहेछ भने अचाक्ली महंगो, संकलनकर्ताले मात्र खरिद र संकलन गर्नसक्ने मोलको हुन्छ। घरघडेरीको मूल्य पनि सामान्यतः बेच्नेको वाध्यता एवं किन्नेको रहरले निर्धारण गर्छ। प्रधानमन्त्रीको गोजीफोन फगत आवश्यकताको वस्तु हो। त्यो कि अनमोल हो ( लगाव गहिरो भएमा) वा मूल्यविहीन एवं सहजै फेर्न र फाल्न सकिने उपकरण।
अविवाहित प्रधानमन्त्री कोइरालालाई दाइजो वा पेवामा गोजी फोन प्राप्त भएको पक्कै होइन। स्वआर्जित वस्तुमा गौरव हुन्छ। त्यसैले उनले सानका साथ फोनको स्वामित्व सार्वजनिक गरेका छन्। सम्पत्ति विवरणको एउटा उल्लेख्य कुरा के हो भने कसैले पनि गाई भैँसी वा बाख्रा भेँडाको संख्या उल्लेख गरेको देखिँदैन। कुनै बेला चौपाया किसानहरूको मुख्य धन हुनेगर्थ्यो। किसान संगठनको पृष्ठभूमिबाट आएका उपप्रधानमन्त्रीले बरु हीराका गरगहना भएकोमा गर्व गरेका देखिन्छन्।
सम्पत्तिले नीति तथा कार्यक्रम प्रभावित गर्ने नै भयो। प्रधानमन्त्रीबाहेक अन्य अधिकांशको लगानी घरजग्गा, बैंक, वित्तीय संस्था एवं सुन चाँदीमा छ। यस्ता सबै प्रकारका सम्पत्तिको सुरक्षा एवं बजार मोल मुद्रा प्रदायसँग जोडिएको हुन्छ। सूत्र र समीकरण अर्थशास्त्रीहरूले दिने हो। तर, वस्तु तथा सेवाको मूल्य बढ्यो भने घरजग्गा तथा सुनचाँदीको मूल्य बढ्छ। बैंकहरूको सबैभन्दा बढी नाफा हुने उपभोक्ता ऋणको आवश्यकता देखिन थाल्छ। योजनाबद्ध हो वा होइन भन्ने ठोकुवा कसैले गर्न सत्तै्कन। तर चौतर्फी मूल्य वृद्धिका बहाना सिर्जना गर्न सरकार गठन भएदेखि नै लागेको कुरा भने अचम्मको संयोग बन्न पुगेको छ।
दूध उत्पादकले पाउने मूल्य एवं उपभोक्ताले तिर्ने मोलका बीच संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ, वितरण, तथा बजारीकरण खर्च जोड्नुपर्ने हुन्छ भन्ने बुझ्न सकिन्छ। त्यसको हिसाबकिताब पारदर्शी भएन भने मूल्य नियमन गर्ने निकायको नियत सफा नै छ भने पनि संवेदनहीनताको दोष त लाग्छ। शिक्षा र स्वास्थ्यजस्ता जनसरोकारका विषयलाई बिस्कुट, चाउचाउलाईजस्तै खुला बजारको जिम्मा छाड्न हुन्थ्यो वा हुँदैनथ्यो भन्ने विवाद अब गौण भइसकेको छ। सर्वसुलभ शिक्षा र सहज जनस्वास्थ्य सेवाका लागि व्यावहारिक विकल्प सर्वहाराका लागि काम गर्छौं भन्ने राजनीतिक दलहरूले पनि दिनसकेका छैनन्। स्कुलकलेजमा लगानी गर्नेहरूको रुचि भने बढीभन्दा बढी नाफा कमाउनेतिरै हुन्छ। तिनले शुल्कबारे चिन्ता लिएनन् भन्ने बिलौना व्यर्थ छ।
अधिकांश मन्त्रीसँग निजी सवारी साधन छ। सरकारी सुविधाको गाडी परित्याग गरे पनि तिनले न साइकल चड्ने हुन् न माइक्रो, टेम्पोमा झुन्डिएर वा लामो दूरीको बसको छतमा चडेर तिनलाई यात्रा गर्नुपर्ने हुन्छ। यसैले, स्वाभाविकै हो सार्वजनिक यातायात नाफा क्षेत्रको दुहुनो गाई भएकोमा तिनलाई कुनै चिन्ता हुँदैन। पेट्रोलियम पदार्थको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारको बाध्यताले होला। तेलको ढुवानी, विक्री एवं गुणस्तर अनुगमन गरेर ठूला चन्दा दाता चिढाउने काम समृद्धहरूको सरकारले गर्नसक्ने कुरा पनि भएन।
ठेक्कामा बन्द र विरोध गर्ने राजनीतिक दलका भरौटे संगठनहरूले नाफा क्षेत्रका विद्यालय, यातायात एवं अन्य सेवा तथा व्यापार सिन्डिकेट र कार्टेलहरूको काम झन् सजिलो तुल्याइदिएका छन्। दसैंतिहारका बेला मोल दोब्बर गरेर भारी छुट दिने केही वित्रे्कताजस्तै बन्द र विरोध सफल वा असफल जे भए पनि चौतर्फी मूल्य वृद्धिले आधिकारिकता पाउँछ। नाफा क्षेत्रको आम्दानी बढ्नु भनेको समृद्धिको राजनीति गर्नेहरूको साख उक्लिनु हो। मोटरको विक्री एवं बैंकहरूको उपभोक्ता ऋण जो बढ्छ। डिजेलपेट्रोलमात्र हैन पंचर टाल्ने मिस्त्री र ज्यावल पनि बाहिरबाटै आयात गर्ने मुलुकमा व्यापार बढ्नु भनेको दलालहरूको र तिनका संरक्षक राजनीतिकर्मीको जीवनशैली उकासिनुमात्रै हो।
धोती लगाउने वा चप्पल फट्कार्ने मन्त्री अहिले कोही छैन। त्यसैले यस सरकारका मन्त्रीहरूले ‘भ्रष्टाचार ’ भर्नेछैनन् या त्यो देखिनेछैन। पोखरीमा एक दुई गाग्री पानी थपेको वा इनारबाट तीनचार बाल्टी जल झिकेको कस्ले थाहा पाउँछ र? अनुभवी राजनीतिकर्मीहरू सरकार चलाउन गएका छन्। तिनले सरकार कसरी चलाउनेछन् भन्ने छनक त साझा कार्यक्रममा पनि देखिएकै छ।
सम्भ्रान्त प्राथमिकता
असमञ्जस्यमा टाउको निहुर्या एर उभिएको नेपाली कांग्रेस तथा दृढतापूर्वक दक्षिणतिर लम्केको नेकपा (एमाले) ले वर्ष दिनमै संविधान जारी गर्ने वाचा दोहोर्याढएका छन्। हुनत, खुट्टी हेर्दैमा पत्याएँ भन्ने आहान पनि छ तर त्यस्तो निष्कर्षमा पुग्न परामर्शदाता तथा सल्लाहकारहरूको समूहले तयार गरेको ठेली नै केलाउनुपर्ने हुन्छ। क्रिकेट रंगशाला भने यस सरकारले पक्कै बानउँछ। त्यो किनभने, भारतीय दृष्टान्तले मुद्रा निर्मलीकरणका लागि व्यावसायिक क्रिकेटको सम्भाव्य उपयोगिता दर्शाइसकेको छ। समृद्धिको राजनीति तथा उग्रराष्ट्रवाद मिडियाका लागि प्रदर्शन गरिने खेलहरूको अन्तरनिहित चरित्र हो। स्वाभाविक हो नाफा क्षेत्र यस्तो अवसर देख्नासाथ तीन हात उफ्रिन्छ। चर्पी, कुलो, ढल वा धारा बनाएर खासै बजार विस्तार हुँदैन। त्यस्ता काममा तदारुकता देखाउने जिम्मा त स्थानीय निकायको हो।
संविधान जारी नै नगरी स्थानीय निर्वाचन गराउने अठोट अर्को त्रू्कर ठट्टाजस्तो लाग्छ। सबैलाई थाहा भएकै कुरा हो निर्वाचित होउन् वा मनोनीत स्थानीय स्तरको शासन जनप्रतिनिधिले चलाउँदैनन्। गाविस प्रमुख जो भए पनि गाउँ सचिव स्थानीय विकास अधिकारी मातहत काम गर्छ। जिविस अध्यक्षको महत्व फगत आलंकारिक हो। जिल्लाको ‘राजा’ त प्रमुख जिल्ला अधिकारी हुन्छ। विस्तृत शान्ति सम्झौताको मर्म भने यिनै पञ्चायत कालका अवशेषहरूलाई राज्य पुनःसंरचनामार्फत् जनउत्तरदायी बनाउनु हो। गाउँघरतिर गुमस्तामार्फत् काम गराउनेहरूले त्यो बुझ्नसक्ने कुरा पनि भएन।
सत्य निरुपण तथा संरोपण ( घाउचोट लागेका ठाउँमा छाला पलाउने प्रक्रिया) कार्य थाती छ। मेलमिलाप भने भइसकेको देखिन्छ। नभए राष्ट्रिय सेनाको लोकतन्त्रीकरण एवं व्यावसायीकरण सबैभन्दा महत्वपूर्ण कार्यसूची हुनुपर्ने थियो। मूलधारका भनिने दलहरूको रूपान्तरणका बारेमा कम्तीमा प्रतिबद्धता सुनिन्थे। तर होइन रहेछ। शान्ति प्रक्रिया राष्ट्रको आवश्यकता नभएर वाध्यता थियो। त्यसको सान्दर्भिकताको छनक नीति तथा कार्यक्रममा देखिनु जरुरी छैन।
मतादेशलाई अर्थ्याउने विधि पनि जीवनशैलीले प्रभावित गरिरहेको हुन्छ। जनतासँग जोडिएका राजनीतिकर्मी थिए गिरिजाप्रसाद कोइराला। मधेस विद्रोहपछि उनले गरेका सम्झौताहरूको सान्दर्भिकता ताजा मतादेशसँगै समाप्त भयो भन्ने तर्क एकपक्षीय भए पनि आधारहीन होइन। राजनीतिक घटनाक्रम भने तार्किकमात्र नभएर भावना अभिप्रेरितरूपमा पनि विकसित हुनसक्छ। मधेस विद्रोह विदेशीहरूद्वारा परिचालित एवं सञ्चालित थियो भन्ने धारणा भएकाहरूले मधेसीको चाहनालाई सुविधाअनुसार व्याख्या गर्ने नै भए। सम्मान, न्याय र अधिकार उसै पनि मागेर पाइने वस्तु हैनन्। अवसर, सुविधा र विकास त बकसमा पनि बाँड्ने गरिन्छ। त्यस्तो मौकाको पर्खाइमा रहेको जमात जुनसुकै उत्पीडित समूहभित्र पनि हुन्छ। केही महत्वाकांक्षी मधेसीहरू पर्खिने कलामा पारंगत छन्। तिनका आकांक्षासमेत नीति तथा कार्यक्रममा प्रतिविम्बित भएका छैनन्।
बढीमा एक वर्षको म्याद तोकेर गठन भएको गठबन्धनका वाचाहरू बालुवामा कोरिएका अक्षर हुन्। भारतीय निर्वाचनको परिणामपछिको परिस्थिति कस्तो हुन्छ त्यो अहिले केही भन्न सकिँदैन। नेपाल त्यसको असरबाट मुक्त भने रहनसक्ने छैन। नीति तथा कार्यक्रमभन्दा पनि वार्षिक बजेट महत्वपूर्ण हो। त्यसको प्रतीक्षा पनि हुने नै भयो। तर, अचम्म के भने सामान्य मुखर मध्यमवर्ग ‘आफ्नो’ सरकारका बारेमा नकारात्मक त के समीक्षात्मक टिप्पणीसमेत गर्न अनिच्छुक देखिन्छ।
काकामामा, ज्वाइँसाला, सगोत्री, सजातीय वा सँगै पढेबढेका तथा एकैथरी साहुमहाजनका बैठक कोठामा भेला हुने प्रशासक, प्राज्ञ, सैनिक, व्यापारी, पेसाकर्मी एवं टिप्पणीकारका आफन्तहरूको सरकार मूलतः वैधानिक संघर्षका विजेताहरूको हो। त्यसैले सार्वजनिक परिदृश्यमा तिनको जयजयकार केही समय अरू चल्न सक्छ। उपलब्ध अवसरभन्दा दाबी गर्नेहरू बढी भएपछि सुस्तरी वितृष्णा पनि सुरु हुनेछ। विचारधाराबाट मुक्त राजनीतिमा समर्पणभावले लाग्ने कमै हुन्छन्। तिनले अझ कति दिनसम्म धैर्य धारण गर्ने हुन् हेर्न बाँकी छ। व्यावहारिक राजनीतिको खती त्यसभित्रका अन्तरद्वन्द्वबाट सुरु हुने हो। बाँकी सबै त भन्ने कुरा न हुन्!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस