प्रदर्शनमुखी राजनीतिको विस्तार
०९ माघ २०७०
•
२१ मिनेट पाठ
प्रदर्शनमुखी राजनीतिको विस्तार
कुनै बेलाका महापञ्च सूर्यबहादुर थापाले संविधान सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहण गराउने निश्चित् भएपछि समारोहका लागि पोसाकको छनोट महत्वपूर्ण हुनु स्वाभाविकै थियो।नेकपा (एमाले)बाट वर्चस्वशाली समूहको सामुदायिक पहिरनलाई अनिवार्य बनाउनु अपेक्षा अनुकूलकै निर्णय थियो। आआफ्नो मताधारलाई आश्वस्त तुल्याउँदै राजनीतिक खेलमा सहभागी हुनुलाई स्वीकार्य नै मानिन्छ। उदेकलाग्दो भने सुशील कोइरालाको नयाँ वस्त्र देखिन्थ्यो। बाँके वा चितवन कुनै पनि ठाउँको स्थानीय पोसाक लबेदासुरुवाल होइन। हुनत, पहिले नारायणहिटी र अहिले सिंहदरबारबाहेक अन्त कतै पनि लबेदासुरुवाललाई स्थानीय मानिदैन भन्ने तर्क गर्न पनि नसकिने होइन। तर, लबेदासुरुवाल लगाउनेहरू प्रायशः तस्बिरमा आकर्षक देखिन्छन्। धवल पहिरनको मनोहरता चुस्त पोसाकमा झन् खुल्छ।




अनशनमा बसेका डा. गोविन्द केसी व्यक्तिगत आकर्षण वा विकर्षणको चिन्ताबाट मुक्त देखिन्थे। उनको सम्मोहन शक्ति आचरणमा निहित रहेकाले उनलाई खड्ग ओली वा शेरबहादुर देउवा जसरी ठाँटिएर प्रस्तुत हुनुपर्ने जरुरतै भएन। त्यसो हुँदाहुँदै पनि यथार्थ के हो भने त्याग र बलिदानलाई उपलब्धि वा सफलताभन्दा बढी महत्व दिने दक्षिण एसियाको मध्यम वर्गीय समाजमा अन्नजलबिना सार्वजनिक हितका लागि अडान लिनेलाई ईश्वरीय गुणयुक्त महात्मा मान्ने चलन छ। अनशनलाई आत्मिक शुद्धि एवं तपस्याका रूपमा पनि लिन सकिन्छ। र, त्यस अर्थमा अनशनकारीको आकर्षण वा आभा झन् बढ्छ। भारतको राजधानी दिल्लीमा भने कुनै बेला अनशनकारी अन्ना हजारेका व्यवस्थापक रहिसकेका मुख्यमन्त्री अरविन्द केजरीवाल सामान्यतः व्यस्त रहने सडकै बन्द हुने गरी धरनामा थिए। राज्य सरकारको निर्वाचित प्रमुखले आफैँलाई अराजकतावादी घोषणा गर्ने कुरा कति धेरै 'अप्रत्याशित' हो भने त्यो धेरै सोचविचार नगरी गर्नै सकिन्न। स्पष्ट छ, केजरीवालका रणनीतिकारले आसन्न लोकसभा निर्वाचनका लागि आफ्ना सबैभन्दा बिकाउ प्रतीक व्यक्तिलाई नौटंकी गर्न लगाइरहेका छन्।

सर्सती हेर्दा माधवकुमार नेपालको लबेदासुरुवाल, डा. केसीको सामान्य पहिरन एवं केजरीवालको सादा गलबन्दीबीच कुनै सम्बन्ध देखिँदैन। उद्देश्य पनि फरक छन्। एमालेको पोसाक छनौट राजनीतिक प्राथमिकतामा आधारित छ। सांस्कृतिक विविधताको साटो एकरूपता र सहकर्मी ऐक्यबद्धता नभएर सदृशीकरणजस्ता वर्चस्ववादी धारणा अनुदार राष्ट्रवादका अवयव हुने गर्छन्। डा. केसी आफ्ना आस्था जोगाउन संघर्षरत छन्। उनलाई थाहा छ, शिक्षा र स्वास्थ्यको अस्वस्थ बजारीकरणबाट उब्जिएका विकृतिहरूलाई राजनीतिकरण नगरी उपचार गर्न सकिँदैन। तर, उनी चिकित्सक हुन्। र, रोगी राज्य—समाजको लाक्षणिक इलाजभन्दा बढी केही गर्न पनि सत्तै्कनन्। केजरीवालको तमासा दर्शक बटुल्ने र बजार बढाउने तरिका हो।

पात्र, उद्देश्य, विधि भिन्दाभिन्दै भए पनि समारोहिक पोसाक, दृढ इच्छाशक्तिको प्रयोग तथा राजनीतिक चटबीच एक किसिमको तारतम्य भने भेट्टाउन सकिन्छ। त्यस्ता सबै प्रयोगहरूको प्रभावकारिता मूलतः प्रदर्शनमा आधारित छ। लबेदासुरुवालमा खुलेको शक्तिशाली व्यक्तित्व, अनशनकारीको कृश काया तथा राज्य स्रोतको परिचालनबाट दर्शाइएको 'अराजकता' असाध्यै मिडियामैत्री छवी हुन्। मल्टीमिडियाको विस्तारले गर्दा आउँदा दिनका सार्वजनिक गतिविधि प्रदर्शनमुखी हुनुपर्ने बाध्यता बढ्दैजाने निश्चित छ।

सञ्चार सिद्धान्त

अमेरिकी राजनीतिशास्त्री ह्यारोल्ड ल्यासवेल ( सन् १९०२–७८) कानुन, समाजशास्त्र एवं राजनीतिक व्यवहारका ज्ञाता मानिन्छन्। राजनीतिबारे उनको परिभाषा सहज छ। 'कसले, कुन बेला, कसरी र के पाउँछ' भन्ने निर्क्योल गर्ने निरन्तर प्रतिस्पर्धा नै राजनीति हो। त्यस्तो प्रतिस्पर्धामा एक्लै सामेल हुन सकिँदैन। समूह बनाउनु वा छुट्ट्याउनु पर्ने हुन्छ। समूह निर्माणका लागि विचार, रचनात्मकता, संगठन एवं नेतृत्व त चाहिन्छ नै सबैभन्दा महत्वपूर्ण अवयव भने सञ्चार हो। यही सम्प्रेषणले सार्वजनिक मुद्दाको भाग्य निर्धारण गर्छ। र ल्यासवेलको सञ्चार सिद्धान्त पनि अत्यन्त सहज छ — 'कसले, के कुरा, कुन माध्यममार्फत्, कसलाई र के प्रभाव उत्पन्न हुनेगरी भन्छ?'

सम्प्रेषणकर्ताको महत्व भने कहिल्यै कम हुँदैन। विषय,वस्तु एवं सन्देश अन्तरवस्तु सञ्चारको मर्म हो। प्रापक, स्रोता वा दर्शकको मनःस्थिति वस्तुगत अवस्था एवं तयारीले समेत सञ्चारले उत्पन्न गराउने प्रभावलाई निर्धारण गर्ने गर्छ। माध्यमको असर भने विस्तारित हुँदै गइरहेको छ। मार्सल म्याकलुहानले ( सन् १९११ — ८०) सन् १९६० को दशकताका नै घोषणा गरिदिए : — 'माध्यम नै सन्देश हो।'

सञ्चार विज्ञका नाताले माध्यमलाई निर्णायक ठान्नु म्याक लुहानका लागि स्वाभाविक थियो। तर, त्योमात्र पूर्ण सत्य होइन। अमेरिकी राष्ट्रपति बाराक ओबामाको 'ओडासिटी अफ होप' सन्देश माध्यमको शक्तिबाट स्वतन्त्र छ। रसियाली राष्ट्रपतिले के वा कसरी बोल्छन् वा कुन माध्यम प्रयोग गर्छन् जस्ता कुराभन्दा उनी को हुन् भन्ने तथ्य बढी महत्वपूर्ण हुन्छ। इरानका जनताको मानिसकताले त्यहाँका राजनीतिकर्मी के, कसरी र कुन माध्यमबाट संप्रेषित गर्छन् भन्ने निर्देशित गरिरहेको छ। यस्ता यावत परिस्थितिजन्य विविधता हुँदाहुँदै पनि सन्देश सम्प्रेषणमा माध्यमको प्रमुखता भने बढ्दै गइरहेको छ। आउँदा दिनमा राजनीतिलाई सञ्चार माध्यमले सुस्तरी डोर्‍याउने सम्भावना दक्षिण एसियाका देशहरूमा समेत बढ्दै गएको छ। केजरीवाल 'आप' भनिने वर्गका प्रतिनिधि पात्र हुन् 'तुम' हैनन्।

प्रत्यक्ष संवादको भूमिका महत्वपूर्ण रहे पनि त्यसको प्रयोगका अवसरहरू कम हुँदै गइरहेका छन्। सम्प्रेषणकर्ताको व्यक्तित्व र आचरणले उसको विश्वसनीयता निर्धारण गर्ने भएकाले प्रत्यक्ष संवादमा विद्वताभन्दा पनि सहजता एवं इमानदारी बढी महत्वपूर्ण हुन्छ। सुशील कोइरालालाई बोल्न जान्नु पर्दैन। उनी के हुन् भन्ने कुराले उनी के बोल्छन् भन्दा बढी अर्थ बोकेको छ। तर, मौन वा सूत्रमा बोलिने वाक्यहरूको प्रभावकारिता क्रमशः घट्दै जानेछ। समूहगत राजनीतिमा संकेतले मात्र पुग्दैन, मुखर सन्देश पनि सम्प्रेषित भइरहेको हुनुपर्छ।

समूह विस्तारित हुँदै गएपछि वाक्पटुता एवं प्रस्तुति शैलीको आवश्यकता बढ्दै जान्छ। पुष्पकमल दाहाल आमसभालाई चमत्कृत गर्न सक्छन्। उनको हाउभाउ एवं अनुहारसमेत सूक्ष्म परीक्षणमा रहने कोठे बैठकमा भने त्यो प्रभावकारिता कायम रहँदैन। त्यस्तो अवस्थामा मोहन वैद्यको अपेक्षाकृत ठाडो बोली र मौनले धेरै कुरा भनिरहेको हुन्छ।

आम सञ्चारको कुरा गर्ने हो भने छापा युगमा स्पष्ट विचार एवं तार्िर्ककताको महत्व बढी हुने गर्थ्यो। कलम र तरबारको शक्ति एक अर्कासँग जोडिन तथ्य, तर्क एवं विचारको संयोजन मिलाउनु पर्ने हुन्थ्यो। शास्त्रीयताको उपादेयताले होला छापा माध्यममा दृष्टान्त एवं उद्धरणको भूमिका महत्वपूर्ण हुन्छ। विम्ब, लक्षणा तथा रूपकालंकारजस्ता प्रयोगले सामान्य अभिव्यक्तिलाई समेत छापामैत्री बनाउँछ। अखबारका पानामा सुन्दर लाग्ने खड्ग ओली वा चित्रबहादुर केसीका पंक्ति रेडियोमा सुन्दा क्षोभपूर्ण र टेलिभिजनमा हेर्दा दिक्कलाग्दा हुनसक्छन्।

रेडियोले उत्प्रेरक अभिव्यक्तिलाई उजागर गर्छ। विपरीत परिस्थितिमा समेत फ्य्रांक्लिन रुजवेल्टको 'फायरसाइड च्याटस' वा विन्स्टन चर्चिलको प्रख्यात उक्साउने (एक्जोरेटरी) तुक्काहरू रेडियोकै लागि आविष्कार भएजस्ता लाग्छन्। तर्कभन्दा दृढता सम्प्रेषित हुने रेडियोमा आत्मपरीक्षण एवं संशय कमजोरीजस्ता ठानिन सक्छन्। भारतमा इन्दिरा गान्धीले रेडियोमाथि सरकारको एकाधिकारलाई प्रभावकारीरूपमा प्रयोग गरेकी थिइन्।

अध्ययनशील, तर्कयुक्त वा वाक्पटु प्रस्तोताको उपयोगिता कम हुने त होइन तर टेलिभिजनले भने अन्तरवस्तु वा शैलीभन्दा पनि छविलाई बढी प्रभावकारिताका साथ प्रस्तुत गर्छ। जोन एफ केनेडी वा राजीव गान्धीको राजनीतिलाई टेलिभिजनले सघाएको थियो। रोनाल्ड रेगन र मार्गरेट थ्याचरमात्र हैन एक हदसम्म यासिर अराफात पनि सन्देशका साथै टेलिभिजन माध्यमबाट उत्पादित नेतृत्व हुन्। जनोद्दीपक भाषा उवं आश्वस्त तुल्याउने पहिरनको विपरीतमुखी संयोजनलाई टेलिभिजन क्यामराले मात्रै सम्भव तुल्याउन सक्छ।

छापा आश्वस्तकर्ता, रेडियो प्रियतावादी एवं टेलिभिजन जनोद्दीपक सम्प्रेषणकर्ताका लागि उपयुक्त माध्यम हुन् भने मल्टिमिडिया युगका सबैभन्दा प्रभावकारी खेलाडी प्रदर्शनवाज (एक्जिविसनिस्ट) हुने सम्भावना देखिँदैछ। यद्यपि, राजनीतिमा प्रदर्शनप्रियताको (एक्जिविसनिज्म) प्रयोग नौलो चाहिँ होइन।

महात्मा गान्धीको 'नुन प्रयाण' (साल्ट मार्च) प्रदर्शनप्रियताको अनुपम प्रयोग हो। महात्मा गान्धीले तर्कयुक्त एवं विचार प्रधान सम्प्रेषण योङ इन्डिया साप्ताहिक प्रकाशनमार्फत् गर्थे। उनको बाख्राको दूध सेवन, तृतीय श्रेणीको रेल यात्रा एवं औसत गरिब भारतीयको जस्तो पहिरन साधा जीवनको प्रमाणका साथै प्रदर्शनमैत्री छवि प्रस्तुतिको माध्यमजस्ता पनि थिए। त्यसैले प्रदर्शनमैत्री तरिकालाई नकारात्मकरूपले मात्र अर्थ्याउन जरुरी छैन। प्रचार संयन्त्रको 'वैज्ञानिक' प्रयोगकर्ता नाजी जर्मनीका गोयबल्स हुन् तर त्यसैको परिष्कृतरूपको प्रयोगबाट अमेरिकी राजनीतिले स्थायित्व पाएको छ। तपस्या साधु सन्त, असुर, राक्षस सबैले गर्ने गर्छन्। विधि त्यसर्थ निर्नैतिक हो। प्रदर्शनमैत्री राजनीतिको विस्तारलाई सकारात्मक वा नकारात्मकभन्दा पनि राजनीतिको प्रभावशाली तरिकाका रूपमा बु‰नु उपयुक्त हुनेछ।

भावनात्मक आवेग

मल्टिमिडियाको प्रभाव विस्तार एवं मध्यम वर्गको राजनीतिक सक्रियताले गाँस, वास, कपासजस्ता अर्थराजनीतिका भूलभूत मुद्दा ओझेलमा पर्न पुगेका छन्। मध्यम वर्गको चासो बरु पानी, बिजुली, ग्यास र मोटर बाटामा हुने गर्छ। बहिष्कृतहरू पहिचान एवं सम्मानबारे संवेदनशील हुने गर्थे। परिष्कृत समूहको प्राथमिकतामा विधिको शासन, जवाफदेहीजस्ता विषय पर्छन्। स्वास्थ्य र शिक्षा सेवाको सहज उपलब्धता एवं तिनमा पहुँच विपन्न वर्गको चासोका कुरा हुन्। सम्पन्नहरू भने गुणस्तर एवं मूल्यअनुसारको सेवालाई महत्व दिने गर्छन्। सरकारी निकायको ज्यादती उत्पीडितहरूको मुख्य चिन्ता हुनेगर्थ्यो। हुनेखाने वर्ग भ्रष्टाचारका बारेमा कुरा उठाउँछन्। किनभने, त्यो सोझै नाफा नोक्सानसँग जोडिएको हुन्छ। सबैभन्दा स्पष्ट कुरा के हो भने रोटीको समस्याबाट मुक्त मध्यम वर्ग तमासा (सर्कस) रुचाउँछ। दिक्कलाग्दो मध्यमवर्गीय दिनचर्याले मनोरञ्जन खोज्छ र सबैभन्दा सहजरूपमा उपलब्ध खुकुरीवाज (ग्लाडिएटर) राजनीतिकर्मी नै हुन्।

भारतमा नरेन्द्र मोदीले लडाकु र विदूषक छवि बढो सावधानीपूर्वक निर्माण गरेका छन्। जर्ज बुस (दोस्रा) लालुप्रसाद यादवका अमेरिकी संस्करण थिए। प्रदर्शनवाजीमा आधारित राजनीतिमा वर्ग वा वर्णभन्दा पनि वाजीगरी ( चमत्कार देखाउने क्षमता) महत्वपूर्ण ठहरिनेछ। मुद्दाहरूको गम्भीरताभन्दा समस्या समाधान गर्ने क्षमताले प्रधानता पाउनेछ। र, लवाइखवाइ, चालढालतथा बोलीचालीसँगै जीवन शैली सन्देश प्रसारणका माध्यम बन्नेछन्। संवाद तथाकथित 'सामाजिक सञ्जाल'मार्फत् विशेषज्ञले गर्ने निर्वैयक्तिक सम्प्रेषणमा सीमित हुनेछ। सबै राजनीति स्थानीय हो भन्ने मान्यता स्थापित भएपछि संविधान सभा सदस्य एवं गाविसको वडा अध्यक्षको निर्वाचनमा खर्चको आकारबाहेक अरू सबै कुरा एकै नासको हुने नै भयो।

प्रदर्शनवाजी राजनीतिमा पनि चमत्कारी नेतृत्वको महत्व त कायमै रहनेछ। तर, रणनीतिकारहरूको भूमिका भने विस्तारित हुनेछ। छवि निर्माणमा दख्खल राख्नेहरूको माग बढ्नेछ। यस्तै, राजनीतिक गतिविधिमा व्यवस्थापन विधाको उपयोगिता बढ्दै जानेछ। राजनीतिमा पहिलो, दोस्रो वा तेस्रो पुस्ताको विवाद निरर्थक बन्दै गइरहेको छ। दोस्रो संविधान सभालाई निर्देशन एवं नियन्त्रण गर्नेहरू 'नौलो राजनीति' विधाका जानकारहरू हुनेछन्। परम्पारगत राजनीतिकर्मी एवं राजनीतिक व्यवस्थापकहरूबीचको द्वन्द्व विघटित संविधान सभामा पनि देखिएको हो। बुँदागत सहमतिको प्रयोग व्यवस्थापन विधाको उपज थियो। परम्परागत राजनीतिमा लेखिएका वाक्यभन्दा मौखिक समझदारी बरु बाध्यकारी ठहरिन्छन्। भलादमी सम्झौताले काम गर्न छाडेपछि देखावटी अडान बढ्दै जानु अस्वाभाविक होइन।

सहरिया मध्यम वर्गले राजनीतिको खेल मैदान कब्जा गरिसकेकाले दलहरूले आआफ्नो नेतृत्व शैली एवं संगठनका आधारहरू बारे पनि पुनर्विचार गर्नुपर्नेछ। नभए राजनीति सुस्तरी राजनीतिकर्मीहरूको हातबाट फुस्केर सुरक्षा निकाय, व्यापारिक घराना एवं संगठित धर्मगुरुजस्ता योजनाबछ एवं व्यवस्थापकीय शैलीमा मानवीय, प्राविधिक तथा भौतिक स्रोत परिचालन गर्न सक्नेहरूको नियन्त्रणमा पुग्नेछ। कुनैबेला शक्तिशाली ठहरिएका क्रान्तिकारी तथा प्रभावशाली मानिएका संगठनकर्ता फगत अभिनेताजस्ता देखिनेछन्।

प्रदर्शनवाजीको राजनीतिमा आजभोलि नेकपा (एमाले)को हालिमुहाली छ। त्यसैले तिनका नेता जम्माजम्मी १४० अक्षरमा संक्षेपीकरण गर्न सकिनेभन्दा बढी गम्भीर कुरा गर्दैनन्। माधवकुमार नेपाल वा झलनाथ खनाल पूर्व—पश्चिम लोकमार्गबाट दक्षिण झर्नु परेपछि पाइजामा कुर्ता फेर्छन्। र काठमाडौंमा भने गोर्खालीहरूको सामुदायिक पोसाकमा प्रस्तुत हुन्छन्। अरू जेसुकै भए पनि प्रदर्शनवाजीको राजनीति पट्यारलाग्दो भने हुनेछैन।

डा. हर्क गुरुङले नेपालका विकास योजनालाई दाताहरूको प्रयोगशाला भन्ने गर्थे। राजनीति भने नाट्यशाला बन्दै गएको छ। प्रस्तुतिको गुणस्तर पात्रहरूको क्षमताले देखाउनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस