वैदेशिक चलखेलको वर्ष
११ पौष २०७०
•
२० मिनेट पाठ
वैदेशिक चलखेलको वर्ष
नेपालभित्र विक्रमीय सम्वत् बढी प्रचलनमा रहेको भए पनि अन्तर्राष्ट्रिय मामिला भने ईस्वी सन्को आधारमै चल्ने गर्छ। नेपालका दक्षिण एसियाली भूछिमेकीहरूका साथै अमेरिका, बेलायत, जापान एवं चीनजस्ता शक्ति राष्ट्रहरू पनि ईस्वी संवत्लाई नै मान्छन्। त्यसैले संयुक्त राष्ट्रसंघको औपचारिक पात्रोसमेत इसाई प्रचलनमै आधारित छ।

इसाई प्रचलनमा नयाँ वर्षको सुरु जनवरीको पहिलो तारिखदेखि भए पनि त्यसको तयारी क्रिसमसको 'बडा दिन' बाटै सुरु हुन्छ। वार्षिक बिदा पाउनेहरू त परिवारसँग 'बडा दिन' आउनुअघि नै रमाउन थाल्छन्। शुभकामना एवं उपहार आदानप्रदान बडा दिनको पूर्व सन्ध्यामा सामान्यतः समाप्त हुन्छ। त्यसपछि फिर्ती उपहार (रिटर्न गिफ्ट) वा भेटी साँटफेरमात्र बाँकी रहन्छ।

सन् २०१३ समाप्त हुनुभन्दा अगावै अन्तर्राष्ट्रिय समुदायको सघन सक्रियताले गर्दा बडा दिनको पूर्व सन्ध्यामा नेपालीहरूले पनि एउटा महत्वपूर्ण उपहार प्राप्त गरे। प्रभावशाली कूटनयिकहरूको अग्रसरताबिना तीन प्रमुख राजनीतिक दल एवं चौथो खेलाडीहरूको निष्प्रभावी समूह सहजै सहमतिमा आउन सक्थे भन्ने कुरा नेपालको विभाजित सामाजिक मनोदशा बुझेकाहरूका लागि पत्याउन गाह्रो छ। संविधान सभाको दोस्रो निर्वाचन अन्तर्राष्ट्रिय दबाब एवं सक्रियताले गर्दामात्र सम्भव भएको थियो। गठन एवं सञ्चालन स्वभावतः बाह्य प्रभावबाट मुक्त रहन सक्नेछैन। 'हामीलाई अरूले मिलाई दिनुपर्ने' बाध्यताका बारे भूपि शेरचनले बिलौना गरेका थिए। त्यो परिस्थिति अझै छँदैछ।

समसामयिक विश्वमा पूर्ण सार्वभौमिकता यसै पनि सैद्धान्तिक अवधारणामात्र हो। संयुक्त राष्ट्रसंघ मूलतः निषेधाधिकार भएका पाँच शक्ति राष्ट्रहरूको निर्णयलाई अन्तर्राष्ट्रिय वैधानिकता प्रदान गर्ने औपचारिक निकायका रूपमा स्थापित भइसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष एवं विश्व बैंकद्वारा निर्देशित 'वासिङटन आमसहमति'बाहिर गएर स्वतन्त्र अर्थराजनीतिक सञ्चालन गर्ने हिम्मत शीतयुद्धको अन्त्यपछि अब कमै राष्ट्रमा मात्र बाँकी छ। क्युबा, उत्तरकोरिया, भेनेजुयलाजस्ता राष्ट्रहरूले विश्वको मूलधारलाई चुनौती दिने सामर्थ्य राख्दैनन्। चीनको 'राज्य पुँजीवाद' अवधारणामा आधारित 'बेइजिङ आमसहमति' अफ्रिकाका केही शासकलाई आकर्षक लागे पनि त्यो प्रारूप 'वासिङटन आमसहमति'को विकल्प बन्नसक्ने सम्भावना साह्र कम देखिन्छ।

बहुध्रुवीय विश्वको परिकल्पना जतिसुकै औचित्यपूर्ण देखिए पनि भूराजनीतिक यथार्थले सामान्यतः शक्ति राष्ट्रहरूलाई समेत खेमाबद्ध हुन बाध्य पार्दो रहेछ। प्रभाव क्षेत्र विस्तारको द्वन्द्व पुरानै हो। त्यसको उत्कर्ष भने नौसैनिक शक्तिको स्थापित भएपछि भयो। बेलायतको औपनिवेशिक आकांक्षा एवं रसियाली साम्राज्यका 'सेता बादशाह'बीच मध्य एसियामा भएको संघर्षलाई इतिहासकारहरू बृहत् चलखेल (ग्रेट गेम) भन्ने गर्छन्। त्यस वृहत् चलखेलमा गोर्खालीहरूसमेत बेलायती साम्राज्यका मोहरा बन्न पुगेका थिए। काठमाडौंको प्रत्येक क्रियाकलापमा वैदेशिक हस्तक्षेपको सिलसिला त्यही बेलादेखि नै सुरु भयो। नेपालविद् अमेरिकी लियो ई. रोजको आकलनमा नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष बेलायती चिन्ता र चासो निम्त्याउने शासक रणबहादुर शाह नै हुन्। तर, अठ्ठारौं शताब्दीको अन्त्य तथा उन्नाइसौं शताब्दीको सुरुताका उसै पनि भारतमा आसन फैलाइरहेको इस्ट इन्डिया कम्पनी गोर्खालीहरूलाई कजाउने मनःस्थितिमा पुगिसकेको थियो। त्यस अर्थमा रणबहादुरले इस्ट इन्डिया कम्पनीलाई दिएको निम्तो छनौट नभएर परिस्थितिको बाध्यता थियो।

व्यापारीहरूको सिंहनाद

अठ्ठारौं शताब्दीको उत्तरार्धमा बेलायतको प्रभाव विस्तारका लागि संसदीय अग्रसरतामा नाफा क्षेत्र—सार्वजनिक सहभागितामा आधारित इस्ट इन्डिया कम्पनी निसन्देह मानव इतिहासको सबैभन्दा ठूलो व्यापारिक संस्थाका रूपमा स्थापित छ। आफ्नै सेना र प्रशासकको जमात रहेको कम्पनीले दक्षिण एसियाको विशाल भूभागमा युद्धमात्र हैन शासनसमेत गरेर नाफा कमायो। भनिन्छ, यो कम्पनीको एकाधिकारवादी सञ्चालनबाट दिक्क भएर नै आदम स्मिथले पुँजीवादको शक्ति शास्त्र मानिने 'एन एन्क्वायरी इन् टु द नेचर एन्ड कजेज अफ द वेल्थ अफ नेसन्स' भन्ने ग्रन्थको रचना गरेका थिए।

भारतीय उपमहाद्विपको खुला लुटको नाफासमेतले चित्त नबुझेर कम्पनी सरकारले चीनमा अफिम बेच्न थालेको थियो। सुरुमा चिनियाँहरूले चाँदी भुक्तानी गरेर अफिम किन्थे। पूरै देश अफिमची बन्न थालेपछि चीनका सम्राटले नशाको व्यापारमा पावन्दी लगाए। कम्पनी सरकारलाई भने झन् खुदो पर्‍यो।

उन्नाइसौं शताब्दीको सुरुताका कम्पनीले विहार र बैगालमा रैतीहरूसाग सस्तोमा अफिम खरिद गर्थ्यो। चोर बाटोबाट तस्करमार्फत् निषेधित माल चीन पुर्‍याइन्थ्यो। नाफाको पैसाले किनिएको चियापत्ती बेलायत पुग्दा लागतको अनुपातमा आय कैयौं गुणा बढी भइसक्थ्यो। त्यसपछि बेलायतबाट भारतीय उपमहाद्विपमा ओसारिएका उपभोग्य सामग्रीले कम्पनीको वासलात झन् झन् सुदृढ बन्दै जान्थ्यो। अठ्ठारौं शताब्दीको अन्त्यताका अमेरिकी उपनिवेशहरू स्वाधीन भएर बेलायतले गुमाउनु परेको आयस्रोतको भर्पाइ भारत—चीन—बेलायतबीचको 'तीनतर्फी' नाफा कमाउने व्यापारले गर्न थालेको थियो।

चीनसँग छद्म व्यापारको नाका खोजी गर्ने क्रममा कम्पनीका अधिकारीहरूले नेपाल हुँदै तिब्बतको बाटोका सम्भावनाहरूलाई पहिल्याएका थिए। त्यो विकल्प अहिले त अव्यावहारिक छ भने दुई सय वर्ष पहिले सम्भाव्य ठहरिने कुरा पनि भएन। सम्भवतः त्यही विकटताले नेपालको स्वतन्त्रतालाई जोगायो। इस्ट इन्डिया कम्पनीसँगको चरणबद्ध युद्धमा गोर्खालीहरूको पराजय भएपछि सन् १८१४ — १६ पश्चात् नेपालको औपचारिक स्वतन्त्रतामा खासै असर परेन। चीनका बादशाहलाई गिज्याए तीनतर्फी नाफा व्यापार जोखिममा पार्ने आँट कम्पनी राज्यले गरेन। सन् १८५७ को सिपाही विद्रोहपछि भारतीय उपमहाद्विपको शासन व्यवस्था कम्पनीबाट खोसेर बेलायत सरकारले स्वयं लिँदासम्म युरोप भ्रमण गर्ने पहिलो पूर्वेली तानाशाहका रूपमा जंगबहादुरले बेलायतीहरूको विश्वास आर्जन गरिसकेका थिए। पतनोन्मुख चिनियाँ साम्राज्य गोर्खालीहरूलाई जिस्क्याएर बेलायतलाई संघर्षमा निम्त्याउने अवस्थामा थिएन। रसियाली तथा बेलायती साम्राज्यको औपनिवेशिक शक्ति संघर्षको रंगभूमि अफगानिस्तानलगायत मध्य एसियाका विभिन्न मुलुक थिए। बेलायतको प्रत्याभूति एवं चीनको चनाखोपनले गर्दा नेपालको स्थायित्व एवं अखण्डतामा खासै असर परेन।

माओत्से तुङले चीनमा अरू जे जे गरे पनि उनको सबभन्दा ठूलो देन सम्भवतः चिनियाँ समाजलाई अफिमबाट मुक्त गराउनुलाई मान्न सकिन्छ। दोस्रो विश्वयुद्धपछि बेलायत बृहत् भूराजनीतिक चलखेलमा खेलाडीको भूमिका निर्वाह गर्नसक्ने हैसियतमा छैन। नौसेनाको महत्व त यथावत् छ तर निर्णायक शक्ति अब हवाई सेना एवं आणविक अस्त्र बन्न पुगेको छ। बृहत् रणनीतिक एवं भूराजनीतिक चालवाजी गर्ने फ्मुख खेलाडी अहिले संयुक्त राज्य अमेरिका हो। दक्षिण एसियामा अमेरिकाको प्रभुत्वलाई चुनौती दिनसक्ने सोभियत संघको विघटन भएको लगभग २५ वर्ष पुग्न लागेको छ। यसबीत भारतीय गणतन्त्रको क्षमता विस्तारमा व्यापकता त आएको छ तर भारतका रणनीतिकारको मिथ्या दम्भ जस्तोसुकै भए पनि दक्षिण एसियामा तिनको एकलौटी चल्ने अवस्था छैन। पहिलो बृहत् चलखेलमा नेपाल बेलायतको मोहरामात्र बनेको थियो। दोस्रो संस्करणको व्यापक क्रीडामा भने नेपाल रणभूमिसमेत बन्ने जोखिम बढ्दै गएको छ।

बडा दिनको पूर्वसन्ध्यामा चुनाबी मन्त्रिपरिषद्का अध्यक्षलाई फोन गरेर दक्षिण सुडानका लागि थप शान्ति सेनाको इच्छामात्र जनाएका हैनन् बान् की मुनले दक्षिण एसियामा मञ्चन हुनसक्ने दोस्रो बृहत् चलखेलमा नेपालको प्रतिबद्धतासमेत खोजिँदैछ। शक्ति राष्ट्र चीन र उदयमान भारतलाई सन्तुलनमा राख्न हम्मेहम्मे परेका बेला नेपालका लागि पश्चिमाहरूको क्रियाशीलता सम्हाल्न सहज हुने देखिँदैन।

छायाहरूको क्रीडाभूमि

मध्य एसियाको बृहत् चलखेललाई जार निकोलस प्रथमका प्रभावशाली परराष्ट्र मन्त्रीले 'छायाहरूको खेल प्रतियोगिता' भनेका थिए। इतिहासविद् ह्यारी हड्सनको आकलनमा बेलायत र रुसबीचको प्रभाव क्षेत्र विस्तारको त्यस प्रतिस्पर्धामा जित हारको लेखाजोखा त राखिन्थ्यो तर पाइने पुरस्कार खासै केही थिएन। दक्षिण एसिया पनि अहिले त्यस्तै छायाहरूको क्रीडाभूमि बन्दै गइरहेको छ जहाँ बेलायतको साटो प्रमुख खेलाडी अहिले अमेरिका हुन पुगेको छ।

काठमाडौंमा अमेरिकाको प्रथम आवासीय राजदूत भएर आउनु अभावै हेनरी स्टिवेन्सले सन् १९५९ तिर घोषणा गरेका थिए — ' नेपाल अमेरिकाको सुरक्षा परिधिभित्र पर्छ। ' नयाँ आकाशे छिमेकीको आगमन दुई भूछिमेकीका साथै तत्कालीन विश्वको अर्को विश्व शक्ति सोभियत संघलाई पनि मन परेको थिएन। त्यसपछि राजदूत क्यारोरोल लेजको पालामा त झन् राष्ट्रपति लिन्डन बी जोन्सनका भियतनाममा प्रतिनिधि रहेका उनका पति एन्सवर्थ बन्करले अमेरिकी अधिकारीहरूका लागि आराम एवं मनोरञ्जन स्थलकै रूपमा काठमाडौंलाई प्रयोग गरे। अपेक्षाकृत कमजोर भारत एवं आन्तरिक मामिलामा अल्भि्कएको चीन त्यसबखत केही गर्नसक्ने अवस्थामा थिएनन्।

विश्वको दोस्रो सबभन्दा ठूलो अर्थतन्त्रलाई अमेरिकी रणनीतिकारहरूले भावि प्रतिद्वन्द्वीका रूपमा हेर्नु स्ाभाविकै हो। तर, भारतलाई अमेरिकीहरू सहजै पत्याइहाल्न चाहँदैनन्। कम्तीमा दक्षिण एसियामा भारतले अरू कुनै पनि बाह्य शक्तिको पूर्ण वर्चस्व स्वीकार गर्न सत्तै्कन। सायद, यसै विश्व दृष्टिको भिन्नताले गर्दा केही समय यता वासिङटन एवं नयाँ दिल्लीबीचको मानसिक दूरी बढ्दै गएको हुनुपर्छ।

अफगानिस्तानमा हमिद कारजाई अब अमेरिकी अंकमालबाट सुस्तरी मुक्त हुन चाहन्छन्। पाकिस्तानको परमाणु महत्वाकांक्षालाई चीनले भरथेग गरिरहेको छ। दशकौंपछि बंगलादेशमा भारतले आफ्नो अनुकूल सरकार देख्न पाएको थियो। त्यो पनि अहिले जोखिममा छ। श्रीलंकामा त भारत गौण खेलाडी बनिसकेको छ। बर्माले मौखिकरूपमा जति नै मीठा कुरा गरे पनि त्यहाँको सत्ता चीन र पश्चिमाहरूको नजिक छ। अरूको त के कुरा भुटानलाई नियन्त्रणमा राख्नसमेत नायँ दिल्लीले पाखुरा सुर्किने अर्थकूटनीतिको बाटो अख्तियार गर्नुपरेको थियो। यस पृष्ठभूमिका काठमाडौंमा आफ्नो नियन्त्रण खुकुलो हुन नदिन भारतले चीनको सहयोग माग्न अप्ठेरो माननुपर्ने कुरा भएन। भूराजनीतिमा प्रतिस्पर्धीजस्ता देखिए पनि भारत—चीन सहकार्यका अर्थराजनीतिक फाइदाले नयाँ दिल्लीको प्रभावशाली समूहलाई लोभ्याएको छ। होहल्ला जतिसुकै भए पनि भारतलाई घेर्ने कथित चिनियाँ 'मोतीको माला' भन्दा चीनलाई अँठ्याउने कजाकस्तानदेखि ताइवानसम्मको अमेरिकी फन्दाले मसको र नयाँ दिल्लीका साथै बेइजिङमा तरंग उत्पन्न गराएको हुनुपर्छ। त्यस पश्चिमा गलपासोको डोरी काठमाडौं भएर पनि घुमेको हो कि भन्ने शंकाले बेइजिङ र दिल्लीलाई नजिक तुल्याउन सक्छ।

उन्नाइसौं एवं बीसौं शतब्दीमा बेलायतको निकटताले नेपालको अक्षुण्णता कायम राख्न मद्दत पुर्‍यायो। बीसौं बताब्दीको उत्तरार्धमा भारत—चीन प्रतिस्पर्धाको लाभ शीतयुद्धको बिगौतीले नेपालका शासकहरूलाई निस्पि्कक्री तुल्यायो। एक्काइसौं शताब्दीको दोस्रो बृहत् चलखेलले हिमालय क्षेत्रमा केकस्तो प्रभाव पार्नेछ? भूराजनीतिमा प्रश्नमात्र स्पष्ट हुन्छन् उत्तर भने सम्भावनाहरूको खेलमात्र हो। यत्तिमात्र भन्न सकिन्छ नेपालीहरूको स्वायत्तता अत्यन्त सीमित भइसकेको छ।

मोरियार्टी प्रारूपको व्यवस्थापनद्वारा निर्वाचन भयो। डबिन्स प्रवृत्तिको संयोजनमा सरकार पनि गठन हुनेछ। ( जेम्स मोरियार्टी सन् २००८ देखि २०११ सम्म ढाकामा अमेरिकाको राजदूत रहँदा गैरराजनीतिक सरकारले चुनाव गराउने अवधारणा आएको हो र अफगानिस्तान पाकिस्तानका लागि अमेरिकी विशेषदूत जेम्स डबिन्स सहमतीय राजनीतिको सूत्रधारका रूपमा काबुलमा स्थापित छन्।) यो समीकरणभित्र नयाँ दिल्ली र बेइजिङले सधैँभरलाई दोयम भूमिका स्वीकार गरिरहने छन् भन्ने आकलन यथार्थपरक होइन।

भूराजनीतिक शक्तिहरूको छाया युद्धबाट पूर्णतः मुक्त रहन सकिँदैन। प्रभाव न्यून भने गर्न सकिन्छ। त्यसका लागि राजनीतिकर्मीहरू तात्कालिक लाभहानिको जोडघटाउबाट मुक्त भएर राष्ट्रिय सोच एवं अन्तर्राष्ट्रिय दृष्टि विकसित गर्नुपर्ने हुन्छ। प्रधानमन्त्रीका सम्भाव्य उमेदवारहरूले शक्ति राष्ट्रका दूतहरूको सन्देशबाट नआत्तिए वा नमात्तिए मात्रै पनि अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाहित हुनेछ।

cklal@hotmail.com
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस