प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेले दसैंको मुखैमा राजनीतिक गतिरोध अन्त्य गर्न संवाद सुरु गरेपछि जनतामा आशाको किरण पलाएको थियो।
दसैंपछि सहमति हुने आशामा धेरैले सन्तोषसाथ चाड मनाए। दसैंको अन्त्यमा कांग्रेसद्वारा आयोजित चियापानमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितले सार्वजनिक कार्यक्रममा बहिष्कार गर्दै आएका प्रधानमन्त्री माधवकुमार नेपालसित अंकमाल गरेपछि त झन् सबैमा तत्काल सहमति हुने विश्वास बढ्यो। भोलिपल्ट एमालेद्वारा आयोजित चियापानमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले तीन दिनभित्र सहमति कायम गर्न राखेको प्रस्तावलाई माओवादी र एमालेका शीर्ष नेता तत्कालै समर्थन गरे। तर चार दिनसम्म पनि सहमतिका लागि पहलसम्म हुन नसकेपछि ती नेताले आफ्नो वाचा चियाको सुर्कोसँगै बिर्सिएको अनुभूति हुन थालेको छ।
तीन दलबीच जारी संवाद अकस्मात किन रोकियो? यसमा कुन दल या नेता जिम्मेवार छन्, कारण खुलाउने उत्तरदायित्वसमेत कुनै दलले निर्वाह गरेका छैनन्। एमालेको चियापानको भोलिपल्ट विवादास्पद पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको निवासमा दाहाल र कोइरालाबीच अकस्मात भेट भएपछि संवाद अवरुद्ध भएको भन्नेहरू पनि छन्। धेरै राजनीतिकर्मी कार्कीको निवासमा दुई नेताबीच भएको भेटलाई श्रीमद्भागवतको सांगेमा भएको जम्काभेट या संयोगमात्र मान्न तयार छैनन्। उनीहरू भेटको राजनीतिक अर्थ खोजिरहेका छन्। त्यस अवसरमा दुई नेताबीच के कुरा भयो? सार्वजनिक भएको छैन।
राजनीतिक वृत्तमा दाहालले कोइरालालाई प्रधानमन्त्री हुन प्रस्ताव गरेको हल्ला चलेको छ। त्यसबाट एमाले माओवादी र कांग्रेससित झस्किएको हल्ला पनि छ, तर एमालेका कुनै नेताले त्यस्तो संकेत भने गरिसकेका छैनन्। पाहुनाले खचाखच भरिएको कार्कीको निवासमा कोइराला र दाहालबीच त्यति गम्भीर कुराकानी भयो होला भन्ने विश्वास गर्न सकिन्न। गम्भीर र गोप्य वार्ता गर्नु थियो भने दुवै नेताले पक्कै कार्कीको निवास, त्यसमा पनि उत्सवको दिन रोज्ने थिएनन् होला। दाहाल र कोइराला दुवैले नै त्यहाँ सरकारका विषयमा कुराकानी नभएको बताइसकेका छन्।
राजनीतिक गतिरोधकै बीच दसैंका कारण स्थगित संसद् बैठक बुधबारदेखि सुरु भएको छ। माओवादी राष्ट्रपतिको सेनापतिसम्बन्धी कदम नसच्चिएसम्म सदन चल्न नदिने अडानमा रहेकाले संसद् बैठकसमेत अवरुद्ध भयो। सदन चल्न नसकेका कारण १७ वटा मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुन सकेको छैन। तत्काल सहमति हुन नसके असोज महिनाभित्र बजेट पारित हुन सक्तैन। संसद्ले पारित गरेको तीनमहिने पेस्की बजेटको म्याद असोज मसान्तमा सकिन्छ। बजेट पारित नभए कात्तिकदेखि सरकारले राज्यको ढुकुटी खर्च गर्न पाउँदैन, विकास निर्माणमात्र होइन कर्मचारीको तलबसमेत रोकिनेछ। सरकार ठूलो नैतिक संकटमा पर्नेछ। त्यसपछि उससित संसद् बैठक बीचैमा रोकेर अध्यादेशमार्फत् बजेट ल्याउने विकल्पमात्र बाँकी रहन्छ, जुन सरकार र मुलुक दुवैका लागि दुर्भाग्यपूर्ण हुनेछ। माओवादीका कारण मसान्तभित्र बजेट पारित भएन भने त्यो उसको पुरुषार्थ मानिने छैन, बरु अवगाल बेहोर्नुपर्नेछ। तसर्थ मुलुकलाई आर्थिक संकटमा पर्न नदिन प्रमुख तीन दल गम्भीर हुनै पर्छ।
दलहरूबीच सहमति हुन नसकेका कारण एकातिर संविधान निर्माणको गति धिमा भइरहेको छ भने अर्कातिर शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो सेना समायोजनसम्बन्धी कार्य पनि अघि बढेको छैन। संविधानसभाले संविधान निर्माण कार्यतालिका पटकपटक कार्यतालिका संशोधन गर्नुपरिरहेको छ। दलहरूबीचको अविश्वासले सेना समायोजन विशेष समिति र त्यस मातहतको प्राविधिक समितिको बैठकै बस्न सकेको छैन। तत्कालीन माओवादी सरकारले हटाएका रुक्मांगत कटवाललाई राष्ट्रपतिले पुनर्बहाली गरेको घटना झन्झन् पेचिलो हुँदै गएको छ। कटवालले अवकास पाएको दुई महिना पुगिसक्ता पनि मुलुक त्यही मुद्दामा अल्झिएको छ।
राष्ट्रपतिको कदमलाई प्रमुख तीन दलले बेफ्वाँकमा जुँगाको लडाइँ बनाएर जग हँसाउने काम गरिरहेका छन्। सार्वभौम संसद्मा कुनै पनि राजनीतिक मुद्दामा छलफल र निर्णय हुन सक्छ, कुनै पनि लोकतान्त्रिक संविधानले संसद्लाई यस विषयमा छलफल गर्न मिल्छ र मिल्दैन भनेर रोक लगाएको हुँदैन। अझ राष्ट्रपति संसद्बाट निर्वाचित व्यक्ति हुन्, आफैंले बनाएका राष्ट्रपतिका बारेमा संसद्मा छलफल हुनुलाई सामान्यरूपमा लिइनुपर्थ्यो। कांग्रेस र एमालेले राष्ट्रपतिका बारेमा संसद्मा छलफल हुन सक्तैन भनेर लिएको अडान अर्घेल्याइँमात्रै हो। माओवादीले पनि पछिल्लो समयमा सहमति भनेको आफ्नो दलको नेतृत्वमा राष्ट्रिय सरकार गठन हो भनेर अर्को अर्घेल्याइँ गर्न थालेको छ। यसबाट ऊ संसदीय बहुमत र अल्पमतको स्थापित मूल्यमान्यताको उपहास गर्न उद्यत देखिन्छ। तीन दलका यी अमिल्दा सर्तले राजनीति झन् अन्यौलमा पर्दै गएको छ। प्रमुख तीन दल नमिली संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न सक्तैन।
balaram@nagariknews.com