मतदाताको उदासीनता
०१ कार्तिक २०७०
•
१७ मिनेट पाठ
मतदाताको उदासीनता
पायलिन समुद्री आँधीका कारण बंगालको खाडी हुँदै आएको दर्के पानीले धेरैको दसैं रौनकहीन भयो। खासगरी तराई मधेसका मेलाहरू त बेरंग नै भए। पहाडतिर पनि हिले दसैंको गनगनले सायद शरदोत्सवको रमझम उल्लासपूर्ण हुनसकेन। तर जति नै फिक्का भए पनि चाडबाडको चहलपहलले गर्दा चुनावी चर्चा भने ओझेलेमा पर्नगएको छ।राजनीतिक घेराबाहिरको जनवृत्तमा आसन्न निर्वाचनप्रति न रुचि देखिन्छ, न त जागरुकता नै। पार्टीका झन्डा फहराउने मोटर मूल सडकहरूका दगुर्न सुरु गरिसकेका भए पनि तिनमा सवार नेता कार्यकर्ताले ठूलो स्वरमा बोल्ने हिम्मत अझ जुटाउन सकेका छैनन्। शिर निहुर्‍याएर कुरा गर्नेले उत्साह जगाउने सम्भावना स्वभावतः कम हुने नै भयो। नेपालका राजनीतिकर्मीहरूलाई नखाएको विष लागेको वास्तविकता ठम्याउन गाह्रो पर्दैन।
हो, विघटित संविधान सभा उपलब्धिमूलक बन्न नसकेको तथ्य अस्वीकार गर्न मिल्दैन। यस्तै, निर्वाचित प्रतिनिधिहरूको धेरैजसो ऊर्जा अहिले पनि 'स्थायी सत्ता’ सँग संघर्ष गर्नमै खर्चिनुपर्ने अवस्था कायमै रहेको पनि बिर्सन हुँदैन। विघटित संविधान सभाका असफलताका कारणहरू भविष्यका इतिहास वेत्ताले केलाउने नै छन्। राष्ट्रको स्थायी सत्तामा व्याप्त राजनीतिप्रतिको हेय भाव भने कुनै न कुनै रूपमा 'पंचायती मानसिकता’बाट उब्जिएको हो भन्ने निर्क्योलमा पुग्न चाहिँ कठिन हुँदैन।
तात्कालिक तुष्टि
राजा महेन्द्रका वृत्तिभोगी (मर्सिनरी) बुद्धिजीवीले पञ्चायतको दर्शनशास्त्र आविष्कार गर्नुभन्दा अगाडि ऐच्छिक नै भए पनि नौ दस कक्षाका विद्यार्थीले नागरिक शास्त्र भन्ने विषय पढ्ने गर्थे। पछि त्यसलाई विस्थापित गरेर पञ्चायतलाई अनिवार्य विषय बनाइयो। नागरिकका हक, अधिकार एवं कर्तव्य पढ्ने विद्यार्थीले रातारात प्रजाका जिम्मेवारी एवं सत्ताप्रतिको बफादारीका आवश्यकता एवं महत्व बारे सरकारी विद्वान्का व्याख्या घोक्न थाले। अन्तरिम चुनावी मन्त्रिपरिषद्का अधिकांश विद्वान् सदस्यहरूले त्यस्तै आधिकारिक विद्वताका पाठ कण्ठ पारेर लोकसेवा आयोगको परीक्षा पास गरेको हुनुपर्छ। 
पञ्चायतको आधिकारिक दर्शनमा पञ्च तत्व, पञ्च देवता, पञ्च भलादमीजस्ता दृष्टान्तहरूबाट 'सबै नेपाली पञ्च’ सिद्धान्त स्थापित गर्न खोजिन्थ्यो। भाषा भने पाठ गर्न लायकको भएकाले भर्खर नेपाली सिक्न थालेका मधेसी विद्यार्थीले रमाएर पढ्थे। 'मान्छे सामाजिक प्राणी हो’ भन्ने सूक्तिबाट भने पञ्चायतको पाठ्यक्रम पनि मुक्त थिएन।
काठमाडौंबाट पाठ्यपुस्तक आइनपुगदै पञ्चायत विषय पढाउने जिम्मा पाएका माध्यमिक शिक्षकहरू भने सन् १९७० को सुरुताका अन्योलमै थिए। विषयको संवेदनशीलताले गर्दा हो वा तत्कालीन अञ्चलाधीशको आतंकले सूचना केन्द्रबाट प्राप्त प्रचार सामग्रीका पञ्चायत विषय प्रवेश गराउने ल.च.मु. उच्च विद्यालयका प्रधानअध्यापक सभापति दास स्वयं थिए। मैथिलीमा धाराप्रवाह, हिन्दीमा पोख्त एवं अंग्रेजीमा पाण्डित्यपूर्ण सम्भाषण गर्नसक्ने प्रधानाध्यापक दास नेपाली भने अड्कीअड्की बोल्थे। अप्ठेरा कुराको हिन्दीमै व्याख्या गर्ने गर्थे। 'मान्छे सामाजिक प्राणी हो’ भन्ने पञ्चायतको उक्तिलाई उनले मज्जाले हाँसोमा उँडाएको उनका छात्रमध्ये कतिपयले अझै पनि सम्झेको हुनुपर्छ। 'मानिस राजनीतिक प्राणी हो ’ नभनिएसम्म अरस्तुको प्रख्यात उक्तिको अर्थ नै लाग्दैन भन्ने उनको ठम्याइ नौ कक्षाका विद्यार्थीले नबुझेको पनि हुनसक्छ। अञ्चलाधीशले भने चाहिनेभन्दा बढी बुझे। सामान्यतः कुनै काम परे अञ्चलाधीश स्वयं विद्यालयमा आउनुपर्ने परम्परा त्यसपछि तोडियो। प्रधानाध्यापकहरूलाई प्रशासनिक कार्यालयमा बोलाइन थालियो। यसरी शैक्षिक स्वायत्तताको अन्त्य पञ्चायतको अध्यापनसँगै सुरु भएको थियो।
प्रधानाध्यापक दासले अरस्तुलाई पढेकामात्र नभएर बुझेका पनि थिए। अरस्तुले प्राणीलाई दुई श्रेणीमा विभाजन गरेका छन्। सामाजिक भनिएका जीव वस्तुतः बहुचर हुन् जो समूहमा बस्न रुचाउँछन्। कमिलादेखि कर्‍याङकुरुङ चरा एवं भेँडाजस्ता जन्तुसमेत एक हदसम्म सामाजिक प्राणी हुन्। एकाकी जीवन प्रिय हुने 'एकचर ’ भने बढीमा परिवारसँग आबद्ध रहन्छन्। मानिस भने 'बहुचर ’ पनि हो र 'एकचर ’ पनि। त्यसैले मनुष्यका लागि अरस्तुले छुट्टै शब्दावली प्रयोग गरेर मानिस राजनीतिक प्राणी भएको घोषणा गरेका छन्। मानिस सामाजिक प्राणी त हुँदै हो तर मूलतः राजनीतिक जीव हो।
बहुचर हुन् वा एकचर, मानिसबाहेकका अनय प्राणीहरू कृत्रिम सम्बन्ध स्थापना गर्न सत्तै्कनन्। सामञ्जस्य कायम गरेर सोद्देश्य एवं सदाचारी संगठन बनाउन सत्तै्कनन्। बस्ती बसाल्ने, सामञ्जस्य स्थापित गर्ने एवं स्वयं शासक तथा शासित भएर बस्नसक्ने क्षमताले गर्दा मानवहरू नगर निर्माता तथा नागर सभ्यता प्रवर्तक हुनसकेका हुन्। नागरिक हुने चाहना राख्नु मानवको नैसर्गिक गुण भएकाले ती प्राकृतिकरूपले राजनीतिक प्राणी हुन् भन्छन् अरस्तु। तीन दशकसम्मको पञ्चायत शिक्षाको मूल उद्देश्य यही मानवीय प्रवृत्ति दमन गर्नु रहेको थियो। त्यस राजनीतिक प्रयोगको धङधङीबाट नेपालको एउटा सिंगो पुस्ता अझै मुक्त हुनसकेको छैन। निर्दलीय होस् वा एकलदलीय प्रतिस्पर्धा नियन्त्रण गर्ने व्यवस्थाले 'राजनीतिक प्राणी’ फस्टाउन दिँदैन। परिणामस्वरूप, समाजमा व्यक्तिवादी सोचको प्रभुत्व स्थापित हुन्छ। संगठनमा लाग्नेले समेत दीर्घकालीनभन्दा तात्कालीक र सामूहिकभन्दा व्यक्तिगत वा बढीमा पारिवारिक हितलाई प्राथमिकतामा राख्न थाल्छन्। 
केही समयअगाडि नाफा क्षेत्रका प्रमुख हस्तीमध्येका एक तथा नेकपा (एमाले)बाट विघटित संविधान सभामा सभासद् बनाइएका विनोद चौधरीले छाापमा प्रकाशित लेखमार्फत् हाकाहाकी दाबा गरे कि विघटित संविधान सभाबाट वामपन्थी झुकावको संविधान बन्न नदिनु नै एक किसिमले उनको सफलता थियो। सायद, त्यो सफलता उनी सम्बद्ध दलको पनि हो। व्यक्तिगत वा समूहगत हितका लागि बृहत् जनमतलाई अन्तरध्वंशद्वारा समेत प्रभावहीन तुल्याउने राजनीति व्यक्तिवादी सोचबाट उब्जिएको हुनुपर्छ।
राजनीतिकर्मीका सार्वजनिक प्रतिबद्धता एवं व्यक्तिगत आचरणबीच कुनै तालमेल नदेखिएपछि सामान्य जनमा निर्वाचनजस्तो कर्मकाण्डप्रति चाख नलाग्नु अस्वाभाविक होइन। चारैतिर व्यक्तिवादितामात्र देखिएपछि सम्भाव्य मतदाताले ' यसबाट हामीले के पाउँछौँ?’ भन्ने प्रश्न गर्नु स्वाभाविक हो। संविधान बनाउने प्रतिबद्धताबाहेक अरू कुनै कुरा भन्नसक्ने हैसियत राजनीतिक वृत्तमा रहेका नेता कार्यकर्ता कसैको छैन। श्राद्धमा बिरालो छोप्ने चलनजस्तो बन्न पुगेको चुनावी घोषणापत्रमा न लेख्नेको प्रतिबद्धता झल्किन्छ न त सार्वजनिकीकरण गर्नेको विश्वास। मतदाताले सक्ने भए पनि पढ्न आवश्यक ठान्दैनन्।
राजनीतिक प्राणी प्रमुख रहेको व्यवस्था विचार, सिद्धान्त, आदर्श एवं परिकल्पना निर्देशित हुनेगर्छ। सामाजिक प्राणी गाँस, वास, कपास र विलासका सम्भावना पहिल्याउन चाहन्छ। राजनीतिक अनि साम, दाम, दण्ड र भेदको खेल बन्न पुग्छ। त्यस प्रकारको राजनीति षड्यन्त्र एवं दाउपेचमा चल्छ। निर्वाचन प्रजातन्त्रको उत्सवभन्दा पनि सत्ताको जोडघटाउमा सीमित हुन जान्छ। त्यस्तो कर्मकाण्डमा मतदाताको संलग्नता भए पुग्छ, सहभागिता चाहिँदैन। अनि त किन जाँगर लागोस् सामान्यजनलाई आसन्न निर्वाचनप्रति? सहरबजारमा समेत अझैसम्म व्याप्त चुनावप्रतिको उदासीनता बु‰न कठिन छैन। आशै हराएपछि प्रयास गर्ने ऊर्जा क्षीण हुने रहेछ।
उत्साहको सञ्चार
सञ्चार माध्यम जतिसुकै 'चुनावमय’ भए पनि तिनको भूमिका स्वभावतः सीमित रहन्छ। चुनावको 'माहोल’ बनाउने मुख्य जिम्मेवारी राजनीतिक दलहरूको हो। तिनको अस्तित्व देखाउन निर्वाचन अपरिहार्य हुन पुगेको हो। संविधान कार्य सूची हो। मूल विषय त अझै पनि पहिचान, न्याय एवं सहभागिता सुनिश्चित हुने गरी राज्य व्यवस्थाको रूपान्तरण नै हो। त्यसका लागि सरकारको निर्माण महत्वपूर्ण अवयव हो भन्ने चाहिँ सामान्य मतदाताले पनि बुझेको हुन्छ।
सयभन्दा बढी दल प्रतिस्पर्धामा रहेका बेला एकल बहुमतको दाबी 'हावादारी’ गफ हो भन्ने स्वीकार गर्न किन हिचकिचाएका हुन् दलहरू? एकल बहुमत माग्न मिल्छ। तर, त्यो नभए संविधान बन्दैन भन्नु या त हरुवा नभए षड्यन्त्रकारी मानसिकताको परिचायक हो। सम्भाव्य गठबन्धनको रूपरेखा स्पष्ट नभएसम्म मतदातामाझ निर्वाचन प्रक्रियाको औचित्यसमेत साबित गर्न गाह्रो हुनेछ। 
संसदीय प्रणालीमा सत्ताधारीविरुद्धको आक्रोश मतदातालाई उत्प्रेरित गर्ने महत्वपूर्ण कारण हुनेगर्छ। 'दुर्जनहरूलाई फालौँ’ भन्ने नाराद्वारा प्रतीक्षारत दलहरू सत्तामा पुग्ने गर्छन्। भृत्यतन्त्रको सरकारबाट मुक्तिको एकमात्र बाटो अविलम्ब चुनाव हो भन्ने साहस कुनै पनि दलले इमानदारीसाथ भन्न सकिरहेका छैनन्। किनभने, सत्तासीन अराजनीतिक संयन्त्र तिनका आफ्नै अकर्मण्यताले वा अल्पदृष्टिले उब्जिएको हो।
राष्ट्रपतीय निर्वाचनहरूमा आशालाग्दो नेतृत्वको उदय हुने सम्भावनाले पनि सामान्य मतदाता उत्साहित हुने गर्छन्। गत निर्वाचन ताका भित्तेमात्रै भए पनि पुष्पकमल दाहाल राष्ट्रिय नेतृत्वका दाबेदार थिए। उपेन्द्र यादव 'मधेसको मुख’ भएर उदाएका थिए। गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वबाट बसन्त विद्रोहको आभा लुप्त भइसकेको थिएन। देशकै नेतृत्व त परै जाओस् समूहको निर्विवाद नेतृत्वसमेत परिदृश्यमा नभएको निर्वाचनले 'आ जेसुकै होस् ’ भन्ने भाव उत्पन्न गराउनु आश्चर्य होइन। सम्भाव्य नेतृत्व पंक्तिले सामूहिक अपिलमार्फत् मतदातालाई आश्वस्त तुल्याए चुनावी वातावरण सिर्जना हुनसक्छ।
सबैभन्दा महत्वपूर्ण अवयव निर्वाचनको सार्थकताको हो। अदालतले निर्वाचित निकायको म्याद तोक्ने, प्रत्यक्ष निर्वाचनमा हारेका व्यक्ति प्रधानमन्त्री बनाइने एवं मतदानको साटो सहमतिको रटान गर्ने राजनीतिकर्मी यथास्थितिका बन्दीजस्ता देखिन्छन्। निस्सहाय नेतृत्व छनौट गर्न मतदाता लाम लाग्न जान चाहँदैनन्। तिनलाई विश्वासमा लिने काम फेरि पनि शीर्ष नेतृत्व पंक्तिकै हो। नेताहरूकै विश्वसनीयता खस्किएका बेला कार्यकर्ताका भरमा निर्वाचनको वातावरण बन्नेवाला देखिँदैन।
दसैं र बकरिद सकियो। अब तिहार र छठको रमझम सुरु हुन्छ। त्यसपछि निदाइरहेका मतदातालाई जगाउने समयै बाँकी रहनेछैन। सामान्यजनको उदासीनताले समग्र निर्वाचनकै स्वीकार्यतामा प्रश्न उठाउनसक्छ। सायद, त्यस्तै परिस्थितिको आकलन गरेर मोहन वैद्य एवं उनका अनुयायी मौन बहिष्कारको निर्णयमा पुगेका हुन्। उत्साहहीन सहभागी एवं उदासीन मतदाताले कानुनी वैधता प्रदान गरे पनि नैतिक वैधता स्थापित गर्न सत्तै्कनन्।
'निर्वाचन हुनुपर्छ। चुनाव हुन्छ। ’ नेताहरूले दोहोर्‍याउने यी दुई वाक्यबाहेक तिनका प्रतिबद्धता अझै पनि मतदातासम्म पुगेको छैन। अब अरू ढिलो भयो भने व्याख्या वा स्पष्टीकरणसमेत बेकामे ठहरिने जोखिमप्रति राजनीतिकर्मीका साथै जनसाधारण पनि जागरुक हुनु जरुरी छ। नेपालमा राजनीतिक संस्कारको विकास प्रक्रिया अझै प्रारम्भिक चरणमै रहेकाले राजनीतिक वृत्तको जिम्मेवारी अलि बढी हुनु स्वाभाविकै हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस