गुट संकटमा कांग्रेस
१६ असोज २०७०
•
१२ मिनेट पाठ
गुट संकटमा कांग्रेस
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा १४ असोजको रातभर पनि बैठक बस्यो। कांग्रेस संसदीय दलको बैठकमा सदस्यले रातको भान्सा पार्टी कार्यालयमै गरे। उम्मेदवार टंुगो लगाउने बैठक १५ गते बिहानसम्म लम्मियो। सबै क्षेत्रको टुंगो लागिसकेको भए पनि संसदीय बोर्डकै दुई जना सदस्य अरूभन्दा भिन्नरूपमा प्रस्तुत भए । पार्टी उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ आफ्नो र आफ्नो जिल्लाको राजनीतिबाट पार पाउनै सकिरहेका छैनन्। पार्टी सभापति सुशील कोइरालालगायतका अरू सदस्य पौडेल र श्रेष्ठलाई 'तपाईँहरू आआफ्नो जिल्लाको टुंगो' लगाउनुहोस्, भन्दै कार्यालयबाट बाहिरिए। अनि, १५ गते दिनभरमा पनि पौडेल र श्रेष्ठ निर्णयमा पुग्न सकेनन्। पार्टीले २४० क्षेत्रमध्ये, तनहुँ र स्याङजाका गरी ६ क्षेत्र छोडेर मंगलबार साँझ २३४ क्षेत्रका उम्मेदवारको नाम टुंगो लगायो। यो घटना त उदाहरणमात्रै हो।
पौडेल र श्रेष्ठले किन आफ्नो जिल्ला पनि मिलाउन सकेनन् त? यसबाट नेतृत्वतहमा पुगेका नेता पनि आफ्नै जिल्लाको राजनीतिबाट माथि उठ्न नसकेको स्पष्ट हुन्छ। यसमा दुवै नेताको आआफ्नै स्वार्थ निर्णायक भएको देखिन्छ। पौडेल आफ्नो सुरक्षित क्षेत्र तनहुँ २ बाट
उमेदवार बन्ने र अन्य क्षेत्रमा पार्टीका अरू उम्मेदवारलाई तह लगाउने मानसिकताबाट ग्रसित भएको कांग्रेसजन बताउँछन्। उता श्रेष्ठले स्याङ्जा २ लाई आफ्नो पेवाजस्तै ठानेका रहेछन्। स्याङजा २ बाट उमेदवारी दाबी गर्दे आएका श्रेष्ठ अन्त्यमा समानुपातिक सूचीमा बस्ने निर्णयमा पुगेपछि पनि आफूले भनेकै व्यक्तिलाई टिकट दिलाउने अड्डीमा बसे। श्रेष्ठ उनले दाबी गरेको क्षेत्रबाट देउवा पक्षीय कांग्रेसले उम्मेदवारी पाउनुपर्ने अडानकै कारण संसदीय बोर्ड टुंगोमा पुग्न नसकेको स्पष्ट भयो। पौडेलले पार्टी उपसभापतिजस्तो जिम्मेवारी पाएर पनि छाती फराकि्कलो पार्न नसकेको अर्थ लगाइँदै छ। उता श्रेष्ठले भने कांग्रेसमा गुट राजनीतिको पक्षमा खुलेरै वकालत गरेको देखियो।
यता संसदीय बोर्डकी सदस्य सुजाता कोइराला बोर्डको बैठक सकिएलगत्तै  पत्रकार सम्मेलन गरेर संसदीय बोर्डमा पैसाको चलखेल भएको आरोप लगाउन पुगिन्। सोही सम्मेलनमा आफूलाई दिवंगत कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्दे सुजाताले पार्टी नीतिविपरीत चुनाव बहिष्कारवादी वैद्य माओवादीलाई  चुनावमा ल्याउनुपर्ने र त्यसका लागि मंसिरको चुनाव चैतमा सार्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। सुजाताको वैद्य माओवादीलाई चुनावमा समेटनु पर्ने विचारमा उनले आफ्ना पिताको नामको सहारा लिइन्। जंगलको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँन आफ्ना पिताले खेलेको राजनीतिक भूमिकाको प्रसंग उप्काउँदै उनले वैद्यहरूलाई चुनावमा ल्याउनुपर्ने धारणा राखिन्। उनको यस अभिव्यक्तिलाई राजनीतिक प्रकृतिको मान्न सकिन्छ। कांग्रेसमा सुजाताकै जस्तो विचार राख्नेको संख्या ठूलै छ। तर, सुजाताको टिकट वितरणमा पैसाको खेलो भएको भनाइमा भने कांग्रेसजनले प्रतिप्रश्न गर्न थालेका छन्। उनीहरू अहिले सुजाता किन त्यसको  विरोधमा बोल्न थालेकी हुन् भन्ने प्रश्नको उत्तर खोज्न थालेका छन्।  के उनको हातमा पैसा परेन? कांग्रेसजनको प्रश्न छ। कोइराला परिवारमा झगडा गरेर पार्टीको महत्वपूर्ण निकाय संसदीय बोर्डमा आउन सकेकी सुजाता अहिले आफ्ना पिता सभापति भएजस्तो हालीमुहाली गर्ने अवस्थामा छैनन्। कोइराला परिवारभित्र धुर्की लगाएर पद लिने उनको आक्रोशले सिंगो पार्टी राजनीतिमा भने खासै अर्थ राख्दैन। पार्टीका धेरै मामिलामा उनको जोर चल्दैन। सुजातामा अहिले एक प्रकारको छटपटी सुरु भएको छ। त्यही छटपटीकै कारण उनले प्रत्यक्ष निर्वाचनमा मोरंग १ र सुनसरी ५ बाट उमेदवार हुने प्रचार गरिन्। अनि, दुवै क्षेत्रबाट समानुपातिकमा नाम सिफारिस गराउने प्रयास गरिन्। मोरंग १ का कांग्रेसजनले सुजातालाई समानुपातिकमा पनि राखेनन्। पिताको क्षेत्रका कांग्रेस कार्यकर्ताले आफूलाई अपमानित गरेको भन्दै आक्रोश पोखेर उनले पहिलो संविधानसभा निर्वाचन लडेकै क्षेत्र सुनसरी ५ बाट प्रत्यक्ष  र समानुपातिक दुवैमा नाम सिफारिस गराइन्। अर्थात्, सुजाता प्रत्यक्षमा जान डराएर समानुपातिकतर्फको उमेदवारी रोजिन्।
कांग्रेस उमेदवारी प्रकरणमा डिल्लीबजार जेलबाट  'रिमोटकन्ट्रोल' चलाउने खुमबहादुर खड्काले पनि खेले। भ्रष्टाचारको आरोपमा जेलमा रहेका खड्काको चित्त बुझाउन पार्टीले उनकी पत्नी शीला खड्कालाई दाङबाट उमेदवार बनायो। पार्टी निर्णयमा खड्काले पत्नीलाई दिएको टिकट फिर्ता गर्ने घोषणा गरेर जेलबाटै विरोध जनाए। कांग्रेसमा खड्काका समर्थक उल्लेख्य भएको विश्वास गरिन्छ। पार्टीभन्दा व्यक्तिका पछि लाग्नेहरूको एउटा जमात खड्कासँग रहेको मानिन्छ। भनिन्छ, पदीय जिम्मेवारीमा नरहेका खड्का कतिपय क्षेत्रमा पार्टीका उम्मेदवारलाई हराउने, जिताउने क्षमता राख्छन्। खड्काका मानिसलाई टिकट दिएर सन्तुलन मिलाउने प्रयास संसदीय बोर्डले गरेको भए पनि त्यसले खड्काको चित्त बुझेन।
माथि उल्लेख गरिएका घटना र  प्रवृत्ति केही उदाहरणमात्र हुन्। कांग्रेसको गढ भनिएको घनुषामा आन्तरिक राजनीतिको तमासा भएको छ। कांग्रेसको संस्थापन पक्षकै सक्रिय सदस्यको हैसियतमा बेलाबेलामा पार्टी राजनीतिमा उत्रने राष्ट्रपति रामवरण यादव र दिवंगत महेन्द्रनारायण निधिको उत्तराधिकारी ठान्ने विमलेन्द्र निधिको महत्वाकांक्षाले कांग्रेसको किल्ला भत्कने स्थिति पुगेको आकलन भइराखेको छैन। संस्थापन र देउवा पक्षको विवादमा राष्ट्रपति पुत्र चन्द्रमोहन आन्तरिक राजनीतिको सिकार बनाइए। धनुषा एउटा उदाहरणमात्र हो।  दाङलगायतका धेरै जिल्ल्लामा कांग्रेसले कांग्रेसलाई पाखा लगाउने अभ्यास भएका छन्।
 जिल्लाजिल्लामा उमेदवार सिफारिस गर्दा कांग्रेसमा एकले अर्कालाई सिध्याउने खेल हुनुका साथै संस्थापन र देउवा पक्ष भनेर ध्रुवीकरण भयो। संसदीय बोर्ड गठनमा त्यही नीति अख्यियार गरियो र अहिले टिकट वितरणमा पनि गुटगत राजनीतिलाई प्रश्रय दिने काम भएको छ। विवाद, गुटबन्दीलाई सामान्य ठान्ने र अर्न्तघात संस्कारमा रमाउने कांग्रेस मानसिकताकै कारण एकले अर्कालाई सिध्याउने राजनीतिक प्रपञ्चले मलजल पाउँदैआएको छ। हुन त कांग्रेसका धेरै कार्यकर्ता टिकट वितरणसम्म देखिएका गलत अभ्यास बिस्तारै चुनावको वातावरण बनेपछि सहज बन्दै जाने विश्वासमा देखिन्छन्। संविधान सभा निर्वाचनको संघारमा आइपुग्दा पनि कांग्रेसले विगतबाट केही सिक्न सकेको देखिएन। गुट व्यवस्थापन काग्रेसको अहिलेको प्रमुख चुनौती हो।
लोकतान्त्रिक आन्दोलनहरूमा सफल नेतृत्व गर्ने महत्वपूर्ण इतिहास भएको पार्टी अघिल्लो संविधान सभा निर्वाचनमा नराम्ररी खस्किएको थियो। सुशील कोइरालाको नायवी कार्यवाहकत्वमा भएको निर्वाचनमा इतिहासमै कमजोर हुनपुगेको कांग्रेस अहिले उनकै वैधानिक सभापतित्वमा चुनावमा होमिँदै छ। कोइरालाले आगामी निर्वाचनमा पार्टीलाई कसरी हाक्छन्। त्यसले कांग्रेसको मात्र होइन मुलुकको राजनीतिमा ठूलो अर्थ राख्छ। लोकतान्त्रिक मूल्यपद्धति आत्मसात् गरेको मान्यता पाएको पार्टीका नाताले कांग्रेसबाट धेरै अपेक्षा छ, जनताको। तर, कांग्रेसका स्वनामधन्य नेताहरू गुट होइन, पार्टी प्रमुख हो भनेर सोच्न सक्ने स्थितिमा अहिलेसम्म पुगेका छैनन्।  गुटगुटमा बाँडिएर होइन एक जुट भएर अघि बढेमात्र मधेसवादी दलहरू टुक्राटुक्रामा विभाजन भएको लाभ कांग्रेसले पाउनसक्छ।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस