बर्माको कर्म
०३ असोज २०७०
•
१९ मिनेट पाठ
बर्माको कर्म
केही प्रश्नहरूको उत्तर इतिहास वा समाजशास्त्रमा पाइँदैन। चन्द्र शम्शेरले जापानी भिक्षु इकाई कावागुचीको सल्लाह मानेर शतप्रतिशत साक्षरताको अभियान सुरु गरेका भए के हुन्थ्यो? प्रथम विश्वयुद्धपछि बेलायतले नगद पुरस्कारको साटो नेपालको आधुनिकीकरणमा लगानी गरेको भए कस्तो परिणाम दिन्थ्यो? राजा महेन्द्रले सत्ता हत्याउने लोभ संवरण गरेर प्रजातन्त्रीकरणलाई सघाएका भए गुरु गोरखनाथको कथित भविष्यवाणीबाट शाहवंश मुक्त रहन सक्थ्यो वा सक्तैनथ्यो? प्रश्न त गर्न सकिन्छ!कोरा कल्पनाभन्दा योजना पक्कै पनि भविष्य निर्माणको बढी उपयुक्त माध्यम हो। विगतलाई सम्झेर वर्तमानलाई बु‰ने प्रयत्नमा भने परिकल्पित पश्नहरूको पनि केही न केही उपयोगिता हुन्छ। आखिर कार्ल मार्क्सजस्ता भौतिकवादीले समेत स्वीकार गरेकै छन्। व्यक्तिले इतिहास त बनाउँछ तर परिस्थितिबाट स्वतन्त्र रहेर कर्म गर्न ऊ सत्तै्कन। परिस्थिति ऐतिहासिक अवस्था हो। प्रारब्धसँग मिल्दोजुल्दो कर्ताले गर्ने कर्मको परिवेश। त्यसैले यथार्थ अर्थ्याउन विगतबारे अडकल काट्नु उतिसाह्रो आपत्तिजनक होइन। इतिहासविद् विद्वान् हुनछन्। इतिहासकारको काम भने अध्ययन, अन्वेषण सँगसँगै कलाकारिता पनि हो। शब्द एवं उखानटुक्काका अर्थहरूले विगतबारे धेरै कुरा खुलाउन सक्छन्।
एकताका 'बर्मा गए कर्मसँगै’ भन्ने उखान खुबै सुनिन्थ्यो। 'अरब गए नि करिमसँगै’ भन्ने अभिव्यक्ति बरु दोहा विमानस्थलका सफाइ कर्मचारीबाहेक अरूको मुखबाट उति साह्रो सुनिन्न। गोर्खालीहरूमा 'ह्लासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उच्छ्वासमा जस्तै बर्माको सम्पन्नता एवं अवसर बारे सकारात्मक धारणा किन बन्न पुगेको होला? कथाहरू भनिन बाँकी छन्।
सन् १९६० को दशकतिर बर्माबाट लखेटिएका गोर्खाली मूलका केही बर्मेलीलाई राजा महेन्द्रले नेपालमा पुनर्स्थापना गरे। कति अझै बंगलादेश र थाइल्यान्डदेखि मलेसिया र सिंगापुरमा बरालिँदै छन्। अपेक्षाकृत राम्रो अंग्रेजी बोल्न सक्ने भएकाले बैंककका विदेशीहरू गोर्खाली मूलका बर्मेली घाइआमा असाध्यै रुचाउँछन्। तिनका पूर्खा भने बर्माको सम्पन्नताले आकर्षित भएर आसाम, मणिपुर एवं तत्कालीन पूवी बंगाल छिचोल्दै इरावदी नदीको उब्जाउ भूमिका साथै उत्तरका डाँडाकाँडा ढाक्न पुगेका थिए। गोर्खाली मूलका बर्मेलीमध्ये केही परिवार त झन्डै डेढ सय वर्षदेखि आफ्नो कर्मभूमिमै छन्।
अंग्रेज–गोर्खाली युद्धपछिको सुगौली सन्धिले नेपाल एवं तत्कालीन इस्ट इन्डिया कम्पनीबीचको सम्बन्धलाई नियमबद्ध गरिसकेको थियो। नसिरी बिग्रेडमा कार्यरत गोर्खालीहरूको लड्ने क्षमताबाट त बेलायतीहरू प्रभावित थिए नै सिपाही विद्रोह दबाउन सन् १८५७ मा जंगबहादुरले देखाएको बफादारीबाट गोरा साहेबहरू झनै मुग्ध भए। बर्माको उपनिवेशीकरण अभियानमा हतियार भएर त्यसपछि ठूलो संख्यामा गोर्खालीहरू बर्मा प्रवेश गरेका हुन्। 
बीसौं शताब्दीको सुरुताका बर्माको सम्पन्नताका कथाहरू नेपालको पश्चिमी पहाडसम्म फैलिइसकेको थियो। हुन पनि, लामो समुद्री तट मोति, माणिक, नीलम, हरिताश्म एवं चाँदीजस्ता बहुमूल्य वस्तुको खानी, संसारकै सबैभन्दा उब्जाउ जमिन, टिकजस्तो महंगो एवं टिकाउ काठको प्रचुरता तथा मिहिनेती बर्मेली जनताले गर्दा बेलायतका लागि बर्मा आकर्षक उपनिवेश ठहरिएको थियो। बर्मेली—अंग्रेज युद्धको तीक्तताले गर्दा त्यहाँका बासिन्दालाई भने उपनिवेश सञ्चालकहरूले रुचाउँदैन थिए। प्रशासनमा बंगाली, व्यापारमा तमिल एवं सेवा क्षेत्रमा गोर्खालीलाई प्राथमिकता दिने बेलायती नीतिले बामर 'जनीयता’ (एथ्निसिटी) भएका प्रभावशाली बर्मेलीलाई चिडाएको पक्कै हो। तर, बामरहरूको बदलाभावले सबभन्दा बढी बेफाइदा बर्मेलीहरूलाई नै भयो। जनीय शुद्धीकरण (एथ्निक क्लिनसिङ) अभियानको अभिशापबाट बर्मा अझै मुक्त हुनसकेको छैन।
दोषरोपणको संस्कृति
द्वितीय विश्वयुद्ध ताका बर्मेली ब्योगोक ( बर्मन वा बामर भाषामा जर्नेल) आङ साङले ठूलो चतुर्‍याइँ एवं लचकता प्रदर्शन गरेका थिए। बेलायतसँग लड्न पहिले उनले भारतका सुभाषचन्द्र बोसजस्तै एसियाली ऐक्यबद्धताका नाउँमा जापानीहरूको सहयोग लिए। जापानीहरूको हार पक्कापक्की भएपछि फासीवाद विरोधी मोर्चा बनाएर आफ्ना पूर्व संरक्षकहरूसँग लड्न गए। अन्ततः बर्माको स्वतन्त्रतापछि उनको हत्या भयो। भनिन्छ, उनको हत्यामा केही बेलायतीका साथै उनकै सहयोगीहरूको संल्गनता थियो 
स्वतन्त्रतापछि बर्माको सबभन्दा ठूलो समस्या के देखियो भने व्यापार चेट्टियार एवं मुसलमानहरूको हातमा थियो। प्रशासन बंगालीहरूले चलाउँथे। सेनामा बर्माका ससाना एवं पहाडी जनीय समूहको वर्चस्व थियो। राजनीतिमार्फत् शक्ति सन्तुलन सच्याउने उद्देश्यले बहुसंख्यक बर्मेलीहरूले जनीय शुद्धता अभियान सुरु गरे। अनि, बर्माका दुर्दिन सुरु भए। दोषारोपणको संस्कृतिका त्रासदीबाट बर्मा अझै मुक्त हुनसकेको छैन।
सन् १९६० सम्म सिंगापुर एवं मलेसियाका विद्यार्थीहरू चिकित्सा एवं अभियान्त्रिकीमात्र नभई कानुन एवं अर्थशास्त्रको अध्ययनका लागि समेत रंगुन विश्वविद्यालय जाने गर्थे। सफा र सुन्दर बर्मेली राजधानी हेरेर दक्षिणपूर्वी एसियाली देशहरू सहरी योजना बनाउँथे। एसियाकै सम्पन्न देशमा गनिन्थ्यो बर्मा। सेनाले राष्ट्रको अभिभावकत्व ग्रहण गर्ने अग्रसरता देखाएपछि बर्माको अग्रता समाप्त भयो। प्रचुर प्राकृतिक सम्पदा र परिश्रमी जनता हुँदाहुँदै पनि बर्माको गन्ती अहिले संसारका अति कम विकसित मुलुकका रूपमा हुन्छ। 
मानार्थ जर्नेल आङ साङको हत्या नै प्रथमतः डर अभिप्रेरित थियो। आङ साङले विभिन्न जनीय समूहसँग शान्ति कायम गरेर संघीय गणतान्त्रिक बर्माको परिकल्पना गरेका थिए। देशको एक चौथाइ क्षेत्रफलमा बसोवास गर्ने बर्माको तीन चौथाइ जनसंख्या बामर वा बर्मन छन्। तिनलाई ससाना जनीय समूहसँग बराबरी गर्नुपर्ने अवधारणा पचेन। गृहयद्ध चर्किन थाल्यो। नागरिक सत्ताले शान्ति स्थापना गरेर निर्वाचन गराउन सेना गुहार्‍यो। त्यसपछि आजसम्म सेना पूरै ब्यारेक फर्किएको छैन।
सन् १९६२ को प्रत्यक्ष शासनपछि सायद, सेनालाई नागरिक समाजले सर्वसत्तावाद चल्न दिनेछैन भन्ने महसुस भयो। स्वतन्त्र नागरिकको अस्तित्व समाप्त गर्न उद्योग व्यापारको राष्ट्रियकरण गरियो। बंगाली, पञ्जाबी एवं तमिलहरूलाई भारत जाने बसभाडा दिएर भगाइयो। गोर्खाली मूलका मध्ये प्रभावशाली जतिलाई पनि त्यसैगरी धपाइयो। प्रशासन, अर्थतन्त्र एवं सेवा क्षेत्र ठप्प भयो। विश्वविद्यालयका प्रतिभाशाली शिक्षक एवं विद्यार्थी पनि पलायन हुन थालेपछि प्राज्ञिक स्खलन सुरु भयो। राज्य सँगसँगै समाज पनि पूर्णतः सेनाको कब्जामा गयो। नागरिक समाज पंगु भयो।
नागरिक नियन्त्रणबाट मुक्त सेनाले आफ्नोबाहेक अरू कसैको भलो गर्दैन। जर्साबहरूको रबाफ बढ्ने क्रम रोकिएन। तिनका बालबच्चा सिंगापुरमा पढ्न थाले। प्राकृतिक स्रोतको दोहनबाट आर्जिएको पुँजी विदेश पलायन हुन थाल्यो। स्वाभाविकै हो, सेनाको बर्मेलीकरण अभियानबाट मुक्ति खोज्ने जनीय समूहहरूले गृहयुद्ध चर्काउन थाले। असर भने उल्टो भयो। बर्माको अखण्डता र एकता जोगाउने निहुँमा बर्मेली सेना झन्झन् शक्तिशाली बन्दै गयो। सम्भावनायुक्त एउटा राष्ट्रको क्षयीकरण बढ्दै गयो। 
भनिन्छ, 'विगतबाट कसैले केही सित्तै्कन' भन्नेमात्र इतिहासले सिकाउने सही पाठ हो। त्यसैले त इतिहास दोहोरिई रहन्छ। कार्ल मार्क्सका अनुसार इतिहासको पहिलो आवृत्ति त्रासदी हो भने पुनरावृत्ति चाहिँ प्रहसन हो। किन्तु, इतिहास त तेेहरिन पनि सक्छ। त्यो कस्तो हुन्छ भन्ने चाहिँ महात्मा मार्क्सले केही भनेका छैनन्। सायद, त्यो यन्त्रवत् परिचालन हुने रहेछ। आजभोलिको बर्मा त्यस्तै देखिन्छ। निरुत्साहित, स्पन्दनहीन र यन्त्रवत् समाज!
बर्माको प्राकृतिक ग्यासले थाइल्यान्डमा बिजुली बल्छ। तर, सैनिक शासनले आफ्नै देशका तीन चौथाइ जनतालाई अहिलेसम्म अन्धकारमै राखेको छ। रंगुनको प्रख्यात स्कटस बजारमा जवाहरातका व्यापारी कर छल्ने हेतुले कम्तीमा एउटा शून्य हटाएर अर्थात् मूल्यको दशांशको मात्र बिल दिन्छन्। अत्याधुनिक विमानस्थलमा कर्मचारी यन्त्रवत् आफ्नो काम गर्ने गर्छन्। विदेशी व्यापारीहरूको जमघट हुने तारे होटेलहरूबाहेक सहरमा उत्साह कतै देखिँदैन। झन्डै ६ दशकको सैनिक शासनले समाप्त गरेको रचनात्मकता, अग्रसरता र उत्साह फर्किन सायद अर्को पुस्ताको उदयसम्म पर्खिनु पर्नेछ।
उत्साह र आत्मविश्वासको अभावले गर्दा नै होला रोहंगिया मुसलमानहरूको अवस्थाबारे आङ साङ सु की केही बोल्दिनन्। उनलाई थाहा छ, बामर वर्चस्वको निरन्तरताबारे सेनालाई आश्वस्त तुल्याउन सकिएन भने सन् २०१५ को निर्वाचन मृगतृष्णा ठहरिन सक्छ। विधायिकामा एक चौथाइ सदस्य सेनाले मनोनीत गर्ने गर्छ। तीन चौथाइ बहुमतबेगर संविधान संशोधन गर्न सकिँदैन। केही गरी असम्भव अवस्था सम्भव भइहाल्यो भने पनि संविधान संशोधनलाई सेनाले निष्प्रभावी घोषणा गरिदिन सक्छ। यस्तो परिस्थितिमा राजनीतिकर्मी निरुत्साहित एवं पत्रकार निर्जीव हुनु अस्वाभाविक होइन। ती पनि त सेनाको आडभरोसाबेगर काम गर्ने हिम्मत गर्न सत्तै्कनन्। 
आफ्ना कमजोरीहरूको दोष कहिले जापानी त कहिले बेलायती, कहिले सान, कोकी, करेन जनजाति त कहिले बंगाली, गोर्खाली, चेट्टियार, कहिले चिनियाँ त कहिले भारतीयको टाउकोमा थोपर्दा थोपर्दा बर्मेलीहरू कति धेरै आत्मबलविहीन भइसकेका छन् भने अब उनीहरू शत्रुको चित्रण नगरी आफ्नै अस्तित्वसमेत साबित गर्न सत्तै्कनन्। त्यहाँका केही लडाकु स्वभावका भिक्षुहरूले अहिले मुसलमानहरूलाई नयाँ शत्रु घोषणा गरेका छन्। नोक्सान फेरि पनि बर्माकै हुनेछ। आखिर, ९५ प्रतिशतभन्दा धेरै जनसंख्या एउटै धर्मावलम्बी (बौद्ध) रहेको अरूमाथि दोष थोपरेर कहिलेसम्म आत्मसम्मान जोगाउन सक्छ? 
निर्णयको स्वामित्व 
गरिने काम पनि कर्म हो र पाउने फल पनि कर्म। 'कर्ममा तिम्रो अधिकार छ फलमा हैन।’ भन्छन् वासुदेव कृष्ण। अर्कातिर कर्म ( गरिने काम)ले नै कर्म (भाग्य) निर्धारण गर्छ भन्ने धारणा पनि उत्तिकै बलियो छ। दुवैथरी विश्वासको आधार भने कर्ताको प्रमुखता अवधारणामा निहित छ। निर्णय सबै सही हुन्छन् भन्ने केही छैन। गलत निर्णयहरूको पाठबाट सही निर्णय गर्ने क्षमता विकसित हुने हो। त्यसका लागि आफ्ना निर्णयहरूको स्वामित्व लिने परिपक्वता देखाउन सक्नुपर्छ। 
व्यक्तिको जीवनमा जस्तै राष्ट्रहरूको स्थितिका लागि पनि तिनका अगुवाको निर्णयको ठूलो महत्व हुन्छ। बर्मेलीहरू अनौपचारिक कुराकानीमा सेनाले सत्ता हत्याउन गलत थियो भन्ने स्वीकार गर्छन्। सार्वजनिकरूपमा भने सैनिक अभिभावकत्वको सिद्धान्तलाई चुनौती दिने कोही छैन। नेपालको भूरणनीतिक महत्व एवं संवेदनशील भौगोलिक अवस्थाले गर्दा सशस्त्र विद्रोहको अवधारणा सिद्धान्ततः गलत थियो भन्ने कुरामा माओवादी त के तिनका विरोधीले समेत सितीमिती गर्दैनन्। किनभने, त्यो बेठीक थियो भन्नु नेपाली सेनाको निरर्थकताको मुद्दामा गएर ठोकिन्छ। माओवादी सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो लाभ अन्ततः नेपाली सेनालाई भएको हो। अर्को कुनै सशस्त्र समूह पुनः विद्रोहमा उत्रियो भने इतिहास दोहोरिने र तेहरिनेमात्रै हो।
साम्यवादी दमन गर्ने अभियानमा लागेका बर्मा, इन्डोनेसिया, दक्षिण भियतनाम, कोरिया, मलेसियाजस्ता देशका सैनिक अधिकारीहरूको सम्पत्तिको सुरक्षा गर्ने प्रत्याभूति दिने सिंगापुर एसियाको अग्रणी सहर राज्य बन्न पुगेको छ। सिंगापुरलाई सके रंगुन नभए पनि कम्तीमा कोलम्बो जत्तिको बनाउँछु भन्ने राजनीतिकर्मीहरूले एकरूपताको साटो ऐक्यबद्धता अँगाले र विविधतालाई अंगीकार गर्न डराएनन्। सेनाको साटो निजामती प्रशासनलाई पत्याए। त्यही प्रारूप सबै ठाउँमा लागु हुन्छ भन्ने छैन। किन्तु, राष्ट्र डरले हैन आशाले चल्छ। अनि, आत्मविश्वास एवं परस्पर सहयोगको भावना भएका समुदायहरूले मात्र आधुनिक राष्ट्र बनाउन सक्छन्। बर्मेलीकरणजस्तै नेपालीकरण पनि सन् ६०को दशकको त्रासद अवशेष हो। त्यस अवधारणाको अन्त्येष्टि नभई राष्ट्रिय एकता सबल बन्न सत्तै्कन। वर्चस्वशाली समूहको जातिवाद जति विषाक्त भाव अरू कुनै हुँदैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस