अपुरो क्रान्तिका विसंगति
२१ भदौ २०७०
•
१९ मिनेट पाठ
अपुरो क्रान्तिका विसंगति
पुत्र वियोगमा विह्वल गोरखा फुजेलका अधिकारी दम्पतीको संघर्षका कथा करुणाजनक छन्। आफ्नो किशोर सन्तानको हत्यारालाई कारबाही गराउन माग्दा तिनलाई धपाइयो। झन्डै डेड महिनादेखि भोक हडतालमा रहेका वृद्धवृद्धाको प्राण रक्षाका लागि बलात् पोषण प्रदान गर्नेसम्मको विकल्प प्रयोग गर्ने गरी सर्वोच्च अदालतले नेपाल सरकारका नाउँमा अन्तरिम आदेश जारी गरेको छ।अधिकारी दम्पतीको पीडालाई शब्दमा व्यक्त गर्न सकिँदैन। सायद, जरुरी पनि छैन। सशस्त्र संघर्षका त्रासदी अनुभव गर्न अभिशप्त समाजमा अधिकारी दम्पतीजस्तै हजारौं आफन्त छन्। जुनसकै गृह युद्धमा पनि सबैभन्दा पहिले मानवीयता नै आहत हुने हो। 'त्यसलाई त झुन्ड्याउनु पर्ने ’ 'गोली ठोक्नुपर्ने ’ वा 'टुक्रा टुक्रा पार्नुपर्ने ’ जस्ता बर्बर अभिव्यक्ति सामान्य बोलीचालीमा प्रयोग हुनु समग्र समाज संवेदनहीन बन्न पुगेको परिचायक हो। अर्काको आक्रोश सर्छ तर पीडाले पोल्दैन।
बाह्र वर्षे सशस्त्र द्वन्द्वको सुरु सही थियो कि गलत भन्ने वैयक्तिक धारणामा भर पर्छ। रगत नबगाई युगान्तकारी परिवर्तन हुँदैन भन्ने मान्यतामा विश्वास गर्नेहरूको जमात पनि सानो छैन। क्रान्तिको प्रतीक गाढा रातो रंग र विम्ब बन्दुक बन्नपुगेको त्यसै होइन। अमेरिकी क्रान्तिका तस्बिरहरूमा सिपाही देखिन्छन् भने फ्रान्सेली क्रान्तिको प्रतीकात्मक औजार हजारौंको प्राण हरण गर्ने धारिलो पत्ती भएको 'लेडी ग्यालोटिन' उपकरण देखिन्छ। सशस्त्र संघर्षको सही मूल्यांकन गर्ने अन्ततः इतिहासले नै हो।
गृहयुद्धका विभीषिका झनै अत्यासलाग्दा हुन्छन्। बेलायतको दसवर्षे गृहयुद्धमा ( सन् १६४२—५१) त्यतिबेलाको जनसंख्याको झन्डै ६ प्रतिशत जनता मारिए। प्राण गुमाएका लगभग ३ लाख जनामध्ये कति दोषी थिए र को को निर्दोष? इतिहासले केही बोल्दैन। तर, त्यही गृहयुद्धका जगमा गौरवशाली क्रान्ति भयो सन् १६८८ तिर। राष्ट्र निर्माणजस्तै प्रजातन्त्रको सुरुआत पनि रक्तरंजित प्रक्रियाद्वारा नै भएको हो। 
अमेरिकी गृहयुद्ध ( सन् १८६१ — १८६५) त झन् संयुक्त राज्य अमेरिकाको अस्तित्वको लडाइँ नै बन्न पुगेको थियो। अमेरिकी स्वतन्त्रता संग्राम ( सन् १७७५ — १७८३) भन्दा धेरै हिंसात्मक एवं बर्बरतापूर्ण अमेरिकी गृहयुद्धले अन्ततः समानताको विश्वव्यापी संघर्षलाई नयाँ उचाइमा पुर्‍यायो। दासत्व उन्मूलन आरम्भ गर्‍यो।
रसियाली क्रान्ति (सन् १९१७) पूरा नभएको ठान्नेहरूले रुसमा गृहयुद्ध सुरु गरे। राता र सेता मान्छेबीचको संघर्षमा कति मारिए र कति विस्थापित भए भन्ने सही तथ्यांक कसैसँग छैन। परिणााम भने विश्वको प्रथम साम्यवादी साम्राज्यको स्थापनाका रूपमा देखियो र जारहरूको शासनको नयाँ संस्करणको नामाकरण संयुक्त सोभियत गणतन्त्र भयो।
चिनियाँ गृहयुद्धले गर्दा माओवाद साम्यवादको नयाँ धारका रूपमा स्थापित भयो। मूलभूमिबाट भागेर गएका राष्ट्रवादीले ताइवान टापुमा स्वतन्त्र राष्ट्रको निर्माण गरे। तिब्बतलगायत कैयौं स्वाधीन सत्ताको अस्तित्व समाप्त भयो। सांस्कृतिक क्रान्तिका नाममा चिनियाँ सिर्जनात्मक परम्पराको विनाश गरियो। सैनिक र आर्थिक शक्तिका रूपमा उदाएको चीन अहिले आफ्नो गृहयुद्धलाई बिर्सने प्रयत्न गर्दैछ। इतिहासमा पानामा रगतका टाटा भने अझै आलै छन्। 
महात्मा गान्धीको नेतृत्वमा भएको भारतीय स्वतन्त्रता आन्दोलन मूलतः अहिंसात्मक थियो। हुनत, सुभाषचन्द्र बोस एवं आजाद हिन्द फौजको भूमिकालाई पनि इन्कार गर्न सकिँदैन। तर, गान्धीका भोका नांगा सिपाहीले स्वतन्त्रता संग्राम साँच्चै नै 'बिना ढाल तरबार’ नै लडेका थिए। तिनै भोका नांगा केही महिनाभित्रै एकअर्काविरुद्ध सडकमा ओर्लिए। सावरमतीका सन्तको कमाल टिकेन। धर्मका नाममा लडिएको भारतीय उपमहाद्विपको गृहयुद्धले कम्तीमा दस लाखको ज्यान लियो। करोडौं विस्थापित भए। र, अन्त्यहीन युद्धको बीजारोपण भयो। महात्मा भाग्मानी थिए। उनी सहिद भए। उनलाई आफ्नो सपना त्रासदीमा रूपान्तरित भएको दुर्दिन धेरै देख्नु परेन।
कोही कसैको दुस्मन नरहेको तर सबै एकअर्कासँग लड्नुपर्ने गृहयुद्धका 'पीडक—पीडित’ अवस्थाको अन्त्यको सही तरिका अझै पनि भेट्टाउन सकिएको छैन। स्पष्ट हारजित भए विजेताको न्याय लागु हुन्छ। विसं २००७ सालपछि मुक्ति सेनाका लडाकुहरू स्वतन्त्रता सेनानी भए। झापा काण्ड ताका टाउको काट्दै हिँड्नेहरू अहिले नेता भएका छन्। नेपाली कांग्रेसका सशस्त्र विद्रोहीहरूमध्ये बहुसंख्याको 'अराष्ट्रिय तत्व’को बिल्लासँगै हत्या गरियो। यद्यपि, हवाईजहाज अपहरणकारी केही भने प्रजातन्त्रवादी नै रहिरहे।
मुक्ति सेनाको अभियान, झापा काण्डको ताण्डव तथा कांग्रेसको सशस्त्र संघर्ष व्यापक थिएन। मुक्ति सेनाका मोर्चाहरू मूलतः तराईमधेसमा थिए। झापाकाण्ड एउटा प्रवृत्तिको नाम भए पनि त्यो मूलतः एउटा जिल्लामा सीमित थियो। राष्ट्रव्यापी विस्तारको दाबी गरिए पनि कांग्रेसको सशस्त्र विद्रोह फैलन नपाउँदै समाप्त भयो। विभिन्न स्थानीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय कारणले गर्दा एक दशकभन्दा लामो चलेको माओवादी सशस्त्र संघर्षले भने हिंसालाई सामाजिक स्वीकृति, सांस्कृतिक प्रामाणिकता एवं राजनीतिक मान्यता प्रदान गरेको छ। यति धेरै व्यापक दण्डहीनता कसरी न्यूनीकरण गर्ने? उत्तर सहज छैन। दक्षिण अफ्रिकाको लामो गृहयुद्धका केही पाठ भने विचारणीय ठहरिन सक्छन्।


माफीको हलाहल
दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति एफ.डब्लु. डे क्लार्कले आँट नगरेका भए नेल्सन मन्डेला संसारका शोषित, पीडित एवं अपहेलित जति सबैका 'मदिबा’ हुन सायद पाउने थिएनन्। ढिलोछिटो रंगभेदी व्यवस्थाको अन्त्य त हुन्थ्यो नै तर अन्तर्राष्ट्रिय दबाब हुँदाहुँदै पनि दक्षिण अफ्रिकाले ठूलो मानवीय मूल्य तिर्नुपर्ने त्रासद अवस्था उत्पन्न हुनसक्थ्यो। डे क्लार्कको सुझबुझ र साहसको कदर गरेर नै उनलाई मन्डेलासँगै संयुक्तरूपमा नोबेल शान्ति पुरस्कार दिइएको हुनुपर्छ। आजभोलि मन्डेलाको नाममात्र पनि सत्य र अहिंसाको सन्देश बन्न पुगेको छ। डे क्लार्क भने आफ्ना अनुभव विभिन्न माध्यमबाट बाँड्दै हिँडेका छन्।
संघर्ष विरामपछिका संक्रमण न्यायका चुनौतीका बारेमा डे क्लार्कका अनुभूति सोच्न वाध्य पार्ने प्रकारका छन्। उनी भन्छन् — उनको आस्था नामिवियाका प्रयोग भएको 'नरगार्द सिद्धान्त ’प्रति थियो। त्यसअनुसार नियोजित नरसंहार, बलात्कार एवं व्यक्ति हत्याका मुद्दामा माफी दिनु जरुरी छैन। कम्तीमा दुई प्रकारका घटनामा भने डे क्लार्कले आफ्नो आस्थाको बलि चडाएर भए पनि दक्षिण अफ्रिकाको शान्ति प्रक्रियालाई जोगाए। एउटा माफीको घटना मन्डेलाको अडानले गर्दा सम्भव भयो। भट्टी पसलमा ढुक्कसँग रक्सी खाइरहेका नागरिकको नरसंहार गर्न बम हान्ने व्यक्तिलाई कानुनी प्रक्रियाबाट बाहिर राख्ने सहमति भयो। अर्को घटना पनि कम त्रू्कर छैन। सार्वजनिक बसभित्र छिरेर श्याम वर्णका व्यक्तिहरूलाई छानी छानी हत्या गर्ने व्यक्तिलाई आफ्नै पार्टीको दबाबमा माफी दिन डे क्लार्क वाध्य भए।
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्कका आकलनमा दण्डात्मक कारबाहीलाई संक्रमण न्यायको अभिन्न अंग बनाउने हो भने सुरक्षा बलहरूले कहिल्यै परिवर्तन हुन दिँदैनन्। जुनसुकै सशस्त्र द्वन्द्वमा पनि ज्यादती धेरैजसो सुरक्षा निकायबाट भएको हुन्छ। तिनलाई कानुनी दायरामा ल्याउने हो भने परिवर्तन पाच्य हुँदैन। जिम्वावेका जर्नेलहरू राष्ट्रपति मुगावेको पालकी बोक्न त्यसै तयार भएका हैनन्।
दण्डहीनता अन्त्यको मागलाई कसले इन्कार गर्न सक्छ र! अधिकारी दम्पतीको प्राण रक्षा भने प्राथमिक चिन्ताको विषय हुनुपर्छ। हत्या गरिएका युवाका मातापिताको अवसाद, आक्रोश एवं अडान स्वाभाविक हो। तिनको सम्बोधन चाहिँ सामान्य न्यायिक प्रक्रियाबाट गर्ने हो भने सशस्त्र द्वन्द्व समाप्त गर्न सुरु गरिएका सबै प्रकारका राजनीतिक अग्रसरताहरूको पुनरावलोकन गर्नुपर्ने हुन्छ। अधिकारी दम्पतीबारे एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको भाषा शिष्ट थिएन। बन्दुकेे संस्कारमा हुर्केकाहरूको बोली पनि गोलीजस्तै छुट्ने रहेछ। द्वन्द्वकालमा भएका हिंसाका घटनाको जिम्मेवारी वहन गरेर भने दाहालले परिपक्वता देखाएका छन्। अदालतमा उभिएर बीपी कोइरालाले राज्यका विरुद्ध हातहतियार उठाउनेहरूको जिम्मेवारी बोकेका थिए। अन्तरिम सरकारको प्रधानमन्त्रीका हैसिगतले कृष्णप्रसाद भट्टराईले जनआन्दोलनका दोषीलाई कारबाही गर्ने चर्चा चलाउँदा राजा वीरेन्द्रको प्रतिक्रिया झनै खरो थियो रे! वीरेन्द्रले 'राजाको नेतृत्व र निर्देशनमा पञ्चायत व्यवस्था चलेको थियो। आदेश पालन गर्नेहरूविरुद्ध के कारबाही गर्ने?’ त्यो प्रक्रिया अन्ततः सायद नियतिले नै पूरा गर्‍यो। दोस्रो जनआन्दोलन दबाउने दोषीहरू भने खुलमखुला 'राष्ट्रवादी’ राजनीति गर्दैछन् अहिले पनि।
'आममाफी’ भन्ने शब्दले नकारात्मक भाव उत्पन्न गराउँछ। हुन पनि माफी दिने अधिकार प्रत्यक्ष पीडित पक्षबाहेक अरूसँग हुँदैन। सामान्य अवस्थामा त्यो तर्क सही हो। गृहयुद्धबाट उम्कन प्रयत्न गरिरहेको समाजमा भने खाटा पर्न लागेका घाउ उप्काएमा संक्रमण फैलने डर हुन्छ। समाज जोगाउने जिम्मेवारीभन्दा प्रतिशोधको ज्वाला शान्त गर्ने आवश्यकता ठूलो हुनसत्तै्कन। त्यस अर्थमा जतिसुकै जायज भए पनि व्यक्तिगत माग पूरा गर्न 'सार्वजनिक हित’ परित्याग गर्ने अधिकार सरकार चलाइरहेको 'हाकिमशाही’सँग छैन।


न्यायको खोजी
भारतीय उपमहाद्विपमा बेलायती साम्राज्य विस्तारको प्रसंग कोट्याउँदै कार्ल मार्क्सले 'बुर्जुवा सभ्यता’का बारेमा सन् १८२५ को अन्त्यतिर भनेका रहेछन् — 'अन्ततः पाखण्ड एवं अन्तर्निहित बर्बरता बुर्जुवा सभ्यताका जन्मजात लक्षण हुन्। मार्क्सवादी विमर्शमा बुर्जुवा शब्दले आर्थिक वर्गलाई जनाउँछ। सामाजिक विश्लेषणमा भने त्यही शब्द आफूलाई जान्नेसुन्ने, चेतनशील, शिष्ट, उत्तरदायी एवं सभ्यता ठान्ने र आफूसँग विमति राख्नेलाई सबैलाई अविवेकी, गैरजिम्मेवार र उद्दण्ड मान्ने व्यक्तिलाई बुझाउन प्रयोग हुन्छ। माओवादी बुर्जुवा संवर्गको बर्बरता त अधिकारी दम्पतीले भोगेकै हुन्। अहिले ती वृद्ध दम्पती मूलधारे बुर्जुवा वर्गको पाखण्डको सिकार बन्ने जोखिम बढ्दै गइरहेको छ। मानव अधिकारको मूल सबाल तत्कालका लागि भोक हडतालमा रहेका दम्पतीको प्राणरक्षाको हो। द्वन्द्वकालका चिहान खोतल्ने प्रयत्नले मानव अधिकार संस्कृतिलाई स्थापित गर्छ वा प्रतिशोधको दावानल सल्काउँछ भन्ने विवादरहित एवं स्वसिद्ध तथ्य होइन। 
न्याय के हो? यो प्रश्न कम्तीमा सुकरातकै पालादेखि जनवृत्त ( पिपुल्स एरेना) बीच खुला छ। बिजेताको न्याय, परम्पराको न्याय, दैविक न्याय, राजाज्ञा न्याय, जनाज्ञा न्याय, विवेकको न्याय, बुजुर्गहरूको न्याय आदि विभिन्न चरणबाट गुजि्रँदै न्याय आजभोलि प्रक्रियामा आधारित फैसलामा सीमित हुन पुगेको छ। त्यही न्याय अधिकारी दम्पतीले खोजेका हुन् भने अरूले जस्तै तिनले पनि अनुसन्धान, आरोप, बचाउ र फैसलाको प्रक्रियामा विश्वास गर्नुपर्ने हुन्छ। राजनीतिक निपटारा सत्यनिरुपण तथा फरफारख जस्तो आयोगले गर्नसक्छ। सुन्दा असहज लाग्नसकछ तर भित्री मनमा सायद द्वन्द्व प्रभावित सबै सरोकारवालालाई लागिसकेको हुनुपर्छ — संघर्ष कालका मुद्दामा सारभूत न्याय सम्भव छैन। नेपालको सेतो समूहले जतिसुकै नरुचाए पनि तथ्य के हो भने राता मान्छेहरूले गृहयुद्धलाई सम्झौतामा टुंग्याएका हुन्। आत्मसमर्पण गरेका हैनन्। शंका छ भने मैनबत्ती जुलुस वीर अस्पतालको साटो मोहन वैद्यको मुख्यालयअगाडि गरेर हेरे हुन्छ।
सबैले हार्ने गृहयुद्धको मूल्यांकन त्रासदीको हिस्सेदार पुस्ताले गर्न सत्तै्कन। प्रभावको दृष्टिकोणबाट हेर्ने हो भने गणतन्त्र एवं धर्म निरपेक्षताजस्ता उपलब्धि हिंसात्मक संघर्षका सहउत्पादन हुन्। समावेशिता एवं संघीयतालाई कार्यसूचीका रूपमा स्थापित गर्ने मधेस विद्रोह पनि हिंसात्मक आक्रोश एवं प्रतिशोधबाट मुक्त रहन सकेन। देश बदलिने क्रममा छ। मूल कानुन नै बन्न नसकेका अवस्थामा प्रक्रियागत न्याय अपुरो वा सुस्त भयो भनेर रोईकराई गर्नुको अर्थ पनि छैन। अधिकारी दम्पतीको प्राण जोगाउन सकियो भने ती बहादुर योद्धाका पीडा सम्बन्धमा थप बहस गर्ने ठाउँ रहनेछ। वैरी साध्ने बिसातमा पाका अधिकारी दम्पतीलाई सतरंजको गोटी बन्न नदिनु नै उपयुक्त हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस