पुस्तक लेख्दाको अनुभव
३० साउन २०७०
•
१७ मिनेट पाठ
पुस्तक लेख्दाको अनुभव
सन् १९६६ मा म त्रिभुवन विश्वविद्यालयको सेवामा उपप्रध्यापक पदमा प्रवेश गरेको थिएँ। म कीर्तिपुरस्थित वनस्पति विभागको स्नातकोत्तर तहका विद्यार्थीलार्ई वनस्पति क्रिया विज्ञान (प्लान्ट फिजिओलोजी) विषय पढाउने गर्थेँ। त्यतिबेला नेपाली विद्यार्थीलार्ई उपयोगी हुने वनस्पति क्रिया विज्ञानसम्बन्धी प्रयोगात्मक पुस्तक उपलब्ध थिएनन्।त्यस विषयसम्बन्धी विदेशीले लेखेका धेरै पुस्तक उपलब्ध भए पनि त्यसमा वर्णन गरिएका प्रयोगहरू गराउन आवश्यक पर्ने उपकरण र पूर्वाधार वनस्पति विभागमा थिएनन्। त्यसैले नेपाली विद्यार्थीका लागि वनस्पति क्रिया विज्ञानको प्रयोगात्मक अध्ययनका लागि सरल र उपयुक्त हुने एउटा छुट्टै पुस्तकको आवश्यकता महशुस गरेको थिएँ। 
सन् १९६९ मा वनस्पति क्रिया विज्ञान विषयमा विद्यावारिधि गर्न जर्मनी गएँ। अन्य विश्वविद्यालयका प्राध्यापकले लेखेका पुस्तक उपलब्ध भए पनि जर्मनीका विश्वविद्यालयमा आआफ्ना प्रयोगशालालार्ई उपयुक्त हुने प्रयोगहरूको वर्णन गरेर छुट्टै प्रकारका म्यानुअल (निर्देशिका) तयार गरिएका हुन्थे। आफूले पनि त्रिविको वनस्पति विभागको प्रयोगशालाका लागि उपयोगी हुने सरल प्रकारका प्रयोगहरू वर्णन गरी एउटा नयाँ म्यानुअल तयार पार्ने योजना बनाएँ। त्यस्तो म्यानुअल तयार पार्न सहयोग हुने ठानेर मैले जर्मनीका विभिन्न विश्वविद्यालयबाट वनस्पति क्रिया विज्ञानसम्बन्धी म्यानुअलहरू संकलन गर्न थालेँ। 
सन् १९७५ मा नेपाल फर्किएपछि मैले पुनः त्रिविमा वनस्पति क्रिया विज्ञानका कक्षा लिन थालेँ। विभागको प्रयोगशालामा सञ्चालन गर्न सकिने प्रयोगहरू समावेश गरी वनस्पति क्रिया विज्ञानको प्रयोगसम्बन्धी मान्युअल तयार गर्नेतर्फ लागेँ। त्यतिबेला प्रथम वर्षमा वनस्पति क्रिया विज्ञानका आधारभूत विषय र दोस्रो वर्षमा विशिष्ट अध्ययन गर्नुपर्थ्यो। वनस्पति क्रिया विज्ञानको प्रयोगसम्बन्धी विदेशीले लेखेका पुस्तक र जर्मनीका विभिन्न विश्वविद्यालयबाट प्राप्त गरेका मान्युअलहरूको अध्ययनगरी र विभागमा उपलब्ध उपकरण र पूर्वाधारलाई ध्यानमा राखी स्नातकोत्तर तहको प्रथम र दोस्रो वर्षका लागि उपयोगी हुने गरी ६५ ओटा प्रयोगहरू समावेश गरेर म्यानुयल तयार पारेँ। त्यतिबेला फोटोकपी गर्ने चलन थिएन। साइक्लोस्टाइल गरेर केही प्रति निकालेँ र विद्यार्थीहरूलाई वितरण गरेँ। कुनै दिन केही थप प्रयोगहरू समावेश गरी ती मान्युअलबाट विकासोन्मुख देशका वनस्पति विज्ञानका विद्यार्थीलाई उपयोगी हुने एउटा वनस्पति क्रिया विज्ञानको प्रयोगात्मक पुस्तक प्रकाशन गर्ने योजना बनाएको थिएँ। 
गोरखपुर विश्वविद्यालयमा एमएस्सी अध्ययन गर्दा मलार्ई वनस्पति क्रिया विज्ञान पढाउने प्रोफेसर एस एन माथुर त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा कोलम्बो प्लानअन्तरगत आगन्तुक प्रोफेसरका रूपमा आएका थिए। आफ्नै गुरुसँग फेरि काम गर्ने अवसर प्राप्त भएकोमा म खुसी थिएँ। हामी दुवैजना मिलेर वनस्पति क्रिया विज्ञानका कक्षाहरू लिन्थ्यौँ। मैले तयार गरेका वनस्पति क्रिया विज्ञानका प्रयोगसम्बन्धी म्यानुअल पढेर प्रोफेसर माथुर प्रभावित भएका थिए। प्रोफेसर माथुरले गोरखपुर फर्किने बेलामा भनेका थिए – 'दयानन्द! यी म्यानुअलहरू निकै उपयोगी छन्। म यसलाई मेरोे विश्वविद्यालयमा पनि प्रयोग गर्न चाहन्छु। मान्युअलका केही प्रति म लिएर जान चाहन्छु'। आफ्नो गुरुबाट यस्तो टिपण्णी सुन्दा खुसी लागेको थियो। मैले म्यानुअलका केही प्रति उहाँको हातमा दिएर पठाएँ। 

म्यानुअल तयार भएपछि विभागका विद्यार्थीलाई वनस्पति क्रिया विज्ञानसम्बन्धी प्रयोगहरू गराउन सजिलो भएको थियो। तर मेरो योजनाअनुसार ती म्यानुअललार्ई परिमार्जन गरी पुस्तकका रूपमा निकाल्ने संयोग भने जुट्न सकेको थिएन। यसैबीच एक दिन मेरा एक जना विद्यार्थी वनस्पति क्रिया विज्ञानको प्रयोगको सिलसिलामा एउटा पुस्तक लिएर मकहाँ आऐ। मलार्ई पहिले त्यस पुस्तकका बारेमा थाहा थिएन। पल्टाएर पढ्दै जाँदा त्यो पुस्तक मलार्ई कताकता पूर्वपरिचितजस्तो लाग्न थाल्यो। धेरै ठाउँमा पुस्तकको भाषा, वाक्य गठन र प्रस्तुति मेरो आफ्नैजस्तो लाग्यो। मलार्ई शंका लागेर आफूले तयार पारेको म्यानुअलसँग उक्त पुस्तक दाँजेर हेरेँ। त्यस पुस्तकमा उल्लेख भएका प्रयोगहरूमध्ये मैले तयार गरेको वनस्पति क्रिया विज्ञानका म्यानुअलका प्रायः सबै प्रयोगहरू जस्ताको तस्तै सारेर त्यस पुस्तकको लेखकले आफ्नो नाममा छापेको रहेछ। म स्तब्ध भएँ। मैले आफ्ना विभागका प्राध्यापकहरूलार्ई त्यो पुस्तक र मैले तयार पारेको मान्युअलहरू देखाएँ। मेरा मान्युअलमा भएका प्रयोगहरू अरू कसैले लेखेको पुस्तकमा छापेको देख्दा विभागका मेरा सहकर्मीहरू पनि तीन छक् परे। त्यो पुस्तक इलाहावाद विश्वविद्यालयका वनस्पति विभागका डा. अमर सिंहको नाममा छापिएको रहेछ। उनी त्यतिबेला त्यस विश्वविद्यालयमा वनस्पति क्रिया विज्ञानका सहप्राध्यापक रहेछन्। 
मैले तयार पारेका म्यानुअलहरू अमर सिंहको हातमा कसरी पुगे, मलाई अचम्म लागेको थियो। पछि यसबारे डा. माथुरसंग बुझ्दा थाहा पाएँ, डा. अमर सिंह कुनै बेला गोरखपुर विश्वविद्यालयमा वनस्पति क्रिया विज्ञान विषयको प्रयोगात्मक परीक्षाको बाह्य परीक्षक भएर आएका रहेछन्। त्यतिबेला डा. अमर सिंहले आफ्नो विभागका विद्यार्थीलाई पनि उपयागी हुने ठानेर डा. माथुरले नेपालबाट लगेका म्यानुअलका केही प्रति आफूसँगै लिएर इलाहावाद गएका रहेछन्। त्यसपछि उनले उक्त म्यानुअलमा वर्णन गरिएका प्रयोगहरू आफ्नो पुस्तकमा समावेश गरेर छपाएछन्। यसले मलार्ई दुःख र खुसी दुवै लाग्यो। दुःख, मैले आफूले गरेको मेहनतको श्रेय अर्कोले लिएको थियो। खुसी, मैले आफूले तयार गरेको कृति अर्काले मन पराएर अरूकै नाममा भए पनि प्रकाशित त भयो! 
मेरो विभागका प्राध्यापक र विद्यार्थीले इलाहावाद विश्वविद्यालयका उपकुलपतिलार्ई चिठी लेखेर डा. अमर सिंहको भन्डाफोर गर्न र डा. सिंहलार्ई कारबाही गर्न लगाउनुपर्छ भन्न थाले। मेरा सहकर्मी र विद्यार्थीहरूको यो आक्रोश स्वाभाविक पनि थियो। पहिलो, त म्यानुअल साइक्लोस्टाइलमा छापिएको थियो। त्यसलार्ई मैले मेरो भनेर दावी गर्ने कानुनी आधार बलियो थिएन। दोस्रो, मेरो एउटा चिठीले डा.अमर सिंहको करिअर बिग्रन 
सक्थ्यो। उनी सहकर्मीहरूबाट अपमानित हुन्थे। मेरा कारणले एउटा प्राज्ञिक मान्छेको अवनति हुन सक्थ्यो। त्यसैले मलार्ई इलाहावाद विश्वविद्यालयका पदाधिकारीलाई यसबारे उजुरी गर्न ठीक लागेन। यस घटनालार्ई मैले अर्कै प्रकारले व्याख्या गरेर आफ्नो चित्त बुझाएँ। त्यो म्यानुअल मैले वास्तवमा विद्यार्थीहरूको सुविधालार्ई नै ध्यानमा राखेर तयार गरेको थिएँ। मेरा सामग्री पुस्तकका रूपमा आयो। मैले जुन वर्गका लागि त्यो म्यानुअल तयार गरेको थिएँ, त्यो अर्काका नामबाट नै सही, त्यो वर्गको हातमा त पुग्यो। मलार्ई त्यसभन्दा बाहेक अरू के नै चाहियो र? साथै मैले निश्चय गरेँ — मैले लेख्न चाहेको तर लेख्न नभ्याएको पुस्तक अब लेख्न ढिलो गर्न हुन्न। 
अब भने म गम्भीर भएर पुस्तक लेख्ने काममा लागेँ। यसबीचमा वनस्पति क्रिया विज्ञानमा थुप्रै नयाँ आविष्कार र प्रयोग थपिइसकेका थिए। ती सबै प्रयोगलार्ई समावेश गरेर पुस्तकलार्ई अद्यावधिक बनाउनु थियो। पुस्तकलार्ई अद्यावधिक बनाउन चाहिने सन्दर्भसामग्री नेपालमा उपलब्ध थिएनन्। म केही महिनाको लागि जर्मनीको हुम्बोल्ट फेलोसिपमा फेरि फ्राइबुर्ग विश्वविद्यालय गएँ। त्यहाँ उपलब्ध पुस्तकालयका नयाँ पुस्तक, जर्नल, मान्युअल र पेपरहरूका आधारमा पान्डुलिपि अद्यावधिक बनाएँ र नेपाल फर्किएँ। 
यसरी पुस्तक तयार हुन लगभग दुई दशक लागेको थियो। जे भए पनि अन्त्यमा त्यसको प्रारूप तयार भएको थियो। एक सय ८६ पृष्ठको उक्त पुस्तकमा नेपालजस्तो कम सुविधा उपलब्ध देशका विश्वविद्यालयमा गराउन सकिने वनस्पति क्रिया विज्ञानसम्बन्धी ९६ प्रयोगहरू समावेश गरिएको थियो। फ्राइबुर्गबाट काठमाडौँ प्रस्थान गर्नुअघि मैले पुस्तकको पाण्डुलिपि मेरा गुरु प्रोफेसर सोप्फरलार्ई देखाएको थिएँ। उक्त पुस्तक कम विकसित मुलुकका अन्य विश्वविद्यालयमा वनस्पति क्रिया विज्ञानको प्रयोगात्मक कक्षा सञ्चलानका लागि उपयोगी हुने उनको पनि राय थियो। उनले मेरो आग्रहमा पुस्तकको भूमिकासमेत लेखेका थिए।
पाण्डुलिपि तयार भयो तर प्रकाशनको समस्या थियो। विशेषतः त्रिविका विद्यार्थीकै लागि भनेर तयार पारिएको पुस्तक भएकाले सुरुमा नेपालमै प्रकाशन गर्ने सोच राखेको थिएँ। तर त्यसो गर्दा नेपालका केही सीमित विद्यार्थीले मात्र उपयोग गर्ने र प्रत्येक वर्ष केही प्रतिमात्र विक्री हुने थियो। तर, पुस्तक विक्री वितरणको राम्रो अन्तर्राष्ट्रिय सञ्जाल भएका कुनै विदेशी प्रकाशकमार्फत प्रकाशन गर्न सके नेपालमात्र नभई आधुनिक उपकरणको अभाव भएका नेपालजस्ता अन्य विकासोन्मुख देशका विश्वविद्यालयका वनस्पति विज्ञानका प्राध्यापक र विद्यार्थीलाई समेत उक्त पुस्तक उपयोगी हुने थियो र पुस्तकको धेरै प्रति विक्री हुने थियो भन्ने मेरो सोच थियो। त्यसैले कुनै विदेशी प्रकाशकको खोजमा थिएँ। 
भारतको नयाँ दिल्लीस्थित नरोशा पब्लिसिङ्ग हाउसबाट प्रकाशित दुईचारओटा पुस्तक मसँग थिए। नरोशा पब्लिसिङ्ग हाउस भारतको एउटा राम्रो प्रकाशन संस्था रहेछ र दक्षिण एसिया, अफ्रिका र दक्षिण अमेरिकामासमेत यसको विक्रीवितरणको राम्रो सञ्जाल रहेछ। मैले नरोशासँग पत्राचार गरेँ। प्रकाशकले पुस्तकको केही अंश समीक्षाका लागि पठाउन आग्रह गरे। मैलै पठाएको पुस्तक अंशको समीक्षा दिल्ली विश्वविद्यालयका कोही सम्बन्धित प्राध्यापकले गरेको रहेछ र समीक्षकको प्रतिक्रिया सकरात्मक भएपछि मेरो पुस्तक छाप्न नरोशा पब्लिसिङ्ग हाउस सहमत भयो। यसरी सन् १९९९ मा 'एक्स्पेरिमेन्ट इन प्लान्ट फिजिओलोजी' शीर्षकको मेरो पुस्तक नरोशा पब्लिसिङ्ग हाउसबाट प्रकाशित भयो। 
सन् २००६ मा व्याख्यान दिन म दिल्ली विश्वविद्यालयको 'प्लान्ट मलेक्युलर बायोलजी' विभाग पुगेको थिएँ। मैले लेखेको 'एक्स्पेरिमेन्ट इन प्लान्ट फिजिओलोजी'को एक प्रति विभागीय प्रमुख प्रोफेसर अखिलेश्वर त्यागीको टेबलमा देखेँ। त्यागीले उक्त पुस्तक आफू र आफ्ना सहकर्मीले वनस्पति क्रिया विज्ञानको प्रयोगात्मक कक्षा सञ्चालनका लागि प्रयोग गर्ने गरेको मलाई बताए। भारत, जर्मनी, फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, दक्षिण अफ्रिका, ग्रीस, थाइलान्डलगायतका विकसित एवं विकासशील देशका कतिपय विश्वविद्यालयका पुस्तकालयमा 'एक्स्पेरिमेन्ट इन प्लान्ट फिजिओलोजी' उपलब्ध भएको इन्टरनेटमार्फट थाहा पाउँदा आफ्नो प्रयास सार्थक भएको महसुस भयो। भारतमा भारु १ सय ९५ मूल्य रहेको उक्त पुस्तक अमेजन डटकममार्फत हाल २७ युरो (करिब ३ हजार ४ सय नेपाली रुपैँया)मा अनलाइनमार्फत विक्री भइरहेकोछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस