अल्पसंख्यक हुनुको सजाय
२९ साउन २०७०
•
१९ मिनेट पाठ
अल्पसंख्यक हुनुको सजाय
'दि रेचिड अफ दि अर्थ' (पृथ्वीका अभागी) पुस्तकमा मनोसामाजिक विश्लेषक फ्रान्ज फेननले अफ्रिकाका मूलबासीहरूमा रहेको समस्तरीय हिंसाको भयावह चित्र कोरेका छन्। फेननका अनुसार कुनै मूलनिवासीले अर्को मूलनिवासीका आँखामा अलिकति मात्रै शत्रुता वा आक्रामकता देख्नासाथ चक्कु निकालिहाल्छ। किनभने, उपनिवेशीकृत मानिसको मनमस्तिष्कमा आफन्तजनविरुद्ध नै आक्रामकता छेलोखेलो हुनेगरी भरिएको हुन्छ। त्यही आक्रामकता हिंसात्मक स्वरूपमा प्रकट हुने काम अफ्रिकी देशमा मात्रै होइन, एसियाली मुलुक नेपालमा पनि पटकपटक देखिएको छ। चाहे रत्नपार्कमा पकेटमारीको निहुँमा मान्छे मारिएको प्रकरणमा होस् या ससाना घटनामा पनि मारपिट र हत्यासम्मका प्रसंगमा होस्।




सिराहामा समस्तरीय हिंसा 
नेपाली समाजमा व्याप्त रहेको संरचनागत हिंसा वा छद्म हिंसा पनि समस्तरीय हिंसाका रूपमा कसरी लावाजस्तै फुट्दो रहेछ भन्ने तथ्य एकपछि अर्को घटनामा नराम्ररी देखिँदै आएको छ। महोत्तरीमा दलित बस्तीमा भएको हिंसात्मक आक्रमणले जन्माएको त्रासको राप सेलाउन नपाई मोरङमा बेलबारी काण्ड भयो, दलितहरूमाथि जातीय उत्पीडनका रूपमा। त्यसलगत्तै, मन्दिरमा जल चढाउन गएका तीन हिन्दू महिलामाथि अभद्र व्यवहार भएको विषयमा त्यस्तै हिंसाको विस्फोट भयो, सिराहाको सारस्वर गाउँमा। मुसलमान बस्तीमा व्यापक कुटपिट, तोडफोड, लुटपाट, आगजनीपछि अधिकांश पुरुष, महिला, युवायुवती र बालबालिका घरबार छाडेर भागे। साउन २५ गते 'इदउल फित्र' पर्व मनाइरहेका मुसलमानहरू गाउँबाटै विस्थापित हुन बाध्य भए।
समस्तरीय हिंसाका लागि ठूलठूला कारणको जरुरत नहुने रहेछ, ससाना कारणमा पनि हिंसाको आगो लाग्ने रहेछ। सारस्वर गाउँमा महिलामाथि अभद्र व्यवहार गरेको निहुँमा मुसलमानहरूको सिंगो बस्तीलाई हिंसात्मक आचरणद्वारा सजाय दिइएको देखिन्छ। शिक्षाविद् तथा चिन्तक पाउलो फ्रेरेका अनुसार यथार्थमा डुबेका उत्पीडितहरू पनि व्यवस्थाद्वारा लगाइएको प्रतिबन्धमा घोटिँदैघोटिँदै निकै तात्तिने हुनाले उनीहरूको मनमा एक खालको समस्तरीय हिंसाको आगो निस्कन्छ। त्यस्तो आगो तुच्छतम कारण मात्रै फेला पर्योए भने पनि आफ्नै साथी, आफन्त र छिमेकीमाथि प्रहारको रूपमा झिलिक्कै बल्छ। आफ्नोजस्तै हैसियत भएका मानिसहरूविरुद्ध सहजै बल्ने समस्तरीय हिंसाको आगोले जात/जाति, भाषा, धर्म, संस्कृति र समुदायको पेट्रोल पनि भेट्टायो भने त हुरुक्क नबल्ने कुरै भएन। महोत्तरी र मोरङपछि सिराहामा बलेको अल्पसंख्यक समुदायविरोधी समस्तरीय हिंसाको आगोले धर्म र जातिको ज्वलनशील तत्व पनि फेला पारेको छ। 'मुसलमान समुदायका केही व्यक्तिले हिन्दू धर्मावलम्बी महिलालाई अभद्र व्यवहार गरेको' भन्दै सिंगो मुसलमान बस्तीलाई नै दण्डित गर्ने सामूहिक दुष्कर्ममा राज्य मूकदर्शकमात्रै भयो, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको राग जप्दै। राज्यको सुरक्षा निकाय प्रहरी प्रशासनसामु नै कानुन हातमा लिने साम्प्रदायिक तत्वले नेपाली राज्यलाई साँचो अर्थमा धर्मनिरपेक्ष, लोकतान्त्रिक र अल्पसंख्यक पक्षधर भइनसकेको सत्य बोध गराउन खोजेको छ, घरघरमा समस्तरीय हिंसाको आगो लगाउँदै। 
वास्तवमा कुनै पनि धर्म वा जातिका महिला वा पुरुषमाथिका अभद्र व्यवहार वा भद्र विभेद पनि स्वीकार्य हुन सक्दैनन्। कुनै व्यक्तिविशेषले गरेको उच्छृंखलतालाई सजाय दिने नाममा आफैँ 'प्रहरी हुने क्रम' भने अपराध नै हो। कुनै समूहविशेषले गरेको अपराधको प्रतिकार गर्ने निहुँमा बस्ती र समुदाय सिंगैलाई आफैँले सजाय दिने 'न्यायाधीशको काम' पनि अस्वीकार्य छ। सिराहामा धार्मिक र साम्प्रदायिक सद्भाव बिथोलिँदा पनि स्पन्दनहीन रहेका राजनीतिक दललाई भने सामाजिक सद्भाव र्यापलीसम्म मात्रै स्वीकार्य रहेछ। साम्प्रदायिक तत्वलाई तह लगाउन कार्यकर्ता र जनता परिचालन गर्ने हैसियत गुम्ने सर्तमा पनि उनीहरू वक्तव्यबाजीमै अल्भि्करहे। र, समयमै चेतावनी दिँदादिँदै पनि प्रहरी प्रशासनले आफ्नो कर्तव्य पूरा नगरेको गुनासो गर्नमै अलमलिए। अब पीडित अल्पसंख्यक समुदायका लागि सुरक्षा, क्षतिपूर्ति र न्यायसँगै आपराधिक तत्वहरूमाथि कानुनी कारबाहीका लागि पहल नगरी सामाजिक सद्भावको राग मात्रै जप्दै बसियो भने त्यहीँ वा अन्यत्र पनि समस्तरीय हिंसाको आगो लाग्न सक्छ। 
सारस्वरमा लागेको समस्तरीय हिंसाको आगो कानुन व्यवस्थाको मात्रै संवेदनशील समस्या नभएकाले आगो निभाउने काम पनि प्रशासनिक उपायबाट मात्र सम्भव हुँदैन तैपनि प्रशासनिक उपायमा समेत भेदभाव र ढिलाइ गर्नुचाहिँ अनुचितै हुन्छ। विडम्बना, समस्या समाधानका राजनीतिक, आर्थिक र सांस्कृतिक उपायको खोजी एवं क्रियान्वयनबारे समाज, राजनीति र प्रशासनको नेतृत्वमा कुनै गम्भीरता देखिएन। सबैजसो पक्ष धार्मिक सहिष्णुता र सामाजिक सद्भावको र्यााली, कागजी मिलापत्र र कर्फ्यु आदेशलाई नै यसको रामवाण ठान्ने मनस्थितिमा सीमित छन्। 

संरचनागत हिंसाका आयाम 
नेपाली समाजमा व्यापकरूपमा फैलिएर रहेको संरचनागत हिंसा अल्पसंख्यक समुदायमाथि जारी रहेका अनेक खालका उत्पीडन वा छद्म हिंसाको एउटा पक्ष हो। बहुसंख्यकको विशेषाधिकारको रूपमा रहेको हिन्दू अधिराज्यलाई धर्मनिरपेक्ष गणराज्य बनाइए पनि अल्पसंख्यकहरूमाथि धार्मिक मात्रै होइन, अनेक खाले उत्पीडन जारी छ। नेपाली समाज र राज्यको लोकतान्त्रिक पुनर्गठन गर्नमा ढिलाइसँगै बाहुल्यको अहंकार प्रदर्शन गर्ने मुर्ख्याइँ गरिराखियो भने यस्तो उत्पीडनजन्य न्यायपूर्ण प्रतिरोध तथा त्यसको अन्यायपूर्ण प्रतिकारले कस्तो द्वन्द्व निम्त्याउने हो, अनुमानै गर्नै कठिन छ। 
अहिले नै पनि बहुसंख्यकको विशेषाधिकार गुमेको तीतो अनुभूति बोकेका मानिसहरूमा अल्पसंख्यकले उत्पीडनविरुद्ध राम्ररी टाउको नउठाउँदा समेत आरक्षण, समावेशीकरण र संघीयताको नाममा 'देश खान लागेको' भान परेको छ। यस्तै मिथ्या अनुभूति संरचनागत हिंसालाई सघनता र व्यापकता दिने खालको समस्तरीय हिंसाका रूपमा कहिले महोत्तरी र मोरङमा त कहिले सिराहामा कुनै न कुनै रूपमा अभिव्यक्त हुँदै आएको छ। 
अल्पसंख्यकहरूले देश खान लागेको हो कि होइन भन्ने सत्यबोध गर्न दश लाखभन्दा बेसी संख्यामा रहेका नेपाली मुसलमानमाथि जारी संरचनागत हिंसाका तथ्यांक मात्रै हेरे पुग्छ। युएनडीपीको सन् २००९ को रिपोर्टअनुसार मधेशमा बस्ने ९७ प्रतिशत र बाँकी थोरै संख्यामा पहाडमा बस्ने मुसलमानहरूको मानव विकास सूचकांक, आर्थिक विकास र राजनीतिक प्रतिनिधित्व लगभग दलित समुदायकै हाराहारीमा छ। नेपालमा राष्ट्रियरूपमा ३१ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको बेला पनि मुसलमान समुदायका भने ४१ प्रतिशत गरिबीको रेखामुनि थिए। गरिबी मापनसम्बन्धी राष्ट्रिय रेखाभन्दा १० प्रतिशत माथि रहेका मुसलमानहरूको गरिबी घटने क्रम भने जम्मा २ प्रतिशत मात्रै रहेको थियो। सन् १९९५ देखि सन् २००५ बीच राष्ट्रिय स्तरमा ११ प्रतिशतको दरले घटेको थियो। नेपालमा प्रौढ साक्षरता दर ५२.४ प्रतिशत हुँदा पनि उनीहरूको ३०.३ प्रतिशत मात्रै छ। उनीहरूको उच्च गरिबी दरले साक्षरतामात्रै होइन, राजनीतिक प्रतिनिधित्वको मात्रा कम गर्न पनि मलजल गरेको छ। त्यसको प्रतिविम्ब राष्ट्रिय राजनीति, राज्यको विधायिका र प्रशासनमा उनीहरूको अत्यन्त कम प्रतिनिधित्व, पहुँच र प्रभाव रहेको ऐनामा देख्न पाइन्छ। उनीहरू हरेक आन्दोलनमा सक्रिय रहे पनि नीति निर्माण गर्ने विधायिकामा तिनको प्रतिनिधित्व सन् १९५९ मा २ प्रतिशत, सन् १९७८ मा १ प्रतिशत, सन् १९८१ मा २ प्रतिशत थियो भने सन् १९९० को २ प्रतिशत र सन् २००८ मा पनि ३ प्रतिशत मात्रै थियो। कुल जनसंख्याको ४.२७ प्रतिशत आबादी रहेको मुसलमान समुदायको जनसांख्यिक शक्तिअनुसारको प्रतिनिधित्व भएको छैन, नीति–निर्माणमा उनीहरूको प्रभाव त अझै टाढाको विषय भएको छ। 

अझै आप्रवासी र अपवित्र?
नेपालका अल्पसंख्यकका रूपमा रहेका मुसलमानहरूका गरिबी, अशिक्षा र अप्रतिनिधित्वलाई अन्य संरचनागत हिंसाले टेवा दिइरहेका छन्। मानवशास्त्री डोरबहादुर बिष्टका अनुसार पन्धौँ र सोह्रौं शताब्दीमै कश्स्मिर र तिब्बतबाट आएर उनीहरूले नेपालको विकास निर्माण र परिवर्तनमा सघाउँदै आएका छन्। पृथ्वीनारायण शाहको अगुवाइमा भएको क्षेत्रीय विस्तारदेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनसम्ममा बलिदान दिए पनि उनीहरूलाई म्लेच्छका रूपमा 'अपवित्र' बनाउने राज्य तथा 'आप्रवासी' नै ठान्ने पहाडी सवर्ण–सम्भ्रान्त शासक वर्गका नीति र नियत फेरिएका छैनन्। 
राजनीतिशास्त्री डा. कृष्ण हाछेथुका अनुसार मुसलमानहरू धर्म, भाषा, समुदायका आधारमा मात्रै होइन, क्षेत्रका आधारमा पनि उत्पीडनमा परेका छन्। इस्लाम धर्मको उपासना गर्ने तथा उर्दूलाई आफ्नो मातृभाषा मान्ने मुसलमानहरू मूलतः मधेसबासी भएकै कारण क्षेत्रीय उत्पीडनमा पनि परेका छन्। कतिसम्म भने मधेसमा थारू समुदायपछिको ठूलो अल्पसंख्यक भए पनि मधेसकै सम्भ्रान्त हिन्दु नेतृत्वले पनि उनीहरूका समस्या र आकांक्षालाई सम्बोधन गर्ने चेष्टा गरेका छैनन्। फलतः आफूलाई राष्ट्रिय पार्टी भन्नेमात्रै होइनन्, मधेसवादी क्षेत्रीय दल भन्नेमा पनि मुसलमानहको प्रतिनिधित्व र पहुँच नगण्य छ। मुसलमान विद्वान् अबुल्लैशले भनेझैँ उनीहरू अझै पनि राजनीतिक, सामुदायिक र धार्मिकरूपमा क्रियाशील हुन डराएका छन्। उनीहरूको डरको नेपथ्यमा गरिब, अशिक्षित र अल्पसंख्यक हुनुको पीडा त छँदैछ, राजनीतिशास्त्री डा. महेन्द्र लावतीले भनेझैँ उनीहरूमा बहुसंख्यक हिन्दू समुदायबाट कुनै पनि निहुँमा आक्रमण हुने र राज्य मूकदर्शक भइरहने मानसिक आतंक पनि छ। 
नेपाली राज्यले मुसलमान समुदायलाई पनि आफ्नो संरचनामा पुनर्गठनसँगै बहुधार्मिक र बहुभाषिक राष्ट्र निर्माणको अभियानमा जोड्नुको साटो यस्ता असमस्तरीय संरचनागत हिंसामार्फत अलगाव (एलिनेसन)को सिकार बनाइराखेको छ, जुन कुनै पनि अर्थमा मानवीय, लोकतान्त्रिक र धर्मनिरपेक्ष हुन सक्दैन। 

साम्प्रदायिक दङ्गा रोक्ने तन्त्र र संस्कृति
सिराहा प्रकरणले देखाएको छ, चाहे पहाडका हुन् या मधेसका, बहुसंख्यक धार्मिक र जातीय समुदायलाई पनि लोकतन्त्रीकरण गर्दै, उनीहरूमा सहिष्णुता, सद्भाव, सहअस्तित्व र ऐक्यबद्धताको भाव सञ्चार गर्ने प्रयास गरिएन भने धार्मिक, जातीय र साम्प्रदायिक दङ्गा हुन बेर लाग्नेछैन। लामो समयसम्म हिन्दू पहाडी समुदायका सम्भ्रान्तहरूको वर्चस्व रहेको नेपाली राज्य र उसका निकाय कुनै न कुनै रूपमा एकल जाति, क्षेत्र, धर्म, समुदाय र संस्कृतिको पक्षधर भइरहेमा साम्प्रदायिक दङ्गाको इतिहास दोहोरिन सक्छ। समाजशास्त्री सुधीन्द्र शर्माका अनुसार विगतमा मूलतः पूर्वी र मध्य तराईमा सन् १९५४ देखि सन् १९७७ बीच साम्प्रदायिक दङ्गाहरूको भएको तथ्यांक पाइएको छ। तर, सन् १९९४ देखि सन् २००७ बीच यस्ता दङ्गाको केन्द्र पूर्वी र मध्य तराईबाट पश्चिम तराई, विशेषतः नेपालगञ्जतिर सरेको स्थितिमा समस्तरीय हिंसाका थप भयानक रूप प्रकट भएको देखिन्छ। कहिले हिन्दू र मुसलमानबीच त कहिले मधेसी–मुसलमान र पहाडी हिन्दूहरूबीच तथा कहिले पहाडी र मधेसीबीच भएका दङ्गामा समस्तरीय हिंसाका सबै अवयव पाइन्छन्। 
पाकिस्तानी विद्वान् इकबाल अहमदका अनुसार कुनै पनि पहिचान बोक्ने समुदायलाई आतंकित पार्ने काम भएमा वा उनीहरूले आफ्नो सामुदायिक अस्तित्व संकटमा परेको अनुभूति गरेमा हिंसात्मके साम्प्रदायिक दंगा हुने गर्छ। त्यसको भित्री तहमा आफ्नो समुदायका हित र स्वार्थलाई नै सर्वोच्च मान्ने तथा अन्य समुदायका व्यक्तिलाई मान्छे नै नगन्ने संकीर्णता भएको कट्टरपन्थ (फन्डामेन्टलिज्म) हुने गर्दछ। राजनीतिशास्त्रका अध्येता मोलिका दोस्तीदारका अनुसार पश्चिमी नेपालका हिन्दू र मुसलमान समुदायमा केही कट्टरपन्थी तत्वहरूको घुसपैठ बढेको छ, जसको जगमा कुनै पनि समुदायमा फैलिने साम्प्रदायिक संकीर्णता र वैचारिक अन्धताले भरिएको दार्शनिक–वैचारिक प्रवृत्ति रहेको छ। अब पनि जिज्ञासा, सन्देह, प्रश्न र विमर्शको बाटोमार्फत विकास हुने आलोचनात्मक चेतना र विवेक जगाउने खालको लोकतान्त्रिक संस्कृति सिर्जना गर्न सकिएन भने नेपाली समाजमा यस्तो प्रवृत्ति झ्याँगिने वातावरणको कुनै कमी छैन। समाज र राज्यको अग्रगामी पुनर्गठनको अभियानमा मनमस्तिष्कको सांस्कृतिक पुनर्संरचनालाई पनि समानरूपले जोड्न सकिएन हामीलाई एकपछि अर्काे सिराहा प्रकरणले पछ्याइरहने जोखिम बढ्दो छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस